महिलाको वास्तविक मुक्ति समाजवादी रुपान्तरणबाट मात्र सम्भव छ

शारदा महत, सहसंयोजक, क्रान्तिकारी महिला संगठन नेपाल, केन्द्रीय समिति

१) तपाईंको जीवनमा राजनीतिक र सांगठनिक कार्य कसरी सुरु भएको थियो?
–सामन्ती परम्परावादी सोच र चिन्तनबाट ग्रसित समाज विद्यमान रहेको थियो। छोरा र छोरी बीचको विभेद चरम रूपमा रहेको थियो । छोरीहरुलाई शिक्षा रोजगार र बाहिरी समाजबाट वञ्चित गरिने र घरको चौघेरा भित्र पिञ्जडाको सुगा जस्तो जीवन जिउन बाध्य पारिने सामाजिक संरचना खडा थियो। जकडिएको समाजको बीचबाट राजनीतिमा आउने कुरा ठूलो चुनौतीपूर्ण थियो । मेरो बुबा कम्युनिष्ट पार्टीको विचार राजनीतिबाट प्रभावित हुनुहुन्थ्यो। उहाँले नै हामीहरूलाई राजनीतिमा लाग्न प्रेरित गर्नु भयो । विभिन्न देशका उदाहरणहरू दिँदै महिलाहरू पनि राजनीति क्षेत्रमा अगाडि बढ्न सक्छन् भन्नुहुन्थ्यो। त्यतिखेर देशमा राजनीतिक माहोल पनि बिस्तारै तात्दै थियो। जनवादी सांस्कृतिक कार्यक्रमहरू मार्फत जनतालाई गोलबन्द गर्ने उद्देश्यले गाउँ बस्तीहरुमा माओवादी पार्टीले कार्यक्रमहरू सञ्चालन गर्न थालेका थिए । त्यस प्रकारका कार्यक्रममा म पनि सहभागी हुन थालेँ। बिस्तारै ममा राजनीतिप्रति आकर्षण जाग्दै जान थाल्यो । परिवारबाट पनि साथ पाएपछि समाजमा रहेको विकृति र विसंगतिको विरुद्ध संघर्ष गर्नु पर्दछ भन्ने सोचको विकास हुन थाल्यो । त्यसै क्रममा नुवाकोट जिल्लाको कुन गाउँ गाउँको स्कुलबाट सात कक्षा पास गरेपछि नुवाकोटकै श्री क्षेत्रपाल मावि चौघडामा आठ कक्षामा भर्ना भएँ । कक्षा आठमा पढ्दै गर्दा एकदिन विद्यार्थी संगठन निर्माणको लागि तीनजना कमरेडहरू आउनुभयो। त्यसपछि म पनि विद्यार्थी संगठनमा आबद्ध भएँ। त्यसपछि संगठनमार्फत आयोजित विभिन्न कार्यक्रमहरू मसाल जुलुस, धर्ना, विद्यार्थी जिल्ला सम्मेलन मा सहभागी हुनथालेँ । एसएलसी पास गरेपछि क्याम्पस पढ्नको लागि काठमाडौँमा आएँ । त्यसपछि २०५३ सालमा ठमेलको सरस्वती क्याम्पसमा भर्ना भएँ । त्यतिखेर सम्ममा राजनीतिलाई अगाडि बढाउनु पर्छ भन्ने मैले सोचिसकेको थिएँ । कमरेड दिनेश श्रेष्ठको नेतृत्वमा रहेको अखिल (छैठौँ) को सरस्वती क्याम्पस इकाई समितिमा सदस्य भएँ ।

२) जनयुद्ध कालमा तपाईँको सांगठनिक जिम्मेवारी र भूमिका के थियो?
–जनयुद्धकालमा सांगठनिक जिम्मेवारी तत्कालीन नेकपा माओवादी पार्टीको पार्टी सदस्य, इलाका सदस्य हुँदै इलाका सेक्रेटरी एवं जिल्ला सदस्य सम्म भएँ। जनयुद्ध कालमा सिङ्गो पार्टी नै फौजीकृत भएको हुँदा संगठन बाहेक पनि व्यवस्थापन र फौजी गतिविधिमा भाग लिनु पर्दथ्यो।

