
ललितपुर : क्रान्तिकारी दलित मुक्ति मोर्चा, नेपाल ललितपुर जिल्लाको प्रथम जिल्ला भेला ललितपुर महानगरपालिका स्थित पुल्चोकमा बिहीबार सम्पन्न भएको छ। भेलामा मोर्चाका केन्द्रीय संयोजक टेक बहादुर विश्वकर्माको प्रमुख उपस्थिति रहेको थियो।
भेलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ललितपुर जिल्ला इन्चार्ज दिपक तथा जिल्ला सचिव जगदीश विशेष अतिथिका रूपमा सहभागी थिए। त्यसैगरी, मोर्चाको केन्द्रीय कार्यालय सदस्य शोभा विश्वकर्मा र केन्द्रीय कार्यालय सदस्य तथा ब्यूरो नं. ९ का संयोजक रोशन विशुंकेको समेत उपस्थिति थियो।
भेलाले सपना मंग्रातीको संयोजकत्वमा ११ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ। समितिमा रविन सुनार, जीवन विश्वकर्मा, टेक बहादुर विश्वकर्मा, मनोज पुर्कोटी, प्रसान्ति लामिछाने, सुजन मंग्राती, सिर्जना रोक्का रहेका छन् भने तीन जना सदस्य पछि थप गर्ने गरी समिति खुला राखिएको छ।
भेलामा शुभकामना मन्तव्य राख्दै मोर्चाका केन्द्रीय संयोजक टेक बहादुर विश्वकर्माले दलित तथा उत्पीडित समुदायमाथि युगौंदेखि थोपिएको जातीय उत्पीडन, सामाजिक बहिष्कार र राज्य संरक्षित विभेदप्रति आक्रोश व्यक्त गरे। साथै चुलो छोएको, धारा छोएको, मन्दिर प्रवेश गरेको वा अन्तरजातीय प्रेम तथा विवाह गरेको जस्ता कारणमा आज पनि दलित समुदाय माथि छुवाछूत, भेदभाव, कुटपिट, गाउँनिकाला तथा हत्या जस्ता घटनाहरू घटिरहेको उल्लेख गर्नुभयो। “मिठा–मिठा सामाजिक नाराहरू दिइए तापनि रोजगारी, भूमिको स्वामित्व र पुँजीको पहुँच जस्ता उत्पादनका साधन तथा स्रोतमा दलित समुदायको उपस्थित नगन्य मात्रामा रहेको विभिन्न सूचाङ्कहरूले प्रमाणित गरिरहेका छन्,” संयोजक विश्वकर्माले भन्नुभयो।
ऐतिहासिक अन्यायको क्षतिपूर्तिवापत विशेषाधिकारको आवश्यकता औंल्याउँदै उहाँले भन्नुभयो, “ऐतिहासिक सर्वहारा वर्गलाई दिइने विशेषाधिकार न्यायको एउटा रूप हो, र त्यसलाई कार्यान्वयन गर्नु इतिहासप्रतिको जिम्मेवारी हो।”
भेलाले संगठन विस्तारको कामलाई तिव्रताका साथ अघि बढाउने र जागरण जनयात्राः उत्पीडित दलित समुदायको न्याय, समानता र अधिकार प्राप्तिको संकल्प विषेश अभियानलाई बस्तीमाझ संचालन गराउने निर्णयसमेत गरेको छ।
