नियतिवादले जनजीवनमा यति गहिरो जरा गाडेको छ कि पढेलेखेका डिग्रीधारी व्यक्तिहरूले पनि त्यसलाई त्याग्न सकेका छैनन् । हाम्रो कुनै पनि वस्तुलाई हेर्ने दृष्टिकोण वैज्ञानिक बन्न सकेको छैन । मानिसको आफ्नो सामर्थ्यमा होइन, बाहिरी शक्तिमा प्रबल विश्वास देखिन्छ ।
धार्मिक नियतिवादले जगत्का सम्पूर्ण घटनाहरूलाई र जीवजन्तुका गतिविधिहरू एवं विचारलाई अदृश्य ईश्वरीय शक्तिले निर्देशित गर्दछ भन्ने दृष्टिकोण अँगाल्दछ । इसाई, मुस्लिम, यहुदी, हिन्दु जस्ता विश्वका सबै खालका धर्म दर्शनहरूमा यस खालको अवधारणा पाइन्छ । धार्मिक नियतिवादले मानिसको आफ्नो स्वतन्त्र चाहना वा इच्छाद्वारा कार्यदिशाको निर्धारण हुँदैन भन्ने विचार अघि सार्दछ । यसले के कुरामा जोड दिन्छ भने आफूलाई परिस्थितिले प्रदान गरेका सामान्य कार्य गर्नुका अतिरिक्त मानिसले कुनै वस्तुको प्राप्तिका लागि प्रयत्न गर्नु आवश्यक छैन किनभने नियतिमा भएमा मात्र वस्तु उपलब्ध हुने हो । त्यसकारण कुनै काम सफल भएन भनी चिन्तित हुनुपर्ने आवश्यकता छैन । न त कुनै कामले राम्रो परिणाम दिँदा पनि यो काम मैले गरेको हुँ, यो मेरो प्रयत्नबाट भएको हो भनी अभिमान गर्नु व्यर्थ छ । यस जगत्मा कोही कर्ता छैन, कर्ता नभएपछि कर्मको सवाल नै आउँदैन ।
हाम्रो समाजमा धार्मिक नियतिवादले प्राचीनकालदेखि वर्तमानसम्म प्रभाव जमाएको छ । कतिपयले नियतिवाद र भाग्यवाद (Fatality) लाई एकै अर्थमा लिएका छन् र एकलाई अर्काको अर्थ वा प्रसङ्गमा प्रयोग गर्दै आएका छन् । यी दुई झण्डै उस्तै हुन् पनि, तर यिनमा झिनो अन्तर छ । नियतिवादले प्रत्येक मानिसका गतिविधि पुराना कार्य वा घटनाबाट निर्धारित हुन्छन् भन्ने विचार अँगाल्दछ । यसले धार्मिक मापदण्डका आधारमा कारणता (Causality) लाई मान्यता दिन्छ । यसले मानिसको वर्तमान अवस्था उसको विगतको कर्मको परिणाम हो अथवा पूर्व जुनीको कमाइ हो भनी भन्दछ । त्यसरी यसले परलोकमा पनि मानिसले अहिले जे जस्तो दानपुण्य गर्दछ अथवा धार्मिक आचरण गर्दछ, त्यही अनुसारको प्रतिफल पाउँछ भन्ने मान्यता राख्दछ । पुरोहितलाई दान दक्षिणा दिएमा, ईश्वर भक्ति प्रकट गरेमा स्वर्गमा स्थान पाइन्छ अन्यथा नरकको सास्ती बेहोर्नु पर्दछ भनी यसले भन्दछ ।