३) जनयुद्धकालका केही अविस्मरणीय घटना र सम्झिनु पर्ने साथीहरू बारे ?
–जनयुद्धकालका स्मरण गर्नुपर्ने घटनाहरू धेरै नै छन् । जसमध्ये नुवाकोट जिल्लाको थानसिङमा रहेको राजाको दरबारमा सेबोटेज गर्ने हाम्रो इलाकाको योजना थियो । तर हामीहरूमध्ये सहयोद्धा साथी कमरेड परिवर्तनको सेवोतेजको क्रममा सहादत हुन पुग्यो । त्यो घटनाले म लगायत हाम्रो टिम स्तब्ध र भावविहल भयौँ। त्यो क्षण मेरो लागि सदैव दुःखद स्मरण गर्ने घटनामध्ये एक रहेको छ। जनयुद्धकालमा सँगै काम गरेका साथीहरू सहिदहरु कमरेड दिनेश श्रेष्ठ, देवीबहादुर थापा मगर, कमरेड सामना लगायतलाई सम्झने गर्दछु ।

४) तपाईँले लामो समय महिला संगठनमा काम गर्नुभयो नेपालमा महिलाका समस्याहरू के के छन् ?
–नेपालमा महिलाका समस्या हरू यस प्रकारका रहेका छन् ।
–पैत्रिक सम्पत्तिमा महिलाको समान अधिकार कानुन त भएपनि व्यवहारमा लागू नहुनु।
–उत्पादनका साधनहरूमा महिलाहरूको स्वामित्व नहुनु।
–महिलालाई आर्थिक रूपमा स्वतन्त्र बनाउन श्रम र उत्पादनमा समान अवसर प्रदान नगरिनु।
–घरायसी काममा मात्र सीमित राखिनु साथै बालबच्चाको पालनपोषण आदिमा महिलाको मात्र जिम्मेवारी हुनु।
–महिलालाई शिक्षा र स्वास्थ्यमा भेदभाव गर्नु
–महिलाले समान कामको समान ज्याला नपाउनु
–राजनीतिक क्षेत्रमा समान अधिकार सुनिश्चित नगरिनु महिला हिंसा विरुद्धका कडा कानुनी व्यवस्था नहुनु। –महिलाहरु दाइजो प्रथा छाउपडी प्रथा, घुम्तो प्रथा जस्ता कुप्रथा बाट पीडित हुनु ।
–महिलामाथि हुने हत्या हिंसा र बलात्कार वृद्धि हुनु
–महिला बेचबिखन नियन्त्रण नहुनु ।

५) महिलाका समस्या समाधानका उपायहरू के के हुन सक्छन् ?
–आधा आकाश ओगटेका महिलाहरू एक्काइसौँ शताब्दीमा आउँदा सम्म पनि सामन्ती पितृसत्तात्मक सोच र चिन्तनको कारणले दोस्रो दर्जाको नागरिकको रुपमा बाँच्न विवस रहेका छन् । यस्ता विभेदकारी सोच र चिन्तनबाट समाज मुक्त हुन जरुरी छ । छोरा र छोरी बीच शिक्षामा र स्वास्थ्यमा समान अवसर प्रदान गरिनुपर्दछ। पैत्रिक सम्पत्तिमा समान अधिकार कानुन त व्यवहारमा कार्यान्वयन हुनु जरुरी छ । उत्पादनका साधनहरू माथि सामूहिक स्वामित्व हुन जरुरी छ। लैङ्गिक विभेदको अन्त्य हुन जरुरी छ । महिलाहरूलाई रोजगारको ग्यारेन्टी गरिनुपर्दछ । होइन भने बेरोजगार भत्ताको व्यवस्था गर्नुपर्दछ। राज्यले महिलाको सुरक्षाको लागि विशेष कानुनको व्यवस्था गर्नुपर्दछ ।
महिलाको गर्भावस्था, सुत्केरी अवस्था लाई मध्यनजर गरी विभिन्न सेवा सुविधाको व्यवस्था गर्नुपर्दछ । महिलाको हक हित र अधिकारका लागि राजनीति गर्न महिलाहरू अग्रसर हुनुपर्दछ र पार्टी संगठनहरूमा नेतृत्व लिनका लागि तयार हुनु पर्दछ । साथै राज्यका विभिन्न निकायहरूमा महिला सहभागिताको सुनिश्चित हुनु पर्दछ । अन्ततः आफ्नो अधिकार प्राप्त गर्न महिला आन्दोलनलाई वर्गीय मुक्ति आन्दोलनसँग जोडेर सङ्घर्ष गर्नु पर्दछ ।

