उपसंहार
हिमाली उपमहाद्वीपीय दर्शनबारे संक्षिप्तमा गरिएको अध्ययन मूलतः यही नै हो । प्रस्तुत अध्ययनको उपसंहारका रूपमा निम्न विषयलाई समावेश गरिएको छ :
१. यहाँ दर्शनको अत्यन्तै लामो र समृद्ध परम्परा छ । यहाँ विभिन्न धारा/उपधाराका बीच निरन्तर सङ्घर्ष चल्दै आएको छ । यहाँ वैज्ञानिक र अवैज्ञानिक दुवै चिन्तन प्रवृत्ति देखापर्दै आएका छन् । हिमाली क्षेत्रको समग्र दर्शनमा एकातिर द्वन्द्ववाद र भौतिकवादका खजाना छन् भने अर्कोतिर अधिभूतवाद र आदर्शवादका विविध धारा र प्रवृत्ति पनि देखापर्दै आएका छन् । साथै, यहाँ कैयौं विरोधाभास र ऐतिहासिक सीमा पनि रहेका छन् ।
२. हिमाली दर्शनमा द्वन्द्ववाद र अधिभूतवादका बीच शुरूदेखि अहिलेसम्म निकै वक्र गतिमा निरन्तर सङ्घर्ष चल्दै आएको छ । यहाँ विचित्र कुरा के पाइन्छ भने एउटै दार्शनिक प्रणालीभित्र द्वन्द्ववाद र अधिभूतवाद दुवै देखिन्छन् । तर पनि चार्वाक दर्शनको स्वभाववाद, साङ्ख्यदर्शनको परिमाणवाद, बौद्ध दर्शनको प्रतीत्य समुत्पादवाद तथा क्षणिकवाद र न्याय दर्शनको प्रमाण सिद्धान्त तथा तर्कशास्त्रमा द्वन्द्ववाद भरपूर पाइन्छ । द्वन्द्ववादका विरुद्ध अधिभूतवादको मूल प्रतिनिधित्व शुरूदेखि अन्त्यसम्म अद्वैत वेदान्त दर्शनको स्थिरतावादले गर्दछ ।
३. भौतिकवाद र आदर्शवादका बीच पनि निकै वक्र र जटिल सङ्घर्ष चल्दै आएको छ । चार्वाक दर्शनको चार महाभूतको सिद्धान्त, साङ्ख्य दर्शनको प्रतीत्य समुत्पादवाद तथा प्रकृति प्रधानवाद र वैशेषिक तथा न्याय दर्शनको परमाणुवाद भौतिकवादका प्रबल आधार हुन् । साथै, एउटै दार्शनिक प्रणालीभित्र पनि आदर्शवाद र भौतिकवाद सँगसँगै सङ्घर्षरत देखिन्छन् । यस क्षेत्रमा भौतिकवादका विरुद्ध निर्णायक रूपमा लड्दै आएको दार्शनिक धारा अद्वैत वेदान्त, बौद्ध शून्यवाद तथा विज्ञानवाद हुन् ।
५. भौतिकवादका विरुद्ध आदर्शवादलाई उत्कर्ष प्रदान गर्ने काम अद्वैत वेदान्त दर्शनले गरेको छ ।
४. आचारमीमांसाको फाँटमा विभिन्न धारा तथा प्रवृत्तिका बीच अत्यन्तै जटिल रूपमा सङ्घर्ष चल्दै आएको पाइन्छ । यो सङघर्ष मूलतः भौतिकवाद र आदर्शवाद, नास्तिक र आस्तिक तथा विभिन्न सम्प्रदायका बीच अभिव्यक्त हुँदै आएको छ । भौतिकवाद र आदर्शवादका बीचको सङ्घर्ष मुख्यतः एकातिर चार्वाक/लोकायत र अर्कोतिर वेदान्तदर्शन तथा पूर्वमीमांसाका बीच प्रकट भएको छ । यसैगरी नास्तिकमा पारिएका चार्वाक, जैन तथा बौद्ध दर्शन एउटा पङ्क्तिमा र आस्तिक बताइएका साङ्ख्य, मीमांसा, वेदान्त र न्यायवैशेषिक अर्को पङ्क्तिमा भई सङ्घर्ष चलेको छ । तर यो सङ्घर्ष सरल र स्पष्ट भने छैन। आस्तिक र नास्तिकको मापदण्ड वेद मान्ने र नमान्ने भनी निधारित गरिएकोमा शुरूमा सांख्य पनि वेदविरोधी भएकोले नास्तिककै कोटिमा पर्दछ ।