मानिसको भाग्यमा जस्तो छ, त्यही अनुसारको उसको कर्म हुन्छ भन्ने दृष्टिकोण भाग्यवादले अँगाल्दछ । हरेक व्यक्तिको भाग्य पहिले नै ईश्वरीय शक्तिले तोकेको हुन्छ भनी विश्वास गरिन्छ । नेपालको ग्रामीण परिवेशमा त्यस ईश्वरीय शक्तिलाई ‘भावी’ भन्ने गरिन्छ । भावीले लेखेको कसैले टार्छु भने पनि टारिँदैन भनेर भनिन्छ । मरेको मानिसको खप्परमा जुन बाङ्गाटिङ्गा रेखा हुन्छन्, त्यसलाई भावीले लेखेको अक्षर भन्ने गरिन्छ । मानिसको कर्म निर्धारणमा व्यक्तिगत प्रयासलाई नजरअन्दाज गरिन्छ । शिशु जन्मेको छैटौँ रातमा सुत्केरी आमा र शिशु सुत्ने कोठामा रातो मसी र कलम राख्ने संस्कार नेपालका कतिपय जातिहरूमा छ । जनविश्वासअनुसार त्यस रात भावीले आएर शिशुको निधारमा उसको भाग्य लेखिदिन्छ भन्ने ठानिन्छ (विष्ट, २०२०: ७५) । भाग्यवादीहरू भन्दछन् कि यस्तो भएन उस्तो भनेर गुनासो गर्नु व्यर्थ छ, जे हुनु छ, त्यो भएर छाड्छ । नहुने कार्य जति प्रयास गरे पनि गर्न सकिन्न । यसरी भाग्यवादले मानिसलाई दैवी शक्तिको निगाहमा जिम्मा लगाउँछ । तर धार्मिक नियतिवाद र भाग्यवाद दुवैको स्रोत ईश्वरीय शक्ति भएकाले यिनीहरू एकआपसमा अन्तर्सम्बन्धित छन् ।
पौरस्त्य समाजमा जुन समयमा आजीवकहरूले प्रकृतिजन्य नियतिवादलाई जन्म दिएका थिए, त्यतिखेर यो धर्मसँग जोडिएको थिएन । अध्यात्मिकहरूका दृष्टिमा यो नास्तिक मत थियो । नास्तिक मत भनेको त्यस समयको भौतिकवादी विचार हो । आजीवक विचारबारे विशेष अध्ययन गरेका ए.एल. बाशमले आजीवकवाद जैन र बौद्ध जस्तै कर्मकाण्डवाद र ब्रह्मवाद विरोधी नास्तिक चिन्तन भएको र त्यसले परमाणुवादलाई पनि अँगालेको विचार व्यक्त गरेका छन् (भुसाल, २०७७: २५१) । वायु पुराणमा आजीवक र तिनको विचारको विरोध गरिएको छ । त्यहाँ भनिएको छ, “आजीवकहरू धार्मिक सवालका विषयमा भ्रम छर्ने व्यक्ति हुन् । तिनीहरू शूद्र वर्णका मजदुर र कारिगरका प्रतिनिधि हुन् (दामोदरन, २०१८: ९७) ।”
पछि पौराणिक युगमा जब धार्मिक ग्रन्थहरू पुराण, महाभारत र रामायणहरू लेखिन थाले र विभिन्न धर्मशास्त्रहरू अस्तित्वमा आए, हिन्दु पण्डितहरूले नियतिवादलाई धर्म र ईश्वरीय शक्तिसँग जोडे । त्यस अवधिमा पुराण, महाभारत र रामायण जस्ता ग्रन्थहरूले सार्वजनिक सञ्चारका माध्यमको भूमिका निभाउने भएकाले ती आम जनताको मस्तिष्कमा प्रभाव जमाउनका लागि उपयोगी साधन थिए । त्यसैले तिनको माध्यमबाट हिन्दु पण्डितहरूले सर्वसाधारणमा धार्मिक नियतिवादको जहर फैलाउने काम गरे । विभिन्न पुराणहरूमा नियति, भाग्य र प्रारब्धले मानिसको जीवनमार्ग निर्देशित गर्दछ भन्ने खालका विचारहरू फैलाइएका छन् ।