६) तर नेपालमा संविधान र कानुनले महिलाहरूलाई पैत्रिक सम्पत्तिमा समान अधिकार दिएको र महिला हिंसा विरुद्ध कानुन बनेको भए तापनि २०% महिलाले पनि व्यवहारमा पैत्रिक सम्पत्ति पाएका छैनन् । महिला हिंसा बढेको बढै छ पीडित पीडकले सजाय पाएको छैन । पीडितले न्याय पाएको छैन यस्तो किन भएको होला?
–सही हो किनभने सत्ता र व्यवस्था कुन वर्ग र समुदायको पक्षमा निर्माण भएको छ भन्ने कुराले निर्धारण गर्दछ। जनयुद्ध जनआन्दोलनको बलबाट संविधान र कानुनमा महिलाका मुद्दाहरू समेट्न सकेता पनि व्यवहार त कार्यान्वयन गर्ने कुरा जटिल बन्दै गइरहेको छ । यदि राज्य महिला अधिकार र महिला हिंसाप्रति जवाफदेही हुने थियो भने निर्मला पन्तको हत्यारा पत्ता लगाई कानुनको दायरामा ल्याउने थियो । राज्य महिलाको अधिकारप्रति उदासीन बन्दै गइरहेको छ । सामन्ती पितृसत्तात्मक सोचले ग्रसित नोकरशही दलाल पुँजीवादी राज्य व्यवस्थाबाट महिलाहरू ले समान अधिकार प्राप्त गर्न असम्भव रहेको छ । जबसम्म सर्वहारा वर्ग को राज्य सत्ता स्थापना हुन सक्दैन तबसम्म महिला मुक्ति सम्भव छैन । त्यसैले नयाँ जनवादी व्यवस्थाको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न सङ्घर्षमा होमिनु पर्दछ ।

७) नेपाली महिला आन्दोलनको इतिहासलाई संक्षिप्तमा स्मरण गर्नुपर्दा के भन्नुहुन्छ ?
नेपाली महिला आन्दोलनको इतिहासलाई स्मरण गर्दा नेपाली महिलाहरूले राणा शासन, पञ्चायति व्यवस्था र बहुदलीय व्यवस्थाको विरुद्धमा २००७ सालको आन्दोलन २० ४६– ४७ को जनआन्दोलन र १० वर्षीय जनयुद्ध को साथै २०६२ –६३ को १९ दिने जनआन्दोलन दौरानमा निरन्तर सङ्घर्ष गर्दै आएका छन्। २००४ सालमा गठित नेपाल महिला सङ्घको नेतृत्व मङ्गला देवी सिंहले गर्नुभएको थियो। मताधिकार प्राप्त आन्दोलनदेखि सुरु भएको महिलाहरूको इतिहास समानता र स्वतन्त्रताको नारामा सीमित भएन । राष्ट्रिय मुक्ति तथा वर्गीय मुक्ति आन्दोलनमा महिलाहरूको सक्रिय भूमिका रह्यो । महिला आन्दोलनका दौरानमा वैचारिक रुपमा मतभेदहरू देखापर्दै आए । वैचारिक रुपबाट खारिदै कम्युनिस्ट पार्टीको विचारबाट प्रभावित भई क्रान्तिकारी धारको पक्षपोषण गर्दै २००८ सालमा कामक्षादेवी को अध्यक्षतामा अखिल नेपाल महिला सङ्घ गठन भयो । मंगलादेवी २००७ सालको दिल्ली सम्झौताको पक्षमा उभिन पुगे। कम्युनिस्ट पार्टी वैचारिक मतभेदको कारण टुटफुट र विभाजन भएपछि महिला संगठन पनि त्यसबाट अछुतो हुन सकेन । विभिन्न उतार र चढावको श्रृङ्खलाहरू पार गर्दै त्याग समर्पण र बलिदानको उच्च कृतिमान कायम गर्दै जनयुद्धमा महिलाहरूको सशक्त भूमिका रह्यो। नेपाली महिलाहरुले उच्च प्रकारको इतिहास निर्माण गर्न सफल भएका थिए ।

