लालभूमि यो, रक्तभूमि हो बढ्छ, अघि बढ्छ
लाल–लालभूमि हो यो बुझ रक्तिभूमि हो
हजारौँ वर्षदेखि लडिरहेको तप्तभूमि हो
विचार, हिम्मत, शौर्य लाल, आदर्श छ लाल
यही लाल आन्दोलन, प्रतिक्रान्तिको हो काल !
कृष्णलाल–गङ्गालाल–पुष्पलाल हुन् लाल
शिवलाल–चन्द्रलाल–भक्तलाल हुन् लाल
रुकेनन् ती कहिल्यै–कहिल्यै झुकेनन् ती कहिल्यै
अन्यायसँग पौँठेजोरी खेलिरहे ती जहिल्यै !
नाम मात्र होइन, यिनको काम झनै लाल–लाल
निरङ्कुशताका विरुद्धमा जीवन अर्पिने लाल
देशका भलो खातिर लड्ने महान् यी वीर लाल
जनमुक्तिका लागि लड्ने हाम्रा महान् लाल !
मालेमाको विचार दिने अन्तर्राष्ट्रिय लाल
जनतामा त्यो लागू गर्ने हाम्रा प्रिय लाल
मकैसँगै क्रान्ति रोप्ने हाम्रै कृष्णलाल
हाँसीहाँसी प्राण आहुत गर्ने यिनै गङ्गालाल !
तानाशाही ढाल्न हिँडेका प्रिय पुष्पलाल
अत्याचारसँग जुध्दै बलिदान दिने लाल
समानता र न्यायको बाटो सधैँ तीव्र चाल
विचार–शक्ति–क्रान्ति दिने सधैँ प्रिय छन् लाल !
मस्तिष्कमा क्रान्तिको बीज रोप्ने यिनै लाल
निजी स्वार्थ त्यागी क्रान्ति रोज्ने हाम्रै प्रिय लाल
मान्छे लाल, विचार पनि लाल, सबै लालैलाल
शोषण, दमन, विभेदको अन्त्य बने तिनै काल !
मालेमाको उच्च विचार दिने पुष्पलाल
चट्टान–पहरा मुड्कीले नै फुटाइदिने लाल
अत्याचारी शासनसत्ता झुकाइदिने लाल
सब वैरीको विचार–सत्ता सुकाइदिने लाल !
रङ मात्र होइन लाल, दर्शन, विचार लाल–लाल
रगत–पनिाले सिर्जिएको रक्तभूमि हो लाल
नेता– लाल, कार्यकर्तासँगै जनता लाल–लाल
बेथानबाट हाँक दिने तीनै सहिद महान् लाल !
दोरम्बाको धर्ती रङ्ग्याउने २१ महान् लाल
सालु–गज्र्याङ गर्जन गर्ने तिनै उच्च लाल
लाल विचार बोकी हिँड्ने सबै प्रिय लाल
वर्गमुक्तिमा बलिदान गर्ने सबै श्रेष्ठ लाल !
लालभूमि यो, रक्तभूमि हो बढ्छ अघि बढ्छ
मुक्तियात्रा लम्किरहेछ– चढ्छ, शिखर चढ्छ
हार्न–गल्न–भाग्न नजान्ने जोदाहा हुन् लाल
सगरमाथामा हँसिया–हथौडा झन्डा गाड्ने लाल !