हुथीले गर्याे यमनमा पकड विस्तार

एजेन्सी/वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीविरुद्ध अमेरिकी हवाई आक्रमण अन्तिम समयमा रोकेको रिपोर्ट सार्वजनिक भएको छ । यससँगै हुथी लडाकुहरूले सोमबार यमनका रणनीतिक उच्च भूभाग कब्जा गर्ने प्रयास तीव्र बनाएका छन् । उनीहरूको उद्देश्य लाल सागरको तटलाई साउदी समर्थित सरकारको नियन्त्रणमा रहेका बाँकी क्षेत्रबाट अलग गर्नु रहेको बताइएको छ ।

इरान समर्थित हुथी समूहले यसै महिना तीव्र गतिमा आफ्नो नियन्त्रण विस्तार गरेपछि मध्यपूर्वको जारी द्वन्द्व नयाँ क्षेत्रमा फैलिएको छ । यसले विश्वव्यापी ऊर्जा आपूर्तिमाथिको जोखिम पनि बढाएको छ । साउदी युवराज मोहम्मद बिन सलमानले यमनमा जारी लडाइँमा सहभागी हुन अमेरिकालाई पटक–पटक आग्रह गरे पनि वासिङ्टनले अहिलेसम्म त्यसलाई अस्वीकार गर्दै आएको छ ।

‘द न्युयोर्क टाइम्स’ले साउदी युवराजको पछिल्लो आग्रहपछि ट्रम्प प्रशासनले आइतबार हुथीविरुद्ध हवाई आक्रमण गर्ने तयारी गरेको जनाएको छ । तर अमेरिकी सैनिकहरूले विमानमा बम लोड गरिरहेको समयमै ट्रम्पले अन्तिम क्षणमा आक्रमण रोक्न आदेश दिएको पत्रिकाले उल्लेख गरेको छ ।

उक्त रिपोर्टको तत्काल स्वतन्त्र रूपमा पुष्टि हुन भने सकेको छैन । अमेरिकी सेनाको सेन्ट्रल कमान्डले यसबारेका प्रश्न ह्वाइट हाउसतर्फ पठाएको छ । ह्वाइट हाउसले पनि टिप्पणी माग्दै पठाइएको इमेलको तत्काल जवाफ दिएको छैन ।

यमनको साउदी समर्थित तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारका रियादस्थित राष्ट्रपति रशिद अल–अलिमीले आइतबार ट्रम्पलाई फोन गरी अमेरिकी सैन्य सहयोग मागेको चार स्रोतले रोयटर्सलाई बताएका छन् । तीमध्ये एक यमनी र एक पश्चिमी स्रोतका अनुसार ट्रम्पले उक्त फोनवार्ताका क्रममा प्रत्यक्ष रूपमा सैन्य सहयोग गर्ने प्रतिबद्धता जनाएका थिएनन् ।

तनाव बढेपछि शनिबार पहिलोपटक साउदी राजधानी रियादमा आक्रमण भएको देखिएको थियो । विमानस्थल आसपास विस्फोटको आवाज सुनिनुका साथै धुवाँ देखिएको थियो । हुथीहरूले साउदी राजधानीतर्फ क्षेप्यास्त्र प्रहार गरेको बताएका छन् । साउदी पक्षले भने यसबारे टिप्पणी गरेको छैन ।

उच्च भूभागमा भीषण लडाइँ

सन् २०१४ देखि यमनको राजधानी नियन्त्रणमा राख्दै आएको हुथी समूहले यसै महिना लाल सागरको तटीय क्षेत्र पनि कब्जा गरेको थियो । त्यसक्रममा साउदी समर्थित सरकारी सेनालाई पछि हट्न बाध्य पारिएको थियो ।

हुथीहरूका अनुसार पछिल्ला दिनमा साउदी अरबले उच्च भूभागमा रहेका उनीहरूका स्थानलाई लक्षित गरी सयौँ हवाई आक्रमण गरेको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार पछिल्लो चरणको लडाइँमा करिब ७०० जनाको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । करिब १ लाख ३० हजार यमनी आफ्नो देशभित्रै घर छाडेर विस्थापित भएका छन् । त्यस्तै, ३ हजारभन्दा बढी मानिस डुंगाबाट लाल सागर पार गरी अफ्रिका पुगेका छन् ।

यमनी सेनाका पाँच स्रोतले बताएअनुसार हुथीहरूले अब कहबुब पर्वत भनेर चिनिने रणनीतिक उच्च भूभाग कब्जा गर्ने प्रयास गरिरहेका छन् । यी पर्वत ताइज र लहिज गरी दुई प्रान्तमा छन् र लाल सागरको तटीय क्षेत्रलाई सरकारको नियन्त्रणमा रहेको दक्षिणी यमनबाट अलग गर्छन् ।

ताइज प्रान्तको दुर्गम अल–वाजियाह पहाडी क्षेत्रको बाहिरी भाग र लाल सागरको मुखमा रहेको बाब अल–मन्देबबाट एडेनस्थित सरकारी आधारतर्फ जाने हिन्द महासागरको तटीय क्षेत्रमा रहेको रास अल–आरा आसपास मुख्य लडाइँ भइरहेको स्रोतहरूले बताएका छन् ।