८)नेपाली महिला आन्दोलनका वैचारिक धाराहरू के के हुन्?
–नेपाली समाज वर्गीय क्षेत्रीय लिङ्गीय जातीय असमानतामा आधारित रहेको छ । महिलाहरू लामो समयदेखि पितृसत्तात्मक सोंच, सामाजिक परम्परा र आर्थिक परनिर्भरताको कारण शोषण र उत्पीडनमा परेका छन्। महिलाहरू केवल सामाजिक वा सांस्कृतिक कारणले मात्र होइन उत्पादन प्रणाली र वर्गीय सम्बन्धसँग गाँसिएका संरचनागत समस्याका कारणले शोषणमा परेका छन्। त्यसैले नेपाली महिलाहरू बीच विभिन्न वैचारिक धाराहरु विकास भएका छन् ।
क)माक्र्सवादी धारा – यस धारा अनुसार महिलाहरूको शोषण केवल पुरुषहरूबाट मात्र होइन पुँजीवादी सामन्ती उत्पादन सम्बन्धहरूबाट पनि हुन्छ। महिलाको वास्तविक मुक्ति वर्गसंघर्ष र उत्पादनका साधनमा महिलाको स्वामित्व सहितका समाजवादी रूपान्तरण मार्फत मात्र सम्भव छ। महिलाहरूले लैङ्गिक समानता आर्थिक स्वतन्त्रता राज्य सत्तामा बराबरी प्रतिनिधित्व सहित सहभागी खोजेका छन् अतः महिलाको शोषणको मूल कारण वर्गीय तथा आर्थिक सामाजिक कारणहरू रहेको मान्यता राख्दछ ।
ख) उदारवादी धारा– यो विचारधाराले महिलाको अधिकारलाई पुँजीवादी व्यवस्थाभित्रै सुधार गरेर समान अवसर प्राप्त गर्न सकिने मान्यता राख्दछ । यस धाराले समाजमा कानुनी, शैक्षिक र राजनीतिक समता स्थापित गर्नु पर्ने मान्यता राख्दछ। यसले शोषणको मूल कारण पुँजीवादी व्यवस्था हो भन्ने कुरा स्वीकार गर्दैन ।
ग)सांस्कृतिक वा परम्परावादी धारा यस धाराले महिलाको भूमिका लाई धर्म संस्कार परिवार परम्परा सँग जोडेर व्याख्या गर्दछ । महिलालाई घरको सम्मान संस्कार र इज्जतको प्रतीक मान्दछ । गृहेनी ,आमा र सेवकका रुपमा सीमित राख्दछ। यो धारा पितृसत्ताको वैचारिक स्वरूप हो।
घ) आमूलवादी धारा –यस धारा अनुसार नारी उत्पीडनको मूल कारण पुरुष जाति नै हो। अरु होइन।
ङ) उत्तर आधुनिकतावादी धारा –यो धारा व्यक्तिगत स्वतन्त्रतामा आधारित छ । यसरी परम्परावादी धारा ले महिला अधिकारको कुरा गर्दैन पुरुषको वर्चस्व स्वीकार गर्दछ भने उदारवादी धाराले ,आमूलवादी धाराले र माक्र्सवादी धाराले पितृसत्तावादको विरोध गर्दछ। पितृसत्तावादको सन्दर्भमा उत्तर आधुनिकतावादले मध्यमार्गी भूमिका खेल्दछ।

