निर्वाचन बहिष्कारः क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ठहर

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आगामी संसदीय निर्वाचन बहिष्कार गर्ने ठहर गरेको छ । यही मंसिर १६ र १७ गते बसेको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले उक्त निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो ।
जेन्जी विद्रोहद्वारा पराजित ओली नेतृत्वको तत्कालीन सरकारको अपदस्त पछि अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादी षड्यन्त्रको सहमतिमा गठित सुशीला कार्की नेतृत्वको कठपुतली सरकारले आगामी फागुन २१ को लागि घोषणा गरेको निर्वाचन हालको राजनीतिक बहसको केन्द्र बनेको स्थितिमा पार्टीले यो निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो । गत भाद्र २३ मा जेन्जी पुस्ताले गरेको जनविद्रोह लगायत भ्रष्टाचार र कुशासनका विरुद्ध भएका र हुने गरेका विभिन्न गतिविधिबाट तरङ्गित समाज, सत्तामा भएको व्यापक असन्तुष्टि र अविश्वास, दलगत चरित्रको पतन र निराशाको बीच उठेको मूल प्रश्न थियोे – यो निर्वाचन उपयोग गर्ने कि बहिष्कार गर्ने ?
त्यसै सन्दर्भमा यो प्रश्नको उत्तरको खोजीमा केन्द्रीय समितिले व्यापक बहस र छलफल गरेका बुँदाका आधारमा गरेको यो निर्णयको निष्कर्षलाई यो लेखले स्पष्ट गर्ने प्रयत्न गरेको छ ।
परिवर्तन चाहने देशभक्त जेन्जी पुस्ता लगायत सबै नेपाली न्यायप्रेमी , देशभक्त , जनतान्त्रिक , वामपन्थी र जनवादी क्रान्तिकारी शक्तिहरुले यो निर्वाचन बहिष्कार गर्नु नै राजनीतिक , नैतिक र ऐतिहासिक दृष्टिले सही कदम भएको ठहर गरेका छन् । यद्यपि क्रान्तिकारीहरूका लागि चुनाव उपयोग गर्नु वा बहिष्कार गर्नु एउटा कार्यनीतिक प्रश्न हो, जसले सधैँ रणनीतिको सेवा गरेको हुनुपर्छ र ठोस परिस्थितिको ठोस विश्लेषणमा आधारित हुन्छ । तर यथास्थितिवादी शक्तिहरुले संधै यही दलाल संसदीय ब्यवस्थालाई कायम राख्न चाहन्छन् र प्रतिगामी शक्तिहरुले विगतको मरिसकेको राजतन्त्र फर्काउन चाहन्छन् । ती दुबै शक्तिहरुले निर्वाचनमा भाग लिन चाहन्छन् । तर केही यथास्थितिबादी शक्तिहरुले सरकारले चुनावको तयारी नगरी संसद पुनःस्थापना होस् भन्ने चाहना प्रकट गरेका छन् । यस्तो परिस्थितिको सही विश्लेषण गर्दै अब यहाँ “निर्वाचन गर्ने कि बहिष्कार“भन्ने विषयमा भएको छलफल तल बुँदागत रूपमा प्रष्ट गर्ने प्रयत्न गरिएको छ ।
१. वर्तमान परिस्थितिको विश्लेषण गर्दा आगामी संसदीय निर्वाचन बहिष्कार गर्नुपर्ने बलियो आधार सहितका केही खास विशेषताहरु निम्नानुसार उल्लेख गरिएको छ।
(अ) विद्यमान संसदीय व्यवस्था नेपाली जनमानसमा मात्र होइन , अन्तर्राष्ट्रिय स्तरमा समेत नाङ्गिएको, भ्रष्ट र बदनाम व्यवस्था हो। यो व्यवस्था अन्तर्गत हुने कुनै पनि निर्वाचनद्वारा बन्ने सरकारले जनताका समस्या समाधान गर्न सक्दैन। त्यसैले जनताले यो व्यवस्थाको विकल्प खोजिरहेका छन्।
(आ) यो निर्वाचन जेन्जी विद्रोहका कारण नियमित समयभन्दा केही पहिले नै हुने बाहेक नियमित सरकार सञ्चालन गर्नेभन्दा यसको अर्को भिन्न कुनै राजनीतिक योजना छैन। यो निर्वाचन नेपालमा भएका विगतका कुनैपनि निर्वाचन जस्तो नभएर विदेशी स्वार्थ र चाहनामा हुने बेग्लै प्रकारको निर्वाचन हो ।
(इ) यो अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादी षड्यन्त्रद्वारा प्रायोजित निर्वाचन हो,जसले आफ्नो सेवा गर्ने नयाँ दललाई विजय गराउन सम्भावित जुनसुकै विधि प्रयोग गर्न सक्ने कुरा निश्चित छ। आजको यो विशेष परिस्थितिमा साम्राज्यवाद र विस्तारवाद विरोधी कुनै देशभक्त तथा जनतान्त्रिक शक्तिले चुनाव जितेर नयाँ संसदबाट जनताको पक्षमा आवाज उठाउने संभावना देखिंदैन । लेनिनको समयमा चुनाव उपयोगको परिस्थिति अनुकुल थियो तापनि हाम्रो देशको आजको समय सन्दर्भमा लेनिनका तत्कालीन कतिपय मान्यताहरुले मेल नखान पनि सक्दछन ।
(ई ) आज हाम्रो देशमा आफूहरुलाई कम्युनिष्ट बताउने दक्षिणपन्थी संशोधनवादी लगायत सबै संसदवादी राजनीतिक पार्टीहरू बदनाम भएका छन् । यस्तो स्थितिमा निर्वाचनका बेला अरु संशोधनवादी पार्टीहरुले भन्दा भिन्न र क्रान्तिकारी राजनीतिक पहिचान दिन सक्नुपर्छ । होईन भने हाम्रो पार्टीको पनि संशोधनवादीहरु जस्तै क्रान्तिकारी पहिचान समाप्त भएर जानेछ । यति मात्र होइन , हामीले चुनाव उपयोग गर्दा चुनावले हामीलाई उपयोग गर्न सक्दछ र देशबाट हाम्रो क्रान्तिकारी धार र क्रान्तिकारी छबि नै समाप्त हुन सक्दछ । त्यसैले आगामी संसदीय निर्वाचनको उपयोग होइन , बहिष्कार गर्नुपर्ने कुरा पार्टीले ठहर गरेको छ । यतिमात्र नभएर यो निर्वाचन बहिष्कार गर्नुपर्ने यो भन्दा पछाडिका बलिया तर्क र आधारहरुले अझै स्पष्ट पार्नेछ ।