नियतिवादलाई जनतामाझ विस्तार गर्ने ग्रन्थ मध्येको एउटा गरुड पुराण हो, जुन अझै काजक्रियाका अवसरमा मृतकका परिवारलाई सुनाउने गरिन्छ । यसमा मरेको मानिस प्रेतमा परिणत हुने र काजक्रिया गरेर पिण्डदान गरी त्यसले पूर्ण शरीर प्राप्त गर्ने र त्यसपछि पापपुण्यको बहिखाता राख्ने यमराजको कर्मचारी चित्रगुप्तकहाँ लगेर पापपुण्य के गरेको छ, त्यो हेरेर स्वर्ग-नरक कहाँ पठाउन पर्ने हो पठाउने कुराको उल्लेख गरिएको छ । यदि मृतकले पाप गरेको रहेछ भने वैतरणी नाम गरेको पिसाव, रगत, मासु, पीप, हाडका साथै तिखा दाह्रा र नङ्ग्रा भएका गोही, सर्प र अन्य जीवजन्तु आदि भएको यातनामय दुर्गन्धयुक्त वैतरणी नदीमा यमराजका दूतहरूले डुबाइदिन्छन् र छोरानातिले काजक्रिया गरेर पुरोहितलाई यथेष्ट चित्तबुझ्दो दान-दक्षिणा गरेपछि मात्र त्यसलाई उक्त नदीबाट मुक्त गर्दछन् भन्ने खालको वर्णन त्यसमा गरिएको छ । गरुड पुराण यस्तो ग्रन्थ हो, जसले काल्पनिक नरक र त्यहाँको भयानक यातना सुनाउँदै क्रियापुत्रीलाई आतङ्कित बनाउँछ । जसरी एउटा अशिक्षित, सोझोसिधो र निर्दोष गाउँलेलाई प्रहरीले एकाएक कसैको हत्याको अभियोगमा गिरफ्तार गरी निर्मम यातना दिँदा ऊ जे पनि दिन तयार हुन्छ, त्यसै गरी क्रियापुत्री गरुड पुराणमा वर्णित नरक यातनाको भयानक कथा सुनेपछि पुरोहितलाई जे दिन पनि तयार हुन्छ (पौड्याल, २०६६ः ४४) । यो ग्रन्थ वास्तवमा नियतिवादी आतङ्कपूर्ण काल्पनिक घटनाहरूको सँगालो हो, जसले जनतामा मानव जीवनका गतिविधिको र क्रियाकलापको फैसला गर्ने अधिकार ईश्वरीय शक्तिमा हुन्छ भन्ने प्रदूषित विचार फैलाउँछ ।
गरुड पुराणले झैँ गीताले पनि मानिसलाई नियतिवादकै दिशातर्फ डोर्याउँछ । महाभारत ग्रन्थको भीष्म पर्वको १८औँ अध्यायमा यसलाई स्थान दिइएको छ । श्रीकृष्णले युद्ध नगर्ने मानसिकतामा पुगेका अर्जुनलाई युद्धमा सरिक गराउनका लागि दिइएको उपदेश नै गीता हो जुन गीति लयमा छ । त्यसको खास उद्देश्य अर्जुनलाई आफ्नो क्षत्रीय वर्णले गर्नुपर्ने कर्तव्य गर्न उत्प्रेरित गर्ने हुन्छ । त्यसमा वर्ण व्यवस्थालाई सामाजिक परिपाटी बसाल्ने पद्धतिका रूपमा प्रस्तुत गरिएको छ । त्यस पद्धतिलाई सही प्रमाणित गर्नका लागि कृष्णले साङ्ख्य दर्शनको सहारा लिएका छन् । साङ्ख्य दर्शनमा महर्षि कपिलले प्रकृतिका जुन तीन स्थायी गुणहरू सत्व, रज र तमको उल्लेख गरेका छन्, तिनैका आधारमा गीताले मानव समाजमा चार वर्णका मानिसका गुणहरूमा भिन्नता देखाउने प्रयास गरेको छ ।
