
सर्वहारावर्ग भनेको त्यो वर्ग हो जसको आफ्नो भन्ने जीविकाका साधन धनसम्पत्ति केही पनि नभएको मात्र हाड छाला र रगतबाट निस्कने शारीरिक, मानसिक शक्ति अर्थात् श्रमशक्ति जुन मालको रुपमा पुँजीपतिलाई घण्टा, दिन, साप्ताहिक वा मासिक ज्यालाका रुपमा बिक्री गर्छ । माल सामानका बजारमा माल किनेपछि ग्राहकले पुनः अर्को मालका लागि उत्पादित त्यही निर्जीव माल पाउँदैन । तर श्रम बजारमा सर्वहाराको सजिव माल (श्रमशक्ति) पुँजीपतिले त्यही अनौठो माल श्रमशक्ति दैनिक रुपमै प्राप्त गर्दछ । निर्जिव माल एकपटक उत्पादन भएपछि पुनः त्यो माल हुँदैन । तर सजिव माल सर्वहारबाट पुँजीपतिले दैनिक प्राप्त गर्छ । सर्वहारावर्गको रगत मासुबाट निस्कने श्रमशक्ति रुपी माल अन्य निर्जिव माल भन्दा विल्कूलै भिन्न र अनौठो छ । आफ्नो पेट पाल्न र परिवारको पेट पाल्न सर्वहाराले आफ्नो श्रमशक्ति बेच्नै पर्छ । नत्र र उसको परिवार भोकै हुन्छ । सर्वहारा श्रमशक्ति पुनर्भरण गर्नका लागि पनि पेटमा चारो हाल्नैपर्छ ।
सर्वहाराको टाउकोमा सधै बेरोजगारी, गरिबी, शोषण, उत्पीडन र दासता छाया जस्तै साथमा हुन्छ । सर्वहारा जाति, धर्म, वर्ण, लिंग भेद, राष्ट्रियता, जातीय पहिचानको सामन्तवादी , पुँजीवादी अन्धराष्ट्रवादी संकुचित, संकीर्ण घेराभित्र कैद भएर बाँच्न सक्दैन । आफ्नो श्रमशक्ति बेच्न विश्वको कुनै पनि भागमा पुग्छ र पारिवारिक सम्बन्ध, धर्म, संस्कृति, भाषा आदि सँगको सम्बन्ध पनि विच्छेद हुन्छ । यदि आफ्नै मुलुकमा छ भने राष्ट्रवादी हुन्छ भने अन्तर्राष्ट्रवादी पनि हुन्छ । किनभने मजदुर वर्ग जुनसुकै राष्ट्रमा भए पनि शोषित, पीडित, दमित, अपमानित र दासतामा बाँधिएको हुनाले विश्वका मजदुरहरु एक होऔं का नारा सर्वमान्य छन् । मजदुर वर्गले के विर्सनु हुँदैन भने शोषक वर्ग जुनसुकै वर्ण, लिंग, क्षेत्र वा राष्ट्रको भए पनि क्रुर र बर्बर हुन्छ । यसकारण मजदुर पनि जुनसुकै राष्ट्र, वर्ण, लिंग, क्षेत्रको भए पनि सबै शोषित, पीडित, दमित हुने भएकाले एउटै सर्वहारा वर्गीय स्वार्थ हुन्छ र ज्यानी दुश्मन पुँजीपतिवर्गको वर्गसत्तालाई उखेलेर सर्वहारा वर्गको शासन सत्ता कायम गर्ने उद्देश्य राख्नुपर्छ किनभने जबसम्म शोषक वर्गीय शासन हुन्छ, तवसम्म शोषण रहिरहन्छ र दासता पनि ।