२. साम्राज्यवादी निर्वाचन घोषणा पुनर्जीवित यथास्थितिवादको परियोजना हो । जेन्जी विद्रोहले यथास्थितिवादी दल र दलाल संरचना पुरै हल्लाइदिएको छ। जनतामा स्थापित अविश्वास, भ्रष्टाचारको निरन्तरता र सत्ता संघर्षका विकृतिहरुले संसदवादी ढाँचा लगभग निष्क्रिय जस्तै भइसकेको छ ।

यही शंकटपूर्ण मोडमा सत्ताधारी यथास्थितिवादी शक्तिहरूले चुनावलाई एउटा पुनर्जीवित परियोजनाको रुपमा प्रयोग गर्न खोजिरहेका छन् । छिटो छरितो दल दर्ता गरी पुरानै अनुहारको सक्रियता देखाएर दमनकारी सरकारले आन्दोलनका बीच उनीहरुले चुनावी माहोल सिर्जना गर्नुको अभिप्राय अब स्पष्ट भइसकेको छ ।
यिनीहरुले फेरि उही व्यवस्थालाई बैधता दिनु र विद्रोहले खोजेको राजनीतिक सुन्यतालाई टालटुल पार्नु नै यिनीहरुको उद्देश्यहो, जुन असामयिक , असान्दर्भिक , कपटपूर्ण र षड्यन्त्रमूलक छ।

