‘पुरानो विचारधारा, बानीबेहोरा र रीतिरिवाजको आदतमय प्रभावलाई पनि हटाउदै जानुपर्ने आवश्यकता छ’
‘क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन भव्यतापूर्वक सफल पारौं !, नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादतर्फ अघि बढौं !!’
१) गत श्रावण २६ देखि २९ गतेसम्म सम्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्र्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन आयोजक समितिको आकस्मिक बैठकबाट पार्र्टीको केन्द्रीय प्रवक्ता चयन हुनुभएकोमा यहाँलाई हाँक साप्ताहिकको तर्फबाट हार्दिक बधाई छ ।
–धन्यवाद ! देश, जनता र क्रान्तिप्रतिको जिम्मेवारी बढ्यो ।
२) पार्टी प्रवक्ताको भूमिकालाई प्रभावकारी बनाउनेबारे थप केही सोच्नुभएको छ कि ?
–पार्टी प्रवक्ता भनेको पार्टीको आवाज हो । मैले आफ्नो भूमिकालाई प्रभावकारी बनाउन पहिलो, पार्टीको मार्ग निर्देशक सिद्धान्त, कार्यदिशा र कार्यक्रम अनुसार बोल्नुपर्दछ; दोश्रो, परिस्थिति अनुसार जनताका ताजा मुद्दाहरुलाई अभिव्यक्त गर्नुपर्दछ; तेश्रो, मलाई पार्टीले दिएको भूमिका पूरा गर्न समग्र पार्टी र जनताको सहयोग आवश्यक हुन्छ ; चौथो, पार्टीको आवाज मार्फत हुने अभिव्यक्तिले पार्टी एकतालाई जनतासँग गाँसेर बलियो बनाउनुपर्दछ ।
३) भर्खरै सम्पन्न आकस्मिक बैठकको समीक्षा गर्नुपर्दा के भन्नु हुन्छ ?
–यो बैठक धेरै कोणबाट महत्वपूर्ण रह्यो र ऐतिहासिक भयो । पहिलो कुरा, यसले दक्षिणपंथी संशोधनवादपरस्त श्री कञ्चन मण्डली र गुटवाद तथा फूटवादको रोगबाट ग्रस्त आफ्ना अयोग्य सदस्यहरुलाई निस्कासन गरेर आफूलाई बलियो बनायो । उनीहरुद्वारा एकता राष्ट्रिय महाधिवेशनका लागि प्रस्तुत गरिएका मूल प्रस्तावसँग सम्बन्धित प्रस्ताव, समानान्तर र फरक मतका प्रस्ताव प्रस्तोता नै महाधिवेशनको मैदानबाट भागेकोले आकस्मिक बैठकबाट खारेज गरिएको छ र मूल प्रस्तावसँग सम्बन्धित प्रस्तावहरु र पूरक तथा भिन्नमतका प्रस्तावहरु पुनः पेश गरिएको छ । दोश्रो, ‘दुःखको बेलामा साथ दिने साथी नै वास्तविक साथी हो’ भन्ने भनाइलाई पुष्टि गर्दै प्राकृतिक र आर्थिक कठिनाइका बावजूद पनि एकता राष्ट्रिय महाधिवेशन आयोजक समितिका नब्बे प्रतिशत सदस्यहरु उपस्थित हुनुभएको छ । तेश्रो, यो बैठकमा एउटा जीवन्त पार्टीको जीवन्त बैठक महसुस भयो किनभने उपस्थित केन्द्रीय सदस्यहरुले जनवादको भरपूर अभ्यास गर्नुभयो र केन्द्रीय कार्यालयलाई पनि आफ्ना कमीकमजोरी महसुस गरी आगामी कार्यक्रम संश्लेषण गर्न सहज भयो । चौथो, ‘क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन भव्यतापूर्वक सफल पारौं !, नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादतर्फ अघि बढौं !!’ भन्ने मूल नारा तय गर्दै आकस्मिक बैठकले यही २०८१ मंसीर १३ देखि २३ सम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । पाँचौं, नेतृत्वले माओद्वारा भनिएझैं ‘माक्र्सवाद लागू गर, संशोधनवाद होइन; नफूट, एकजुट होऊ; छलछाम र षड्पन्त्र नगर, खुल्ला र स्पष्ट होऊ’ भन्ने सिद्धान्तबाट निर्देशित भएर विषय राख्दा नै निर्णयमा पुग्न सरल हँुदोरहेछ । यसको साथै हामीले पुरानो विचारधारा, बानीबेहोरा र रीतिरिवाजको आदतमय प्रभावलाई पनि हटाउदै जानुपर्ने आवश्यकता छ । यो सजिलो त छैन, तर माओका योगदानहरुलाई हामीले सार्वभौम रुपमा ग्रहण गरेको हुँदा यसको दीर्घकालीन औषधि साँस्कृतिक क्रान्ति नै हो । समग्रमा भन्दा बैठक सफल भएको छ ।
४) पार्टीको दोश्रो पूर्ण बैठकले कार्तिक २ गतेदेखि एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर यस पटकको आकस्मिक बैठकबाट महाधिवेशनको मिति सारेर मङ्सिर १३ गते पु¥याउनु भयो । महाधिवेशनको मिति किन सार्नुभयो ?
