संस्मरण : आत्मसंर्घष बर्गसंर्घषको आधार

संस्मरण : आत्मसंर्घष बर्गसंर्घषको आधार रवि ‘विकल्प’

‘निरन्तर क्रान्तिको अभियानमा एकपटक होइन हजारौ पटक आत्मसंर्घषको परिक्षा दिनुपर्छ’

मेरो मनमा एक किसिमको नरमाइलो छाएको छ । म आज घरमा कसैलाई खबरै नगरी कतै जाँदैछु । मन गह्रौ भएको छ । कता कता गहौं मनमा कौतुहलता पनि छ । मैले भित्ताको काँटीमा टाँगिएको एकजोर कपडा लिएर निलो प्लाष्टिकको झोलामा राखे । आज आमहडतालको चौथो दिन अर्थात २०६२ साल चैत्र २८ गते । गाउँका एक जना दाजु ठुल्दाईलाई कमरेड नबीन र मैले आज ‘हामी कतै जाने योजना छ’ भन्ने कुरा सुनाऔं । पुरै योजना भने हामीले उहाँलाई भनेनौ । थोरै भएपनि घरमा हाम्रो यात्राबारे सामान्य जानकारी होस् भन्ने हाम्रो उद्धेश्य थियो । ठुल्दाईले आफ्नो साइकल दिएर क.सुरेशलाई हामीलाई गन्तब्य तर्फ छोड्न भन्नुभयो । हामीले गाउँ छोड्यौ ।
जताजतै आन्दोलनको मौसम छ । बर्दघाटको सडकमा दिउसै पनि निरंकुशताको बिरुद्ध आवाज घन्किरहेको छ । चोकचोकमा नाराजुलुस लगाइएको थियो । चिसापानी र लण्डनब्रीजमा अघिल्लो दिन हाम्रो टिमले नै ठाँउ ठाँउमा शिशौका रुखहरु सडकमा लडाएर बन्द बाटो बन्द गरेको थियो । रातमा आफूले गरेका काम दिउसो देख्न पाउदाँ हामी दंग थियौ । हामी साइकलमै पश्चिमतर्फ करिब ६ किमी यात्रा तय ग¥यौ । त्यो बेला साइकल हाम्रो वर्गीय मित्र सरह थियो ।
मेरो मनमा भने एक किसिमको चिन्ता परेको छ । ‘एकपटक घरमा सोधेको भएपनि हुने ?’ यस्ता तर्कनाहरुले मलाई सताइरहेको थियो । तर सोध्दाँखेरी योजना बिग्रने र अघिल्लो बर्ष मलाई आफन्तहरुले संगठनमा काम गरेको थाह पाएर छिवनी दिदीको घर भन्दै त्रिवेणीधाम हुदैं भैसालोटनबाट बगाहा (विहार भारत)को रेल चढाएर माइलो भिनाजु(खेमलाल) संगै दिल्ली लगेको घटना ताजै थियो । यस घटनाले मलाई घोचिरहन्थ्यो पोलिरहन्थ्यो । आमा बिरामी परेकोले म अघिल्लो बर्ष घर आउने बहाना पाएको मैले ‘संगठनको योजनामा जोडिएको छू’ भनेर घरमा भन्न सक्ने अवस्था पनि थिएन् । त्यसैले मैले घरमा चारदिनको लागि बाहिर जादैछु भन्न ठिक लागेन् । मेलै यो पटक पनि वुवा आमालाई सोधिन् ‘यो ठिकै गरे जस्तो लाग्छ’ मलाई । नवीन र मैले गाउँको एउटै बिद्यालयमा पढाएर अध्ययन खर्च जुटाइरहेका थियौ ।
