रक्तिम-सामाना परिवारको बृहत जनसाँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं : आज भाद्र २० गते राष्ट्रिय नाचघरमा रक्तिम र सामना परिवारको बृहत जनसाँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम दिउँसो २ ः ३० बजे देखि सुरु भएर ५ः ३० सम्म सञ्चालन भएको थियो । कार्यक्रमको आयोजना क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ९ नम्बर ब्युरोले गरेको थियो ।

रक्तिम र सामना परिवारका कलाकारहरूले जनवादी गायक खुसीराम पाख्रीनद्वारा लेखिएको र गाइएको “सागर तर्ने यात्रीहरू” बोलको गीत गाएर कार्यक्रमको दैलो उघारिएको थियो , दर्शकहरूलाई स्वागत गरिएको थियो । जनवादी गायक जीवन शर्माद्वारा लिखित रातो लाल्टिन गीतमा कलाकारहरूले स्वागत नृत्य गरेका थिए। रातो लालटिन क्रान्ति, परिवर्तन र चेतनाको प्रतिक हो यसलाई निभ्न दिनु हुन्न भन्दै कार्यक्रम सन्चालक रक्तिमका अध्यक्ष नरायण शर्माले भन्दा सिङ्गै हलले सहमति जनाउँदै ताली बजाएको थियो । जनवादी कलाकार खुसीराम पाख्रीनको “लाल झुपडीको यात्री” शीर्षकको गीतलाई सामना परिवारका कलाकार अनिश योन्जनले निकै प्रभावकारी ढङ्गले प्रस्तुत गर्नु भएको थियो । खुसीराम पाख्रिनद्वारा लिखित लाल झुपडीका यात्री शीर्षकको गीतले क्रान्ति अझ बाँकी छ भन्ने सन्देश दिएको थियो । गीत सुनेर हल स्तब्ध भएको थियो ।

नवोदित गायिका अनु शर्माले जान्न म जान्न विदेशी हावा खान्न” शीर्षकको गीत गाउनुभएको थियो । उक्त गीतको लेखन र संगीतबद्ध गर्ने काम निलिमा पुनले गर्नु भएको हो । अनुको प्रस्तुतिले प्रगतिशील गीत ,संगीतको फाँटमा नयाँ पुस्ताको पनि आगमन भैरहेको छ भन्ने बुझ्न सकिन्छ । अखिल नेपाल जन साँस्कृतिक महासंघका सहसंयोजक तथा रक्तिम परिवारका पूर्व अध्यक्ष नारायण योगीद्वारा लिखित थारू भाषाको गीतमा
कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा हाँस्य कलाकार सुबोध गौतमले समसामयिक विषयहरू विभिन्न नेताहरूको क्यारिकेचर गरेर कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए ।

जनवादी कलाकार जनकलाकार रमण थामी र अर्का जनवादी कलाकार आरोह नेपालीले लिपुलेक लिम्पियाधुरामा भारत र चीनले व्यापार मार्ग खोल्ने सम्बन्धी गरेको सम्झौताको विरोधमा तय गरिएको गीत हलमा गाउनु भएको थियो । त्यो गीतमा दर्शकहरुले ताली बजाउँदै राष्ट्रिय एकताको पक्षमा आफ्नो भावनाहरु दर्शक दीर्घाबाट पनि प्रकट गरिएको थियो ।

रक्तिमका कलाकारहरू नारायण शर्मा र डम्बर भण्डारीले पूजा गीती नाटकको एउटा अंश “घरबाट आयौ, के खबर ल्यायौ ” भन्ने गीतमा अभिनय प्रस्तुत गरेका थिए। प्रस्तुतिबाट सुरुमा दर्शकहरू भावुक भएका थिए र अभिनयको अन्तिममा जब व्यवस्था परिवर्तनको लागि लड्नुपर्छ उठ्नुपर्छ भन्ने सन्देश दिँदै अभिनय समापन भएको थियो दर्शकहरु उत्साहित भएका थिए। रक्तिमका महासचिव उदय रिजालले सिर्जना गर्नुभएको लेकै फुल्यो लालीगुराँस टप्पा गीतमा कलाकारहरूले त्यसैगरी आरोह नेपाली र सुमिता पाख्रिन ले काँडाका बीचमा फूल फुल्छ भन्ने गीत गाउनुभएको थियो। सामनाका कलाकार अनिस योन्जनले गाउनुभएको क्रान्ति सम्भव छ साथी क्रान्ति सम्भव छ भन्ने गीतमा कलाहरू कम्ब्याट ड्रेसमा नृत्य दिएका थिए ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घका संयोजक हिरामणी दुःखी, सामना परिवार तथा संगम सांस्कृतिक परिवार पोखराका काजी गाउँले श्रेष्ठ , रक्तिम परिवारका धनबहादुर थापा लगायतका कलाकारहरूको पनि त्यस कार्यक्रममा उपस्थिति रहेको थियो। रक्तिम र सामना परिवारका कलाकारहरू असल पाख्रिन प्रतिभा पौडेल सुजन थापा उज्ज्वल मगर, डेविड गुरुङ, दिलिप बुढा, प्रशंसा थापा, सृष्टि बस्याल, असल वाइबा, अमित योन्जन, सफल सोडारी, रबिन पुर्जा, निशा घर्ती मगर ,कविता राय, सन्तोषी राय लगायतका कलाकारहरूले नृत्यमा योगदान पुर्‍याएका थिए।

कार्यक्रममा कम्युनिष्ट आन्दोलनका महत्वपूर्ण व्यक्तित्वहरू व्यक्तित्वहरूको पनि उपस्थिति थियो। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सीपी गजुरेल गौरव, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्यहरू हेमन्त प्रकाश ओली, रामसिंह श्रीस, सन्तबहादुर नेपाली, कृष्णराज पौडेल, हरिभक्त कँडेल, पोलिटब्युरो सदस्यहरू सीताराम तामाङ, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल, बामपन्थी नेता भैरव रेग्मी, राष्ट्रिय जनमोर्चाका नेता कृष्ण अधिकारी, अखिल नेपाल कम्युनिस्ट पार्टीका नारायण शर्मा ,लक्ष्मण उप्रेती लगायतका नेताहरूको कार्यक्रममा उपस्थिति थियो ।

रक्तिम सांस्कृतिक अभियानका संस्थापक अध्यक्ष तथा जनवादी गायक जीवन शर्माले कार्यक्रमको अन्त्यमा दुईवटा गीत प्रस्तुत गर्नुभएको थियो। सिमली छायामा बसी भरिया लामो सास फेरेको २०२९ सालमा लेखिएको गीत र पछिल्लो गीत “म हिँडेको गाउँको बाटो मुस्कुरायो । अन्त्यमा दर्शक दिर्घा र कलाकारहरू सँगसँगै नाचेर यो कार्यक्रम समापन भएको थियो।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?