नेपालमा पुँजीवादको विकास भएको छैन । नेपाल अर्धसामन्ती अर्ध औपनिवेशिक अवस्थामा छ । नेपालमा दलाल नोकरशाही पुँजीपति वर्गको शासनसत्ता भएकाले यहाँ औद्योगिक विकास हुन सकेको छैन । यो दलाल वर्गको सत्ता राष्ट्रघाती भएकाले साम्राज्यवादीका उदार अर्थतन्त्र लागु गरेकाले मित्रराष्ट्रहरुले खोलेका जुत्ता, कागज, सिमेन्ट, चिनी, चुरोट आदि कारखानाहरु कौडीको मूल्यमा बेचे । ती कारखानाहरुले थोरै नेपालीलाई भए पनि रोजगारी दिएको थियो । निजीकरणको नाममा ती सबै बन्द गरिए । समृद्ध नेपाल सुखी नेपालीका नारा घन्काउने प्रतिक्रियावादी शासकहरु प्रत्यक्ष विदेशी लगानी भित्र्याउने नाममा अनेकौं सुविधा उत्पादन कर, निर्यात्कर, आयात कर, मुनाफाकर आदि छुट दिने भने तापनि विदेशी पुँजीपतिहरुले लगानी गर्न चासो दिएका छैनन् । भ्रष्ट सरकारले लगानी भित्र्याउने नाममा लगानी सम्मेलनहरु पनि गर्दै आएको छ । लगानी प्रतिबद्धता प्रकट गरे पनि लगानी गरेका छैनन् । किनभने अस्थिर शासनसत्ता, संस्थागत भ्रष्टाचार मात्र नभएर राजनैतिक भ्रष्टाचारले गर्दा विदेशी लगानी मैत्रीको अभावले गर्दा विदेशी लगानीकर्ता व्याँसाहरु नेपालमा लगानी गर्न उत्साहित छैनन् । केही उत्साहितहरु पनि औद्योगिक क्षेत्रमा नभएर सेवा क्षेत्रमा चासो राखेका देखिन्छन् । प्रतिक्रियावादी शासकहरुले नेपालका ठूला नदी नाला भारतीय विस्तारवादीलाई सुम्पिसके नेपाली जनताका टाउकोमा ऋणका भारी थप्दै छन् । सार्वजनिक ऋण व्यवस्थापनका अफिसर मुकुन्द पोख्रेलका अनुसार सरकारले आन्तरिक घरेलु ऋण रु. १.२७ ट्रिलियन तिर्नु पर्नेछ भने बाह्य ऋण १.४० ट्रिलियन रुपियाँ तिर्नुपर्ने छ ।
नेपाल सरकारले हरुवा चरुवालाई २०२२ जुलाईमा मुक्त भएको घोषणा ग¥यो । नेपालमा बधुवा मजदुरहरु हरुवा चरुवा वयस्क ९७०० र केटाकेटी १३००० छन् भनेर फ्रिडम फन्डले गरेको सर्भेले औल्याएको छ । यी बधुवा मजदुर पूर्वी तराईमा खास गरेर सु्नसरी, सप्तरी, सिराहा, धनुषा, सर्लाही, बारा र रौतहटमा छन् । यी मजदुर कृषिमा छन् । कागजी रुपमा नेपाल सरकारले कमैया, कमलरी प्रथा १७ जुलाई २००० मा अन्त्य गरेको घोषणा गरेको हो । सुदूर पश्चिममा शताब्दीऔंदेखि हलियाप्रथा (बधुवा मजदुर) चलेकोमा नेपाल सरकारले २०६५ भदौ २१ मा (सेप्टेम्बर ६,२००८) हलिया प्रथाको उन्मूलन गरेको घोषणा ग¥यो । हलिया १७ हजार परिवार सरकारी आँकडामा छन् । यी हलिया सबै दलित जातिका हुन् । कमैया कमलरी संख्या करिव २७,५५० परिवार थिए । कमैया, कमलरी थारु जातिका बनाइन्थे ।
