
काठमाडौँ : विश्व सर्वहारावर्गका नेता माओ त्सेतुङको १३३ औं जन्म दिवसमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले एक ऐतिहासिक महत्वको वक्तव्य जारी गर्दै ‘नयाँ जनवादी क्रान्तिको खुड्किलो पारगरी वैज्ञानिक समाजवाद हुँदै साम्यवाद तर्फको महान् यात्रामा अविचल अगाडि बढ्ने प्रतिबद्धता’ व्यक्त गर्नुभएको छ ।
वक्तव्यमा भनिएको छ, “आजको यस महत्वपूर्ण दिनमा विश्व सर्वहारा वर्गको एउटा टुकडी हाम्रो पार्टीले नेपालको विशिष्ट सन्दर्भमा माक्र्सवाद–लेनिनवाद–माओवादलाई सिर्जनात्मक ढङ्गले लागु गरेर नयाँ जनवादी क्रान्तिको खुड्किलो पारगरी वैज्ञानिक समाजवाद हुँदै साम्यवाद तर्फको महान् यात्रामा अविचल अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछ ।”
यस्तो छ– वक्तव्यको पूर्ण पाठ :
प्रेस–वक्तव्य
आज डिसेम्बर २६, तदनुसार पुष ११, विश्व सर्वहारा वर्गका नेता माओ त्सेतुङको १३३औं जन्म दिवस हो । संसारका श्रमजीवी तथा उत्पीडित वर्गका जनता र तिनको प्रतिनिधित्व गर्ने सर्वहारा वर्गका अग्रदस्ता कम्युनिस्ट पार्टीहरुले माओका विचारधारात्मक तथा राजनीतिक योगदानलाई आत्मसात गर्ने र तिनलाई आ–आफ्नो देशको विशिष्टतामा सिर्जनात्मक ढङ्गले लागु गर्ने प्रतिबद्धता जाहेर गर्न हरेक वर्ष यो दिन माओको स्मरण गर्र्ने गर्दछन् ।
माओले साम्राज्यवाद तथा सामन्तवादको दोहोरो उत्पीडनवाट चिनीया श्रमजीवि जनतालाई मुक्त गर्र्न माक्र्सवाद–लेनिनवादलाई सिर्जनात्मक ढङ्गले लागु गरेर चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादको निर्माण गर्नुभयो । यस प्रक्रियामा उहाँले माक्र्सवादका तीनओटै सङ्घटक अङ्गहरु अर्थात् दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा महत्वपूर्ण योगदान मार्फत् विश्व सर्वहारा वर्गलाई वैचारिक तथा राजनीतिक हतियारले थप बलियो बनाउनु भएको छ ।
दर्शन : माओले दार्शनिक सिद्धान्तलाई क्रान्तिकारी व्यवहारसँग जोडेर दर्शनको सहज व्याख्या गर्नु भएको छ । उहाँका दर्शनसम्बन्धी महत्वपूर्ण कृतिहरुमा ‘व्यवहारबारे’, ‘अन्तर्विरोधबारे’, ‘जनताका बीचको अन्तर्विरोधको सही सञ्चालन’ र ‘सही विचारहरु कहाँबाट आउँछन्’ जस्ता रचनाहरु पर्दछन् । ‘व्यवहारबारे’ भन्ने दार्शनिक कृतिमा उहाँले व्यवहार र ज्ञान एक अर्कोमा रुपान्तरित हुन्छन् र ती व्यवहार–ज्ञान–व्यवहार हुँदै निरपेक्ष सत्यको खोजीमा वर्तुलाकार ढङ्गले अगाडि बढ्छन् भन्ने कुरा राम्रोगरी स्थापित गर्नुभएको छ । यो ज्ञान सिद्धान्तको विकासमा एउटा महत्वपूर्ण कडी हो । पहिलेदेखि मानिँदै आएका भौतिकवादी द्वन्द्ववादका तीनओटा नियम मध्ये ‘मात्रा र गुणको नियम’ ‘विपरीतहरुको एकत्व र सङ्घर्ष’ अन्तर्गत नै पर्छ र ‘निषेधको निषेध’ भन्ने छैन भनेर ‘विपरीतहरुको एकत्व र सङ्घर्ष’ लाई अन्तर्विरोधको एकमात्र नियम रहेको कुरा बताउनु भयो । यो भौतिकवादी द्वन्द्ववादको क्षेत्रमा माओले गर्नु भएको गुणात्मक विकास हो । ‘दुईको एकमा संयोजन हुन्छ’ भन्ने ल्यु शाओचीको वर्गसमन्वयवादी दर्शनको खण्डन गरी माओले ‘एकको दुईमा विभाजन हुन्छ’ भनी अगाडि सार्नुभएको मान्यताले माक्र्सवादी दर्शनको भ्रष्टीकरण गर्ने संशोधनवादी हर्कत माथि राम्रो सैद्धान्तिक प्रहार गरेको छ ।