गीताका अनुसार वर्ण व्यवस्था ईश्वरीय देन हो । चौँथो अध्यायको १३औँ श्लोकमा कृष्ण भन्दछन् कि यो व्यवस्थाको निर्धारण स्वयं उनले गरेका हुन् । तर त्यसलाई भत्काउने कुरा उनको क्षमताभन्दा बाहिरको कुरा भएको छ । यसरी वर्ण व्यवस्थालाई परिवर्तन गर्न असमर्थता प्रकट गर्नुको तात्पर्य यो व्यवस्था समाजको स्थायी रूप हो र कुनै वर्णमा जन्म लिनु व्यक्तिको नियतिको सवाल हो भनी अवगत गराउनु हो । गीताले सत्व, रज र तम मानिसका स्वभाविक र जन्मजात गुणहरू भएकाले वर्ण विभाजन स्वेच्छाचारी ढङ्गले निर्माण गरिएको नभई मानिसका जन्मजात प्राकृतिक गुणका आधारमा गरिएको हो भनी त्यसको औचित्यता पुष्टि गर्ने प्रयास गर्दछ ।
गीताको अठारौँ अध्यायको ४२, ४३ र ४४ औँ श्लोकमा प्रत्येक वर्णका मानिसले गर्नुपर्ने कर्तव्य के के हुन् भनी निर्धारण गरिएको छ । धर्मपालनका निम्ति प्रयासरत रहने, बाहिरी र भित्री दुवै रूपमा शुद्ध रहने, अरूले गरेका भुलमा क्षमा दिने, इन्द्रिय र शरीरलाई सही ठाउँमा राख्ने, वेद-शास्त्र ईश्वर र परलोकप्रति श्रद्धा प्रकट गर्ने, वेदशास्त्रको अध्ययन-अध्यापन गर्ने र परमतत्त्वको पहिचान गर्ने कार्य ब्राह्मणका निम्ति छुट्याइएको छ । क्षत्रीयका निम्ति शौर्य, वीरत्व, तेज, धैर्य, चतुरता, युद्धको मुकाविला, दान, र स्वाभिमान जस्ता कार्यहरू तोकिएको छ । खेती, पशुपालन, व्यापार विनिमय जस्ता कामलाई वैश्यका स्वभाविक कर्म बताइएको छ र सबै वर्णको सेवागर्ने काम शूद्रको हो भनी त्यस वर्गलाई सबैभन्दा निम्न स्थानमा राखिएको छ । कृष्ण भन्दछन् कि हरेक व्यक्तिले आफ्नो वर्णका लागि निर्धारित गरिएका कर्तव्यको मात्र पालना गर्नु पर्दछ । वर्णअनुसार निर्धारित गरिएका कार्यलाई उक्त वर्णको धर्म भनिएको छ ।
गीताका ठाउँठाउँमा आ-आफ्ना कर्तव्य (स्वधर्म) को पालनाभन्दा उच्च कुरो केही छैन र तिनको उल्लङ्घनभन्दा अरू कुनै घृणित कार्य छैन भनी सजग गराइएको छ । गीतामा अभिव्यक्त यस प्रकारको नियतिवादले समाजमा स्थायी विभेद सृजना गरेको छ । यसले जबरजस्ती जातीय मयार्दाका सवाल अघि सारी समाजलाई उँच र नीचमा र तल्लो जात र उपल्लो जातमा विभाजन गरेको छ ।
कतिपय गीताका अनुयायीहरू गीताले कर्म सिद्धान्तलाई आत्मसात गरेको छ भनी त्यसलाई मुक्त कण्ठले प्रशंसा गर्दछन् । मानिसलाई कर्ममा उत्प्रेरित गर्ने नै गीताको खास अभिप्राय हो भनिएको छ । तर गीताका उपदेशक श्रीकृष्ण कर्म गर्नका लागि अर्जुनलाई उत्प्रेरित गर्न प्रयासरत रहे पनि धेरै ठाउँमा चिप्लिएर नियतिवादको खाडलमा परेका छन् । दोस्रो अध्यायका ४७औँ र ४८औँ श्लोकहरूमा कृष्ण अर्जुनलाई निस्काम कर्म गर्न प्रेरित गर्दछन् । उनी अर्जुनलाई के भन्दछन् भने मानिसलाई केवल कर्म