काठमाडौं : इच्छुक सांस्कृतिक प्रतिष्ठानको १५औं प्राज्ञसभा हिरामणि दु:खीको अध्यक्षतामा नौ जनाको नयाँ कार्यसमिति चयन गर्दै आज सम्पन्न भएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानको चन्द्रागिरी कक्षमा आयोजित प्राज्ञसभामा प्रतिष्ठानका संरक्षक समेत् रहनुभएका वरिष्ठ माक्र्सवादी सौन्दर्यचिन्तक, दार्शनिक तथा समालोचक मोहन वैद्य ‘चैतन्य’को प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
उक्त प्राज्ञसभालाई सम्वोधन गर्दै प्रमुख अतिथि चैतन्यले भन्नुभयो – ‘देशमा राष्ट्रिय स्वाधीनता गम्भीर सङ्कटमा पर्दै गएको छ । जनतन्त्र र जनजीविकाका प्रश्न झन्झन् जटील बन्दै गएका छन् । वास्तविक कम्युनिस्ट आन्दोलनलाई उठन् नदिन र क्रान्तिकारी धाराको माक्र्सवादी विचारलाई समाप्त पार्न संशोधनवादीहरूलाई नै कम्युनिस्टहरू यिनै हुन् भन्दै उनीहरूका माध्यमबाट जनतामा कम्युनिस्ट विचारलाई वदनाम बनाउने खेल तीव्र रूपमा बढिरहेको छ ।’ चैतन्यले प्रतिष्ठानको गतिविधिबारे प्रष्ट पार्दै अगाडि भन्नुभयो– ‘निकै दु:ख र कष्टका साथ प्रतिष्ठान निर्माण गरेको र यस प्रतिष्ठानले माक्र्सवादी साहित्य कला, संस्कृतिको संरक्षण र विकास गर्ने कार्यमा महत्वपूर्ण भूमिका निभाउँदै आएको छ । यसले जनयुद्धको मूल्य र मान्यतालाई आत्मसात गर्दै साहित्यिक सांस्कृतिक गतिविधि बढाउँदै लैजानुपर्छ ।’ उहाँले प्रतिष्ठानमा इच्छुकको प्रतिमा स्थापना गर्ने प्रयत्न धेरै पहिलेदेखि गर्दै आएको तर अहिलेसम्म पनि स्थापना गर्न नसकिएकोमा दु:ख लागेको बताउनुभयो ।
प्राज्ञसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यवाहक महासचिव हरिभक्त कंडेल ‘प्रतीक’ले पनि सम्बोधन गर्नुभएको थियो । आफ्नो सम्बोधनका क्रममा प्रतीकले प्रगतिवादी धाराको साहित्य कला संस्कृतिको विकास गर्न प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेलेको बताउनुहुँदै प्रगतिवादी कलाकारहरूको विकास गर्न र सांस्कृतिक गतिविधिलाई पनि सँगसँगै लिएर जानुपर्ने कार्यमा प्रतिष्ठानले विशेष ध्यान दिन जरुरी छ भन्नुभयो ।

प्राज्ञसभामा कार्यसमितिका तर्फबाट सदस्यसचिव मोदनाथ मरहट्टाले पेस गर्नुभएको आ.व. २०८२/०८३को बार्सिक आय–व्ययको बजेट र कार्यक्रमको समीक्षा सहित चालु आ.व.का लागि अनुमानित आय–व्यय सहितको बजेट र कार्यक्रम सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतिवेदनमाथि सभामा उपस्थित प्राज्ञ सदस्यहरूले सुझाव र टिप्पणी प्रस्तुत गर्नुभएको थियो । अन्त्यमा आवश्यक थपघट सहित सुझावहरूलाई समेटेर लैजाने प्रतिवद्धता गरेपछि सर्वसम्मतले पारित गरिएको थियो ।
प्रतिवेदन पारित भएपश्चात् संरक्षकको परामर्शसहित् कार्यसमितले तयार पारेको आगामि कार्यकालका लागि नौ सदस्यिय कार्यसमितिको प्यानल प्रस्ताव अध्यक्षले सभासमक्ष प्रस्तुत गर्नुभयो । उक्त प्रस्तावलाई सर्वसम्तीबाट ताली बजाएर पारित गरिएको थियो । नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष हिरामणि दु:खी (दाङ), सदस्यसचिवमा मोदनाथ मरहट्टा (चितवन), सदस्यहरूमा प्रा.डा.जगदीशचन्द्र भण्डारी (काठमाडौं), मित्रलाल पंज्ञानी (काठमाडौं), प्रा.डा. नन्दीशप्रसाद अधिकारी (भोजपुर), गौरी देवकोटा (गोरखा), डा.शीला योगी (काठमाडौं), पञ्चकुमारी दर्जी (ओखलढुङ्गा) र अनिलबाबु श्रेष्ठ (तनहुँ) रहनुभएको सदस्यसचिव मोदनाथ मरहट्टाले जनाउनुभयो ।
प्राज्ञसभाका अध्यक्ष हिरामणि दु:खीको अध्यक्षतामा भएको प्राज्ञसभालाई कार्यसमिति सदस्य मित्रलाल पंज्ञानीले स्वागत मन्तव्य राख्नुभएको थियो । सदस्यसचिव मोदनाथ मरहट्टाले सभा सञ्चालन गर्नुभएको थियो । अन्त्यमा सभामा उठेको केही जिज्ञासाहरूका बारेमा प्रस्ट पार्दै आगामी कार्यकालमा प्रतिष्ठानका गतिविधिहरू अझ प्रभावकारी बनाउने प्रतिवद्धता सहित अध्यक्ष दु:खीले सभा समापन गर्नुभयो ।