‘नयाँ परिवेशमा नयाँ तरिकाले क्रान्ति जारी छ’ : क्रान्तिकारी कम्युनिस्ट पार्टी
काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले ऐतिहासिक उनन्तीसौँ जनयुद्ध दिवसमा प्रेस वक्तव्य जारी गर्दै नयाँ परिवेशमा नयाँ तरिकाले क्रान्ति अगाडि बढिरहेको सन्देश दिएको छ । पार्टीका प्रवक्ता कञ्चनले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, “नेपाली क्रान्तिले धक्का अवश्य खाएको छ, तर क्रान्तिको प्रक्रिया रोकिएको छैन । यो नयाँ परिवेशमा नयाँ तरिकाले अगाडि बढिरहेको छ ।” वक्तव्यमा क्रान्तिकारी समूह र छरिएर रहेका विभिन्न क्रान्तिकारीहरुलाई क्रान्तिको प्रक्रियामा गोलवन्द भई अगाडि बढ्न पुनः हार्दिक आह्वान गरिएको छ ।
वक्तव्यमा भनिएको छ, “हामीले तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) का बीच एकता गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गठन गरेका छौं । हामी नेपाली तथा विश्व सर्वहारा क्रान्तिका सकारात्मक तथा नकारात्मक अनुभवहरुबाट सिक्दै र माक्र्सवाद–लेनिनवाद–माओवादलाई नेपाली विशेषतामा सिर्जनात्मक ढङ्गले लागुगर्दै क्रान्तिको तयारीमा जुटेका छौं । उनन्तीसौं महान जनयुद्ध दिवसको उपलक्ष्यमा हामी क्रान्तिकारी समूह र छरिएर रहेका विभिन्न क्रान्तिकारीहरुलाई क्रान्तिको प्रक्रियामा गोलवन्द भई अगाडि बढ्न पुनः हार्दिक आह्वान गर्दछौं ।”
वक्तव्यमा २०५२ साल फागुन १ गतेबाट सुरु गरिएको महान जनयुद्धको स्मरण गर्दै जनयुद्धका महान सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण, वेपत्ता योद्धाहरु तथा घाइते अपाङ्ग जनयोद्धाहरुप्रति उच्च सम्मान व्यक्त गरिएको छ ।
वक्तव्यमा भनिएको छ, “तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा ०५२ फागुन १ गते सुरु गरिएको महान् जनयुद्ध आज उनन्तीसौं वर्षमा प्रवेश गरेको छ । यस उपलक्ष्यमा हामी देशभर जनयुद्ध दिवश मनाउन गइरहेको छौं । यस ऐतिहासिक अवसरमा हाम्रो पार्टी नेपाली क्रान्तिको प्रक्रियामा सहादत प्राप्त गर्ने सम्पूर्ण अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ, वेपत्ता, घाइते तथा अपाङ्ग योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछ र नेपाली जनताले प्रस्तुत गरेका त्याग, वीरता र बलिदानका कीर्तिमानहरुको संस्मरण गर्दछ । साथै, हाम्रो पार्टी सहिद तथा वेपत्ता योद्धाका परिवारजन, सम्पूर्ण पार्टी सदस्य कमरेडहरु, समर्थक तथा शुभेच्छुकहरु, आदरणीय जनसमुदाय र भाईचारा पार्टी तथा विश्व सर्वहारा वर्गमा हार्दिक शुभकामना सहित लाल अभिवादन गर्दछ ।”
माओवादी आन्दोलनभित्रै मूल नेतृत्वमा पैदा भएको नवसंशोधनवादी विचलन र गद्दारीका कारण अहिले नेपाली क्रान्तिले गम्भीर धक्का खान पुगेको उल्लेख गर्दै वक्तव्यमा हिजो जनयुद्धको नेतृत्व गर्ने प्रमुख नेता आज कम्युनिस्टको खोल ओडेर साम्राज्यवाद÷विस्तारवादको भरपर्दो दलाल बन्न गएको र अर्का नेता माक्र्सवाद नै असान्दर्भिक भयो भन्ने मनोगत निष्कर्षमा पुगेको प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।
