बर्दियामा एसएसबीले त्रास फैलाइएको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीले ग¥यो कडा विरोध

काठमाडौँ : बर्दिया जिल्लाको सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूमिमा प्रवेश गरी स्थानीय बासिन्दालाई त्रास फैलाएको र भौतिक क्षति पुर्‍याएको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीका प्रवक्ता ‘सुदर्शन’द्वारा जारी प्रेस वक्तव्य अनुसार, यही कात्तिक ७ गते (अक्टोबर २३) बिहान ८ बजेदेखि १० बजेको समयमा बर्दिया जिल्ला अन्तर्गत गुलरिया नगरपालिका–८ स्थित सुरजपुर (जाजरकोटी टोल) मा भारतीय सीमा सुरक्षा बलको एउटा टोली प्रवेश गरेको थियो।

भारतीय सुरक्षा बलले दशगजाभन्दा करिब ५०० मिटर टाढा रहेको स्थानीय किसानको ड्रागनफ्रुटको बार भत्काएको र दशगजा वारिका घरहरूतर्फ औंल्याउँदै ‘यो जमिन भारतको भूभागमा पर्ने भएकाले यहाँबाट हट्नुपर्छ, नहटे गोली हान्छौँ’ भन्दै धम्की दिएको आरोप लगाइएको छ।

स्थानीय बासिन्दाहरूले एकजुट भई कडा प्रतिकार गरेपछि भारतीय सीमा सुरक्षा बल त्यहाँबाट फर्किन बाध्य भएको विज्ञप्तिमा उल्लेख छ। उक्त घटना घट्दा सीमा सुरक्षाका लागि खटिएका नेपाली सशस्त्र प्रहरी टोली भने निरह बनेर बसेको आरोप लगाइएको छ।

भारतीय पक्षले दशगजाभित्रै ग्राभेल सडक र नेपाली भूमिबाटै गस्ती गर्ने गोरेटो बाटो बनाएको समेत स्थानीयलाई उद्धृत गर्दै बताइएको छ। झापालगायत देशका अन्य सीमा क्षेत्रमा पनि यस्ता अतिक्रमणका घटनाहरू निरन्तर भइरहेको वक्तव्यमा उल्लेख छ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सीमामा पटक–पटक भइरहेका यस्ता अतिक्रमण, उत्पीडन र भारतीय विस्तारवादको आतंक रोक्न नेपाल सरकार तथा सम्बन्धित निकायहरूसँग जोडदार माग गरेको छ। साथै, राष्ट्रिय स्वाधीनता र सीमा सुरक्षाका विरुद्ध हुने कुनै पनि अतिक्रमणका विरुद्ध एकजुट भई सशक्त आवाज उठाउन पार्टीले आम नागरिक, बौद्धिक समुदाय र शोषित–उत्पीडित जनतालाई हार्दिक अपील गरेको छ।

By जन बिहानी

Related Posts