९) तपाईँ क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको जनसम्बन्ध विस्तार अभियानमा रामसिंह श्रीसले नेतृत्व गर्नुभएको टोलीमा हिँड्नु भयो । त्यस अभियानलाई समीक्षा गर्नुपर्दा के भन्नुहुन्छ?
–क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सञ्चालन गरेको जनसम्बन्ध विस्तार अभियान २०८१ साल फागुन ४ गतेबाट देशको ४ स्थानबाट उद्घाटन गर्ने योजना अन्तर्गत १ नम्बर टोलीको नेतृत्व रामसिंह श्रीसले गर्नुभएको थियो जसमा म पनि सहभागी हुने अवसर मिलेको थियो। हाम्रो टोली पूर्वको पाँचवटा जिल्ला मध्ये पाँचथर जिल्लाको चिवाभञ्ज्याङ जुन नेपाल र भारतको सिक्किमको सिमानाबाट उद्घाटन गर्दै अगाडि बढ्यौँ। पार्टीले सञ्चालन गरेको अभियान आफैमा महत्त्वपूर्ण रहेको थियो । राजनीतिक वैचारिक र कार्यक्रमको हिसाबले जनताको बीचमा केही हदसम्म भएपनि पार्टीलाई स्थापित गर्न सफल रह्यो। जनतासँगको सम्बन्ध विस्तार गर्ने, जन संगठनहरू निर्माण गर्ने, साधारण सदस्यता वितरण गर्ने काम हामीले सोचेजती नसकेपनि आधारभूत रूपमा सफल भएको छ। अभियानका दौरानमा गरिएका कोणसभा र भित्ते लेखनले प्रचारको काम भएको छ। ग्रामीण वर्ग सङ्घर्षको अन्तरविरोधहरूको पहिचानसहित आगामी दिनमा वर्ग संघर्षलाई उठाउनुको लागि पार्टीले खेल्नुपर्ने भूमिकाको पनि संश्लेषण गर्न केही हदसम्म सफल भएको छ ।
हाम्रो टोलीले पूर्वको पाँचथर, तेह्रथुम, धनकुटा भोजपुर र खोटाङ गरी पाँचवटा जिल्ला, तराईका जिल्लाहरूमध्ये हाम्रो टोलीले छ वटा जिल्ला जसमा सिराहा, धनुषा, महोत्तरी, रौतहट, बारा र पर्सा साथै बागमती प्रदेशको मकवानपुर र ललितपुर गरी जम्मा १३ वटा जिल्लामा अभियान सञ्चालन गरिएको थियो । पहाडी जिल्लाहरू खाली र उजाड बन्दैछन्। गाउँघरमा बुढाबुढी, बच्चा र महिलाहरु मात्र सीमित रहन पुगेको छ । युवाहरू रोजगारीको लागि विदेश जाने वा सहरतिर लाग्ने सिलसिला जारी छ । पहाडमा मलामी जाने मान्छेको अभाव बढ्दै गई रहेको छ। तराई मधेसमा जनसङ्ख्याको घनत्व बढ्दै जाँदा बेरोजगारी समस्या पैदा भएको देखिन्छ। नेपालको सिमानामा हुने भारतीय अतिक्रमणले तराईका किसानहरूको जमिन अतिक्रमण हुने गरेको छ । समग्रमा जनताको समस्या अरु जटिल बन्दै गएको छ। जनताहरूले विकल्प खोजिरहेका छन्। जनता जहिले पनि परिवर्तनको पक्षमा उभिन्छन् । यो अभियानको समीक्षा गर्दा पार्टीले यस्ता अभियान निरन्तररूपमा सञ्चालन गर्दै जानुपर्दछ र जनतालाई वैचारिक खुराक प्रदान गर्दै संगठनमा संगठित गरी वर्ग संघर्षको उत्थान गर्न पलकदमी लिनु पर्दछ।

१०) जनसम्बन्ध विस्तार अभियानबाट के पाठ सिक्नु पर्दछ जस्तो लाग्छ?
–जनसम्बन्ध विस्तार अभियान जस्ता कार्यक्रमलाई स्थानीय स्तरको पार्टी कमिटीबाट सञ्चालन गरी पार्टी र जनता को बीचको सम्बन्ध लाई निरन्तर सुदृत गर्न सकिन्छ । जनताका पीडा मर्का र समस्याहरूलाई बुझ्ने र जनतासँगै सहकार्य गर्दै ती समस्या समाधानका लागि जनतासम्म पुग्नु बाहेक अर्को विकल्प छैन। हामीले जनताबाट सिक्ने धेरै कुरा छन् र हामीले जनताको अधिकारको लागि गर्नुपर्ने धेरै कुरा छन् । जुन क्रान्तिबाट मात्र सम्भव छ । त्यो जनतालाई राजनीतिक रूपले सचेत बनाएर हुन्छ ।