गर्ने अधिकार हुन्छ, त्यसको फलमा कुनै अधिकार हुँदैन (कर्मन्ये माधिकारेस्तु माफलेषु कदाचनः) । त्यसैले उनी अर्जुनलाई कुनै फलको आशा नराखी कार्य सिद्धि र असिद्धिको परवाह नगरी कर्म गर्न उपदेश दिन्छन् । त्यसरी नै श्रीकृष्ण पाचौँ अध्यायको दशौँ श्लोकमा कर्महरू परमात्मालाई अर्पण गर्ने आसक्तिरहित व्यक्ति कमलको पातमा पानी नभएझैँ पापविहीन हुन्छ भन्दछन् । अठारौँ अध्यायको साठीऔँ श्लोकमा त अझ के भन्न पुग्छन् भने पूर्व जुनीका कर्मका कारण नै मानिस वर्तमानको कर्ममा सरिक हुने गर्दछ । वास्तवमा यी सबै भनाइहरूको तात्पर्य के देखिन्छ भने मानिसले आफ्नो कर्मका आधारमा प्रतिफल पाउँदैन, ईश्वरका निगाहमा प्रतिफल प्राप्त गर्दछ ।
गीतामा अभिव्यक्त यसप्रकारको नियतिवादी चिन्तनले मानिसलाई गैरजिम्मेवार बनाउँछ । जब मानिसले आफूले गर्ने कर्ममा कुनै मूल्य हुँदैन र यो ईश्वरीय शक्तिको विवेकमा भर पर्दछ भन्ने सोच्दछ, तब मानिसमा कर्म गर्ने जाँगर आउँदैन । मानिस प्रगतिका लागि अथवा समृद्धिका लागि प्रयत्न गर्नतर्फ लाग्दैन, ईश्वरभक्तितर्फ लाग्छ, जुन भौतिक दृष्टिबाट अनुत्पादक हुन्छ । नियतिवादले मानिसलाई आफ्नो जिम्मेवारी दैवीशक्तिमाथि पन्छाउने बनाउँछ ।
महाभारतका अन्य नीति कथाहरूमा पनि नियतिवादलाई स्थान दिइएको छ । महाभारतको आदिपर्वमा भीष्म युधिष्ठिरलाई इन्द्र र कश्यप गोत्रका एक प्राह्मणको कथा सुनाउँछन् । कथावस्तुअनुसार प्रशस्त धन सम्पत्तिले अन्धो भएको एक जना व्यापारीले कश्यप गोत्रका ती ब्राह्मणलाई रथले कुल्चेर घाइते बनाउँछ । त्यतिखेर ब्राह्मणलाई कसैले न्याय दिँदैन र शोकले रन्थनिएर यस्तो समाजमा बाँच्नुभन्दा मर्नु श्रेयस्कर छ भन्ने सोची आत्महत्या गर्न उद्यत हुन्छन् । इन्द्रलाई यो कुराको जानकारी हुन्छ र प्राण त्याग्न लागेका ब्राह्मणलाई रोक्न उनी स्यालको भेषमा ब्राह्मणसमक्ष प्रस्तुत हुन्छन् । स्यालरूपी इन्द्र के भन्न पुग्छन् भने ब्राह्मणको जुनी पाउनु ठुलो भाग्यको कुरा हो । त्यस्तो महत्त्वपूर्ण जुनीलाई सानातिना समस्या परे भन्दैमा समाप्त गर्न हुँदैन । उनी के पनि भन्दछन् भने हिजो उनी ब्राह्मणको जुनीमा थिए, तर चिन्तक अथवा तार्किक भएर धर्मशास्त्रमाथि संशय प्रकट गर्ने र प्रश्न उठाउने गरेकै कारण त्यस पापको फलस्वरूप पशु जुनी लिनु पर्यो । यसरी यस कथामा वर्तमान अवस्था पूर्वजन्ममा गरेको कार्यको परिणाम हो भन्ने खालको नियतिवादी अभिव्यक्ति प्रकट गरिएको छ ।
