
– प्रकाश वि.क.
अछाम को तुर्माखाँद गाउँपालिका वडा नं ६ रानीवन स्थित श्री कामेश्वर माध्यमिक विद्यालय छ । जहाँ म कक्षा १० सम्म अध्ययन गरेको थिएँ। जुन स्कुलमा थुप्रै ठाउँबाट अध्ययन गर्न विद्यार्थीहरु गाउँको उकालो र ओरालो गर्दै भिरको बाटो हिड्नु पर्छ। यति मात्र होइन सधैं जङ्गलको बाटो हिड्दा जङ्गली जनावर समेतको डर हुन्छ। कामेश्वरी मा. वि. विद्यालयमा रामखोला, गैलडा, बाँडेपानी, तलौनी, कवलतोली, कालासेन लगायत वडा नं ८ पल्चोड समेतका विद्यार्थी भाइ, बहिनीहरु समेत पढ्न आउँछन।
गाउँको स्थिति र गरिबीको कारण पनि हुन सक्छ सायद विद्यार्थी खासै न पढ्ने र सानो उमेरमा नै भारत जाने गर्न थाले। त्यसैले पनि कक्षा १० सम्म पुग्दा सम्म बढीमा २० देखि ३० जना विद्यार्थी हुन्छन्। उसो त २०७७ सालमा मेरो पनि क्भ्भ् परीक्षा हुन सकेन। कारण त्यति बेला कोरना भाइरसको महामारी रोग आएको थियो। मान्छे बाट मान्छे डराउनु पर्ने अवस्था सिर्जना भएको थियो। त्यसो हुँदा एस.ई.ई. परीक्षा हुन सकेन। विद्यार्थीको मूल्याङ्कनको आधारमा पास गराइयो।
विभिन्न कारणले त्यो विद्यालयमा सोचे जस्तो पढाई भने कहिल्यै हुन सकेन। शिक्षक भने छुट्टी कति खेर हुन्छ र जुवा तास कति खेर खेल्ने भनेर चिन्तित हुन्थे भने विद्यालय व्यवस्थापन समिति नअनुगमनमा आउँथे न विद्यालय प्रति चासो नै थियो। किनकि त्यो विद्यालयमा सर्व साधारण र गरीब जनताका छोरा छोरी पढ्ने गर्थे। उहाँहरुका छोरा छोरी भने सहरको ठूला र महंगो विद्यालयमा पढ्ने गर्थे। उहाँहरूले हामी माथि खेलबाड गरे पनि केही फरक पर्दैन थियो। किनकि हामी गरीब थियौ र आमा बुवा त्यति बुझ्ने हुनुहुन्न थियो। यति भन्दै गर्दा त्यहाँ विद्यार्थीको पनि गल्ती चाहिँ हुन्छ तर विद्यालयको वातावरण र त्यो भन्दा बढी लापरबाही पनि थियो।
त्यस्तै २०७९ सालको चुनावमा तुर्माखाँद गाउँपालिका अध्यक्ष नेकपा एमाले बाट युवा नेता डम्बर बि सी निर्वाचित हुनु भयो। हामी विद्यार्थीको लागि जसले जिते पनि शिक्षामा राम्रो लगानी गरी विद्यार्थीको भविष्य बनाएर यो देशमा बस्ने वातावरण तयार होस भन्ने थियो। बिस्तारै उहाँको कार्यपालिका बैठक बसेर सम्पूर्ण निर्वाचित जन प्रतिनिधि, शिक्षा र स्वास्थ्य क्षेत्र लगायत विभिन्न संघ संस्थाका जिम्मेवार व्यक्ति बीच भेला गरी आआफ्ना बालबालिका लाई आफ्नो गाउँपालिका भन्दा अरु पालिका वा क्षेत्रमा पढ्न नपाईने र बाहिर गएका विद्यार्थीलाई तत्काल फिर्ता ल्याउन जिम्मेवार व्यक्तिहरु लगायत सम्पूर्णलाई जानकारी गराउनु भयो। यदि बाहिर पढाउने हो भने बसाई सराईको सिफारिस देखाएर मात्र विद्यार्थीको प्रमाण पत्र सम्बन्धित विद्यालयले दिने भनेर विद्यार्थी माथि खेलबाड गर्ने काम भयो। बाहिर पढाउने नै हो भने पालिका र वडा कार्यालयबाट पाउने सबै सेवाहरु रोक्ने हो भनेर समेत भन्नु भयो। आफ्नो गोजीबाट सेवा सुविधा दिए जस्तो गर्नु त्यो कदापि राम्रो थिएन। त्यो सेवा सुविधा पाउने कुरा नेपाली नागरिकको अधिकारको कुरा हो। त्यो नियम बनाउनु र आफ्नो पालिकालाई नमुना बनाउनको लागि त्यो नियम बनाउनु राम्रो थियो। तर त्यो नियम कानुन सर्वसाधारण जनताका छोरा छोरी लाई मात्र थियो। नियम बनाउने हरुका छोरा छोरी सहरको बोर्डिङ स्कुलमा पढ्ने तर साधारण जनताका छोरा छोरी बाहिर पढ्न न पाउने त्यो कस्तो नियम।