उपरोक्त बधुवा मजदुरहरु सबै जमिन्दार सामन्तसँग लिएको ऋणको साउँको व्याज, व्याजको स्याज गरेर बधुवा मजदुर हुन बाध्य भएका हुन् । एकपल्ट ऋणमा फसेपछि सन्तान दर सन्तान ऋण मुक्त हुन सक्दैनन् । यी बधुवा मजदुरहरुका राम्रा छोरी बुहारी जमिन्दारले बलात्कार गर्ने, कुटपिट गर्ने र हत्या गर्ने गर्दछन् । चरम, क्रुर शोषण, उत्पीडन, दमन र अपमानको पीडा कति कहालीलाग्दो हुन्छ । त्यो पीडित बधुवा मजदुरले मात्र जान्दछ । सरकारले मुक्त गरेको घोषणा गरे पनि गाँस बास रोजगारीको विशेष व्यवस्था नगर्नाले पुनः तिनै जमन्दिार सामन्त कहाँ दासता भोग्न बाध्य छन् । नेपालमा सुदखोरहरुले मिटर व्याजमा ऋण दिएर हजारौं मिटर व्याज पीडितहरु सर्वस्व गुमाएर सर्वहारामा परिणत हुँदै गएका छन् । अनपढ सीधा साधा जनता दुई लाखको ८०–९० लाख तिर्न नसकेर सुदखोरीका विरुद्ध कार्वाही गर्ने माग राखेर सदरमुकाम र राजधानीमा प्रदर्शन गरे पनि न्याय पाउनबाट बञ्चित छन् । कतिपय त ज ेलको यातना भोग्दै छन् । शोषक वर्गीय सत्तामा तिनै ठूला ठालू सामन्त, जमिन्दार तथा सुदखोरका सन्तान नै न्यायमूर्ति, ठूलामन्त्री, सांसद हुँदै स्वर्गीय आनन्द लिइरहेछन् ।
अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार ८.१ मिलियन जनता एसियामा मात्र ऋणकै कारण जवरजस्ती नै मजदुरी गर्न बाध्य छन् । अझ दक्षिण एसियामा बधुवा मजदुर १५.५ मिलियन जनता मानव तस्करहरुले बधुवा मजदुर बनाएर शोषण गरिरहेछन् । भारतमा लाखौं इटाभट्टामा काम गर्ने मजदुरहरु बधुवा मजदुर जस्तै दासतामा बाँचिरहेछन् । एक जना भट्टा मजदुरले केही सुधारको कुरा गर्दा नै उसको हात बञ्चरोले काटियो भनेर बिबिसिले समाचार दिएको थियो । पोलिटिकल इकोनोमी अफ न्यू स्लेभरी सम्पादक सि.भानडेन अन्करले दक्षिण एसिया इन्डिया, नेपाल र पाकिस्तानमा १६ मिलियन अदृश्य बधुवा मजदुरहरु छन् । अर्को शब्दमा भन्दा ऋणको चक्रवृद्धि नै बधुवा मजदुर हुनु हो ।
२०२३ मा विश्वमा करिब ३.६ अरब मजदुर छन् । यो संख्या दुवै सार्वजनिक र निजी क्षेत्रका हुन्, जसमा बेरोजगारहरु पनि छन् जो सक्रिय भएर कामको खोजीमा छन् । ३.६ अरब मजदुरमा पुरुष र महिला दुवै छन् । करिब २.२ अरब पुरुष र १.४ अरब महिला मजदुर छन् । विश्वमा ३.५ अरब रोजगारीमा छन् जब कि १९९१ मा २.२३ अरब थिए । जो रोजगारीमा रहेका थिए । जुन एक अरबको बढोत्तरी हो । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का अनुसार विश्वमा २.३ मिलियन मजदुरहरु एक वर्षमा मारिन्छन्, कामका सिलसिलामा र कामसँग सम्बन्धित रोगले मर्दछन् । यो संख्यामा घातक दुर्घटनाले मर्ने र प्रतिकूल कार्यस्थलका परिणाम हुन् । अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार वार्षिक अनुमानित २७० मिलियन पेशागत दुर्घटना र १६० मिलियन कामसँग सम्बन्धित रोगका कारण मर्दछन् । जब कि विश्वमा कालगतिले ६१,६१९,९२५ मानिस मर्दछन् भनेर युनाटेड नेसन्स वल्र्ड पपुलेसन्स प्रोस्पेक्टको २०२४ को संशोधित रिपोर्टमा दिएको छ ।
