कविता
अग्निराज पौडेल ‘अराप’

दिन रात घोटिए पनि
चामलको निहुँमा घुनसरि पिसिए पनि
हाँसो र खुसी बटुल्ने दाउमा
ऋणको भार थपिएको थपिएकै छ
परिवारकाले ह्याउँछन्
तुच्छ बनेको छु आफन्तका बिचमा
खिस्याउँछन् साथीहरू
सफलता पाउन दगूर्दा दगूर्दै
असफलताको बिल्ला लागेको छ
सिकाइदेऊ न साथी रहस्य के हो ?
केही नगरी कमाउने जुक्ति
जान्ने रहर जागेको छ !
धेरैसँग परिचय गरियो
धेरैसँग हारगुहार मागियो
साथी, आफन्त, नातागोता
अघाएकालाई थपिदिने समाजमा
सबै आफूजस्तै भेटिए
अधुरो नै रह्यो ऊ जस्तै हुने चाहना ।
ऊ मेरो आदर्श बनिसकेको छ
उसलाई देखेपछि एकोहोरिन्छु म
मिठा कुरा गर्छ
उसका गफ सुनेर मन्त्रमुग्ध हुन्छु
पत्याइदिऊँ जस्तो पनि लाग्छ
कहिलेकाहीँ दिक्क लाग्छ
हप्काइदिऊँ जस्तो पनि लाग्छ !
पछ्याउन चाहेको थिएँ
उसको जीवनशैली
अनुशरण गर्न चाहन्थेँ
चालढाल, बठ्याइँ अनि चातूर्य
असफलता नै असफलताको थुप्रोमा
अर्काे असफलता थपिएको छ ।
अरूभन्दा अब्बल देखिन
विभिन्न चतु¥याइँ गरिरहन्छ
ऊ जस्तै धेरै छन् कि ! ऊ सबैतिर छ
अघिल्लो पङ्क्तिमा नै देखिन्छ
सभा सम्मेलनहरूमा
क्रान्तिको राँको सल्काउन लागिपरेको छ
सामाजिक सञ्जालहरूमा
गफिँदै हुन्छ चिया पिउँदै विभिन्न चोकचोकमा
डान्सबारमा लठ्ठिएको पनि सुनिन्छ कहिलेकाहीँ
आफ्नो वरिपरिकालाई क्रान्तिकारी देख्छ
विमति राख्नेलाई प्रतिगामी भन्छ ।
उसको दैनिकी बनिसकेको छ
सत्ता र सरकारको विरोधमा बोल्नु
पाउने चाहनामा निर्लिप्त भइदिन्छ
नपाए विरोधमा तथानाम ओकल्छ ।
उसलाई देखेर म छक्क पर्छु
उसको चुरीफुरी देखेर
आफैँप्रति दिक्क लागेर आउँछ
उसको तडक भडक देखेर
आफैँप्रति दया जागेर आउँछ ।
सिकाइदेऊ न साथी
जान्ने रहर जागेको छ
रहस्य के हो ?
केही नगरी कमाउने जुक्ति ।
नयाँ महल ठडिएको छ
वर्षैपिच्छे तला थपिएको छ
कहिले हेप्पी बर्थ डे भन्छ
कहिले एनिवर्सरी भन्छ
कहिले ‘बा’ को चौरासी भन्छ
कहिले हजुरबाको पूण्य तिथि भन्छ
विभिन्न बहानामा
पार्टी, भोज, भतेर जमेकै छ ।
जागिर छैन भन्छ
रोजगारीमा गएको देखिँदैन
कृषक हो भनौँ त
सधैँ राजधानीमा नै हुन्छ
ध्वाँस पनि लाउँछ
जग्गा बेचेर राजनीति गरेको
घरीघरी दुखेसो सुनाउँछ
समाज सेवामा लागेर ऋण बढेको
सधैँ प्रशन्न देखिन्छ, सुखी देखिन्छ
महँगो लगाउँछ महँगोमा नै पढाउँछ
महँगा महँगा सवारी फेरि फेरि चलाउँछ ।
कहिले भद्रकालीको सडकमा भेटिन्छ
कहिले नक्सालतिर देखिन्छ
झसङ्ग हुन्छ
कुनै दुतावास छेउ झट्ट भेटिँदा
आँखा जुधाउँदै हुन्छ औंला ठड्याएर
मैले चिनेका जानेकाहरूसँग
मुन्टो निहु¥याउँदै हुन्छ मलिन भएर
मैले नचिनेकाहरूसँग ।
धेरै भो ऊसँग परिचय गरेको
उसले मलाई चिनिसक्यो
धेरै पटक मूर्ख पनि बनाई सक्यो
म भने परिचय खोज्दै छु
अझै पनि उसको ।
अब्बल दर्जाको कलाकार हो कि
लम्पसारवादी साहित्यकार
शक्ति केन्द्रको प्यादा हो कि
राज्यले खटाएको सुराकी ।
सिकाइदेऊ न साथी
जान्ने रहर जागेको छ
रहस्य के हो ?
केही नगरी कमाउने जुक्ति
…..
२०८१ असार २८