यस्तो अवस्थामा चुनावमा सहभागी हुनु भनेको बिना कसौटी , बिना परीक्षण र बिना मूल्य यही असफल भ्रष्ट व्यवस्थालाई सिधै हातैबाट “बैधानिकताको प्रमाणपत्र“ थमाइदिनु हो। प्रतिक्रियावादीहरुको यो षड्यन्त्रलाई सशक्त बहिष्कार गरेर पर्दाफास गर्नुको विकल्पमा उपयोगका नाममा चुनावमा भाग लिएर यही भ्रष्ट , दलाल संसदीय ब्यवस्थालाई थमाइराख्न मद्दत गर्नु कुनै पनि हालतमा सही हुन सक्दैन ।त्यसैले यो कथित संसदीय निर्वाचनलाई पार्टीले बहिष्कार गर्ने सही निर्णय गरेको छ ।

३. जनताको जीवन–मरणको समस्या समाधान गर्नको लगि विद्यमान ब्यवस्थाको क्षमतामा शून्यता छाएको छ ।आज जनताका असली मुद्दाहरू के के हुन् ? यहाँ उल्लेख गर्नैपर्ने आवश्यकता भएको छ ।
सर्वप्रथम जेन्जी विद्रोहबाट पराजित हत्यारो ओली सरकारले शान्तिपूर्ण प्रदर्शनमा सिधै गोली बर्साएर ७६ जना होनहार युवाहरूको कायरतापूर्ण हत्या गरेको छ र सयकडौं युवाहरूलाई अपाङ्ग बनाएको छ। यस सन्दर्भमा तत्कालीन सरकारमा रहेका प्रधानमन्त्री र गृहमन्त्री(ओली र लेखक)लगायतका दोषीहरुलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने आम जनताको माग भएपनि वर्तमान कठपुतली सरकारले कारवाही गर्ने कुनै संकेत देखिन्न । २४ गते जेन्जी विद्रोहको नाममा गरिएको लुटपाट, आगजनी र ध्वन्सात्मक गतिविधि गर्ने अपराधीहरूलाई अपराध अनुसार उचित कारबाही गर्नुको सट्टा चुनावको नाममा जनताको ध्यान अर्कोतिर मोडिदिएको छ। यति मात्र होइन , महङ्गी , बेरोजगारी , अन्याय, अत्याचार भ्रष्टाचार ,मानव तस्करी तथा सुन तस्करी , घुसखोरी , विदेशी हस्तक्षेप , युवा पलायन , न्यायिक पतन , दमन आदि सबै जनताका मागहरू हुन् । यी सबै जनताको जीवनसँग प्रत्यक्ष जोडिएका समस्याहरु हुन्।
तर विडम्बना , यी समस्याहरूको समाधान कुनै पनि चुनावी संयन्त्रले सम्भव बनाइदिने अवस्था छैन । अर्कोतिर दलहरु भित्रैबाट भ्रष्टाचार , सत्ता–ठेक्का गठबन्धन र प्रतिगमनको खेल जारी छ । नीति बनाउने स्वाधीनता हराइसकेको छ।
त्यसैले यहाँ एक मूल प्रश्न उठ्छ – जब विद्यमान ब्यवस्थामा समस्या समाधानको क्षमता नै छैन भने त्यसैलाई वैधता किन दिने ?
चुनावले समस्या समाधान गर्ने भ्रम छर्ने बाहेक अरु कुनै वास्तविक कार्य गर्दैन । त्यसैले देशभक्त क्रान्तिकारीहरुले यो चुनावको भ्रमबाट मुक्त भएर सशक्त बहिष्कार गर्नुको विकल्प नदेखिएकाले पनि यो निर्वाचन बहिस्कार गर्ने ठहर गरिएको कुरा बताइएको छ ।

