त्रिपुरेश्वर बस आगजनीबाट घाइते चालकको मृत्यु

काठमाडौं : त्रिपुरेश्वरमा बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ।

कीर्तिपुर अस्पताल (बर्न अस्पताल) मा उपचाररत चालकको सोमबार राति नै मृत्यु भएको अस्पतालका बर्न प्लास्टिक सर्जन शंकरमान राईले जानकारी दिए।घाइते चालकको राति १० बजे नै मृत्यु भएको पुष्टि गरे।बा ५ ख ४२७४ नम्बरको बसमा सोमबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरमा आगजनी भएको थियो।

बस आगजनी सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले सो घटनाका सम्बन्धमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो।

समितिको सदस्यमा प्रहरीवृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक नरेश सिंह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्ट, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय काठमाडौंका अनुसन्धान अधिकृत सुरेश केसी, सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालका प्रतिनिधि धर्मराज रिमाल, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका प्रतिनिधि भीम ज्वाला राई र रिद्धिसिद्धी यातायात प्रालिका प्रतिनिधि लव केसी रहेका छन्।

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बस चालकलाई ट्राफिक नियमन उल्लङ्घन गरेको विषयमा पुर्जी काट्न खोज्दा विवाद भएको थियो। उक्त विवादपछि बसमा आगजनी भएको थियो। छानबिन समितिले घटनाको सत्यतथ्य पत्ता लगाउने र सात दिनभित्र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रतिवेदन पेस गर्नेछ।

छानबिन समितिको कार्यादेशमा घटनासँग सम्बन्धित तथ्य, प्रमाण एवं सूचना सङ्कलन र विश्लेषण गर्नेछ। यस्तै, घटनास्थललाई प्रत्यक्ष रूपमा देखे जानेका व्यक्तिसँग सोधपुछ गरी जानकारी लिने कार्यादेश समितिलाई दिइएको छ।

घटनास्थल वरपरको सिसीटिभी फुटेज अध्ययन गरी विश्लेषण गर्ने, बसभित्र भएको आगजनीबाट गम्भीर घाइते भएका व्यक्तिको पृष्ठभूमि एवं अन्य प्रमाणिक विवरण यकीन गर्नुपर्नेछ।

By जन बिहानी

Related Posts