११) आन्दोलनले देश मा ल्याएको परिवर्तनलाई कसरी हेर्नुभएको छ?
–२०८२ भाद्र २३ र २४ गति भएको जेन्जी आन्दोलनले देशमा एउटा तरङ्ग पैदा गरेको छ। संसद विघटन गरिएको छ। जेन्जी आन्दोलनको बलमा सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार निर्माण भएको छ। जेन्जी आन्दोलन भ्रष्टाचारको विरुद्धमा सुशासनको पक्षमा, पुराना पार्टी र नेतृत्वको विरुद्धमा गरिएको आन्दोलन थियो। यो आन्दोलनमा जेन्जी पुस्ताको युवाहरू उत्रिनुमा मुख्यत सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धले भूमिका खेल्यो। यो आन्दोलनले लोकतन्त्रलाई नै समर्थन गरेको र संसदीय व्यवस्थाको सुधारको कुरा मात्र गरेको हुँदा यस आन्दोलनबाट आमूल परिवर्तन हुने सम्भावना थिएन र सत्ता परिवर्तन पनि भएन । जेन्जी आन्दोलनमा ७६ जनाको ज्यान गुम्यो तिनको त्याग र बलिदानलाई सम्मान गर्दै पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्दछ। यस जेन्जी आन्दोलनलाई नेपालको सार्वभौमिकता र राष्ट्रिय अखण्डताको विरुद्ध नेपालमा विदेशी शक्ति केन्द्रले आफ्नो दलाल खडा गर्ने र नवदारवादी नीति लागू गर्न नव उपनिवेशिक उत्पीडन कायम गर्ने प्रपञ्च रच्ने साधन बनाइयो।

१२) आगामी मङ्सिरमा नेपालमा महिलाहरूको अन्तर्राष्ट्रिय सेमिनार हुँदैछ । सेमिनारको तयारी के कसरी हुँदैछ?
– मंसिर ११–१३ सम्म हुने सेमिनारको तयारी अन्तिम चरणमा पुगेको छ । नेपालबाट सहभागी हुने प्रतिनिधिहरूको सङ्ख्या ठोस भइसकेको छ। विभिन्न देशहरूबाट आउने प्रतिनिधि सहित ३०० महिला प्रतिनिधिहरू सेमिनारमा सहभागी हुँदैछन् । हल, ब्यानर र साउन्ड सिस्टम व्यवस्थापन को तयारी भइरहेको छ ।

१३) क्रान्तिकारी महिला संगठनको आगामी कार्यक्रम के छ?
–अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी), अखिल नेपाल महिला संगठन र अखिल नेपाल महिला सङ्घको बीचमा एकता भई क्रान्तिकारी महिला संगठन नेपाल गठन भएको हो। २०८२ जेठ २२ गते काठमाडौँमा विशेष भेला मार्फत ७५ सदस्यीय एकता सम्मेलन आयोजक समिति निर्माण भएको छ। संगठनका संयोजक अम्बिका मुडभरीको अध्यक्षतामा बसेको पहिलो बैठकले यही २०८२ फागुन २४ गते ८ मार्चको दिन चितवनमा एकता सम्मेलन उद्घाटन गर्ने निर्णय गरिएको छ ।
अहिले हाम्रो संगठन सम्मेलनको तयारीको लागि ब्युरो, जिल्ला, नगर, गाउँपालिका र महानगरका वडा स्तरमा भेला सम्मेलनको तयारी हुँदैछ ।
साथै संगठनको सदस्यता वितरण प्रक्रिया निरन्तर रूपमा चलि रहेकै छ। संगठनले अर्धवार्षिक पत्रिका ’महिला बोध’ दर्ता गर्नुको साथै यही कार्तिक महिनामा प्रकाशन गर्ने तयारी हुँदैछ ।

१४) अन्तमा भन्नु केही छ कि?
– यो अवसर प्रदान गरिदिनु भएकोमा हाँक साप्ताहिक पत्रिकालाई हार्दिक धन्यवाद

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?