हामीलाई नेतृत्वमा रहेका कमरेडहरु बिमल, विकास र प्रतिमाबाट टाढै छ – ‘कम्तीमा चारदिनको योजना बनाउनुस् भन्ने निर्देशन थियो ।’ एकातिर नेतृत्वको निर्देशन अर्काेतर्फ घर, हामीलाई आत्मसंर्घषमा जित्नु पनि थियो हामीले जित्ने तर्फ पाइला राखेका थियौं । त्यसैले हामी मुक्तिपथमा लम्कियौ । पार्टीकै योजनामा हाम फाल्यौ । नवीन कमरेड र म तुलसीनगरको टेलिफोन बुथमा पुग्यौ । ‘हामीलाई केही थप निर्देशन छ कि’ भन्ने सुचना लियौं । टेलिफोन बुथ हामीले पछिल्लो चरणमा प्रयोग गरिरहेका थियौ । त्यहाँ त्यो बेला दुईचार घर मात्र थियो । एउटा झुपडीमा रहेको चिया पसलमा बसेर चिया खायौ । दुवै जना चियाको अम्मली भएकोले चियाले नै हामीलाई खाजाको काम ग¥यो ।
त्यहाँबाट एम्बुलेन्स प्रयोग गरेर हामी योजनामा जाने सोचमा थियौ । तर बर्गदुश्मनले अवरोध खडा गर्ने आँशकाले हामीले पूर्वनिर्धारित योजना बदल्न बाध्य बनायो । साँझको पाँच बजिसकेको छ । एक, दुई, तीन, चार गर्दै हामी भुमिगत शैलीमा १५ जना भेला भइसकेका छौं । एकजना केशव भन्ने जाजरकोटे साथी आफू पैदलै पैदल चुरे उक्लदै पोखरीछाप हुदै नवलपरासीको चुरे छिचोल्दैं गन्तब्यमा पुग्ने अड्डीमा हुनुहुन्थ्यो । हामी मध्ये धेरैलाई गन्तब्य बारे धेरै जानकारी थिएन् । हामी शहर केन्द्रीत संगठनमा जोडिएकाहरु भने एम्बुलेन्स वा साइकलमा जाने योजना बुन्दै थियौ । बिद्यार्थी संगठनको अग्रमोर्चामा काम गरेकोले होला हाम्रो र केशवको कार्यशैलीमा आकाश पातालको अन्तर देखिन्थ्यो । ‘हामी अलि दुश्साहसी पनि थियौ कि जस्तो लाग्छ’ मलाई ।
चैत्रे हावा लागिरहेको छ । धुलोले सडकमा बालुवा खन्याइरहेको छ । उत्तरतिर सालका रुखले घेरिएको जंगल छ । दक्षिण तर्फ थारु बहुल बस्ती खोखरपुरा छ । योजना बनाउदाँ बनाउदै रातिको पौने आठ बजिसकेको सकेछ । केशव पनि एक्लै उकालो लाग्नुभयो । पश्चिम तर्फबाट खबर आयो ‘सुनवलबाट अर्काे टोली उकालो लाग्यो रे ।’ हामीलाई योजनामा धेरै अलमल भएको भान परिरहेको थियो । त्यसैले साइकलमै जाने र रातमा दाउन्नेको चेकिङ पार गर्ने यकिन ग¥यौ । हामी बर्दघाट घर भएकाहरुलाई भने यसले निकै सताइरहेको पनि थियो । बर्दघाटको टिसीएन चोकमा झोला बोकेर रातिमा उकालो लाग्दाँ ‘कसैले देख्ने हो कि भन्ने पनि थियो ।’ कसैले सोध्यो भने कहाँ जाने भन्ने होला ? भन्ने प्रश्नले सताउनु पनि अस्वभाविक थिएन । बर्दघाट घर भएका म (समर) नवीन र सुरज कमरेडले मुखमा रुमाल बाँधेका थियौ । आ–आफनै सिर्जनसिलतामा हामी अगाडी बढ्यौं । सबैजसो कमरेडहरुसंग एक एक थान नयाँ साइकल थियो । हामीले बिद्यार्थी संगठनमा काम गरेरै साइकलको जोहो गरेका थियौ । म पनि टिसीएनचोकबाट दुईसय मिटर पूर्व सम्म साइकल चढेरै अगाडी बढे । अनि एसमोड नजिकैबाट पैदल साइकल डोहो¥याएर दाउन्ने तर्फ उकालो हानिए । करिब २ किमी हिडेपनि हामी एक ठाँउमा केन्द्रीकरण भयौ ।
