भारतमा नेपालीका समस्या र संगठनको एकीकरण अभियान ।


भारतमा काम गर्ने नेपालीहरुका अनेकौं समस्याहरु छन् । आधारकार्ड नभइकन व्यवहार नचल्ने समस्याले गर्दा नेपालीहरु भारतमा पीडित छन् ।नेपालबाट भारतमा रोजगारी,मजदुरी गर्न जाने प्रायः १८ वर्ष माथिका हुन्छन् । तर भारतमा १८ वर्ष माथिकालाई आधार कार्ड दिदैन । २०२३ बाट १८ वर्षको उमेर हद बनाए पछि नेपालीहरूलाई धेरै दुख भएकोछ । बैंक खाता खोल्न, ग्याँस सिलिण्डर बुक गर्न ,कुनै सिमकार्ड लिन, रेलकोटिकट लिन आधार कार्ड खोज्दछ । यस सम्बन्धमा हाम्रो मुख्य माग के हो भने आधार कार्ड बिना नेपाली नागरिकताबाट नै माथि उल्लेखित काम व्यवहार चल्नु पर्दछ । यदि नेपाली नागरिकताबाट दैनिक त्यसप्रकारको काम व्यवहार चल्ने हो भने भारतमा बस्ने नेपालीहरुलाई सजिलो हुनेछ । भारतका नागरिकहरु नेपालमा गएर स्वतन्त्ररुपले व्यापार ,व्यवसाय गर्न पाएका छन् । आफ्ना व्यवहार चलाउन पाएका छन् । नेपाल र भारत दुवै देशका नागरिकलाई १९५०को सन्धिले त्यो छुटदिएको छ । तर भारतले १९५० को सन्धिको व्यवस्था विपरीत नेपालीहरुको अधिकार कटौती गर्दै लगेको छ । हाम्रो संगठनले यो समस्यालाई उठाई रहेको छ । नेपाल सरकारको तर्फबाट पनि भारत सरकारसित यसबारे छलफल गर्न र यसलाई समाधान गर्नतिर ध्यान दिने काम भएको छैन । हाम्रो संगठन नेपाल सरकारले भारतमा रहने नेपालीहरुको उक्त समस्या समाधान गरोस भन्ने माग गर्दछ । हिमाञ्चलमा अझ डोमिसाइलको समस्या खडा गरिएको छ । नेपाली महिलाहरूलाई भारतबाट तेस्रो देश पठाउने काम दलालहरूले गर्दै आएका छन् । अहिले त्यो कार्य धेरै बढेर गएको छ । विदेश पठाइदिन्छु भनेर भारतमा होटलमा राख्ने अनैतिक काम गराउने, महिलाहरूलाई ठग्ने, बेच्ने काम बढेर गएकोछ । सम्बन्धित पक्षको ध्यान जान जरुरी छ ।
भारतमा यतिबेला असाध्य गर्मी छ ।तैपनि हामी संगठनको एकीकरणको काममा लागेका छौं । गत जुलाई ६र ७ मा अखिल भारत नेपाली एकता समाज र अखिल भारत प्रवाशी नेपाली एकता समाजकाबीचमा हैदरावादमा एकता अधिवेशन भएको छ । एकता अधिवेशनले संगठनको नाम अखिल भारत नेपाली एकता समाज राख्ने निर्णय गरेको छ । केन्द्रमा एकता भएपछि लगत्तै मध्य दक्षिण भारतको क्षेत्रीय एकता गरियो । त्यसपछि दक्षिण भारतको बैङलोरमा जुलाई २० र२१ गते, पंजाव तथा जम्मुकश्मीर क्षेत्रको एकता सम्पन्न भएको छ ।
जुलाई २८ मा यु.पि.मा, अगष्ट ४ मा दिल्लीमा एकता सम्पन्न हुँदैछ । खगेश्वर शर्माजी उक्त कार्यक्रममा आउँदै हुनुहुन्छ । उता पूर्वोत्तर क्षेत्रलाई कार्यालयबाट संयोजन गरी एकता गर्ने निर्णय भएको छ ।
एकता प्रक्रियाकै बेला केही साथीहरुले संदेहात्मक कार्य गर्नुभयो । नेपालबाट एउटा चिठी पठाईएको थियो ।त्यो चिठीले संगठनको एकताको भावलाई उल्लंघन गरेको थियो । छलफलबाट उहाँहरुको मनशाय स्पष्ट भयो । केही सीमित साथीहरु एकता प्रकृयाबाट बाहिरिए पनि धेरै जसो साथीहरु एकता प्रक्रियामा सहभागी हुनु भएको छ । हामीलाई विश्वास छ भारतमा यस एकताबाट प्रवासी नेपालीहरुबीचमा अखिल भारत नेपाली एकता समाज अझ झ्याङ्गिदै जानेछ ।

– नारायण शर्मा
केन्द्रीय सचिव, अखिल भारत नेपाली एकता समाज

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?