
लेखक : कृष्णराज पौडेल
कम्युनिस्ट पार्टीले आफ्नो काम कार्वाही सही प्रकारले अगाडि बढाउन पार्टीका नेता तथा कार्यकर्ताको विश्व दृष्टिकोण निर्माणको प्रश्नले अत्यन्त ठूलो महत्व राख्दछ । यो चराचर जगतलाई हेर्ने, बुझ्ने र ग्रहण गर्ने विषयमा दुईवटा परस्पर विरोधी दृष्टिकोणहरु रही आएका छन् । एउटा हो पुँजीवादी विश्व दृष्टिकोण र अर्को हो समाजवादी विश्व दृष्टिकोण ।
पुँजीवादी विश्व दृष्टिकोणले समाजका हरेक मानिसहरुलाई व्यक्तिगत तथा पारिवारिक हितको निम्ति काम गर्न सिकाउँछ । पुँजीवादी व्यवस्था नाफामा टिकेको व्यवस्था हो । हरेक कामबाट नाफा कमाउनु पुँजीवादी व्यवस्थाको विशेषता नै हो । तर विकसित पुँजीवादले समाजवादको लागि आर्थिक आधार खडा गरेको हुन्छ । विकसित पुँजीवादमा सामाजिक वर्गहरु स्पष्ट रुपले दुई खेमामा विभक्त भएका हुन्छन् । एकातिर पुँजीपतिवर्ग र अर्कोतिर मजदुरवर्ग । पुँजीपतिवर्गले ठूला ठूला उद्योग, कलकारखाना खोलेर छरिएर रहेको मजदुरवर्गको श्रमशक्तिलाई एक ठाउँमा ल्याएको हुन्छ । कलकारखानामा सँगैसँगै काम गर्दै जाँदा मजदुरवर्ग सचेत र संगठित हुँदै जान्छन् र उनीहरुले आफूमाथि भएको शोषणलाई बुझ्दछन् । यसरीसचेततापूर्वक मजदुर वर्ग क्रमशः सर्वहारावर्गमा परिणत हुँदै जान्छ र पुँजीपतिवर्ग क्रमशः पुँजीपति बन्दै जान्छ । उत्पादनका साधनहरुमाथि व्यक्तिगत स्वामित्व कायम गरेर मजदुरहरु माथि शोषण गर्दै जाँदा जम्मा हुने अतिरिक्त नाफाले ठूलो पैमानाका उद्योग कलकारखाना स्थापना हुँदै जान्छन् र बजारमा अत्यधिक माल थुप्रिँदै जान्छ । अधिक उत्पादनले अधिक माल तयार गरेपछि त्यसका लागि ठूलो बजार क्षेत्र आवश्यक पर्छ र माल बेच्नका लागि अविकसित देशहरुमा आफ्नो बजार कायम गर्दै जाँदा पुँजीवाद पुँजीवादले साम्राज्यवादको रुप लिन्छ ।
पुँजीवादी अर्थ व्यवस्थामा मजदुरवर्गले आफ्नो श्रमको मूल्य पाएको हुँदैन । उत्पादनका लागि भूमि, पुँजी र श्रमशक्ति गरी तीनवटा साधन आवश्यक पर्दछन् । भूमि र पुँजी पुँजीपतिवर्गको आप्mनो लगानीको र श्रमशक्ति उसले मजदुरवर्गबाट प्राप्त गर्नु पर्छ । पुँजीपति वर्गले अतिरिक्त मूल्य मजदुरवर्गको श्रमको शोषण गरेर प्राप्त गर्दछ । पुँजीपतिवर्गले उद्योगमा लगाएको भूमि र पुँजीको साथै मजदुर वर्गलाई दिइने ज्याला – श्रमको ज्याला जोडेर उत्पादित वस्तुको मूल्य निर्धारण गर्दछ । त्यो वास्तु उत्पादनमा लागेको लागत