
यही २०८२ सालको श्रावण महिनामा भुँडीपुराण प्रकाशनले दुईवटा पुस्तकहरु–कृष्णहरी भट्टद्वारा लिखित “कम्युनिस्ट जनवाद” र खेम थपलियाद्वारा लिखित “कम्युनिस्ट समाजवाद” लाई बजारमा ल्याएको छ । नेपाली समाजमा सामान्यतया कम्युनिस्ट जनवाद र कम्युनिस्ट समाजवाद अलि कमै सुनिएका शब्द हुन् । नौलो जनवाद, बहुदलीय जनवाद, समाजवाद, वैज्ञानिक समाजवाद जस्ता शब्दहरुका तुलनामा यी शब्दहरु कम सुनिएका हुन् । तर शब्दहरु जे प्रयोग गरिए पनि लेखकले कम्युनिस्ट मूल्य मान्यता अनुसारको जनवाद र कम्युनिस्ट मूल्य मान्यता अनुसारको समाजवाद कस्तो हुन्छ र हुनुपर्दछ भन्ने दृष्टिकोणबाट लेखकहरुद्वारा यी पुस्तकहरु लेखिएका हुन् । “कम्युनिस्ट जनवाद” पुस्तक नौलो जनवाद सित र “कम्युनिस्ट समाजवाद” पुस्तक वैज्ञानिक समाजवादसित सम्बन्धित छन् ।
नेपालमा अहिले नेपाली क्रान्तिको कार्यदिशा नयाँ जनवादी हुने कि समाजवादी हुने बारेमा छलफल चलिरहेको छ । नयाँ जनवादका पक्षपातीहरुले नेपालमा पुँजीवादी क्रान्ति पूरा भएको छैन भन्छन् भने समाजवादी कार्यदिशाको वकालत गर्नेहरुले नेपालमा पुँजीवादी क्रान्ति पूरा भइसक्यो । समाजवादी कार्यक्रम अन्तर्गत नै रहलपहल पुँजीवादी क्रान्तिका कार्यभार पूरा गर्नु पर्दछ भन्दछन् । समाजवादी कार्यदिशाका पक्षधरहरु पनि दुई प्रकारका छन्– एक, यही संविधान र यही प्रतिक्रियावादी बुर्जुवा संसदीय व्यवस्था भित्रबाट समाजवाद स्थापना गर्न सकिन्छ भन्ने र दुई, वर्तमान संविधान र संसदीय व्यवस्थालाई भत्काएर मात्र समाजवाद स्थापना गर्न सकिन्छ भन्ने । यी दुवै खाले समाजवादीहरुको बीचको नाता, सम्बन्ध के हो ? सम्भवतः समयले त्यसलाई पनि स्पष्ट गर्दै जाने छ ।
नयाँ जनवादका पक्षधरहरुले यस संविधान र संसदीय व्यवस्थाभन्दा बाहिरबाट समाजवाद स्थापना गर्न चाहने शक्तिहरुसित निकट सम्बन्ध राख्नुपर्ने, मोर्चा र कार्यगत एकतामा ध्यान दिनुपर्ने देखिन्छ । भारतमा नयाँ जनवाद र समाजवाद बेग्लाबेग्लै रणनीतिक लक्ष्य बोकेका तीन पार्टीहरुको बीचमा पार्टी एकता गरेर भाकपा (माले) मासलाइन गठन गरेको उदाहरण छ । केही वर्ष पहिले स्थापना भएको त्यो पार्टी अहिले संचालनमा छ । नेपालमा किन नयाँ जनवादी क्रान्तिको कार्यदिशा अहिले पनि सान्दर्भिक छ भन्ने बारेमा कृष्णहरी भट्टजीले आफ्नो पुस्तक “कम्युनिस्ट जनवाद” मा प्रकाश पार्नु भएको छ ।
लेखक भट्टले “कम्युनिस्ट आन्दोलनलाई सिद्धान्तनिष्ट पुनर्गठन गर्ने र नयाँ जनसंघर्षको आधारको खोजी गर्ने” हेतुले यो पुस्तक लेखेको बताउनु भएको छ । लेखहरुको संग्रह नै भट्टको पुस्तक भएकाले कतिपय कुराहरु दोहोरिएका छन् । तसर्थ पुस्तक संग्रहमा विषयहरु र सन्दर्भहरु, तथ्यहरु दोहोरिनु स्वाभाविकै हो ।
भट्टले नेपाली समाजको चरित्र पुँजीवादी भइनसकेको र जे जति पुँजीवाद कायम भएको छ । त्यो पनि दलाल पुँजीवादको विकास भएकाले त्यसलाई पुँजीवाद भन्न नमिल्ने लेखक भट्टको तर्क छ । लेखक भट्टले आफ्नो मान्यतालाई पुष्टि गर्न थुपै् तथ्य तथ्यांक प्रस्तुत गर्नु भएको छ । भट्टकै भनाईलाई थप स्पष्ट होस् भनेर म निम्न तथ्य राख्न चाहन्छु ।
