मोदीको जीत भएको छ, हिन्दु फासिवादको हार भएको छ

भारतमा १८ औं लोकसभाको निर्वाचन सम्पन्न भएको छ । १९ अप्रिलदेखि १ जुनसम्म ७ चरणमा सम्पन्न चुनावको परिणाम ४ जुनमा बाहिरिएको छ । यो निर्वाचनको परिणामले नरेन्द्र मोदी नेतृत्वको पार्टी भारतीय जनता पार्टीलाई दह्रो सबक सिकाएको छ । हुन त भाजपाले एक्लैले २४० सिट प्राप्त गरेको छ । त्यसकारण त्यो सबैभन्दा ठूलो पार्टी भएको छ । तर ठूलो पार्टी भएर पनि एक्लै सरकार बनाउन सक्ने उसको हैसियत रहेको छैन । भाजपा नेतृत्वको गठबन्धनका घटकहरु जनता दल युनाइटेड र तेलगु देशम पार्टीले मोदीलाई समर्थन गर्ने प्रतिबद्धता प्रकट गरेपछि मोदीले राष्ट्रपति समक्ष प्रधानमन्त्रीको दावी पेश गरेका थिए र उनी भारतको तेस्रो प्रधानमन्त्रीको रुपमा राष्ट्रपतिबाट नियुक्ति पाएका छन् । आइतबार ९ जुनका दिन उनले सपथ ग्रहण गरेका छन् ।

नरेन्द्र मोदी चुनाव जितेर पनि उनी हारेका छन् । यस अघि उनले दुई कार्यकाल प्रधानमन्त्री बन्ने अवसर पाएका थिए र यो पटक पनि प्रधानमन्त्री नियुक्त भएका छन् । तर भारतमा पहिलो पटक उनी जति लोकप्रिय थिए, दोस्रो पटक प्रधानमन्त्री हुँदा लोकप्रिय हुन सकेनन् । पहिलो पटक प्रधानमन्त्री हुँदा उनलाई जनताले गुजरातमा जस्तै भारतमा आर्थिक समृद्धि ल्याउँछन् भनेर आशा गरेका थिए । तर आर्थिक समृद्धिका लागि उनीसँग कुनै राष्ट्रिय नीति थिएन । उनले विदेशी पुँजी भित्र्याउने काम मात्र गरेका थिए । त्यसबाट जनतालाई केही रोजगार त प्राप्त भयो । तर विदेशी तथा दलाल पुँजीपति वर्गलाई बलियो बनाउने काम गरे । राष्ट्रिय सम्पत्तिलाई केही ठूला व्यापारिक घरानाको हातमा बेच्ने काम गरे । खास गरेर रेल्वे, विद्युत, इस्पात, एयर लाइन्स, बन्दरगाह जस्ता मुख्य आर्थिक क्षेत्रहरुमा देशी विदेशी निजी कम्पनीहरु प्रवेश गर्ने मौका पाए । कैयौं आर्थिक क्षेत्रहरुलाई बेच्ने काम पनि गरे । सार्वजनिक सम्पत्तिहरु निजीकरण भएपछि जनतामा तीब्र असन्तोष पैदा हुन थाल्यो । उनले जनताको असन्तोषलाई मत्थर पार्न गरिबीको रेखामुनि परेका जनतालाई केही राहत दिने व्यवस्था गरे । जनताले निजीकरणबाट उत्पन्न संकटलाई बुझ्दै जान थालेपछि विरोध गर्न शुरु गरे ।