–यसको कारण त सार्वजनिक भइसकेको छ, पार्टीले यही कारण हो भन्न मात्र बाँकी हो । पहिले तय गरिएको महाधिवेशनको मिति सार्नुको कारण भनेकै दक्षिणपंथी संशोधनवादपरस्त प्रवृत्तिको बहिर्गमन हो । पुनः मस्यौदा प्रस्ताव तयार पार्न र नयाँ कार्यतालिका बनाएर जाँदा एक महिना ढिला हुन गएको हो ।
५) कन्चन लगायतका पार्टीबाट बहिर्गमित साथीहरूलाई दार्शनिक दृष्टिबाट सारसंग्रहवादी र वितण्डावादी, सांगठनिक दृष्टिबाट व्यक्तिवादी अराजकतावादी तथा सैद्धान्तिक र राजनीतिक दृष्टिबाट दक्षिणपन्थी संशोधनवादपरस्त भनेर आकस्मिक बैठकबाट संश्लेषण गर्नु भएछ । के कति कारणले यो संश्लेषण गर्नु भयो ?
–हामीले कञ्चनमण्डलीलाई दार्शनिक दृष्टिले सारसंग्रहवादी भनेका छौं किनभने सारसंग्रहवाद भनेको भिन्नभिन्नै किसिमका सिद्धान्तहरु, कहिलेकाहीं त एकअर्कोका विपरीत सिद्धान्तहरु, दार्शनिक मतहरु, राजनीतिक मूल्यहरुको खिचडी हो । उनको लेखाई, उनको भाषण र गतिविधि यो परिभाषा अनुरुप छन् । उदाहरणको लागि, उनी नेपालमा वैज्ञानिक समाजवादी क्रान्ति हुनुपर्दछ भन्दछन् भने यो क्रान्तिपछि शासन व्यवस्था जनताको जनवादी अधिनायकत्व लागू हुने कुरा ठोकुवा गर्दछन् । वैज्ञानिक समाजवाद अनुरुप त सर्वहारावर्गको अधिनायकत्व हुन्छ, यो कुरा बुझ्दैनन् । उनी त समाजवाद र पूँजीवादलाई एउटै थालमा घालमेल पार्दछन् । यही नै सारसंग्रहवाद हो । उनी दार्शनिक रुपले वितण्डावादी पनि छन् किनभने उनी साँचोलाई झूठो र झूठोलाई साँचो भनी तर्क गर्न खप्पिस छन् । चीनमा सर्वहारा अधिनायकत्व हुँदैन भनेर बाकुनिनले सल्लाह दिएका थिए भनी उनले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको महाधिवेशनका लागि लेखिएको समानान्तर प्रस्तावमा लेखेका छन् । बाकुनिन त १८७६ मै मरिसकेका थिए । यही नै झूठलाई साँचो बनाउन गरिएको तर्क हो । झूठोलाई साँचो बनाउन उनी जिद्दी र कुतर्क गरिरहन्छन् ।
उनी सांगठनिक दृष्टिबाट व्यक्तिवादी अराजकतावादी हुन् । ‘मेरो इच्छा अनुसार भयो भने म पार्टीका निर्णयहरु मान्दछु, मेरो इच्छा अनुसार भएन भने म मान्दिन’–यही नै व्यक्तिवादी अराजकतावाद हो । मलाई नेता बनाउछौ र ठीक भए पनि नभए पनि मेरो कार्यदिशा पारित गर्दछौ भने म महाधिवेशनसम्म जान्छु, होइन भने म महाधिवेशनमा जाने कुरै हुदैन । यही काम गरे श्री कञ्चनले । आफ्नो लागि उनी जनवाद मात्र माग्छन् भने अरुलाई केन्द्रीयता मात्र लगाउछन् । उनले बहुमतमा छँदा एकजना केन्द्रीय सदस्यलाई कसैलाई नसोधीकन निस्कासन गरीदिए भने आफूले जतिसुकै अपारदर्शी र मनमौजी ढंगले प्रतिक्रियावादी तथा साम्राज्यवादी जासूसहरुलाई भेटे पनि कतै पनि दोषी नरहेको दावी गरे । यही नै व्यक्तिवादी अराजकतावाद हो ।