५. दार्शनिक फाँटमा चल्दै आएको द्वन्द्ववाद र अधिभूतवाद तथा भौतिकवाद र आदर्शवादका बीचको सङ्घर्षमा सम्बन्धित समयको उत्पीडक वर्ग र उत्पीडित वर्गका बीचको सङ्घर्ष प्रतिविम्बित भएको छ । यसमा द्वन्द्ववाद तथा भौतिकवादले अग्रगामी तथा अधिभूतवाद र आदर्शवादले पश्चगामी वर्गप्रतिको पक्षधरता जाहेर गरेका छन् । यस भीषण सङ्घर्षमा कैयौं द्वन्द्ववादी र भौतिकवादी दार्शनिकहरू कहिले सम्झौता गर्दै र कहिले लड्दै आएका छन् । नास्तिक, भौतिकवादी र हेतुवादी अर्थात् तर्कशास्त्रीहरूलाई निकै तर्साउने, सताउने र आतंकित पार्ने गरिएको छ ।
६. द्वन्द्ववाद र भौतिकवादलाई एउटै ठाउँमा जोड्ने प्रयास त केही हदसम्म भएको पाइन्छ । परन्तु, उत्पादकशक्ति र विज्ञानको प्रचुर विकास हुन नसकेको स्थिति र धर्मशास्त्र तथा सामन्तवादको हैकम तीव्र भएको अवस्थामा त्यसप्रकारको संयोजनले पूर्णता पाउन सक्ने आशा वा अपेक्षा गर्न सकिंदैन ।
७. पश्चिममा , खासगरी युरोपमा पूँजीवादको विकाससित दर्शनको पनि विकास भयो । भौतिकवाद र द्वन्द्ववाद पश्चिममा अलगअलग रही एक उत्कर्षमा पुगे । अन्ततः इतिहासको सबैभन्दा क्रान्तिकारी वर्ग सर्वहारावर्गको उदयसितै पुँजीवादी समाज र त्यसका दार्शनिक सीमाहरूलाई नाघ्दै अगाडि बढ्ने आवश्यकता अनुरूप पश्चिममा सबैभन्दा उन्नत तथा वैज्ञानिक चिन्तनका रूपमा द्वन्द्वात्मक भौतिकवादको विकास हुन पुग्यो । परन्तु, हाम्रो प्रगति त्यहाँसम्म पुग्न सकेन ।
८. हिमाली उपमहाद्वीपीय दर्शनबारे पश्चिम र भारतमै पनि अध्ययन र अनुसन्धानको लामो तथा समृद्ध परम्परा रहेको छ । यो अध्ययन प्राचीन युनान, रोम र आनिक ग्रोपसित पनि तुलना गर्दै हुने गरेको छ । नेपालमा पनि यस उपमहाद्वीपीय दर्शनको अध्ययन तथा अध्यापनको काम हदै आएको छ । यस प्रकारको अध्ययनका विविध पक्ष रहेका छन् ।
सबैभन्दा पहिलो त यो अध्ययन विश्वविद्यालयीय अध्ययन हो। यो अध्ययन पाठ्यपुस्तकहरूको अध्ययन र सरकारी आधिकारिक शिक्षासित सम्बन्धित छ । यसको मूल काम आस्तिक दर्शनको प्रशंसा र नास्तिक दर्शनको निन्दा गर्नु हो । दोस्रो, यो अध्ययन हिमाली क्षेत्रमा सबैथोक छ, भन्दै आत्मरतिमा लीन हुने र पश्चिमले गरेको प्रगतिलाई आँखा चिम्लेर विरोध गर्ने चिन्तनमा आधारित छ । कुनै बेला यो अध्ययन हिमाली क्षेत्र यस्तो थियो र उस्तो थियो भन्दै आत्मरतिमा आधारित रहेर र अतीततिर फर्कने उद्देश्यमा केन्द्रित बनेर पनि हुने गरेको छ । तेस्रो, यो अध्ययन संस्कृत भाषा तथा यसमा रचिएका अध्ययन सामग्रीको विरोध र पश्चिमको आँखा चिलेर समर्थन गर्ने प्रवृत्तिसित पनि सम्बन्धित छ । चौथो प्रकारको अध्ययन आलोचनात्मक तथा क्रान्तिकारी रहेको छ । हामीले यहाँको दर्शनलाई पढ्नैपर्दछ । तर त्यो अध्ययन हिमाली क्षेत्रले आफ्नो जमानामा गरेको प्रगतिलाई राम्रोसित बुभन, समाजमा चल्ने वर्गसङ्घर्षमा दर्शनको पक्षधरतालाई आत्मसात् गर्न, यस क्षेत्रको दर्शनको बहसमा सहभागी बन्न र यो सबै अध्ययनलाई भविष्यको सेवामा समर्पित गर्नका लागि हुनुपर्दछ । अतीतलाई आत्मसात् नगरी भविष्यमा पाइला चाल्न सकिन्न । चाहे हिमाली क्षेत्र होस् वा पश्चिम, मानव जातिले जहाँ कहीं पनि हासिल गरेका बौद्धिक, वैचारिक र सांस्कृतिक उपलब्धिहरूलाई आत्मसात् नगरी अगाडि बढ्नै सकिन्न ।
