काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका–३, माझीफेदास्थित वडा कार्यालय अबदेखि नवनिर्मित आधुनिक भवनबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ। यसअघि वडा कार्यालयले पुरानो गाविस भवनमार्फत स्थानीय नागरिकलाई सेवा प्रदान गर्दै आएको थियो।
वडा अध्यक्ष चित्रप्रसाद चौंलागाईंका अनुसार नयाँ भवनमा कार्यालय स्थानान्तरण भएसँगै सम्पूर्ण प्रशासनिक तथा स्थानीय सरकारी सेवाहरू अब यही सुविधासम्पन्न संरचनाबाट नियमित रूपमा सञ्चालन गरिनेछ। उहाँले नयाँ भवनले सेवा प्रवाहलाई थप व्यवस्थित, सहज र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
नवनिर्मित भवन सञ्चालनमा आएसँगै जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता, नागरिकता सिफारिसलगायतका अत्यावश्यक स्थानीय सरकारी सेवाहरू एकै स्थानबाट सहज रूपमा उपलब्ध हुने भएका छन्। यसले सेवाग्राहीलाई लामो समयदेखि भोग्दै आएको असुविधा कम हुने अपेक्षा गरिएको छ।
स्थानीयवासीहरूले पनि नयाँ भवन सञ्चालनमा आएसँगै सेवा लिन सहज हुने भन्दै खुसी व्यक्त गरेका छन्। उनीहरूले अब सेवा प्रक्रिया छिटो, सरल र व्यवस्थित हुने अपेक्षा गरेका छन्।
वडा कार्यालयले सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउँदै डिजिटल तथा आधुनिक प्रशासनिक अभ्यासलाई समेत विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।