आर्थिक सर्वेक्षण २०८१÷८२ ले निम्न तथ्यांक प्रस्तुत गरेको छ । आर्थिक वर्ष ०८१÷०८२ मा नेपालको कुल ग्राहस्र्थ उत्पादन (जि.डिपि.) ६१ खर्व ७ अर्ब ७ करोड रहेको छ । जि.डि.पि. मा कृषि क्षेत्रको योगदान २५.२ प्रतिशत, उत्पादनमूलक उद्योगको योगदान ४.९८ प्रतिशत रहेको देखिन्छ । (हेर्नुस तथ्यांकमा नेपाल, (०८१÷०८२), डिलाइट प्रिन्ट प्रा.लि.) कतिपय समाजवादी क्रान्तिको कार्यदिशाका पक्षधरहरुले झण्डै ५० प्रतिशत जि.डि.पी सेवा क्षेत्रले ओगट्ने देश पनि कही अर्ध सामन्ती हुन्छ ? यो त पुँजीवादको मूल प्रवृत्ति हो नि भन्छन् । सेवा क्षेत्र भनेपछि वित्तिय सेवा क्षेत्र, विद्युत सेवा लगायत आउँछन् । ती सेवा क्षेत्रहरुमा पनि विदेशी पुँजी÷दलाल पुँजीपतिको वर्चश्व बढ्दै गएको छ । दलाल पुँजीवादी शोषणलाई अन्त्य गर्नु पनि नयाँ जनवादी क्रान्तिकै कार्यभार हैन र ? कतिपयले रेमिटेन्सले चल्ने देश पुँजीवादी हो भन्छन् । रेमिटेन्सबाट आएको रकम अधिकांश उपभोगमा खर्च हुन्छ । आयलाई उत्पादनमा खर्च हुने भए त्यो तर्कलाई मान्न पनि सकिन्थ्यो ।
“कम्युनिस्ट जनवाद” पुस्तकमा कतिपय तिथिमितिमा कमजोरी भएको छ । त्यसलाई सच्चाएर बुझ्नुपर्छ वा अर्को संस्करणमा सच्चाउनु पर्छ ।
० पृष्ठ ५ मा लेखिएको छ –“आइकोरमा नेकपा एमाले, माओवादी, मसाल लगायतका पार्टीहरुको सहभागिता रहेको छ ।” सत्य कुरा यो हो कि अहिले आइकोरमा मसाल र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको मोर्चा मात्र सहभागी छन् । एमाले र माओवादी त्यसमा सहभागी छैनन् ।
० पृष्ठ १७ मा लेखिएको छ– “२०३५ सालमा मसालका महामन्त्री मोहनविक्रम सिंहले १५ सेप्टेम्बरमा पार्टी स्थापना नभएको र वैशाख १० गते नै पार्टी स्थापना भएको भनेपछि कम्युनिस्ट पार्टी स्थापनाको गतेमा विवाद देखा परेको हो ।”
तथ्य यस्तो हो– २०३४ साल वैशाखमा नेकपाको मुखपत्र मशाल वर्ष ५, अंक १ मा प्रकाशित नर बहादुर कर्माचार्य, निरन्जन वैद्य नारायण विलाश जोशीको २०१६) सालको हस्तलिखित वक्तव्यका आधारमा पि.विको निर्णय अनुसार २२ अप्रिललाई पार्टी स्थापना दिवस मनाउन थालिएको भनिएको छ । त्यसैले २०३५ सही होइन ।
० पृष्ठ ३३२ मा लेखिएको छ ।
“नेकपा (मशाल) को पाँचौं महाधिवेशन २०४२ सालमा भएको भनिएको भएको छ ।” सत्य कुरा यो हो कि २०४१ सालको मंसिरमा भारतको अयोध्यायमा पाँचौं महाधिवेशन भएको थियो ।
० पृष्ठ ३३३ मा लेखिएको छ ः
“मेघराज आचार्यको संयुक्त राष्ट्रिय जनआन्दोलनको नाममा वामपन्थीहरुका अर्को मोर्चा बनेको थियो ।
” भनिएको छ । “मेघराज आचार्यको” भन्ने शब्द हटाइनु पर्दछ ।
० पृष्ठ ३३३ मा नै “२०४६ साल असारमा मोहनविक्रमको नेकपा (मसाल), निर्मल लामाको चौम र रुपलाल विश्वकर्माको सर्वहारावादी श्रमिक संगठन मिलेर पार्टी एकता संयोजन समिति गठन भयो । यी तीन वटै पार्टी मिलेर नेकपा (एकताकेन्द्र) बन्यो ।” सत्य कुरा यो हो कि २०४७ मा नेकपा (मशाल), सर्वहारा श्रमिक संगठन, नेकपा (चौ.म.) नेकपा (विद्रोही मसाल) र नेकपा (जनमुखी) मिलेर नेकपा (एकताकेन्द्र) बनेको थियो । तिथिमिति प्राविधिक पक्ष हुन् । तैपनि ती तथ्यगत हुनुपर्दछ । पुस्तकको मूल स्पीरिट ठीक छ । भट्टजीले भन्ने गरेको नयाँ जनवादमा पुग्नका लागि अहिले अपनाउनु पर्ने कार्यनीतिहरुको बारेमा चर्चा कम भयो कि ? आगामी दिनमा त्यतातर्फ लेखकको विशेष ध्यान जाओस् भन्ने हाम्रो आग्रह छ । खेम थपलियाले लेख्नुभएको “कम्युनिस्ट समाजवाद” पुस्तकको औचित्यबारे प्रकाश हाल्दै लेखकीय स्तम्भमा लेख्नु भएको छ–“सक्कली समाजवादलाइई सक्कलीकै रुपमा र नक्कली समाजवादलाई नक्कलीकै रुपमा प्रस्तुत गर्नु क्रान्तिकारी कम्युनिस्टहरुको पहिलो कार्यभार बन्न पुगेको छ ।”