उनले दोस्रो निर्वाचनको बेलामा हिन्दुहरुको समर्थन प्राप्त गर्न हिन्दुवादी नारा दिएका थिए । २७ फरवरी २००२ मा गुजरातको गोधरामा मुस्लिमहरुले केही हिन्दुहरु चढेको टे«नमाथि हमला गरेका थिए । जवाफमा प्रशासनको आडमा हिन्दुहरुले ७९० जति मुस्लिमहरुको हत्या गरेका थिए । त्यसघटनाबाट पनि मुस्लिमहरु भाजपाका अगाडि आत्मसमर्पण गर्दै आउनु प¥यो । कट्टरवादी हिन्दुहरुको धार्मिक उन्माद त यति बढ्यो कि स्वयं मोदीले राज्यको तर्फबाट हिन्दु फासिवादलाई अगाडि बढाए । धर्मनिरपेक्षताको विपरीत काम गरे । हिन्दुहरुले धर्मको नाममा मुस्लिमहरुमाथि ज्यादती गर्न थाले । त्यही क्रममा कश्मिरको स्वायत्तता पनि खोसियो । त्यही उन्मादमा धर्मगुरुहरुको सहमति विपरीत गएर अयोध्यामा रामजानकी मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न गरियो । भारतलाई एक प्रकारले मोदीले हिन्दुमय बनाउन थाले । अन्य जाति, सम्प्रदाय वा मतवादीहरुलाई निर्ममतापूर्वक दबाउन थाले । पछिल्ल्लो समयमा उनले धर्मनिपेक्षताको विरुद्ध “हिन्द राष्ट्र” निर्माणमा जोड दिएका थिए । उनले “वन नेशन” को नारा अगाडि सारेका थिए । भारत बहुराष्ट्रिय देश हो । प्रत्येक राष्ट्रलाई स्वतन्त्रतापूर्वक आफ्नो अधिकार प्रयोग गर्न पाउने संविधानले व्यवस्था गरेको छ । तर उनले एकल राष्ट्रको नारा दिएर संविधानलाई नै चुनौति दिन थाले । उनले यो निर्वाचनमा नारा दिएका थिए “अब की बार, ४०० पार, फिर एकबार मोदी सरकार ।” ५४३ सिट भएको लोकसभामा ४०० सिट आयो भने देशलाई उनले हिन्दु राष्ट्र घोषणा गर्ने योजना बनाएका थिए ।

लेखक – सन्तबहादुर नेपाली

मोदीले देशलाई कर्पोरेट पुँजीपति वर्गलाई बेचिसकेका छन् । निजिकरणको नाममा सबै क्षेत्रहरुमा जनतालाई सास्ती बढेको छ । मजदुर र किसानलाई त उनले ठूलो सास्ती दिएका छन् । सेप्टेम्बर २०२० मा भारतीय संसदले जनविरोधी “३ कृषि कानुन” पारित गरेको थियो । त्यसको विरोधमा हरियाणा र दिल्लीको सीमानामा हजारौं किसानले सीमा अवरोध गरेका थिए । अन्ततः किसानमारा “तीन कृषि कानुन” सरकारले फिर्ता लिन बाध्य भयो । यसरी मोदी सरकार दुई तरिकाबाट जनताको नजरबाट गिर्दै गयो । पहिलो कुरा त नरेन्द्र मोदी र उनको पार्टी भारतीय जनता पार्टी हिन्दुवादी पार्टी हो भन्ने कुरा प्रष्ट भयो । हिन्दुवादी पार्टी भएको हुनाले हिन्दु नीति नियम लागु गर्न खोजियो । देशलाई धार्मिक कानुनका आधारमा संचालन गर्न खोजियो । मनुस्मृतिलाई ब्यूताउँन खोजियो । दोस्रो, राष्ट्रिय पुँजीवादको विकास गर्नुपर्ने र देशलाई समाजवादतर्फ लैजानु पर्नेमा उनले विदेशी कर्पोरेट पुँजी ल्याउने र देश र जनतामाथि नवऔपनिवेशिक शोषण गर्न छुट दिन थाले । यसरी देश नवऔपनिवेशिक देशमा रुपान्तरित हुन पुग्यो । बाहिरबाट हेर्दा भारत अत्यन्त धनी देश जस्तो देखिन्छ । कतिपय पार्टीले त नवउपनिवेशवादी वा साम्राज्यवादी देश पनि भन्ने गरेको पाइन्छ । तर भित्रबाट त्यस्तो छैन । आज पनि भारतको मुख्य आर्थिक स्रोत विदेशबाट आउने रेमिटेन्स नै हो । लाखौं करोडौं मजदुर रोजगारीका लागि संसारभरी फैलिएका छन् । भारतमा जे जति पुँजीको विकास देखिन्छ, त्यसमा भारतको मात्र नभएर विदेशी पुँजीवादी तथा साम्राज्यवादी देशहरुको लगानी रहेको छ । मोदी सरकारले अहिले पनि भारतको सम्पत्तिलाई विदेशी कम्पनीहरुलाई विक्री गरिरहेको छ । केही मुठ्ठीभर धनाढयहरुको हातमा राष्ट्रको ठूलो सम्पत्ति केन्द्रिकृत छ । विश्व बैंकको तथ्यांक अनुसार भारतमा ३० प्रतिशत जनता गरिबीको रेखा मुनि रहेको बताइएको छ । त्यसप्रकारको अराष्ट्रिय, जनविरोधी र फासिवादी नीतिका कारण नरेन्द्र मोदी अलोकप्रिय बन्दै गए । परिणामस्वरुप अहिलेको निर्वाचनमा उनको सिट संख्या ३०३ बाट झरेर २४० सिटमा सीमित हुन पुग्यो । गत निर्वाचन भन्दा ६३ सिट कम प्राप्त भयो । अन्य दलसँग गठबन्धन नगरेको भए त्यो संख्या अझै कम हुने थियो । यस पटक उनले जेनतेन अस्तित्व कायम राख्न सफल भएका छन् । तर सारमा भन्नुपर्दा यो बेला उनको हार भएको छ ।