पछिल्लो समयमा जनता त्यति अबुझ पनि थिएनन् किनभने सबैलाई कानुन के हो बुझेकै थिए। त्यही बीचमा आफ्ना छोरा छोरीको भविष्य बनाउन भनेर ऋण निकालेर भारतमा गएर श्रम गरेर भए पनि कसैले छोरा छोरी सहरमा पढाउन थाले। उक्त विद्यालयको अवस्था केही परिवर्तन हुन्छ कि भनेर त्यहाँका स्थानीय बुद्धिजीवी लगायतले कोशिस गरेका हुन तर पनि केही परिवर्तन हुन सकेन। विद्यालय व्यवस्थापन समिति र प्रशासनले एक तर्फी मनसाय ढङ्गले चलाउने गरेको देखिन्छ। शिक्षा जस्तो पवित्र क्षेत्रमा पनि राजनीतिक चल खेल गरेर आफ्ना मान्छे हरु लाई सुरक्षा दिने गरेको देखिन्छ। हाल सम्म निजी स्रोतमा राखेका शिक्षक को तलब भत्ता समेत विद्यालय व्यवस्थापन समितिले दिएको छैन। विद्यालयमा योजना हाल्ने भनेर करिब दुई वर्ष अगाडि एक जना व्यक्ति लाई घुस दिएको पैसा अहिले सम्म न त विद्यालय मा योजना आयो न त पैसा नै आयो। विद्यालय व्यवस्थापन समितिले व्यक्तिगत नाम मा चेक काटेर योजना हाल्ने भनेर घूस दिएको पैसाको विषयमा व्यवस्थापन समिति नै चुप लागेर बसेको छ।
२०८२ सालमा त्यो विद्यालयलाई सुधार्न सकिन्छ कि भनेर मैले धेरै कोसिस गरे सम्भव भएन। विद्यालयमा भएको भष्ट्राचार, अनियमितता, र आर्थिक घोटालाको बारेमा छलफल गरेका थियौं। यो विषयमा छलफल गर्दै गर्दा पनि केही भष्ट्राचारीहरुका मुटु भने डरले निकै हल्लेका थिए। स्थानीय जनताले आफ्नै गाउँघरका मान्छे हुन छोड्दिनु भने पछि चुप लागे।
विडम्बना २०८१ सालमा प्रकाशन भएको एस ई ई रिजल्ट हेर्दा त्यो विद्यालयममा अछामको मात्र होइन तुर्माखाँद गाउँपालिकाको सबै विद्यालयको भन्दा कम विद्यार्थी पास भएका छन। एस.ई ई.परीक्षामा सहभागी भएका १७ जना मध्ये ४ जना मात्र पास भएका छन् । जुन विद्यार्थी त्यो स्कुलमा न पढेर सहर गएर पढेका विद्यार्थी बाहेक अरु कोही पास हुन सकेका छैनन। जुन विद्यालयमा शिक्षकको दरबन्दी न भएर आफ्ना कार्यकर्ता भर्ती गर्ने केन्द्र बनाइएको छ। दुःखत कुरा त यो की आज जुन विद्यालयमा अङ्ग्रेजी, विज्ञान र गणित विषयका शिक्षक २–२ जना हुँदा समेत एस. ई.ई. को नतिजा राम्रो हुन नसक्नुमा मुख्य राजनीतिक हो ।
परीक्षा पास गर्नु हुने सम्पूर्ण विद्यार्थी भाई बहिनी हरुलाई हार्दिक बधाई तथा शुभकामना। साथै सम्पुर्ण जनता अब जाग्न पनि तयार हुनु पर्छ। विद्यालय जस्तो पवित्र क्षेत्रमा राजनीतिक गर्न बन्द गरियोस्।

(लेखक वि.क. अखिल (क्रान्तिकारी) का बाँके जिल्ला संयोजक हुनुहन्छ )