
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले राजावादी र यथास्थितिवादीबाट मुक्त हुन जनसमुदायमा अपील गर्नुभएको छ । उहाँले राजावादी र यथास्थितिवादीबाट देशमा विद्यमान समस्याको हल नहुने भन्दै जनगणतन्त्रले मात्रै समस्याको वास्तविक समाधान दिने भएकोले आम नेपाली श्रमजीवी जनता नेपालमा अब संघीय जनगणतान्त्रिक व्यवस्था ल्याउन जुट्नुपर्ने बताउनु भयो ।
उहाँले अहिलेको लोकतान्त्रिक गणतन्त्र र पश्चगामी राजावादीहरुबाट समस्याको समाधान नहुने इतिहासमा पटक पटक साबित भइसकेको स्पष्ट पार्दै अग्रगामी परिवर्तन अर्थात् क्रान्तिकारी परिवर्तनबाट मात्रै समस्याको समाधान दिने बताउनु भयो ।
११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा क्रान्तिकारी महिला संगठन केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा रहेका तीनथरि राजनीतिक शक्तिमध्ये क्रान्तिकारी शक्तिले मात्रै देश र जनताको हितमा काम गर्न सक्ने दावी गर्नुभयो । उहाँले क्रान्तिकारी कम्युनिस्ट पार्टी मुलुकको क्रान्तिकारी रुपान्तरणको पक्षमा रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा पार्टी र महिला संगठनका नेतृत्व र कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।