मूल्यमाथि मुनाफा जोडेर उत्पादित वस्तुको मूल्य कायम हुन्छ र पुँजीपतिसँग क्रमशः अत्यधिक नाफा जम्मा हुँदै जान्छ । यसरी प्राप्त भएको नाफालाई फेरि पुँजीमा परिणत गर्दछ र उत्पादनका साधनहरु थप्दै बढाउँदै जान्छ । यसरी पुँजीपतिवर्ग क्रमशः ठूलो पुँजीपतिवर्गमा परिणत हुँदै जान्छ । तर मजदुरहरु सधै मजदुर नै बनिरहन्छन् । उनीहरुले बाँच्नको लागि ज्याला पाउँछन् । काम गरे वापत पाउने ज्यालाले खान लाउन त पुग्ला तर पुँजीको रुपमा लगानी गर्ने हैसियत कहिलै बन्दैन ।
जबसम्म मजदुरवर्गले पुँजीपतिले मलाई काम दिएको छ र मैले खान लाउन र छोराछोरी पालन पाएको छु भनेर ढुक्क रहन्छ तवसम्म उसले आफूमाथि भैरहेको श्रमको शोषणलाई देख्दैन । यसको ठीक विपरीत मजदुरवर्गले आफ्नो सीप, दक्षता र श्रमबाट पुँजीपतिलाई नाफा भएको हो भन्ने कुरा थाहा पाउँछ अनि ऊ सचेत सर्वहारावर्गमा बदलिन्छ र विद्रोहको तयारीमा लाग्दछ । कारखानामा काम गर्ने मजदुरहरुलाई संगठित गरेर मजदुर आन्दोलन उठाउनको लागि तत्परता देखाउँछ । तर मजदुरवर्गले जवसम्म आफ्नो श्रमको मूल्यबाट पुँजीपतिवर्गले मात्र नाफा कमाएर पुँजी बढाउँदै लगेको र आफू जन्मभर मजदुर भएर श्रम बेचेर पनि आर्थिक उत्पीडनमा परेको महशुस नगर्दासम्म विद्रोहको मानसिकता बनाउन सक्दैन । मजदुर विद्रोहका २ वटा पक्षहरु छन् । एउटा अर्थवादी (टे«ड युनियनवादी) विद्रोह र अर्को सर्वहारावादी विद्रोह । मजदुरवर्गले तलव, कामको घण्टा, ओभरटाइम भत्ता, औषधि, छोराछोरीका लागि शिक्षा दीक्षासम्म मात्र आफ्नो विद्रोह सीमित राख्यो भने त्यो विद्रोह टे«ड युनियनवादी विद्रोह हुन जान्छ । त्यसको ठाउँमा राज्य व्यवस्थाको पुँजीवादी शोषण, उत्पीडन, पुँजीपति वर्गको हितको पक्षमा बनाइएका नियम कानुन आदि समग्र राज्य व्यवस्थाका विरुद्ध विद्रोह गरेर पुँजीपतिवर्गको राज्य सत्ता उल्टाएर मेहनतकस, मजदुरवर्ग सर्वहारावर्गको राज्यसत्ता वैज्ञानिक समाजवादका निम्ति विद्रोहको तयारी गर्दछ । तव राज्यसत्तामा आमूल परिवर्तनभै सर्वहारावर्गको राज्यसत्ता कायम हुन्छ । जब कार्लमाक्र्सले १८४८ मा कम्युनिस्ट घोषणापत्र जारी गरे । अतिरिक्त मूल्यको सिद्धान्त पत्ता लगाए तव पुँजीपतिवर्गद्वारा थिचिएको, मिचिएको, उत्पीडनमा परेको वर्ग मजदुर वर्गले विद्रोहको झण्डा उठायो र पुँजीवादी राज्यसत्ता खतम गरेर आफ्नो राज्यव्यवस्था समाजवादी राज्यव्यवस्था स्थापना ग¥यो ।