उनी दक्षिणपंथी संशोधनवादपरस्त प्रवृत्ति बोकेका प्रतिनिधि पात्र हुन् । यो प्रवृत्तिले आफ्नो स्वार्थसँग टक्कर खान आउछन् भने ज्यामितिका सीधा रेखाहरु पनि बंग्याउछ । उनी द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादमा एकीकृत थपेर एकीकृत द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद बनाएपछि नयाँ दर्शन आविस्कार हुन्छ भनी विप्लवलाई धरान बैठकमा सिकाउछन् । धेरै पछि विप्लवले यसलाई आफ्नो प्रस्ताव बनाएर ल्याए । राजनीतिक अर्थशास्त्रमा उनी जीवित मानव श्रमलाई मात्र उत्पादक शक्ति मान्दछन् जबकि माक्र्सवादले जीवित मानव श्रम र उत्पादनका साधनहरुलाई उत्पादक शक्ति भन्दछ । यसो भन्ने हो भने उनी यो त पुरानो माक्र्सवाद हो भनी जिद्दी गर्दछन् । वैज्ञानिक समाजवादमा नयाँ जनवादी क्रान्तिलाई पश्चगामी भन्दछन् जबकि उनी नेपाल अर्थसामाजिक हिसाबले नवऔपनिवेशिक र नेपाली जनताको दुश्मन दलाल तथा नोकरशाही पूँजीवाद हो भन्ने कुरा स्वीकार गर्दछन् । उनी एकातिर वैज्ञानिक समाजवादी क्रान्तिको कुरा गर्दछन् भने अर्कोतिर यही व्यवस्थामा निर्वाचित कार्यकारी राष्ट्रपतिको कुरा गर्दछन् । यही दक्षिणपंथी संशोधनवादपरस्त प्रवृत्ति हो ।
६) भूपेन्द्र न्यौपाने, शेरबहादुर बोगटी र हरिकृष्ण गजुरेललाई किन कार्वाही गर्नुभयो ?
–उनीहरुले महाधिवेशनका लागि वैकल्पिक प्रस्ताव राखेका थिए । महाधिवेशनका प्रक्रियामा यसलाई बहसमा लैजाने भनी ठेगान गरियो र प्रस्ताव छाप्ने काम पनि भयो । तर उनीहरुले यो प्रस्तावलाई मोलमोलाईको माध्यम बनाए । तीनजनाको गुट बनाएर आफूसँग वार्ता, सम्वाद र सहमति नगरीकन केन्द्रीय कार्यालयले बैठक बोलाउन र निर्णय गर्न पाउदैन भनी चुनौती दिए । केन्द्रीय कार्यालयलाई एउटा चिट्ठी बुझाएर आकस्मिक बैठकलाई “गुट सम्बद्धहरुको बैठक” भनी आरोप लगाए । संयोजकको स्वीकृति नलिइकनै बैठकबाट निस्केर समानान्तर बैठक गरेको जीवित प्रमाण प्राप्त भयो । उनीहरुले विभिन्न नवसंशोधनवादी र प्रतिक्रियावादी पार्टीहरुसँग भेटघाट गरी पदका लागि मोलमोलाई गरेको पनि थाहा भयो । यी गम्भीर कारणहरुले गर्दा हामीले उनीहरुलाई केन्द्रीय समितिको आकस्मिक बैठकबाट निस्कासन ग¥यौं ।
७) पार्टी छोडेर जाने साथीहरूले तपाईहरूलाई जडसूत्रवादी, नवसंशोधनवादी र पटक्कै रुपान्तरण हुन नचाहने भनेर आरोप लगाइरहनु भएको छ । तपाईहरू रुपान्तरण नभएकाले उहाँले पार्र्टी त्याग्नु परेको हो रे नि त ?