पहिलो कुरा त अघिल्लो चुनावमा गठबन्धन नगरेर नै ३०३ सिट भाजपालाई प्राप्त भएको थियो । अहिले गठबन्धन गरेर पनि मात्र २४० सिट हात लाग्यो । दोस्रो कुरा, उनको निर्वाचन क्षेत्र बनारसमा उनले पहिले चार लाखको अन्तरले जितेका थिए । अहिले डेढ लाखको अन्तर रहेको छ । तेस्रो, जहाँ उनले सरकारको सम्पूर्ण शक्ति लगाएर अयोध्यामा राम मन्दिर निर्माण गरेर रामको प्राण प्रतिष्ठा सम्पन्न गरेका थिए, त्यही अयोध्यामा उनको उम्मेदवार लल्लुसिंहले ४९,९७२२ मत पाएका थिए । जब कि समाजवादी पार्टीको उम्मेदवार अवधेश प्रसादले ५५४२८९ मत प्राप्त गरेर विजय हासिल गरेका छन् । अयोध्यामा नै भाजपाले हार्नु भनेको ठूलो चुनौती हो । चौथो, कुरा यस अघिको निर्वाचनबाट एकलौटी सरकार बनाउन सफल भएका थिए । अहिले जनता दल युनाइटेड र तेलगु देशको वैशाखी टेक्न परेको छ । यो अवस्थामा उनले आफ्नो मनपरी नीति लाद्न सक्ने छैनन । त्यसरी उनी अब हिन्दु फासिवादी शासक बन्न पाउने छैनन् ।