यो त भयो विकसित पुँजीवादी व्यवस्थामा हुने विद्रोहको स्वरुप । अहिले हाम्रो देश सामन्ती, दलाल तथा नोकरशाही वर्गले राज्यसत्ता कब्जा गरेको देश हो । यहाँको अर्थ व्यवस्था र शासकीय स्वरुप धेरै नै पिछडिएको अवस्थामा छ । दलाल अर्थतन्त्रले औद्योगिक उत्पादन र कृषि उत्पादनलाई एक साथ समाप्त पारेको देशलाई दैनिक उपभोग्य वस्तु लगायत सम्पूर्ण वस्तुमा परनिर्भर बनाएको छ । नेपालमा पाइने कच्चा पदार्थमा आधारित उद्योग कलकारखाना कौडीको मूल्यमा बेचेर खाने काम भएको छ । भ्रष्टाचार यति मौलाएको छ कि सरकार, सेना, प्रहरी, अड्डा अदालत प्रशासन, मालपोत, नापी, नगर गाउँपालिकाहरु ठेक्कापट्टा यातायात आदिमा सर्वत्र कमिशन, घुस, अनियमितता, ढिलासुस्तीले जनता आक्रान्त छन् । यी सवै संस्थागत र नीतिगत भ्रष्टाचारले देश उठुनै नसक्ने गरी थिलोथिलो भएको छ । विश्वविद्यालयदेखि उच्च शिक्षा अध्ययन गर्ने शैक्षिक संस्थाहरु खाली हुँदै गइरहेका छन् । विद्यार्थी र युवाहरु, विदेशमा अध्ययन र रोजगारीको निम्ति ठूलो संख्यामा बाहिरिरहेका छन् । यो सबै किन भइरहेको छ ? यस्तो हुनुको मूलकारण निम्न पुँजीवादी सोंचाई, चिन्तन र व्यवहार नै हो ।
पुँजीवादको विकास नभएको, पिछडिएको उत्पादन प्रणाली र कमजोर अर्थतन्त्र भएका देशहरुमा समाजका हरेक नागरिकहरुको चिन्तन प्रणाली निम्न पुँजीवादी प्रकारको हुन्छ । छरिएको र व्यक्तिगत जीवन पद्धतिले गर्दा अभावै अभावमा जिउनु परेको अवस्था, धनसम्पत्ति हुनेले सुखसँग बाँचेको, खाए लाएको देखेपछि धनसम्पत्ति जम्मा गरे पनि सुख समृद्धि र आनन्दको जीवन जीउन सकिन्छ भन्ने मान्यताले मानिसलाई लोभी, छट्टु र आफ्नो परिवारको लागि मात्र धनसम्पत्ति कमाउनुपर्छ भन्ने मान्यता र स्थापित गरेको हुन्छ त्यो नै निम्न पुँजीवादी चिन्तन हो । सिंगो राष्ट्र र समाजको अर्थतन्त्रको विकास नभएसम्म मेरो छुट्टै विकास हुन सक्दैन, समाजको विकास सँगसँगै मेरो पनि विकास हुने हो भन्ने सोंचाई विकसित भएको हुँदैन । यसैले गर्दा कम्युनिस्ट आन्दोलनमा लामो समयसम्म काम गर्दा पनि सर्वहारा विश्व दृष्टिकोणको विकास हुन सकेन । कम्युिनस्ट आन्दोलनमा २०,३०, ४०, ५०,६० वर्षसम्म काम गर्दा पनि पार्टीका नेता तथा कार्यकर्ताहरुमा सर्वहारा विश्व दृष्टिकोण निर्माण हुन सकेन । फलस्वरुप कम्युनिस्ट पार्टी कमजोर हुँदै विसर्जनको दिशातर्फ उन्मुख हुँदै गएको अनुभूति हुन्छ । क्रमशः