–यति मात्र हो र ? हामीमाथि लगाउनका लागि लगाइएको आरोप त नवप्रतिक्रियावादी पनि छ । राजतन्त्रको सापेक्षतामा नेपाली काँग्रेस नवप्रतिक्रियावादी हो भने काँग्रेसको सापेक्षतामा एमाले नवप्रतिक्रियावादी हो । त्यसरी नै एमालेको सापेक्षतामा माओवादी केन्द्र । हामीले माओवादी केन्द्रलाई नवसंशोधनवादी भनेका छौं र नवप्रतिक्रियावादी भनेका छैनौं । भूपेन्द्रहरुले कसरी यो आरोप लगाए । यसलाई उनीहरुले पुष्टि गर्नुपर्दछ । आखिर यो पनि अज्ञानताकै त्रासदी हो ।
जडसूत्रवाद भनेको सिद्धान्तलाई व्यवहारमा लागू नगर्नु र सिद्धान्तको रटान मात्र लगाउनु हो । माओका भाषामा भन्ने हो भने जडसूत्रवाद भनेको अल्छीको पिण्ड हो । हाम्रो पार्टी र यसका नेताहरुमाथिको यो आरोप असह्य छ । नेपाली कम्युनिष्ट आन्दोलन र विश्व कम्युनिष्ट आन्दोलनमा जजसले माक्र्सवादलाई जडसूत्रवाद भनेका छन्, उनीहरु कम्युनिष्ट आन्दोलनबाट भागेका छन् । विश्व कम्युनिष्ट आन्दोलनमा उनीहरु वर्नष्टिन, काउत्स्की, ट्राट्स्की, ख्रुश्चेभ, ल्यु साओची र तङ साओफिङ बनेका छन् भने नेपाली कम्युनिष्ट आन्दोलनमा मदन भण्डारी र पुष्पकमल दाहाल भएका छन् । अहिले हामीबाट बहिर्गमित पनि त्यतै लाग्दैछन् । त्यसकारण गुटवादी–फूटवादी र दक्षिणपंथी संशोधनवादपरस्तहरुका यी आरोपहरु ‘हरुवा गोरुका छेरुवा दाउ मात्र हुन् ।’ यिनका कुनै निशाना छैनन् ।
८) क्रान्तिकारी शक्तिहरूलाई व्यापक ध्रुवीकरण गरेर जाने भन्दाभन्दै साथीहरू फुट्दै गएका छन् । तपाईहरूको एकताको उद्देश्य पूरा होला र ?
–एकता र ध्रुवीकरण भनेको पार्टीमा फोहरमैला थुपार्ने मात्र होइन, फोहोर मैलालाई फोहरको डंगुरमा फ्याँक्ने पनि हो । आफ्ना अयोग्य सदस्यहरुलाई हटाएर योग्य सदस्यहरु आबद्ध गरेपछि मात्र नयाँ ढंगको कम्युनिष्ट पार्टी बन्दछ । बलियो पार्टी निर्माण गरेर नेपालमा नयाँ जनवादी क्रान्तिसहितको वैज्ञानिक समाजवाद ल्याउने हाम्रो उद्देश्य पूरा हुन्छ । यसको लागि हाम्रा नेता कार्यकर्ताहरुको विचारधारात्मक परिपक्वता, फलामे अनुशासन, सिर्जनशील योजना र कार्यान्वयनको आवश्यकता हुन्छ ।
९) संसदबाट पारित सत्य निरुपण तथा मेलमिलाप विधेयकबारे क्रान्तिकारी कम्युनिस्ट पार्र्टी नेपालको धारणा के हो ?
