काठमाडौं : अजित मिजारको हत्यारालाई कारबाही र पीडित परिवारलाई न्यायको निम्ति आज माइतीघर मण्डलामा चार दलित संगठनले गरेको ‘वृहत् खबरदारी कार्यक्रम’माथि प्रहरीले हस्तक्षेप गरी ५० जनाभन्दा बढी दलित नेताहरुलाई गरेको गिरफ्तारीको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले घोर भत्र्सना गरेको छ । पार्टी प्रवक्ता कञ्चनले जारी गरेको वक्तव्यमा गिरफ्तार गरिएका दलित मोर्चाका नेता कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न जोडदार माग गरिएको छ ।
वक्तव्यमा गिरफ्तार हुनेहरुमा एकीकृत दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय संयोजक दर्शन नेपाली, सहसंयोजक टेक बहादुर वि.क., राम नेपाली, शोभा विश्वकर्मा, विरेन्द्र सुनार, कृष्ण सेवा लगायत हुनुहुन्छ । त्यसै गरी अन्य संगठनबाट दलमर्दन कामी, दुर्गा बराइली अर्जुन, प्रमिता, रबिना परियार, दिलिप बि.क. रहनु भएको उल्लेख गरिएको छ ।
वक्तव्यमा भनिएको छ, “अजित मिजारको न्यायको माग सहित देशभर भएका जातीय उत्पीडनका विरुद्ध खबरदारी गर्न एकीकृत दलित मुक्ति मोर्चा नेपाल सहित चारओटा संगठनका बीचमा निर्मित संयुक्त राजनीतिक दलित संघर्ष समितिको आह्वानमा आज माइतिघर मण्डलामा आयोजित विरोध कार्यक्रममा प्रहरी प्रशासनले अन्धाधुन्द बल प्रयोग गरी ५० जनाभन्दा बढी प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरुमा एकीकृत दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय संयोजक दर्शन नेपाली, सहसंयोजक टेक बहादुर वि.क., राम नेपाली, शोभा विश्वकर्मा, विरेन्द्र सुनार, कृष्ण सेवा लगायत हुनुहुन्छ । त्यसै गरी अन्य संगठनबाट दलमर्दन कामी, दुर्गा बराइली अर्जुन, प्रमिता, रबिना परियार, दिलिप बि.क., आदि गिरफ्तार हुनु भएको छ । मनुवादी विभेदमा आधारित जात व्यवस्था जस्तो जघन्य सामाजिक अपराधका विरुद्ध आवाज उठाउने न्यायप्रेमी उत्पीडित जनसमुदायमाथि प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले गरेको यो दमन तथा गिरफ्तारीको हाम्रो पार्टी घोर निन्दा एवम् तीव्र भत्र्सना गर्दछ । साथै, गिरफ्तारीमा पर्नु भएका सबैलाई बिना शर्त अबिलम्ब रिहाइका लागि नेपाल सरकारसँग जोडदार माग गर्दछ ।”