क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ‘१३३औँ माओ दिवस समारोह’ सम्पन्न(फोटोफिचर)

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ‘१३३ औं दिवस समारोह’ भव्य रुपमा सम्पन्न गरेको छ । पार्टीको केन्द्रीय समितिको आयोजनामा जुलुस र जनसभासहित माओदिवस समारोह भव्य रुपमा सम्पन्न गरिएको हो । रत्नपार्क शान्तिबाटिकाबाट सुरु भएको जुलुस बागबजार, पुतलीसडक, पद्मोदयमोड, भृकुटीमण्डप, सुन्धरा, सहिदगेट, न्यूरोड, वीरअस्पताल हुँदै खुल्लामञ्चमा पुगेर जनसभामा परिणत भएको थियो ।

पार्टीका स्थायी समिति सदस्य कृष्ण पौडेलको अध्यक्षता र स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शनको सञ्चालनमा सम्पन्न माओदिवस समारोहलाई प्रमुख वक्ताको रुपमा पार्टीका महासचिव सीपी गजुरेल गौरवले सम्बोधन गर्नुभएको थियो । उहाँले अहिले चौतर्फीरुपमा मालेमावादी सिद्धान्त र विचारमाथि हमला भइरहेको चर्चा गर्दै सिद्धान्त र विचारविना क्रान्ति सम्भव नहुने र भएपनि टिकाउन नसकिने विचार व्यक्त गर्नुभयो । क्रान्तिकारी कम्युनिस्टहरुले सँधै सिद्धान्त र विचारको महत्वलाई शीर्ष स्थानमा राख्नुपर्ने भन्दै सिद्धान्तनिष्ठ राजनीतिले मात्र देश र जनताको हित गर्ने पनि स्पष्ट पार्नुभयो ।

उहाँले अहिले देशमा सैद्धान्तिक विचलन, राजनीतिक मूल्यको विघटन, चौतर्फीरुपमा अवसरवाद र संशोधनवाद हावी रहेको भन्दै सिद्धान्त र विचारको आवश्यकता र महत्वलाई नजरअन्दाज गर्दा नै मुलुकले संकटको सामना गर्नुपरिरहेको बताउनु भयो ।
उहाँले सुशिला कार्की नेतृत्वको सरकारले साम्राज्यवाद र विस्तारवादका नयाँ दलालहरुलाई बैधानिकता दिनका लागि मात्र चुनावी नौटंकी चलिरहेको भन्दै यो संसदीय चुनाव देश र जनताको हितमा नरहेकोले आफूहरुले सशक्त बहिस्कार गर्ने र आजैबाट बहिस्कार आन्दोलन सुरु भएको पनि उद्घोष गर्नुभयो ।

समारोहलाई पार्टीका स्थायी समिति सदस्य हरिभक्त कँडेल प्रतीक, सीताराम तामाङ, चिन्तामणि पौडेल, शारदा महतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य स्थायी समिति रामसिंह श्रीसले राख्नुभएको थियो । कार्यक्रमका सञ्चालकले पार्टीले माओदिवसको सन्दर्भमा जारी गरेको वक्तव्य वाचन गरेर सुनाउनु भएको थियो ।

कार्यक्रमा रक्तिम-सामना साँस्कृतिक परिवारका कलाकारहरुले क्रान्तिकारी गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गरेको यो कार्यक्रम नै खुल्लामञ्च खुलेपछिको पहिलो ऐतिहासिक कार्यक्रम हो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल मात्रै यस्तो पार्टी भएको छ, जसले खुल्लारुपमा जनसभामार्फत् आज माओदिवस भव्य रुपमा मनाएको छ । पछिल्ला दिनमा माओदिवस मनाउने कम्युनिस्ट पार्टीहरुको संख्या बढ्नुको सट्टा घट्दै गएको छ । चौतर्फी रुपमा माक्र्सवाद–लेनिनवाद–माओवादका विरुद्ध हमला भइरहेको बेला क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले खुल्लामञ्चमा मनाएको माओदिवसलाई विशेष महत्वको रुपमा हेरिएको छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?