हिन्दुधर्मले फैलाएको नियतिवाद जस्तो प्रत्ययवादी वैचारिक चिन्तनले पौरस्त्य समाजलाई नराम्ररी प्रदूषित गरेको छ । धर्मप्रति आस्था प्रकट गर्ने सर्वसाधारण मानिसमा धर्मकर्म गरेमा ईश्वर खुसी हुन्छन् र नियति चम्किन्छ भन्ने विश्वासले गहिरो गरी जरा गाडेको छ । हिन्दुधर्मकै प्रभावका कारण आज मानिसहरू नियतिवादी भएका छन् । नियतिवाद र भाग्यवाद एक किसिमका मानिसका उत्प्रेरणालाई मार्ने बिष हुन् । जसरी नदीले आफ्नो मार्ग आफैँ बनाउँछ, त्यसरी नै मानिससँग बाधा-व्यवधान पन्छाउँदै आफ्नो कार्यलाई सफलताको मञ्जिलमा पुर्याउने स्वतन्त्र चाहना (Free Will) हुन्छ । मानिस एक गतिशील प्राणी हो । विभिन्न काम गर्नका लागि उसले आफ्ना साथमा विभिन्न इन्द्रियहरू लिएर जन्मेको हुन्छ । आफ्नो जीवन उन्नत बनाउनका लागि, आफ्ना परिवारजनको व्यवस्थाका लागि र समाज र देशका लागि मानिसले सकेसम्म बढी यत्न गर्न चाहन्छ । तर नियतिवादले उसको गतिमा लगाम लगाउँछ र ईश्वरीय शक्तिको निगाहमा अथवा भाग्यमा भरपर्ने बनाउँछ । नियतिवादले मानिसको स्वतन्त्र चाहनामा बन्देज लगाएर पङ्गु बनाउँछ ।
नियतिवादले मिहेनत र पुरुषार्थको कुनै महत्त्व हुँदैन भनी भन्दछ । मानिसका लागि महत्त्वपूर्ण समय वर्तमान हुन्छ । आफ्नो अधिकार र नियन्त्रणमा भएको समय यही हो । भूतकाल बितिसकेको हुन्छ, त्यो फेरि फर्केर आउने कुरा हुँदैन । भविष्य अन्धकारमय हुन्छ । भविष्यमा हामी को कहाँ पुग्छौँ भन्न सकिन्न । त्यसैले पुरुषार्थी व्यक्तिले उपयोग गर्ने समय वर्तमान नै हो । तर धार्मिक नियतिवादले विगतको कर्मअनुसार वर्तमानको कर्म निर्धारण हुन्छ भनी बितिसकेको समयको कर्ममा मानिसलाई अल्मल्याउँछ र पश्चातापमा दिन बिताउने बनाउँछ । यसले वर्तमानका लागि होइन, नदेखिएको भविष्यका लागि अनुत्पादक खालको ईश्वर भक्तिमा लाग्न प्रेरित गर्दछ ।
धार्मिक नियतिवाद हाम्रो समाजको विभिन्न कालखण्डमा रहँदै आएको छ भन्ने कुरा हामी ऐतिहासिक परिघटनाबाट बुझ्न सक्छौँ । नेपाल एकीकरणका समयमा बाइसी-चौबिसी राज्यहरूमाथि पृथ्वीनारायण शाहले विजय प्राप्त गरे । बाइसी-चौबिसी राज्यहरूमा भएको आपसी बैमनस्यताबाट उनले फाइदा उठाए । खुँडा, खुकुरी र तलवारका बलमा युद्ध गर्ने परम्परा भएको समयमा बनारस गएर आधुनिक हातहतियार बन्दुक र राइफल खरिद गरी ल्याए । उनले खस, मगर, जनजातिलाई तिनीहरूको स्वभागगत आचरणका आधारमा वर्गीकरण गरी युद्धमा सामेल गराए । गोरखालाई विशाल नेपाल राज्यमा परिणत गर्नमा उनको चातुर्य रणकौशलता र सामर्थ्य जिम्मेवार छ । तर स्वयं पृथ्वीनारायणलाई नेपाल राज्यको