उपरोक्त आँकडाले विश्वमा मजदुरहरुको स्थिति कति कहालीलाग्दो र कष्टप्रद छ भनेर देखाउँछ । स्वाभाविक मृत्यु हुनेहरुको संख्या र वर्ष दिनमा मर्ने मजदुरको संख्याले उनीहरुको शोषण, उत्पीडन र कामका सिलसिलामा अस्वस्थकर र सुरक्षात्मक उपायहरु नगरिनु आदिले मजदुरहरुप्रति पुँजीपतिहरु कति कठोर, क्रुर र उत्पीडक हुन्छन् भन्ने प्रष्ट हुन्छ । कारखानाहरुमा घाइते हुने र अपांग हुनेहरुको वास्तविक तथ्यांक दिइदैन । सकेसम्म पुँजीपति आफ्ना कुकृत्यहरुलाई लुकाउँदै आएका छन् । नाफाका लागि पुँजीपतिले मजदुरहरुलाई बोल्ने औजार सम्झेर शोषण गर्छन् । शोषक पुँजीपतिवर्ग तथा पुँजीवादी शिक्षादीक्षाले लैस डाक्टरदेखि लेखापाल, फोरम्यान आदिको एउटा डफ्फाका बीच मिलिमतो हुन्छ र मजदुर वर्गमाथि शोषण, दमन र उत्पीडन गरिएको हुन्छ । नेपालको छिमेकी ठूलो प्रजातान्त्रिक मुलुक भारतको महाराष्ट्रमा उखु काट्नको लागि बच्चाहरु र जवान केटीहरुलाई प्रयोग गरिन्छ । ती जवान केटीहरुको विवाह गराइन्छ जुन परिवारलाई ऋणको दासताभित्र बाँधिएका हुन्छन् । चिनी कारखानाहरु राज्यका राजनैतिक नेताहरुको नियन्त्रणमा हुन्छ । पश्चिमी ब्राण्डका प्रमुख कोकाकोला तथा पेप्सीलाई फाइदा कसरी दिइन्छ भने जवान महिलाहरुलाई तातो घाममा सधै दिनभर काममा जोत्न अनावश्यक (हिस्टरेक्टोमी) गर्भाशय हटाउने शल्यक्रिया गरेर बन्ध्याकरण गरिन्छ । जसले गर्दा महिलाका मासिक धर्म रोकिनुका साथै स्त्री रोगहरुका समस्याहरुबाट जोगिन्छ अर्थात् कुनै पनि दिन काम रोकिंदैन । (न्यूयोर्क टाइम्स् २४ जुन २०२५)तर महिलामा पर्ने गम्भीर मानसिक शारीरिक समस्याहरु उत्पन्न हुन्छन् ।
साम्राज्यवादी अमेरिकामा अत्याधुनिक यान्त्रीकिकरण भएको मुलुकमा मजदुरहरु हायर फायरको सन्त्रासमा सधै रहन्छन् । अमेरिकी ओरेगन राज्यमा वार्षिक एक लाख मजदुरहरु घाइते हुन्छन् र मर्दछन् । यी मजदुरहरु घना जंगलमा रुख काटेर टिम्बा मुढा बनाउने काम गर्छन् भनेर अमेरिकी श्रम तथ्यांकमा उल्लेख छ । (न्यूयोर्क टाइम्स् १ डिसेम्बर २०२४)
पुँजीवादी विश्व व्यवस्थामा मजदुर विशेष गरेर व्लु कलर (निलो लुगा लगाउने) मजदुरहरु मारिनु, अंगभंग हुनु बेरोजगार हुनुलाई कुनै महत्व दिइँदैन । हवाई यात्रामा एक दुई यात्रु जहाजमा दुर्घटना भएर मरे भने पनि ठूलो होहल्ला हुन्छ । किनभने जहाजमा उड्ने अधिकांश ठूला ठालु धनीमानी हुन्छन् । मजदुर सय दुई सय मारिए पनि खबरै बन्दै किनभने सम्बन्धित पुँजीपतिको पुँजीवादी प्रतिष्ठाको विषय र मजदुर विरोधको सम्भावनाले गर्दा सूचना प्रवाह नै गरिंदैन ।
