क्रान्तिकारी कम्युनिस्ट पार्टी चितवनले गर्याे राष्ट्रघात, भ्रष्टाचार र महँगीविरुद्ध विरोध सभा

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, जिल्ला कमिटी चितवनले भरतपुरको चौबिसकोठीमा विरोध सभा सम्पन्न गरेको छ । पार्टीको सङ्घर्षका केन्द्रीय कार्यक्रम अनुसार सोमबार भरतपुरको चौबिसकोठीमा राष्ट्रघात, भ्रष्टाचार र महँगीविरुद्ध विरोध सभा सम्पन्न गरेको हो ।

आयोजित उक्त सभालाई केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज घननाथ सापकोटा ‘बिकास’ ले सम्बोधन गरेका थिए । आफ्नो सम्बोधनमा जिल्ला इन्चार्ज बिकासले दिनप्रतिदिन फरक फरक आवरणमा राष्ट्रघातका नयाँनयाँ शृंखला जारी रहेको बताएका छन् । भ्रष्टाचार नियन्त्रण गर्न जिम्मेवार निकायहरू नै भ्रष्टाचारमा फसेका कारण भ्रष्टाचार दिनहुँ बढिरहेको बताउँदै बिकासले भ्रष्टाचारविरुद्ध जनता आफैँ उठ्नुपर्ने र भ्रष्टाचारीहरूलाई जनस्तरबाटै कारवाही गर्नुपर्ने बताए । बजारमा खाद्य वस्तुको कृत्रिम अभाव पैदा गरि कालाबजारी मौलाएका कारण अत्यधिक महँगीको मारमा परिरहेका छन् । चाडपर्वका बेला यस्ता गतिविधि धेरै हुने हुँदा बजारको नियमित अनुगमन गर्न उनले प्रशासनसमक्ष मागसमेत गरे । यस्ता गतिविधि विरुद्ध आफ्नो पार्टी सँधै सङ्घर्षरत रहेको बताउँदै उनले आगामी दिनमा पनि सङ्घर्षमा रहने बताए ।

पार्टीका केन्द्रीय सल्लाहकार दिवाकर न्यौपाने, बाबुराम प्यासी परियार, जिल्ला संयोजक कुलप्रसाद रिजाल, महिला नेत्री शान्ति बिक, कुसुम खडका, सहिद अनिष कुवँरका बुबा खड्गबहादुर कुवँर लगायतका दर्जनौँ नेता कार्यकर्ताको उपस्तिथिमा भएको कार्यक्रमलाई जनताहरूले चासोको साथ हेरेका थिए । प्रदर्शनकारीहरूले कार्यक्रममा राष्ट्रघात, भ्रष्टाचार, महँगी र व्यवस्था विरोधी नारा पनि लगाएका थिए।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?