
चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी कमिटि सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले नेत्रविक्रम चन्द ‘बिप्लव’लाई सामन्तको संज्ञा दिएका छन्। चितवन पुगेका सुदर्शनले स्वदेश एफ.एम.सँगको अन्तर्वातामा बिप्लव नेतृत्वको नेकपालाई तीब्र आलोचना गर्दै बिप्लवलाई सामन्तको आरोप लगाए।
सुदर्शनले भने, “राजनैतिक पार्टीले आफ्नो उद्देश्यलाई छोडेर खेतीपाती गर्नु भनेको सुधारवाद र ठगी हो। अहिलेको राज्य व्यवस्थालाई जिउँदो राख्न बिप्लवको पार्टी खेतीपातीमा संलग्न भएको छ।”
सुदर्शनका अनुसार, “हिँजो खारा आक्रमणमा प्रचण्ड डराएजस्तै, बिप्लव पनि सरकारी प्रतिवन्धबाट डराएको हो।” उनले थपे, “जब हामी एनसेल जस्ता दलाल पुँजीवादी संस्थासँग लडिरहेका थियौं, बिप्लवको समूह त्यहाँबाट बार्गेनिङ गरेर करोडौं रुपैंया ल्याएको थियो।”
सुदर्शनले बिप्लवको पार्टीको गतिविधि झल्काउँदै भने, “सो रकमलाई कालो धन्दा लुकाउन प्रयोग गरिएको हो, र बिप्लवको पार्टी वैज्ञानिक समाजवादको मार्गमा नगई, दलाल संसदीय व्यवस्थामै थुनिएको छ। कपिलबस्तुमा बिप्लव समूहले कार्यालय र हस्पिटलको नाममा दरबार बनाउँदै महल ठड्याएको छ।”
यसले बिप्लवको पार्टीको आगामी गतिविधि र योजनाहरूलाई थप विवादास्पद बनाइरहेको छ।