–यस सम्बन्धी हामीले भर्खरै हाम्रो पार्टीको धारणा प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेका छौं जुन यस प्रकार छ :
‘लामो समयदेखि प्रतीक्षारत सत्यनिरूपण तथा मेलमिलाप सम्बन्धी विधेयक संसदमा प्रस्तुत गरिनु सकारात्मक भएपनि त्यस सन्दर्भका केही महत्वपूर्ण विषयमा हाम्रो पार्टीको विरोध तथा असहमति पनि रहेका छन् । त्यस सम्बन्धी पार्टीको धारणा प्रेस–वक्तव्य मार्फत निम्न अनुसार सार्वजनिक गरेका छौं ।
१. विधेयक निर्माण गर्ने प्रक्रियामा हाम्रो पार्टी लगायत सम्बन्धित सबै सरोकारवालाहरूसित आवश्यक विचार विमर्श नगर्नु तथा राय सुझाव नलिनु गम्भीर गल्ती भएको छ ।
२. विधेयकबारे निर्णय लिने प्रक्रियामा संसदमा पनि छलफल बहस नचलाइनु र रहस्यमय तरिकाले पारित गरिनुभित्र गम्भीर षड्यन्त्र लुकेको छ ।
३. यो विधेयक अत्यन्तै अमूर्त, अस्पष्ट तथा गोलमटोल रहेको छ र यसलाई द्वन्द्वकालीन घटना विशेषका रुपमा लिनुभन्दा पनि सामान्य प्रकारका घटनाका रूपमा लिइएको छ ।
४. उक्त प्रकारको विरोध तथा असहमतिका साथै सो विधेयक पारित हुने भइसकेको अवस्थामा त्यसलाई विवेकसम्मत तथा न्यायपूर्ण ढंगले प्रयोगमा ल्याइयोस् भन्ने हाम्रो पार्टीको दृढ धारणा रहेको छ ।
राज्यसत्ताको यो षड्यन्त्रपूर्ण रवैयाप्रति सजग रहन हाम्रो पार्टी आम जनसमुदायलाई आह्वान गर्दछ ।’
१०) क्रान्तिकारी कम्युनिस्ट पार्र्टी नेपालले आगामी भाद्र १७ गते देशब्यापी रुपमा विरोध कार्यक्रम आयोजना गरेको जानकारी भयो । विरोध कार्यक्रम किन आयोजना गर्नुभयो ? विरोध कार्यक्रममा कुन कुन विषय उठाउँदै हुनुहुन्छ ?
–हो, हामीले देशव्यापी विरोध कार्यक्रमको आयोजना गरेका छौं किनभने राष्ट्रियता, जनतन्त्र र जनजीविका सम्बन्धी सवालहरु विकराल बन्दै गएका छन् ।
अंग्रेज–भारतसँग भएको सुगौली सन्धिदेखि नेपाली राष्ट्रिय आत्मसमर्पणवादी शासकहरुले गरेका असमान सन्धि–सम्झौताहरु, पछिल्लो नेपाल र अमेरिकाबीच भएका एमसीसी संझौता र एसपीपी सम्झौताका लागि गरिएका षडयन्त्र भारतले पटकपटक गर्ने सीमा अतिक्रमण लगायतका राष्ट्रियता सम्बन्धी समस्याहरुले नेपाली जनतामाथि साम्राज्य जमाइरहेका छन् । दलाल पूँजीवादी शासकहरुले विभिन्न राष्ट्रका जनसमुदायमाथि अन्याय र शोषण गरिरहेका छन् । यसलाई पनि साम्राज्यवादीहरुले आफ्नो स्वार्थमा प्रयोग गर्ने हतियार बनाएका छन् । यो समस्यालाई माक्र्सवादीहरुले वर्गसंघर्षकै अंगका रुपमा हल गर्नुपर्ने भएको छ । जनतन्त्रको प्रश्नमाथि विचार गर्दा अझै पनि छुवाछुत तथा जात व्यवस्था सम्बन्धी समस्याहरु समाधान हुन सकेका छैनन् । देश र जनताको मुक्तिका लागि लडेका योद्धाहरु जेलमा सडाइएका छन् र जनयुद्धकालीन मुद्दाहरु हाम्रो शिरमाथि डेमोकल्सको तरबार बनाएर झुण्ड्याइएको छ । महिलाहरुमाथि पुरुषहरुको दमन पनि कायम छ र उनीहरु आफ्नै घरदेखि विदेशसम्म समेत श्रम शोषण र यौन उत्पीडन भोग्न बाध्य भएका छन् । उनीहरुको शोषण गर्न पूँजीवादी साम्राज्यवादले बजारिया माल बनाइरहेको छ ।