४. निर्वाचन उपयोगको सिद्धान्त भनेको आन्दोलनको ऊर्जा चोर्ने , दवाउने र निष्क्रियपार्ने उपकरण हो । यद्यपि कतिपयले चुनावलाई उपयोग गर्ने बहानानामा सहभागिताको तर्क पेश गर्दछन् , तर इतिहासले सिकाएको पाठ फरक छ ।

प्रत्येक संकटग्रस्त व्यवस्थाले जनविद्रोहलाई कमजोर बनाउन निर्वाचनको सहारा लिन्छ ।
तर चुनाव घोषणासँगै जनआन्दोलनको ऊर्जाको गति रोकिन्छ र कथित निर्वाचनको कारण आन्दोलन गलत दिशा तर्फ मोडिन्छ । अनि चुनाव संगठनको प्राथमिकता बन्छ , विचारको होइन। क्रान्तिकारी शक्तिहरूलाई औपचारिक प्रतिस्पर्धामा खिचेर व्यवस्थाले नियन्त्रणमा ल्याउँछ । साथै परिवर्तनको बहस दलगत अंकगणितमा सीमित हुन्छ।

अन्ततःचुनावले आन्दोलनलाई बाँधिदिन्छ र विद्यमान प्रणालीलाई सुरक्षित बनाइदिन्छ ।त्यसैले उपयोग वास्तवमा आन्दोलन विरोधी जालो भएकोले पार्टीले निर्वाचन बहिष्कार गर्ने सही निर्णय गरेको छ ।
५. निर्वाचनमा सहभागी हुन नैतिक र राजनीतिक हिसाबले पनि कुनै औचित्य छैन ।जनताको भरोसा सबै बहिष्कार कै पक्षमा रहेकोे अवस्था छ । किनकि विद्यमान दलाल संसदीय ब्यवस्था पहिलेदेखि नै अस्वीकार्य भएको, जनतामाथि गोली वर्षाइएको ,भ्रष्टाचारले राज्य कब्जा गरेको र विदेशी हस्तक्षेपले नीति निर्धारण गर्ने गरेको अवस्था छ । यस्तो अवस्थामा चुनावमा सहभागिता जनाउनुले जनतामा के सन्देश जान्छ ?
यस्तो परिस्थितिमा चुनावमा सहभागी हुनु , नैतिक रुपमा पनि गलत हो । यो सहभागिताले जनतामा एउटा गलत सन्देश दिन्छ कि “यो प्रणाली अझै सुधार गर्न मिल्छ, यो बाटो नै उचित हो“भन्ने सन्देश जनतामा पुग्छ ।“हाम्रो समस्या चुनावले समाधान गर्छ “ भन्ने झुठ फेरि पुष्टि हुन्छ ।
तर वास्तविकता उल्टो छ । जनता समाधान खोजिरहेका छन् – वैकल्पिक मार्ग , वैकल्पिक राजनीतिक संरचना र स्वाधिन शक्तिको उदय । बहिष्कारले यो आवश्यकता स्पष्ट राख्दछ ।
बहिष्कार भनेको अस्वीकार मात्र होइन , जनताको स्वतन्त्रताको पक्षमा लिइएको सक्रिय , स्पष्ट , हस्तक्षेपकारी र साहसिक राजनीतिक निर्णय हो। हामीले बहिष्कार गर्यौं भने जनतामा यो सन्देश जान्छ कि विद्यमान प्रणाली गलत छ , यसको आधार, संरचना र चरित्रमा नै परिवर्तन चाहिन्छ । नयाँ वैकल्पिक मार्ग निर्माण गर्न जनता तयार छन्। बहिष्कारले जनप्रतिरोधको नैतिक उचाई बढाउँछ , भ्रम मेट्छ र स्पष्ट संघर्ष रेखा कोर्छ । त्यस कारण क्रान्तिकारी शक्तिहरुले यो चुनाव सक्रिय बहिष्कार गर्नुपर्ने ठहर गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले यो चुनाव बहिष्कार गर्ने निर्णय भएको बताएको छ ।