भर्खर किशोरवयबाट युवावस्थामा प्रबेश गरेका हामीसंग दुश्मनलाई छक्काउने आ–आफ्ना तौरतरिका थियो । शहरमा बसेर आन्दोलन संगठित गर्न हिम्मत गरेको यो टोली उतिकै जुझारु पनि थियो । अन्याय अत्याचार पटक्कै नसहने प्रतिरोधी आन्दोलनको सिपाही हुने क्रमका हामी त्यो बेला निकै सक्रिय थियौ । आफ्ना घरायशी काम सकेर संगठनका काममा जोडिन उतिकै माहिर हामीलाई पार्टी आन्दोलनले सिकाइरहेको थियो । नेतृत्वको ब्यवस्थान पनि देखि आन्दोलनको पूर्वतयारी सम्मका काममा हामी खटिरहेका थियौं ।

रातिको करिब नौ बज्न केही मिनेट बाँकी हुदों हो । केन्द्रीकरण भएको दाउन्ने पश्चिमको जंगलमा पनि सर्दी तर्फबाट नाइट भिजन हेलिकप्टर उडिरहेको देखिन्थ्यो । बर्दघाट तर्फ झलमल बत्ती बेला बेला देखिएपनि लोडसेडिङले गर्दा अध्यारो पनि भईरहन्थ्यो । निशाचरहरुका लागि अध्यारो निकै राम्रो हुने गर्छ । हामीले दाउन्नेको चेकिङ पार गर्ने योजना बनायौं । आम हडताल भएकोले हामीलाई साइकलको सवारी निकै लाभदायक हुने नै भयो । हामीले दुई वा बढीमा तीन जना एउटा सेक्सनमा जाने गरेर योजना सोच्यौ । सेक्सनको लिडर पनि हामीले सहमतिमै चयन ग¥यौ । म पहिलो टोलीको लिडरमा छानिए । म संग खड्क र जगत संगसंगै हुनुभयो । दाउन्ने पुग्न अझ हामीले ५ किलोमिटर पैदल हिड्नुपर्ने थियो । दाउन्ने नजिक आईपुगियो जस्तो लाग्दै थियो । सडकको उत्तरपट्टीबाट पानी बगिरहेको आवाज आइरहेको थियो । बाटोमा बाँदरहरु भेटिए । हामी मध्ये केहीसंग टर्च पनि थियो । अनि सडक आमहडतालको रमाइलो सुखमा थियो । गाडीको भार बोक्नुपर्ने झण्झटबाट मुक्त भइसकेको सडक निकै स्ुनसान छ । जंगल भएकोले किराहरुका आवाज भने कानमा गुन्जिरहेको थियो । एक्कासी कतैबाट कोही रोएर आवाज हाम्रो कानमा गुन्जियो । दुश्मनले ईन्ट पठाएको भन्ने आँशका हामीलाई लागि सकेको थियो । ‘होइन होइन हिडौ’ अर्काे कुनै साथीले बोलेको आवाज पनि सुनियो । हामीले केही छल्ने प्रयास पनि ग¥यौ । दाउन्ने बजार पुग्न सय मिटर मात्र बाँकी थियो होला निकै मसिनो स्वरमा रोएर आवाज सुन्यौ । सायद महिलाको आवाज जस्तै थियो । जति अगाडि हामी पुग्यौ । उति ठुलोस्वर हामीतिर फर्किएको पायौ । परबाट हामीतर्फ केही आइरहेको जस्तो मान्यौ । हामी सडकको दुई नालातर्फ बाडिएर हिडुयौ । सायद ती महिला कुनै पीडाले होला निकै बेस्सरी रोइरहेकी थिईन । हामीलाई लाग्यो – ‘सायद मनस्थिति सही नभएको महिला पो हुन कि ? वा उनको सर्वस्व लुटिएको थियो कि ?’ उनको शरिरको एक तिहाई भन्दा बढी अंगमा कपडा थिएन् । हामी त्यहाँ अल्झिनु हाम्रो लागि घातक थियो । त्यसैले उक्त घटनालाई वेवास्ता गरेजस्तो गरेर हामीले यात्रा जारी राख्यौ ।