निर्माण भएको आफ्नो सामर्थ्य कारणले नभएर गुरु गोरखनाथका आशिर्वादले भएको हो भन्ने विश्वास थियो । त्यही विश्वासका कारण गोरखनाथपन्थका अनुयायीहलाई गुठीको व्यवस्था गरी तिनीहरूको जीविकालाई उनले सुनिश्चित बनाए । त्यतिखेर गोखनाथ सम्प्रदायका भगवन्तनाथ सल्यानमा बस्दथे । पृथ्वीनारायण शाहले उनलाई नेपालभरका योगीहरूको मण्डल्याइँ प्रदान गर्नुका साथै योगीहरूको मुद्दामामिलाबाट उठ्ने रकम र १४ जातका घरबाट वार्षिक १ आनाको दस्तुर र ती १४ जातका घरमा योगीहरूले भोजन गर्न पाउने व्यवस्था मिलाइदिएका थिए (रेग्मी, २०८०ः२१८) ।
पृथ्वीनारायण शाह त पुराना जमानका धार्मिक व्यक्ति थिए । समयअनुसार आफ्नो पराक्रममाभन्दा नियतिवादमा उनले विश्वास गर्नु स्वभाविक पनि थियो । तर आजभोलिका इतिहासकारहरूले समेत पृथ्वीनारायण शाहले विजय प्राप्त गर्नुमा उनले पाएको गोरखनाथको कृपा र ईश्वरीय शक्ति हो भनी व्याख्या विश्लेषण गर्ने गर्दछन् । पृथ्वीनारायणको जीवनी प्रस्तुत गर्दा गोखनाथले दही खान दिँदा पोखिएर खुट्टामा पर्दा उनले टेकेको ठाउँमा विजय पाएका दन्त्यकथा तिनीहरू विद्यार्थीलाई सुनाउँछन् । शिक्षित व्यक्तिमा र विद्यार्थीलाई आँखा देखाउने शिक्षित व्यक्तिहरूमा समेत नियतिवादले प्रभाव जमाउनु भनेको विडम्बनाको विषय हो ।
साँच्चै भन्नुपर्दा धार्मिक नियतिवादले हाम्रो वर्तमान समाजलाई अति नै हानी-नोक्सानी गरेको छ । निश्चय नै आज विज्ञान र प्रविधिका कारण मानिसको सोचाइमा परिवर्तन आएको छ । मानिसले अपनाउँदै आएका संस्कार कर्ममा विस्तारै हेरफेर हुँदै आएका छन् । विद्यालय र विश्वविद्यालयमा दिइने शिक्षाले मानिसमा अन्धविश्वासको मात्रा कम हुँदै गएको छ । हिजो बिरामी हुँदा झारफुक र भाकल गर्ने परम्परा त्यागेर मानिसहरू बिरामी हुँदा अस्पतालमा जाने र डाक्टरको सरसल्लाहमा चल्ने भएका छन् । तर नियतिवादले जनजीवनमा यति गहिरो जरा गाडेको छ कि पढेलेखेका डिग्रीधारी व्यक्तिहरूले पनि त्यसलाई त्याग्न सकेका छैनन् । हाम्रो कुनै पनि वस्तुलाई हेर्ने दृष्टिकोण वैज्ञानिक बन्न सकेको छैन । मानिसको आफ्नो सामर्थ्यमा होइन, बाहिरी शक्तिमा प्रबल विश्वास देखिन्छ । विद्यार्थीहरू आफ्नो मिहेनतले र लगनशीलताले परीक्षामा राम्रो नम्बर ल्याएर परीक्षा पास गरे पनि त्यसलाई ईश्वरको कृपा ठान्दछन् । परीक्षामा असफल हुने विद्यार्थीहरू आफ्नो मिहेनत नपुगेर असफल भएको सम्झदैँनन्, आफ्नो असफलताका लागि शिक्षक वा उत्तरपुस्तिका जाँच्ने शिक्षकप्रति आक्रोश पोख्दछन् (बिष्ट, २०२०ः ८०) । सवारी साधन चलाउने ड्राइभर आफ्नै कुशलताका बलमा गाडी हाक्दछन्, तर बिच बाटोमा दुर्घटना नहोस् भनी मेसिनलाई ढोक्छन् अथवा दैवी शक्तिसँग पुकारा गर्दछ । मानिस आफ्नो पुरुषार्थले कर्म गर्दछन् तर आफ्नो पुरुषार्थमा होइन, बाह्य शक्तिमाथि विश्वास गर्दछन् ।