विश्वमा सर्वहारावर्गको पुँजीवादी दासताको अन्त्य गर्ने समाजवाद र साम्यवादलाई मूल उद्देश्य राखेर खोलिएका पार्टीहरुमा विगत इतिहासमा सोभियत रुस र जनवादी चीन रहे । ती ठूला पार्टीका पहिलो र दोस्रो पुस्ताले पुनः पुँजीवाद पुनस्र्थापना गरे । सोभियत रुस र चीनमा पुँजीवादको पुनस्र्थापना हुनुमा कम्युनिस्ट पार्टीमा लुकेर ढुकेर नेतृत्व हत्याउने नेतृत्वले मौका आउनासाथ समाजवादी संरचना र आर्थिक आधारलाई ध्वस्त पारेर पुँजीवादी आर्थिक आधार र संरचनाको निर्माण गर्नु प्रमुख कारण हो । दोस्रो, अर्को प्रमुख कारण साम्राज्यवादी तथा विकसित पुँजीवादी मुलुकहरुका कम्युनिस्ट विरोधी प्रचार प्रसारका संयन्त्र, कम्युनिस्ट विरोधी सत्ताबाट च्यूत गरिएका पुँजीवादी, सामन्तवादी प्रतिक्रियावादी शक्तिको पुनः सत्ता प्राप्त गर्ने अभियान, जसलाई बाह्य साम्यवाद विरोधीको आर्थिक, राजनैतिक, सांस्कृतिक सहायता आदि हुन् । अधिकांश विकसित पुँजीवादी मुलुकहरुमा पनि मजदुर पार्टी समाजवादी कम्युनिस्ट पार्टीहरु रहेका छन् । ती पार्टीहरु संसदीय धापमा डुबेका छन् र सर्वहारावर्गको वर्गीय सत्ता कायम गर्ने पक्षमा छैनन् । सर्वहारावर्गको वर्गीय सत्ताको नामैले पुँजीपति वर्गको मुटु काम्छ । यसकारण पुँजीपति वर्गले आर्थिक आधार, संरचना न्याय, शिक्षा, संस्कृति आदि सबैलाई पुँजीवादीकरण गरेका छन् ।
सर्वहारावर्गको वर्गदुश्मन पुँजीपति वर्गले पनि सर्वहारा वर्गीय सत्ताप्रति घृणा फैलाउन थुप्रै व्यक्तिवादी, उपभोक्तावादी पुँजीवादी सिद्धान्त र मान्यता बच्चादेखि नै मस्तिष्कमा भरिन्छ । विज्ञानले फड्को मारेर कृत्रिम बौद्धिकताको युगमा प्रवेश गरेको छ । यो एउटा साम्राज्यवादी तथा विकसित पुँजीवादीका लागि नित्य पुँजीवादी दासता फटाईँ जालसाझी गर्ने एउटा ठूलो अस्त्र प्राप्त भएको छ । यसकारण सक्कली सर्वहारावादी क्रान्तिकारीहरुले साम्राज्यवादीका प्रत्येक झुटमुठ सर्वहारावाद विरोधी प्रतिक्रियावादको भण्डाफोर गर्नुका साथै शताब्दीऔंदेखि पुँजीवादी प्रजातान्त्रिक संसदीय व्यवस्थामा सर्वहारावर्गको दासताको वास्तविकताका पक्षमा सचेतनाको प्रचारप्रसारको आवश्यकता छ । जबसम्म पुँजीवादी व्यवस्था रहन्छ तबसम्म पुँजीवादी शोषण, अन्याय, अत्याचार, दासता र अपमानको पनि अन्त्य हुन सक्दैन ।