९. हिमाली उपमहाद्वीपीय दर्शनबारे अनुसन्धान गर्दा सर्वप्रथम लोकायत वा चार्वाक दर्शनमाथि विभिन्न क्षेत्रबाट हुँदै आएको हमला र यस दर्शनका योगदानहरूबारे अझै विशेष ध्यान दिन तथा गहिरो अध्ययन गर्नुपर्दछ । परमाणुवादबारे अझै सूक्ष्म अध्ययन अनुसधानको आवश्यकता छ। यो अध्ययन उद्दालक आरुणिदेखि जैनमत हुँदै वैशेषिक तथा न्यायदर्शनका मान्यताको सही समीक्षामा आधारित हुनु आवश्यक छ । बौद्ध दर्शन र न्याय दर्शनको द्वन्द्ववाद र तर्कशास्त्रका साथमा जैन दर्शनको स्यादवाद तथा सप्तभङगी नयबारे पनि थप समीक्षाको आवश्यकता छ । यसै क्रममा वैशेषिक दर्शनका कणाद, न्यायदर्शनका अक्षपाद गौतम, मीमांसाका जैमिनि तथा वेदान्तका बादरायणका तिथिमितिबारेको अन्योलका सन्दर्भमा पनि थप अनुसन्धान जरुरी छ । यो अनुसन्धान द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी कोणमा आधारित हुन पर्दछ र यसले हिमाली उपमहाद्वीपीय दर्शनको ओज तथा गरिमालाई अझै नयाँ उँचाइ प्रदान गर्न सक्तछ ।
१०. आज हामीले हिमाली दर्शनलाई हेर्दा केवल वर्तमानको आँखाले मात्र होइन, त्यो बेलाको ऐतिहासिक परिप्रेक्ष्यमाथि समेत ध्यान दिएर हेर्नुपर्दछ । हामीले यहाँ एकातिर हिमाली दर्शनको ऐतिहासिक विकासको प्रक्रिया र अर्कोतिर वर्तमान युगका दार्शनिक कार्यभार दुवै कुरामाथि पर्याप्त ध्यान दिन जरुरी छ । हामीले समग्र दर्शनको अध्ययन संसारलाई रूपान्तरण गर्ने उद्देश्यमा आधारित रहेर गर्नुपर्दछ । अध्ययन केवल अध्ययनमा मात्र सीमित रहनु हुन्न । दर्शनले प्रयोगको माग गर्दछ । यस कार्यमा द्वन्द्वात्मक भौतिकवाद नै वर्तमान युगको वैज्ञानिक दर्शनका रूपमा सार्थक बन्न गएको छ । अतीतले वर्तमान र भविष्यको सेवा गर्ने उद्देश्यमा आधारित रहेमा अतीतका मूल्यवान विचारले यस वैज्ञानिक दर्शनलाई अझै सजीव तथा समृद्ध बनाउन मद्दत पुग्दछ ।
११. अध्ययन र अनुसन्धानको कुरा गर्दा ध्यान दिनुपर्ने एउटा महत्त्वपूर्ण विषय छ । त्यो हो आलोचनात्मक तथा क्रान्तिकारी कोणमा आधारित अध्ययन तथा अनुसन्धान । इतिहास र वर्तमानमा पनि यसप्रकारको अध्ययन अनुसन्धानमा पश्चगामी सत्ता र त्यसद्वारा नियन्त्रित विद्यालय, विश्वविद्यालय वा प्राज्ञिक संस्थान व्यवधान बन्दै आएका छन् । चार्वाक, बौद्ध तथा परमाणुवादी दर्शन- यी सबैले त्यो व्यवधान भोग्दै बेहोर्दै आउनुपरेको छ । विद्यालयीय अध्ययन र प्राज्ञिक अनुसन्धानको महत्त्व आफ्नो ठाउँमा छ, त्यसलाई निषेध गर्नु हुँदैन । तर अध्ययन अनुसन्धानका कामलाई कुनै पनि सरकारी वा गैरसरकारी, देशी तथा विदेशी शक्तिको हस्तक्षेपबाट मुक्त गर्नैपर्दछ र यो कामलाई सत्यतथ्यमूलक बनाउनुपर्दछ । हाम्रो अध्ययन तथा अनुसन्धान दुनियाँ बुझ्नका लागि मात्र होइन, मुख्यतः दुनियाँ बदल्नका लागि हुनुपर्दछ ।