यो निर्वाचन बहिष्कारलाई हामीले प्रारम्भिक जनसंघर्षको रुपमा लिएका छौं : परि थापा

–परि थापा
स्थायी समिति सदस्य क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

( क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य परि थापाले ६ राजनीतिक दलले २०८२ माघ ५ गते काठमाडौँमा आयोजना गरेको निर्वाचन बहिष्कार कार्यक्रमका सन्दर्भमा व्यक्त विचार )

हाम्रो कुरा के हो भन्ने कुरा ब्यानरमै प्रष्ट लेखिएको छ। स्वाधीन संयुक्त जनसरकार निर्माण गर्ने, र यो नारालाई जनताको बीचमा लिएर जाने हामीले सोचाइ बनाएका छौं । हाम्रो देश नवऔपनिवेशिक अवस्थामा जकडिएको देश हो। १८१६ मा सुगौली सन्धि भएपछि नेपाल अर्ध औपनिवेशिक अवस्थामा रूपान्तरित भएको थियो । यहाँको अर्थ सामाजिक अवस्था अर्ध सामन्ती अबस्थामा त छँदै थियो । दोस्रो विश्वयुद्धपछि अमेरिकी साम्राज्यवादको नेतृत्वमा कथित विश्व व्यवस्था तय गरिएको थियो । हाम्रो राज्य अहिले नवऔपनिवेशिक अवस्थामा छ। यहाँ नेपालमा राजनीतिक दल र नेताहरू पटकपटक जनताको अभिमत लिएको बताउँदै सत्तामा पुगेर विश्व साम्राज्यवादको सेवा गर्ने काम गरिरहेका छन् । त्यसकारण आजको देशको यो अवस्था आएको हो । २०७२ सालमा जारी गरिएको संविधानमा राज्यलाई समाजवाद उन्मुख भनिए पनि आज हाम्रो देशको अवस्था कस्तो छ भन्ने कुरा तपाईंले देखिरहनु भएको छ । आज उखु कृषकहरूले उखुको मूल्य नपाएर काठमाडौँमा आएर धर्ना बस्नुपर्ने स्थिति आएको छ। सहकारी ठगीमा परेका जनताहरूले सडकमा आउनुपरेको छ। रोजगारी नपाएका युवाहरू विदेश जानुपरेको छ। भन्न त आधुनिक युग भन्ने गरिएको छ। तर महिलाहरू सामन्ती र मध्ययुगीन शोषणबाट उत्पीडित भएका छन् । भदौ २३ र २४ को जेन्जी आन्दोलन विद्रोहमा परिणत भयो। यो आन्दोलन सामाजिक सुनामीको रूपमा अगाडि बढ्यो । दुई दिनमै देश तहस नहस भयो । सेनाले शासनसत्ता आफ्नो हातमा लिएर सेनाकै सिफारिसमा सुशीला कार्की नेतृत्वको कठपुतली सरकार बन्यो । फेरि पनि त्यही संसदीय परिपाटीलाई, संसदीय गोलचक्करलाईअगाडि बढाउन फागुन २१ को निर्वाचन घोषणा गरिएको छ। तपाईँले यहाँ हेर्नुस् त , यहाँ कस्ता मान्छे अगाडि आएका छन् ।२०४६ सालको जनआन्दोलनबाट पञ्चायती व्यवस्थाको अन्त्य भयो। ६२ –६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र आयो तर आफूलाई कांग्रेस ,कम्युनिस्ट भन्नेहरुले देशमा राष्ट्रघात, जनघात , ,नातावाद कृपावादलाई अगाडि बढाउने काम गरे। अहिले जनतालाई ठगेर खानेहरू समेत पार्टी गठन गरेर अगाडि आएका छन्। यस प्रकारको हासास्पद अवस्था देशमा सिर्जना भएको छ। आगामी फागुन २१ गते संसदीय निर्वाचन घोषणा गरिएको छ । त्यसलाई हामीले कथित निर्वाचन भनेका छौँ। निर्वाचनबाट को आउने हुन् भन्ने कुरा अनुहार तपाईंले देखिसक्नुभएको छ। त्यसमा आउने र बन्ने सरकार पनि त्यही प्रकारका अनुहारहरु हुनेछन्।

यहाँ नेपालको सरकारले बनाउने बजेट नीति र कार्यक्रम यो सरकारले आफै बनाउन सक्दैन । ती सबै अन्तर्राष्ट्रिय साम्राज्यवाद र एकाधिकार पूँजीपतिहरुले नियन्त्रण गरेका हुन्छन् ।विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष, एसियाली विकास बैंक जस्ता साम्राज्यवादी दातृ निकायहरूको आदेश र निर्देशनमा यहाँको नेपालको सरकारको नीति, कार्यक्रम र बजेट तर्जुमा गर्ने गरिएको हुन्छ। यसरी अन्तर्राष्ट्रिय संस्थाहरूले नेपाललाई नवऔपनिवेशिक अवस्थामा पुर्‍याएका छन्। चुनावबाट जितेर संसदमा जाने , सरकार बनाउने, सत्ता पक्ष र प्रतिपक्षमा बस्नेहरू साम्राज्यवादका दलाल हुन् । त्यसकारणले गर्दा हामीले के भनिरहेका छौं भने यो दलाल संसदीय व्यवस्थाको खारेज गरेर त्यसका ठाउँमा जनताको स्वाधीन संयुक्त सरकार बनाउँदै जनवाद हुँदै वैज्ञानिक समाजवाद तर्फ अगाडि बढ्नुपर्दछ। शिक्षा,स्वास्थ्य, सामाजिक सुरक्षा जस्ता जनताका आधारभूत आवश्यकताहरूलाई राज्यले जिम्मा लिने, नेपालको प्राकृतिक स्रोत साधन र मानवीय संसाशाधनलाई अधिकतम प्रयोग गर्दै, जनताको बहुआयामिक हितका लागि दीर्घकालीन सोचसहित हामी अगाडि जान चाहन्छौं । यो अवस्थामा हामी चुनावमा भाग लिन चाहन्नौं । निर्वाचन बहिष्कार गर्ने घोषणा गर्दछौँ। । सम्पूर्ण जनतालाई यसमा सहयोग गर्नुहुन हामी आग्रह गर्दछौं । अहिले हामीले जुन बहिष्कारको कार्यक्रम लिएका छौं, यसलाई हामीले प्रारम्भिक जनसंघर्षको रुपमा लिएका छौं । जनसङ्घर्षलाई प्रतिरोध सङ्घर्ष र प्रतिरोध संघर्षलाई सशस्त्र विद्रोहमा परिणत गरी यहाँका वास्तविक गरी खाने वर्गको सत्ता स्थापना गर्न चाहन्छौं।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?