यमनी राजनीतिक विश्लेषक तथा अनुभवी पत्रकार मोहम्मद अल–काधीका अनुसार बाब अल–मन्देब क्षेत्र गुमाएपछि सरकारी सेना अहिले मुख्यतः रक्षात्मक अवस्थामा देखिएको छ । अर्कोतर्फ, तीव्र हवाई आक्रमणको सामना गरिरहे पनि हुथीहरूले आफ्नो सैन्य अग्रतालाई निरन्तरता दिन खोजिरहेका छन् ।

उनका अनुसार यी पहाडी क्षेत्रले हुथीहरूले हालै कब्जा गरेका भूभागलाई स्थायी रूपमा आफ्नो नियन्त्रणमा राख्न सक्छन् कि सक्दैनन् भन्ने निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छन् । साथै, सरकारी सेनाले पुनः प्रत्याक्रमण गर्न आवश्यक रणनीतिक स्थानहरू जोगाउन सक्छ कि सक्दैन भन्ने कुरा पनि यिनै क्षेत्रको नियन्त्रणमा निर्भर हुन सक्छ ।

साउदी तेल निर्यातमा जोखिम

साउदी अरब र हुथीबीच बढ्दो लडाइँले ट्रम्पका लागि कठिन परिस्थिति सिर्जना गरेको छ । एकातिर उनीमाथि साउदी सहयोगीलाई साथ दिन दबाब छ भने अर्कोतर्फ उनले सुरु गरेको युद्धलाई थप विस्तार गर्न नचाहेको देखिन्छ ।

अमेरिकाले सन् २०२५ को सुरुआतमा दुई महिनासम्म हुथीविरुद्ध बमबारी गरेको थियो । तर युद्धविराम भएपछि ट्रम्पले ती आक्रमण रोकेका थिए । त्यसयता अमेरिका यमनको द्वन्द्वबाट टाढा रहँदै आएको छ ।

हुथीहरूले लाल सागरमा आफ्नो नियन्त्रण विस्तार गरेपछि साउदी अरबले स्ट्रेट अफ होर्मुज हुँदै हुने अवरोधलाई छल्दै तेल निर्यात गर्न प्रयोग गर्ने प्रमुख वैकल्पिक मार्गसमेत जोखिममा परेको छ ।

यसको प्रतिक्रियास्वरूप साउदी अरबले होर्मुजमार्फत तेल ढुवानी बढाएको छ । केही ट्यांकरले युद्धकालीन जोखिम मोल्दै होर्मुज हुँदै तेल ओसारिरहेका छन् । त्यसका लागि उनीहरूले तेलको मूल्यको करिब एकचौथाइसम्म शुल्क लिने गरेको बताइएको छ ।

यी ट्यांकरहरूले हिन्द महासागर पुगेपछि तेललाई अन्य जहाजमा सार्ने गरेका छन् । त्यसपछि तेल एसिया तथा अन्य क्षेत्रका ग्राहकतर्फ पठाइन्छ ।

व्यापारीहरूका अनुसार साउदी अरबले यो महिना र अर्को महिना गरी ६ करोड ब्यारेल तेल बिक्री गरेको छ । उक्त तेल होर्मुजको पारि ओमाननजिकैबाट लोड गरिनेछ । स्याटेलाइट तथ्यांकअनुसार पछिल्ला दिनमा होर्मुज हुँदै साउदी तेल निर्यात प्रतिदिन २९ लाख ब्यारेल पुगेको छ । अगस्टमा यो प्रतिदिन ७ लाख ब्यारेल मात्रै थियो ।

यसले विश्व बजारमा कच्चा तेलको मूल्यलाई केही हदसम्म नियन्त्रणमा राख्न सहयोग गरेको छ । गत साता करिब ११० डलर प्रतिब्यारेल पुगेको कच्चा तेलको मूल्य अहिले फेरि १०० डलर आसपास झरेको छ । तर उपभोक्ता र उद्योगहरूले केही प्रशोधित इन्धनका लागि भने अझै कीर्तिमानी मूल्य तिरिरहेका छन् । अमेरिकामा डिजेलको खुद्रा मूल्य सोमबार पुनः अहिलेसम्मकै उच्च तहमा पुगेको थियो ।

होर्मुजमा भएको पछिल्लो आक्रमणबारे बेलायतको समुद्री सुरक्षा निकाय यूकेएमटीओले स्ट्रेटतर्फ जाँदै गरेको एउटा जहाजमा प्रक्षेप्यास्त्र वा अन्य वस्तु प्रहार भएको जनाएको छ । घटनामा चालक दलका केही सदस्य सामान्य रूपमा घाइते भएका थिए । यसअघि एउटा ग्यास ट्यांकरमाथि पनि आक्रमण भएको जानकारी प्राप्त भएको यूकेएमटीओले जनाएको छ ।

अमेरिका र इरानबीच जुनमा भएको अस्थायी सम्झौता केही सातामै भंग भएपछि व्यापक मध्यपूर्व द्वन्द्वमा कूटनीतिक प्रयास लगभग ठप्प छन् । इरानी राष्ट्रपति मसुद पेजेस्कियन मंगलबार संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क जाने कार्यक्रम छ ।

By जन बिहानी

Related Posts