त्यत्तिकै जनजीविकाका सवालहरु पनि विकराल बनिरहेका छन् । स्वास्थ्य र शैक्षिक संस्थाहरु जनसेवाका लागि होइन कि नाफाका साधनहरु बनेका छन् जसले गर्दा जनताको स्वास्थ्यमाथि खेलवाड भएको छ । दलाल पूँजीवादले यी संस्थाहरुलाई साम्राज्यवादको सेवा गर्ने साधन बनाएको छ । सरकारी अस्पताल र सरकारी शिक्षणसंस्थाहरु निजी अस्पताल र शिक्षणसंस्थाको सेवाका लागि बेकम्मा बनाइएका छन् । तिनले जनताको सेवा गरिरहेका छैनन् । नेपाली बजार दलाल पूँजीवादी बजारमा परिणत भएको छ । महंगीले जनताको ढाड सेकिरहेको छ, खाद्य वस्तुमा मिसावटले जनस्वास्थ्य बर्बाद बनाईरहेको छ । राष्ट्रिय उद्योगहरु पूर्णतः विघटन गरिएको छ । बजारमा दलाल पूँजीपतिहरुले साम्राज्यवादी माल भरेका छन् । हरेक कुरामा दलाल पूँजीवाद हावी भइरहेको छ । लघुवित्त, सहकारी र वित्तीय सहकारीहरुले बैंकहरुको आडमा जनताको घरबास उठाइरहेका छन् ।
११) भर्खरै बङ्गलादेशमा विद्यार्र्थी आन्दोलनको दवावमा परेर प्रधानमन्त्री शेख हसिनाले देश छाडेर भाग्नु प¥यो । यो घटना नवउदारवादको मात्र परिणाम हो वा भूराजनीतिक परिस्थितिले पनि निम्ताएको घटना हो ?
–यस राजनीतिक घटनाबारे कमरेड किरणले आफ्नो वक्तव्यमा भन्नुभएको छ :
‘आन्दोलनको सुरुआत सामान्य मागबाट भएपनि त्यसले देशव्यापी जनविद्रोहको रुपधारण गर्नुका पछाडि सरकारले अवलम्बन गरेको नवउदारवादी आर्थिक नीतिका कारण पैदा भएको राष्ट्रघात, बेरोजगारी, भ्रष्टाचार, असुरक्षा, महंगी र शेख हसिना सरकारको विरोधी राजनीतिक पार्टीहरुप्रतिको असहिष्णु तथा फासीवादी रवैयाको परिणाम हो । यस परिघटनामा सरकारको पराजय भए पनि बांगलादेशका जनताका वास्तविक समस्या यही सैनिक नेतृत्व वा यही संसदीय व्यवस्था अन्तर्गत निर्वाचित हुने कुनै सरकारबाट पनि समाधान हुन सक्दैन । यो साम्राज्यवादी युगमा जनताको निर्णायक जित नहुँदासम्म आन्दोलन–दमन–आंशिक सुधार र फेरि आन्दोलन–दमन–आंशिक सुधार यो चक्र निरन्तर चलिरहन्छ । साम्राज्यवाद्वारा उत्पीडित देशमा जनताको मुक्तिको एकमात्र बाटो सर्वहारा वर्गको नेतृत्वमा नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवाद हो ।’
यो राजनीतिक घटनालाई हाम्रो पार्टीको भर्खरै बसेको आकस्मिक बैठकले आफ्नो समसामयिक प्रस्तावमा यस्तो संश्लेषण गरेको छ :