दाउन्ने बजार सुत्ने तरखरमा थियो । संकटकालको प्रभावले गर्दा दाउन्ने छिट्टै सुत्ने गर्दथ्यो । तैपनि सबै होटलका मालिकहरु सुतिसकेका थिएनन् । हामी दाउन्ने बजारको बीचमा एक्लाएक्लै साइकलमा चढेका मात्र के थियौ कतैबाट निकै कर्कस स्वरमा कसैले बोल्यो –’ए ए को हो ? को हो ? के हो रोक् रोक् ।’ मेरो अगाडी एकजना खाइलुते बर्दीधारी उभियो । तर हामी कसैले साइकल रोकेनौ । मैले बर्दीधारीलाई भने – ‘भारतबाट मजदुरी गरेर आएका हौं । कोही कौसदी तिरका छौ कोही चोरमाराका छौ । सायद उसको हाकीमहरु कुना पसिसकेको भएर होला उसले हामीलाई रोक्ने प्रयत्न गरेन । हामी त्यहाँबाट बचेर फुत्कियौं ।
मौसम पनि बिचित्र ढंगले अगाडि बढेको छ । तुलसीनगरमा चैते हुरीले हामीलाई सताएको थियो । तर दाउन्ने पूर्व लागेपनि ओरालोमा सिमसिम पानी पर्न थाल्यो । मौसमले चुनौती थप्दै गएको छ । अलि तल बिश्वकर्मा मन्दिर नजिक पुग्दाँ पानी बेस्कन प¥यो । हात कठ्याग्रिएर साइकलको बे्रक लगाउन पनि धौ धौ पर्दै गएको थियो । हामी लिछिप्पै भिजिसकेका छौ । कुनै साइकलमा दुईजना पनि भएकोले ब्रेकले सायद कामै गरिरहेको थिएन । खिमानन्दले खुट्टा घिसारेर ब्रेक लगाए जस्तै गरिरहनुभएको थियो । हामी दुम्किबासको ज्यामिरे बजारमा पुग्यौ । आफ्ना कपडा होटलमा आगो बाल्न लगाएर एकैछिन भएपनि सुकायौ । रात छिप्पिई सकेकोले बजारमा भुस्याहा र जड्याहाको बिगबिगी मात्र थियो । एकजना जड्याहाले हामीसंग निकै सोधनीपूछनी गरिरहेको थियो । हामी त्यहाँबाट पनि पूर्व हानियौं । दुम्किबास पुल तरेर पौने एक बजे आरुङखोला चोकमा पुग्यौ । हामी थकान र भोकले लखतरान भइसकेका थियौ । साथमा चिनी, चिउरा र केही केरा पनि थियो । चोकमा कसैले ढोका खोलेन । तैपनि बल्लबल्ल एउटा पसलेलाई उठाएर केही बिस्कुट किन्यौ । त्यही चिनी, चिउरा,बिस्कुट र केरा खाएर बाहुनीकुना सेल्टरमा गयौ । एउटा घरमा ७ जना र अर्काे घरमा ८ जना गरेर हामी सुत्यौ । सायद त्यो गाउँ नारायण पंगेनीको गाउँ थियो । केही साथीहरु नारायण पंगेनीको घरमा सुत्नुभयो । म भएको टोली सायद दबाडी थर भएको साथीको थियो । चार बजे सम्म दुई घण्टा मात्र सुतेर यात्रा तय गर्ने हाम्रो योजना थियो ।
‘मानिस आत्मसंर्घषमा बिजयी नभई अन्तरसंर्घषमा होमिन र बर्गसंर्घषको चढाईमा बिजयी हुन सक्दैन् । निरन्तर क्रान्तिको यो अभियानमा एकपटक होइन हजारौ पटक आत्मसंर्घषको परिक्षा दिनुपर्ने हुन्छ । यस पटक पनि हामी आत्मसंर्घष माथि बिजयी भएको अनुभुति निकै प्यारो लाग्छ’ – मलाई !

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?