जगदीश चन्द्रको चौथो कविता कृति ‘व्यवस्थाको कण्चट’ विमोचन

काठमाडौँ : कवि जगदीश चन्द्र भण्डारीको चौथो कविता कृति “व्यवस्थाको कण्चट ” आज असोज ३१ गते एक समारोहका बीच विमोचन गरिएको छ। काठमाडौँ सेतो पुलस्थित इच्छुक साँस्कृतिक प्रतिष्ठानको हलमा एक कार्यक्रमका सन्दर्भमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले सो पुस्तक विमोचन गर्नुभएको हो। कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्यहरु, अन्य राजनीतिकर्मी तथा साहित्यकर्मीहरूको समेत जमघट थियो । उक्त विमोचन कार्यक्रमलाई इच्छुक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीले समन्वय गर्नुभएको थियो।

एकसय चौरासी वटा कविता यसमा सग्रहित छन् । गद्य लय ढाँचामा लेखिएका यी कवितामा भण्डारी जनपक्षधर, जनवादी क्रान्तिप्रति निष्ठा भएका सशक्त कविका रुपमा उपस्थित हुनुभएको छ । कवि  भण्डारीको कवितामा बुर्जुवा शक्तिको विरोध , दलाल बौद्धिक तत्वप्रति आक्रमण , सैद्धान्तिक ,दार्शनिक र वैचारिक आत्मसमर्पणकारीहरुप्रति घृणा, पुँजीवादी नवउदारवादी र साम्राज्यवादीको भन्डाफोर , कलाविरोधी रुपवादी तथा उत्तरआधुनिकतावादी चिन्तनको प्रतिरोध , समाजवादी – साम्यवादी तथा सर्वहारा मानवतावादी वैचारिक स्वर र सशस्त्र जनविद्रोहको आकाङ्क्षा जस्ता प्रवृत्ति कवितागत विशेषता रहेका छन् ।

वर्तमान जन्मन खोजिरहेछ (२०४०) भण्डारीको पहिलो कविता कृति हो । मुक्ति क्षेत्रको यात्रामा (२०४८), मेरा आँखामा तानाका कथा र जमर्काहरू (२०४०), अँध्यारोमा चलमलाएका शब्दहरू (२०४७) , मुक्ति क्षेत्रको यात्रामा (२०४८), साहित्य चिन्तन र विवेचना (२०५०), प्रगतिवादी नेपाली कविता रेखाङ्कन र विश्लेषण (२०५५), आँखाका यी नानी (२०५९), पृथक सिर्जन पृथक निरूपण (२०६०) , सौन्दर्यको भूमिका (२०६५), सौन्दर्यको अनविक्षण (२०७५), साहित्य र यथार्थ (२०५१) अनुवाद,प्रतिनिधि नेपाली समालोचना (२०६८),मार्क्सवादी साहित्य र जनयुद्धको सौन्दर्य (२०६७),समकालीन नेपाली कवितामा वर्ग सौन्दर्य )२०८१),मार्क्सवादी साहित्य र संस्कृति चिन्तन (२०८२) कृतिहरु लेखक भण्डारीद्वारा श्रृजना भएका छन् । अनुवाद र समालोचना क्षेत्रमा पनि उहाँ क्रियाशील हुनुहुन्छ। कलमका मार्फत मार्क्सवादको भ्रष्टीकरणका विरुद्ध साहित्यकार भण्डारी सशक्त विरुद्धमा उभिनुभएको छ । ।भण्डारी अहिले इच्छुक सांस्कृतिक प्रतिष्ठानका सदस्य तथा  नेपाल राष्टिय प्राध्यापक सङ्घका संयोजक हुनुहुन्छ ।

प्रा.डा. जगदिश्चन्द्र भण्डारीको यस कविता संग्रहमा राखिएको अन्तिम कविता निम्न अनुसार छ ।

विद्रोहमा पूर्ण विराम हुँदैन

जे भन्नुस्
जति छन्
तपाईँका शब्दकोशमा
अश्लिल असभ्य
निन्दा र घृणित शब्द
ती सबैलाई
उपयोग गर्नुस्।

फेरि पनि म भन्छु
दुनियाभरिका
थरिथरी रूप रङ्गका
फासिस्ट तानाशाह
पुराना वा लोकतान्त्रिक
जसले गरिरहेछन्
मानिसमाथि
बरबर तन्त्रको शासन
हुकुममै बाँचिरहेछन्
फरक खाले
वंश जाति लिङ्गको सहारामा
कब्जा जमाई रहेछन्
सुन्नु सबैले
यस्तो हुँदासम्म
यहाँ पनि
त्यहाँ पनि
दुनिया भरि नै
विद्रोहमा पूर्ण विराम हुँदैन

न त तपाईँहरूको संसारको
सभ्य विसर्ग नै हुन्छ।

प्रस्तुत कविताबाट नै थाहा हुन्छ कि भण्डारीमा एउटा क्रान्तिकारी साहित्यिक व्यक्तित्व छ। क्रान्ति, विद्रोह. परिवर्तन अबको दुनियामा सम्भव छैन भनेर संसारैभरि हौवा पिट्ने काम भइरहेको बेला कवि  जताततै  विद्रोहकै सम्भावना देख्नुहुन्छ । कवि  भण्डारीले नेपाली प्रगतिवादी कवितामा  त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्नु भएको छ,लामो समय प्राध्यापन पेशा अपनाएका ,अहिले निवृत्त  भएका भण्डारी राजनीतिक, साहित्यिक र सामाजिक  कामहरुमा निरन्तर क्रियाशील हुनुहुन्छ । प्रगतिवादी आन्दोलनले उहाँबाट अझ धेरैधेरै प्राज्ञिक र साहित्यक योगदानको अपेक्षा राखेको छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?