‘२०२४ जुन ६ देखि अगस्ट ३ सम्म छिमेकी बंगलादेशमा पूर्व स्वतन्त्रता सेनानीहरुका सन्तानहरुलाई सरकारी सेवामा दिइने गरिएको आरक्षण प्रणालीका विरुद्धमा त्यहांका विद्यार्थीहरुद्वारा देशव्यापी रुपमा आन्दोलन सन्चालन भएको थियो र त्यसक्रममा विपक्षी दलहरुपनि आन्दोलनमा सहभागि हुंदैगएका थिए । पूर्वप्रधानमन्त्री शेखहसिना वाजेदको नेतृत्वमा रहेको अवामी लिगको निरन्तर १५ बर्षसम्म चलेको शासनकालका दौरानमा भएका विपक्षी दलहरुमाथिको व्यापक दमन, नातावाद, कृपावाद, भ्रष्टाचार र भ्रष्टाचारमा संलग्नहरुलाई दिइएको उन्मुक्ति जस्ता विषयहरु प्रमुख रहेका थिए । अन्ततः आन्दोलनका कारणबाट शेख हसिना वाजेदले सत्ता त्याग्न बाध्य भइन् र देश छोडेर विदेशमा पलायन हुन पुगिन् । हाम्रो पार्टीले उनको शासनकालमा भएका गलत कार्यहरुका विरुद्धमा भएको आन्दोलनलाई सकारात्मक रुपमा लिन्छ तर त्यसपछि विकास भएको परिस्थितिबाट त्यहाँका आम शोषितउत्पीडित जनसमुदायहरुको उन्मुक्ति नहुने कुरालाई पनि स्पष्ट गर्दछ ।’
राजनीति र राजनीतिक गतिविधि अर्थतन्त्रकै अभिव्यक्ति हुने भएकोले यो राजनीतिक घटनाको कारण त्यहाँ भित्रिएको नवउदारवादको परिणाम त हो नै ।
१२) एकता महाधिवेशनको प्रक्रिया कसरी अगाडि बढ्दैछ । यस महाधिवेशनले नेपाली क्रान्तिको कार्यदिशा निर्माणमा कस्तो योगदान पु¥याउला भनेर अपेक्षा गर्न सकिन्छ ?
–महाधिवेशनको कार्यतालिका आकस्मिक बैठकले पारित गरिसकेको छ । यसको लागि प्रस्तुत मूल राजनीतिक प्रस्ताव, पूरक प्रस्ताव र संशोधन प्रस्तावहरु छापेर जिल्लाहरुमा पु¥याउने काम पूरा भएको छ । भाद्र २१ देखि आन्तरिक र सार्वजनिक रुपले विचारधारात्मक बहस प्रारम्भ हुदैछ । भाद्र २८ देखि कार्तिक २५ सम्म जिल्ला अधिवेशनहरु हुनेछन् । आर्थिक सहयोग संकलन अभियान पनि अघि बढ्नेछ । मंसीर १३ देखि २३ सम्म महाधिवेशन हुनेछ ।
विश्व कम्युनिष्ट आन्दोलनको वैज्ञानिक समाजवादमा भएको प्रतिक्रान्ति र दर्जनौं देशमा विजयको सन्निकट क्रान्तिको असफलता सम्बन्धी प्रश्नको जवाफ यस महाधिवेशनले दिन कोसिस गर्नेछ । हामीले यस प्रश्नको सही जवाफ दिन सक्यौं भने यसले नेपाली क्रान्तिको कार्यदिशा निर्माणमा सहयोग पु¥याउनेछ । पार्टीको अनुसन्धान सम्बन्धी कार्यबाट प्राप्त सापेक्षित भरोसायोग्य आधार र बहसबाट क्रान्तिको सही कार्यदिशा संश्लेषण हुनेछ ।
१३ ) हाँक साप्ताहिक मार्फत थप भन्नु केही छ कि ?
यो महाधिवेशन सफल पार्न आम जनसमुदाय र बौद्धिक जगतलाई विशेष आमन्त्रण गर्दछौं र क्रान्तिकारी कम्युनिष्टहरुलाई एकताको महाधिवेशन सार्थक बनाउन पनि आह्वान गर्दछौं ।