वक्तव्यमा उल्लेख गरिएको छ, “अर्ध–सामन्ती तथा अर्ध–औपनिवेशिक अवस्थामा रहेको नेपालमा, आन्तरिक रुपमा सामन्तवाद एवम् दलाल तथा नोकरशाही पुँजीवाद र वाह्य रुपमा साम्राज्यवाद तथा विस्तारवादका विरुद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद एवम् साम्यवादको दिशामा अघि बढ्ने दृढ संकल्पका साथ आजको ठीक अठ्ठाइस वर्ष अघि उद्घोष गरिएको महान् जनयुद्ध छोटै अवधिमा सात डिभिजन जनमुक्ति सेनाको निर्माण गर्न र त्यही सेनाको बलमा देशका ग्रामीण भूभागहरुमा आधार इलाका तथा जनसरकारहरुको स्थापना तथा रक्षागर्न सफल भएको थियो । त्यसले नेपालमात्र होइन विश्वभर क्रान्ति र परिवर्तनको नयाँ सन्देश प्रवाहित गरेको थियो भने विश्व साम्राज्यवादका लागि ठुलो चुनौती खडा गरेको थियो । तर, माओवादी आन्दोलन भित्रै मूल नेतृत्वमा पैदा भएको नवसंशोधनवादी विचलन र गद्दारीका कारण अहिले नेपाली क्रान्तिले गम्भीर धक्का खान पुगेको छ । हिजो जनयुद्धको नेतृत्व गर्ने प्रमुख नेता आज कम्युनिस्टको खोल ओडेर साम्राज्यवाद÷विस्तारवादको भरपर्दो दलाल बन्न गएका छन् भने अर्का नेता माक्र्सवाद नै असान्दर्भिक भयो भन्ने मनोगत निष्कर्षमा पुगेका छन् ।”
जनयुद्धको जग र जनआन्दोलनको बलमा नेपाली जनताले प्राप्त गरेका सिमित लोकतान्त्रिक अधिकारहरु क्रमशः खोसिँदै गएको उल्लेख गर्दै वक्तव्यमा वर्तमान संकटपूर्ण अवस्थाको चित्रण यसरी गरिएको छ, “देशमा आर्थिक संकट गम्भीर बन्दै गएको छ, व्यापार घाटाले आकाश छोएको छ । आम बेरोजगारी तथा अनियन्त्रित महंगीका कारण श्रमजीवी जनता दुई छाक हातमुख जोडने समस्याले चिन्तित छन् । नेपाली शासक वर्गको ध्यान कृषि क्षेत्रको वैज्ञानिक व्यवस्थापन तथा उद्योगहरुको स्थापना गरी देशमा आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको जग बसाउने र रोजगारीको ढोका खोल्नेतर्फ केन्द्रित छैन । यसको उल्टो, नेपाली शासकहरुले वैदेशिक रोजगारीका नाममा युवाहरुलाई विक्री गरेर प्राप्तहुने विप्रेषणले देशको अर्थतन्त्र धानेकोमा “गौरव” गर्ने गरेका छन् ।”
नेपालमा बढ्दो अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको हस्तक्षेपकारी उपस्थितिले देशको स्वाधीनतामा गम्भीर संकट उत्पन्न भएको चर्चा गर्दै वक्तव्यमा भनिएको छ, “नेपाली शासक वर्गले अमेरिकी साम्राज्यवादसँग हिन्द–प्रशान्त रणनीतिको अभिन्न अङ्ग रहेको एमसीसी परियोजना तथा एसपीपी जस्तो राष्ट्रघाती संझौता गरेर नेपाललाई संयुक्त राज्य अमेरिकाको सैन्यअखडा बनाउने बाटो खोलेको छ । नेपाली शासकहरुले भारतीय शासकवर्गले नेपालमाथि गर्दै आएको सीमा अतिक्रमण र राजनीतिक, आर्थिक तथा सांस्कृतिक हस्तक्षेपको सामान्य कूटनैतिक विरोधगर्ने साहस पनि गुमाएका छन् । यो सबै नेपालका संसदवादी पार्टीका शीर्ष नेताहरु नै देशको औपनिवेशीकरण गर्ने प्रक्रियामा साम्राज्यवाद÷विस्तारवादका भरपर्दा मतियार बन्न जानुको परिणाम हो । यसरी देशको राष्ट्रिय स्वाधीनता, जनतन्त्र तथा जनजीविकाको प्रश्न दिन प्रतिदिन गम्भीर बन्दै गएको छ । यो वर्तमान नेपालको तीतो यथार्थ हो ।”
वक्तव्यमा सामाजिक क्रान्तिको प्रक्रिया सिधा हुँदैन, क्रान्ति र प्रतिक्रान्तिका अनेकौं चक्रहरु पार गर्दै अगाडि बढ्छ भन्ने तथ्यको उजागर गर्दै भनिएको छ, “सत्ता, व्यवस्था र रैथाने संसदवादी राजनीतिक पार्टीहरुप्रति जनताको असन्तुष्टि चुलिंदै गएको छ र प्रतिगामीहरुले यसबाट फाइदा उठाउन कोशिस गरिरहेका छन् । प्रतिगमन कुनै विकल्प हुन सक्दैन । यसरी नेपालमा नयाँ जनवादी क्रान्ति हुँदै वैज्ञानिक समाजवाद अनिवार्य आवश्यकता बन्न गएको छ ।”