थपलियाले दुईवटा अध्यायमा यस पुस्तकलाई लेख्नुभएको छ । अध्याय १ मा पुष्पलालका रचना, अन्तर्राष्ट्रिय सन्दर्भ र नेकपा (एकताकेन्द्र) को २०४८ को राष्ट्रिय एकता महाधिवेशनको दस्तावेजमा समाजवादका सैद्धान्तिक आधारहरु खोज्ने र तिनलाई प्रकाशमा ल्याउने प्रयास गर्नुभएको छ । यस कृतिमा लेखकले विश्वभरी अभ्यास गरिएका समाजवादको अभ्यासको चर्चा गर्दै नेपाली विशेषताको समाजवाद के हुन सक्छ भनेर आफ्ना विचार प्रकट गर्नु भएको छ । लेखकले संसदीय संशोधनवादले “समाजवाद” का नाममा सिर्जना गरेका भ्रमहरुको पनि पर्दाफास गर्नु भएको छ । समाजवादसित जोडिएको महिला, पत्रकारिता, कलासहित्य, सौन्दर्य चिन्तन, संस्कृति, संगठन निर्माण परिचालन, जनवादी केन्द्रीयता, प्रचलित चाडपर्व आदिका बारेमा समेत व्यापक प्रकाश पार्नु भएको छ ।
लेखक थपलियाले परिशिष्टमा नेकपाको पहिलो घोषणापत्र, सर्वहारा सांस्कृतिक क्रान्ति सम्बन्धी चिनियाँ कम्युनिस्ट पार्टीको स्रोह बुँदे निर्णय, नेकपा (माओवादी) को पहिलो पर्चा दिनु भएको छ ।

“कम्युनिस्ट समाजवाद” मा
पृष्ठ १२९ र १३० मा लेखिएको छ –“भनिन्छ, जनयुद्धको उत्कर्षतिर माओवादी पार्टी र त्यसको मूल नेतृत्व प्रचण्डसमक्ष दरबारबाट नेपाललाई टुक्राउने प्रस्ताव लगिएको थियो । स्रोतका अनुसार उक्त प्रस्तावमा गण्डकी पारी प्रचण्ड (माओवादी) शासन गर्ने र गण्डकी वारी राजाले शासन गर्ने कुरा उल्लेख थियो । नेपाल टुक्राउने त्यस किसिमको दरवारिया प्रस्तावलाई प्रचण्ड (माओवादी) ले सिधै खारेज गरिदिएको थियो । माओवादीले भनेको थियो कि हामी सिद्धिन तयार छौं तर देश टुक्रा पार्दैनौं ।”
यदि दरबारबाट त्यस किमिसको प्रस्ताव आएकै हो भने त्यो निकै गम्भीर विषय हो । यस्ता कुरालाई अरु स्पष्ट पारेको भए हुने थियो भन्ने लाग्छ । कतिपयले नयाँ जनवाद र समाजवादलाई एक अर्काका विरोधी विचारको रुपमा प्रस्तुत गर्ने गर्दछन् । यो गलत हो । नयाँ जनवादी क्रान्तिका पक्षधरहरु कदापि समाजवादका विरोधी हुन सक्दैनन् । नयाँ जनवाद भनेको समाजवाद उन्मुख कार्यक्रम नै हो । समाजवादको अभिन्न अंग हो । यत्ति हो कि आत्मनिर्भर अर्थतन्त्रको विकास नगरिकन र देशलाई स्वाधीन राष्ट्रको रुपमा स्थापित नगरिकन समाजवाद लागु गर्छु भन्दा पनि सम्भव हुँदैन ।
“कम्युनिस्ट जनवाद” प्रारम्भिक पृष्ठ १० र पाठ्य पृष्ठ ५३७ को छ भने “कम्युनिस्ट समाजवाद” प्रारम्भिक पृष्ठ ७ र पाठ्य पृष्ठ ५४४ को छ । दुवै पुस्तकको मूल्य ११०० राखिएको छ । अहिले नेपालमा नेपाली क्रान्तिको कार्यदिशा के हुने बारेमा छलफल भइरहेका बेला यी दुवै पुस्तकहरुले आगामी कार्यदिशा तय गर्न अवश्य योगदान पु¥याउने छन् । तसर्थ दुवै लेखकले अध्ययन चिन्तनको क्षेत्रमा गरेको योगदान साह्रनीय छ । दुवै पुस्तक पढ्न योग्य छन् ।