६. बहिष्कार विकल्प निर्माणको प्रारम्भ बिन्दु हो ।बहिष्कार प्रायः निस्क्रिय कदम ठानिन्छ, तर यो गलत बुझाइ हो । बहिष्कार सक्रिय प्रक्रियाको सुरुवात हो। यसका तीन ठूला प्रभाव हुन्छन्–
१. असफल व्यवस्थाले खोजेको वैधता अस्वीकार गर्नाले जनआन्दोलनको शक्ति मजबुत हुन्छ ।२.क्रान्तिकारी एवं वैकल्पिक राजनीतिक शक्तिहरूलाई पुनर्संठित गरेर नयाँ संरचना सिर्जना गर्ने समय र अवसर मिल्छ।
३. जनसत्ता–जनसमिति–स्वाधीन सरकार जस्ता विकल्पहरूको निर्माण प्रक्रिया अघि बढ्छ । त्यसैले बहिष्कार कुनै अन्त्य होइन, नयाँ राजनीतिक यात्राको प्रारम्भिक बिन्दु हो ।

निष्कर्षः इतिहास, तर्क र जनआकांक्षा– यी सबैलाई एकै ठाउँमा राखेर अध्ययन गर्दा बहिष्कारलाई नै सही ठहर गरिन्छ । फागुन २१ को निर्वाचन न त समयानुकूल छ।, न त जनमुखी छ , न त परिवर्तनमुखी नै छ ।
यो चुनाव भनेको जनताको जनविद्रोह विफल पार्ने, पतित संरचनालाई पुनर्जीवित गर्ने र जनताले उठाएको आवाजलाई दबाउने प्रयास हो ।
त्यसैले पार्टीको निर्णय सहित यस लेखको निष्कर्ष स्पष्ट छ –निर्वाचन उपयोग होइन, बहिष्कार नै सही हो। बहिष्कार नै जनताको चाहना अनुसार परिवर्तनको बाटो , वैकल्पिक राजनीतिक संरचनाको प्रारम्भ र प्रतिगमन तथा यथास्थितिवादीहरूको सबभन्दा प्रभावकारी प्रतिकार हो । यो परिस्थितिमा चुनाव बहिष्कार गर्नु नै आज समय सान्दर्भिक हुने कुरा प्रष्ट छ । त्यसैले पार्टीको बैठकले निर्वाचन बहिष्कार गर्ने नीति लिएको हो ।
आजको यो परिस्थिति चुनाव बहिष्कारको हो। तर चुनाव बहिष्कार मात्र यो परिस्थितिको अन्त्य होइन । चुनाव बहिष्कार साथै पार्टीले देशभक्त, जनतान्त्रिक, वामपन्थी र जनवादी क्रान्तिकारी शक्तिहरूका बीच राष्ट्रिय राजनीतिक सम्मेलन गरेर संयुक्त मोर्चा निर्माण गरी आन्दोलन उठाउने, आन्दोलनको बलमा स्वाधीन संयुक्त सरकारको गठन गर्ने, उक्त सरकार मार्फत वर्तमान प्रतिक्रियावादी संविधान खारेज गर्ने र जनसंविधान निर्माण गरी क्रान्तिलाई अगाडि बढाउने कार्य गर्नु पर्दछ । यो परिस्थितिमा जनसंघर्षबाट जनप्रतिरोध र जनविद्रोह हुँदै सशस्त्र संघर्षको बाटोबाट नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गरी जनवादी गणतन्त्र स्थापना गरी वैज्ञानिक समाजवादमा संक्रमण गर्नु नै सही राजनीतिक कार्यदिशा हो ।त्यसैले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आगामी फागुन २१ गतेको लागि घोषणा गरेको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेर सही कदम लिएको विषयलाई सर्वत्र स्वागत गरिएको छ । धन्यवाद ! अभिवादन !! लाल सलाम !!!
मितिः२०८२ मंसिर २३ गते

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?