माघ ९ गते । दाङको राजपुर गाउँपालिका–४ का टीकाराम यादव आठ वर्षपहिले राम्रो कमाइको आसमा साउदी पुग्नुभयो तर सोचेजस्तो आम्दानी हुन नसकेपछि परम्परागत पेसाका रूपमा चार/पाँच वटा भैँसी पालेर गुजारा गर्ने पेसालाई व्यावसायिक रूप दिएर अहिले सन्तुष्ट हुने गरी कमाउन थाल्नुभएकाे छ ।
साउदीमा एक वर्ष इलेक्ट्रोनिक कम्पनीमा काम गर्नुभएका यादवले महिनामा ६०/७० हजारभन्दा बढी कमाइ गर्न सक्नुभएन र लगत्तै देश फिर्नुभयो । अहिले सानाठुला गरेर ७२ वटा भैँसी पाल्नुभएका उहाँले दुध र दही बिक्री गरेर २३ सदस्य परिवारका लागि खर्च जुटाउने मात्र होइन, बचत गरेर जग्गासमेत किनिसकेको बताउनुहुन्छ । यादवले पाल्नुभएका ७२ भैँसीमध्ये १७ वटा भैँसीले दुध दिन्छन् । दैनिक करिब ६० देखि ७० लिटरसम्म दुध बेच्नुहुन्छ। घरमा भैँसीसम्बन्धी सबै काम आफूले गर्ने र भाइ टेकबहादुर यादवले लमही बजारसम्म पु¥याएर दुध बिक्री गर्नुहुन्छ । विदेशमा अर्काको अधीनमा बसेर काम गर्दाभन्दा आफ्नै ठाउँमा घरपरिवारसँगै बसेर भैँसीपालन गर्दा राम्रो आम्दानीसँगै सन्तुष्ट हुने यादव बताउनुहुन्छ।
दुध बिक्री गरेर भएको आम्दानीको आधा रकम भैँसीका लागि दाना, घाँस र औषधीमा लाग्ने गरे पनि बाँकी रकम भने नाफा हुने गरेको उहाँ बताउनुहुन्छ ।
भैँसीपालनबाटै राम्रो आम्दानी गरिरहेका यादवले सरकारबाट अहिलेसम्म कुनै प्रकारको सहयोग प्राप्त नगरेको गुनासो गर्दै भन्नुभयो । आफ्नै मेहनतले पुख्र्यौली पेसालाई व्यवस्थित गर्दै लैजाने सोचमा रहेको उहाँ बताउनुहुन्छ । त्यसका लागि घरपरिवारले पनि साथ दिएको यादव बताउनुहुन्छ ।