भारतको निर्वाचनले विगतदेखि नै नेपालको राजनीतिमा कुनै न कुनै रुपमा असर पार्दै आएको छ ।यो सिलसिला नेहरुकै पालादेखिको हो । नरेन्द्र मोदी सरकार प्रमुख भएपछि उनले छिमेकी देशहरुसँग विस्तारवादी नीतिलाई निरन्तरता दिंदै आए । त्यसकारण छिमेकी देशहरुसँगको सम्बन्ध राम्रो हुन सकेन । छिमेकी अन्य देशहरु भन्दा नेपालसँग बढी नै तिक्तता रहँदै आयो । नेपालमाथि आर्थिक तथा व्यापारिक नाकाबन्दी लगाउनु उनको ठूलो अपराध भयो । नेपालको संविधान निर्माण हुँदा उनले नेपाललाई भारतको अंग बनाउने प्रकारको संविधान निर्माणका लागि दबाब दिए । त्यो सम्भव नभएपछि नयाँ संविधानलाई समर्थन नै गरेनन् । अहिलेसम्म नेपालको संविधानलाई समर्थन गरेका छैनन् । नेपाल– भारत सम्बन्ध र सीमा विवाद हल गर्नका लागि बनेको इपीजीले तयार पारेको प्रतिवेदन आजसम्म बुझ्न मानेका छैनन । भारतद्वारा नेपालको आज पनि ६० हजार हेक्टर जमिन अतिक्रमित रहेको छ । नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो भूभागमा देखाएर प्रशासनिक नक्सा तयार गरे । भारतबाट मानसरोवर जाने बाटो निर्माण गर्दा नेपालको भूभागबाट निर्माण गरियो । नेपाललाई सोध्ने काम गरेनन् । नेपालको ऐतिहासिक तथा धार्मिक स्थान लुम्बिनीलाई भारतमा पारिएको नक्सा बनाएर संसद भवनमा राखियो । नेपाली जनताले बारम्बार विरोध गर्दा पनि त्यसलाई सच्चाउने काम भएको छैन । नेपालमा हिन्दु राज्य स्थापना गराउन र राजालाई सिंहासनमा पुनःस्थापना गराउन यहाँका हिन्दु कट्टरवादीहरुलाई उक्साउने काम गरिएको छ । नेपालका कतिपय दलहरुलाई उक्साएर देश विखण्डन गराउन उनी अहिले पनि लागिरहेका छन् । जातीय दंगा भड्काउने प्रयास गरिएको छ । नेपाललाई अशान्त र अस्थिर बनाउन “रअ” का जासुसहरु तैनाथ गरिएको छ । आफ्नो दलाल सरकार बनाउन र यहाँको प्राकृतिक स्रोत साधनमाथि कब्जा जमाउन अनेकौं जालझेल गरिंदैछ । नेपालको राजनीतिमा सीधै हस्तक्षेप गरिएको छ । मोदी सरकारका यी हर्कतले गर्दा उनी तेस्रो पटक प्रधानमन्त्री बन्दा नेपाली जनताले जुन खुशी प्रकट गर्नु पथ्र्यो, त्यो प्रकट गरेका छैनन् । मोदी प्रधानमन्त्री बन्नु भनेको नेपालमाथिको संकटलाई भारतद्वारा निरन्तरता दिनु हो ।

भारतका जनताले यो निर्वाचनमा मोदीलाई ठूलो चुनौती दिएका छन् । भारतीय जनतालाई नेपाली जनताको सलाम छ । किनकि थोरै भए पनि उनीहरुले मोदीलाई कमजोर बनाएका छन् । हामी आशा गर्नुपर्छ, भारत र नेपाललाई अब उनले हिन्दु फासिवाद तर्फ लैजान सफलता पाउने छैनन् । भारतीय जनताले धर्म निरपेक्षतालाई बचाउन र विदेशी तथा दलाल पुँजीपति वर्गलाई राष्ट्रको सम्पत्तिमाथि हावी हुन नदिन निर्वाचनमा आंशिक सफलता प्राप्त गरेका छन् । उनी सरकारमा गएपछि अहिले पनि उनको हिन्दुवादी चिन्तन बदलिने छैन र उनी झन आक्रामक हुने सम्भावना छ । तर उनको शक्ति क्षीण भएको हुनाले त्यो सम्भव छैन । उनले आफूलाई राजनीतिक नेता भन्दा पनि धार्मिक नेता मान्ने गरेका थिए । मन्दिरहरुमा गएर पुजा गरेर जनताको विश्वास प्राप्त गर्न खोज्ने गरेका थिए । नरेन्द्र मोदीका कारणले भारतको विस्तारवादी नीतिमा अझै बढी तीब्रता आएको थियो । नेपाल र नेपाली जनताका लागि खतरा उत्पन्न भएको थियो । मोदीले नेपालमा पनि धार्मिक तथा राजावादी तत्वहरुलाई उक्साउने काम गरेका थिए । अहिलेको निर्वाचनले नेपाललाई हिन्दु राष्ट्र बनाउने र भारतमा गाभ्ने उनको लामो समयको सपना चकनाचुर भएको छ ।
यो अवस्थामा हामी नेपाली जनताले भारतीय जनताको मोदी विरोधी संघर्षप्रति ऐक्यबद्धता जनाउनु अहिलेको आवश्यकता हो । भारतीय ज नताको मोदी नेतृत्वको भारतीय दलाल तथा नोकरशाही पुँजीवादी शासक माथि एक दिन भारतीय देशभक्त, जनवादी र क्रान्तिकारी शक्तिको विजय अवश्य हुनेछ । तव मात्र नेपालप्रतिको शोषण, उत्पीडन र विस्तारवादी नीतिको अन्त हुनेछ ।
मिति : २०८१ जेठ २९ गते

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?