
काठमाडौं : भारत र चीनको विदेश सचिव स्तरीय बैठकद्वारा लिपुलेक नाका प्रयोग गर्ने सहमति खारेज गर्न नेपालका वामपन्थी,क्रान्तिकारी राजनीतिक पार्टी तथा संगठनहरुले माग गरेका छन् । २०८२ भदौ ६ गते संयुक्त बैठक बसी सो माग गरेका हुन् ।
बैठक पछि संयुक्त वक्तव्य जारी गर्दै सो कुराको जानकारी गराइएको हो। बैठक ललितपुरको कुपोण्डोलस्थित क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको कार्यालयमा बसेको थियो ।
संयुक्तमा वक्तव्यमा क्राीन्तकारी कम्युनिष्ट पार्टी नेपालका सन्तबहादुर नेपाली, नेकपाका चिरन सी ,नेकपा (मसाल)का रामप्रकाश पुरी ,नेकपा बहुमतका कृष्णप्रसाद धमला ,नेकपा एकीकृत समाजवादीका साध्यबहादुर भण्डारी ,राष्ट्रिय जनमोर्चाककी दूर्गा पौडेल ,नेकपाका कृष्णहरी भट्ट ,वैज्ञानिक समाजवादी पार्टीका राजकुमार हिङमाङ ,अखिल नेपाल कम्युनिष्ट पार्टीका लक्ष्मण उप्रेतीले हस्ताक्षर गर्नु भएको छ ।
हस्ताक्षरित विज्ञप्तिको पूर्ण पाठ यसप्रकार छ । –
२०८२ भदौ ३ गते भारत र चीनका विदेश सचिव स्तरीय बैठकले नेपालको दार्चुलाको लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूभागलाई दुई देश बीचको व्यापारिक नाका बनाउने सहमति गरेको कुराप्रति हामी निम्न अनुसारका वामपन्थी क्रान्तिकारी राजनीतिक पार्टी तथा संगठनहरुको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त भू–भाग ऐतिहासिक कालदेखि नै नेपालको नक्सा, आधिकारिक कागजात तथा विभिन्न अकाट्य प्रमाणहरुले नेपाल कै भूमि हो भन्ने कुरा पुष्टि भएको कुरालाई बेवास्ता गर्दै भारत र चीनले सहमति गर्नु निन्दनीय छ । नेपालको सार्वभौम भौगोलिक अखण्डतामाथि हस्तक्षेप हुनेगरी नेपालको भू–भागमा दुई देशले व्यापारिक नाका बनाउने सहमतिको हामी स्वतन्त्र तथा सार्वभौम नेपालीहरुको तर्फबाट जोडदार विरोध गर्दछौँ । साथै तत्काल यसको खारेजीकोलागि नेपाल सरकारसित पहल गर्न माग गर्दछौँ ।
