घुम्तीहरू घटेपछि हिल्सा सिमकोट सडकको दूरीमा कमी ।

फागुन ४ गते । हुम्लाको हिल्सा सिमकोट सडक निर्माणका क्रममा घुम्तीहरू घटेपछि लम्बाइ छोटिएको छ ।

सिमकोटबाट हिल्सासम्मको ९५ किलो मिटर दूरी यसअघि सो सडकको सर्भे गर्ने क्रममा थियो । अहिले पनि आम मानिसलाई हिल्सा सिमकोट सडकको दूरी सोही रहेको जानकारी छ । हाल सो सडकको लम्बाई ९३ किलोमिटरमा झरेर दुई किलोमिटर सडकको लम्बाइ घटेको छ । सो खण्डको सडकको लम्बाई यसरी घट्नुमा धेरै स्थानमा सडक निर्माणका क्रममा घुम्तीहरू ( लुप ) घटेको कारण हुन सक्ने अनुमान छ ।

स्थलगत रूपमा खटिएका साइट सुपरभाइजरबाट सडकको दूरी घटेको जानकारी आएपछि अब आयोजनाले एक पटक पुन हिल्सालाई जिरो बिन्दु मानेर पुनः सडकको नाप लिने कार्य गर्ने भएको छ । अहिले पनि आयोजनाले सडक खण्ड अन्तर्गतका विभिन्न स्थानको दूरीका बारेमा जानकारी दिन कठिन भएको जनाएको छ । सडकमा दूरीसमेत उल्लेख गरेको कतै देखिँदैन । यसका लागि पनि आयोजनाले स्थानसम्मको दूरी, बेलिब्रिजको जानकारी, कल्भर्टका जानकारी, पक्की पुलको जानकारी दिने सूचना पार्टी कतै राखेको देखिँदैन ।

हिल्सा सिमकोट सडकको प्रारम्भिक ट्र्याक खुलाउने कार्य सम्पन्न भएर हाल यातायातका साधन सञ्चालन हुँदै आएका छन् । ती सडकमा स्तरोन्नतिको कार्य जारी छ । पैदल यात्रुहरूलाई सिमकोटबाट हिँडेर चार दिन लाग्ने दूरीलाई हाल आठ घण्टामा सिमकोटबाट हिल्सा पुग्न सकिने भएको छ । 

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?