आजभोलि हामीले अस्पतालमा निधन हुने बिरामीका आफन्तले डाक्टरलाई पिटेका घटनाहरू समयसमयमा सुन्ने गरेका छौँ । स्वास्थ्य उपचारको व्यवस्थापनमा डाक्टरहरूका कमजोरी र लापरबाहीहरू हुन सक्छन् । तर अनेकौँ प्रयासका बाबजुद सिकिस्त भएका बिरामीलाई डाक्टरले बचाउन सक्दैनन् । मानिसहरूले आखिरी परेपछि नै बिरामीलाई अस्पताल ल्याउने हो । बिडम्बना ! नियतिवादी विचारको असरका कारण मानिसहरू आफ्नो बिरामीको अवस्था कमजोर भएको बुझ्दैनन् । बिरामी आफ्नै स्वास्थ्यका कारण बाँच्न सकेन भनी बुझ्दैनन् । कुनै पनि घटनाको वास्तविक कारण आन्तरिक हुन्छ र त्यो व्यक्तिमा निहित हुन्छ भन्ने कुरा नबुझी बाहिरी शक्तिमा अथवा डाक्टरमाथि दोष थोपर्न पुग्दछन् र अप्रिय घटना घटाउन पुग्छन् ।
धार्मिक नियतिवादले नेपाली समाजलाई अघि बढ्नमा बाधाअवरोध सृजना गरेको छ । यसले गरिब हुनु, निर्धन हुनु र दुःख पाउनु पूर्वजुनीको कमाइ हो भन्ने विचार उत्पीडित जनसमुदायको दिमागमा भरेर उत्पीडक वर्गले जे जस्तो थिचोमिचो र अन्याय गरे पनि प्रतिरोध गर्नतर्फ नलागी आफ्नो नियति, भाग्य वा प्रारब्ध नै खोटो भएको अथवा आफूले पूर्वजुनीमा कमाइ गरेर नल्याएको भनी चुपचाप सहेर बस्ने बनाएको छ । यसले जनतालाई हाम्रो नियति यस्तै दुःखमा बाँच्नु रहेछ भनी चुपचाप सहेर बस्ने बनाएको छ । यसले जातीय विभेद, उत्पीडन र भेदभावप्रति सहिष्णु बनाएको छ । जसले गल्ती गरेको छ, त्यसको अपराधलाई अदृश्य शक्तिको पोल्टामा हालेर यसले अत्याचारीको संरक्षण गरेको छ । यस विचारलाई जबसम्म जनताको दिमागबाट हटाएर आफ्नो प्रयत्नमा विश्वास गर्ने बनाइन्न, तबसम्म समाजले काँचुली फेर्न सक्दैन ।
सन्दर्भ स्रोत
दामोदरन, के., २०१८, भारतीय चिन्तन परम्परा, पीपुल्स पब्लिसिङ हाउस प्रालि, नई दिल्ली ।
पौड्याल, घनश्याम शर्मा, २०६६, उत्खनन, विवेक शीर्जनशील प्रकाशन प्रा.लि.काठमाडौँ ।
रेग्मी, रामराज, २०८०, नेपाली लोक दर्शन, नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौँ ।
विष्ट, डोरबहादुर, २०२०, भाग्यवाद र विकासः आधुनिकीकरण हेतु नेपालको जमर्को, अनुवादक वसन्त थापा, डोरबहादुर विष्ट परिवार
(लेखक रेग्मी मार्क्सवादी चिन्तक तथा लेखक हुनुहुन्छ ।)