४ कम्युनिस्ट पार्टीद्वारा होल्डिङ सेन्टर खाली गराउने निर्णय फिर्ता लिन माग

काठमाडौं : चार कम्युनिस्ट पार्टीहरू सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिले सुकुम्बासीहरूलाई उचित व्यवस्थापन नगरी होल्डिङ सेन्टर खाली गर्न दिएको निर्देशनप्रति आपत्ति जनाउँदै सरकारसँग उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिको असार १० गते बसेको बैठकले सुकुम्बासी विस्थापनको विषयलाई लिएर आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको हो ।

समितिद्वारा जारी प्रेस विज्ञप्ति अनुसार सरकारले असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न दिएको सूचना सुकुम्बासीहरूको उचित व्यवस्थापनविना गरिएको भन्दै त्यसको घोर भत्र्सना गरिएको छ । समितिले उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । हालै कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई भवन खाली गर्न निर्देशन दिइएको विषय सार्वजनिक भएको थियो ।

बैठकले विस्थापित क्षेत्र तथा होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूसँग प्रत्यक्ष संवाद गर्ने निर्णय गरेको छ । साथै, सुकुम्बासी विस्थापनको विरोधमा असार १२ गते दिउसो २ बजे काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको जनाएको छ । यसैगरी, देशभरका प्रदेश र जिल्ला समितिहरूलाई आफ्नो क्षेत्रमा रहेका सुकुम्बासी समुदायसँग अन्तरक्रिया, भेटघाट तथा सडक संघर्षका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको संघर्ष समितिले जनाएको छ ।

संघर्ष समितिका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’द्वारा हस्ताक्षरित विज्ञप्तिमा सुकुम्बासीहरूको पुनर्स्थापना र व्यवस्थापनको सुनिश्चितता नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरिएको छ ।

By जन बिहानी

Related Posts