राजनीतिक अर्थशास्त्र : अर्ध–सामन्ती तथा अर्ध/नव–औपनिवेशिक देशमा विकास हुने नोकरशाही पुँजीवाद सर्वहारा क्रान्तिको दुश्मन हो र यसमाथि वैज्ञानिक समाजवादको जग बसाउन सकिन्न भन्ने माओको संश्लेषणले उत्पीडित देशहरुमा हुने पुँजीवादी क्रान्तिको अर्थ–राजनीतिक चरित्रलाई स्पष्ट पारेको छ । उहाँले नयाँ जनवादी क्रान्ति मार्फत् राष्ट्रिय पुँजीको विकास गरेर त्यसका जगमा वैज्ञानिक समाजवादी क्रान्ति अगाडि बढाउनु भयो । “जनताको बढ्दो भौतिक आवश्यकता र पिछडिएको उत्पादक शक्ति” का बीचको अन्तर्विरोध नै चीनको प्रधान अन्तर्विरोध हो भन्ने ल्यु शाओची र “बिरालो सेतो होस् या कालो मुसा मारे हुन्छ” भन्ने तेङ् सियाओ पिङ्को पुँजीवादी सिद्धान्तका विरुद्ध माओले निर्मम सैद्धान्तिक सङ्घर्ष चलाउनु मात्र भएन “क्रान्तिलाई पक्र उत्पादन बढाऊ” भन्ने समाजवादी अर्थतन्त्र निर्माणको सिद्धान्त विकास गर्नुभयो । साना कृषि उद्योगको जगमा ठुला उद्योग स्थापना गर्ने दुई खम्बे अर्थनीतिका आधारमा सहकारी तथा जनकम्युन प्रणालीलाई अर्थतन्त्रको जग बनाएर अल्पविकसित देश चीनमा माओले समाजवादको निर्माण गर्नु भयो । राजनीतिक अर्थशास्त्रको क्षेत्रमा यी माओका महत्वपूर्ण योगदान हुन् ।
वैज्ञानिक समाजवाद : सर्वहारा वर्गको नेतृत्व र जनताको जनवादी अधिनायकत्वमा व्यक्तहुने नयाँ जनवादी क्रान्ति, क्रान्तिका लागि पार्टी, सेना र मोर्चाको तीन जादुगरि हतियार, दीर्घकालीन जनयुद्धको सामरिक कार्यदिशा, आधार इलाका स्थापनाको सिद्धान्त आदिले साम्राज्यवादद्वारा उत्पीडित अर्ध–सामन्ती तथा अर्ध/नव–औपनिवेशिक देशहरुमा हुने क्रान्तिको कार्यदिशा दिएको छ । चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएपछि माओले वैज्ञानिक समाजवादको निर्माणमा जोड दिनुभयो । समाजवादी कालभरि वर्ग सङ्घर्ष रहन्छ, पुँजीपति र सर्वहारा वर्ग कसले जित्छ भन्ने टुङ्गो लागेको हुँदैन, तसर्थ वर्ग सङ्घर्षलाई कहिल्यै नविर्स भन्ने माओको उद्घोषले संशोधनवादका विरुद्धको दुई–लाइन सङ्घर्षको अपरिहार्यता र त्यसको महत्वलाई प्रष्ट गर्दछ ।
माओको नेतृत्वमा समाजवादी क्रान्तिको प्रक्रिया अगाडि बढेको भएपनि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा त्यतिबेला सम्म सर्वहारा विश्व दृष्टिकोणको समस्या पूर्णतः समाधान भइसकेको थिएन । पार्टी र सरकारको उच्च ओहोदामा पुगेका संशोधनवादीहरुका विरुद्ध माओले सर्वहारा अधिनायकत्व अन्तर्गत् चीनमा १९६६ देखि १९७६ सम्म महान् सर्वहारा सांस्कृतिक क्रान्तिको नेतृत्व गर्नुभयो । समाजवाद हुँदै साम्यवाद तर्फको यात्राका क्रममा सर्वहारा अधिनायकत्व अन्तर्गत सयौं सांस्कृतिक क्रान्ति आवश्यक हुनसक्ने बताएर माओले विश्व दृष्टिकोणको समस्या समाधान गर्नुभयो । ख्रुश्चेभी संशोधनवादका विरुद्ध दुईलाइन संघर्ष चलाएर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको वैचारिक नेतृत्व गर्नुभयो । यो समग्र प्रक्रियामा माओले माक्र्सवाद–लेनिनवादलाई माक्र्सवाद–लेनिनवाद–माओवादमा विकास गरी सर्वहारा वर्गको मुक्तिको सिद्धान्तलाई समृद्ध गर्नु भएको छ ।
आजको यस महत्वपूर्ण दिनमा विश्व सर्वहारा वर्गको एउटा टुकडी हाम्रो पार्टीले नेपालको विशिष्ट सन्दर्भमा माक्र्सवाद–लेनिनवाद–माओवादलाई सिर्जनात्मक ढङ्गले लागु गरेर नयाँ जनवादी क्रान्तिको खुड्किलो पारगरी वैज्ञानिक समाजवाद हुँदै साम्यवाद तर्फको महान् यात्रामा अविचल अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
मिति : २०८२ पौष ११
