
काठमाडौं : क्रान्तिकारी किसान महासंघ नेपालको केन्द्रीय समितिको बैठक फागुन २० र २१ मा बाराको सिमरामा सम्पन्न भएको छ । महासंघका अध्यक्ष सीताराम तामाङको अध्यक्षतामा सम्पन्न बैठकले संगठन विस्तार र संघर्षमा जोड दिएको छ । बैठकले संगठन, संघर्ष, आर्थिक, प्रकाशन लगायतका विषयमा महत्वपूर्ण निर्णयहरु भएका छन् । संगठनमा विशेषगरी सचिवालयको गठन, कार्यविभाजन तथा सदस्यता वितरण र संगठन विस्तारमा जोड दिइएको छ । त्यसैगरी संघर्षको क्षेत्रमा जनसंघर्ष, प्रतिरोध संघर्ष तथा दलाल एवम् भूमाफियाहरुमाथिको कारबाहीलाई अघि बढाउने निर्णय गरेको छ ।
बैठकले आन्दोलनको तयारीको लागि व्यापक संगठन निर्माण र विस्तारमा जोड दिंदै कृषिविज्ञहरु, किसानका संघसंस्थाहरु, राजनैतिक दल तथा सरोकारवाला व्यक्ति, व्यक्तित्व, कार्यालय प्रमुख सहित देशका मुख्य सहरहरुमा अन्तरक्रिया कार्यक्रम गर्ने, ६५ सुत्रीय माग सहित भूमि अध्यादेशको खारेजी, लघुवित्त पीडित, मिटरव्याज पीडित, गुठीहरुद्वारा पीडित दुध, उखु, तथा चिया मजदुरहरुको मुद्दाहरु समावेश गरी जिल्ला, प्रदेश र केन्द्रमा ज्ञापन पत्र दिने र सडक संघर्ष गर्ने निर्णय पनि गरेको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।
अन्तमा किसान आन्दोलनलाई नयाँ उचाइमा उठाउन सिमरा बैठक कोशेढुंगा साबित हुनेमा विश्वास राख्दै र प्रतिबद्धता व्यक्त गर्दै बैठकका अध्यक्ष तथा महासंघका अध्यक्ष सीताराम तामाङले बैठकको समापन गर्नुभएको थियो ।
बैठकमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका १२ नं व्यूरो इन्चार्ज महेश, पर्सा जिल्ला इन्चार्ज इश्वरराज ढुंगेलको उपस्थिति रहेको थियो । बैठकमा उपस्थित महासंघका सबै केसहरुले बैठकमा एजेण्डामा सुझाव राख्नु भएको थियो । बैठकमा उठेका विषयहरुलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले पूर्वको बारा, पर्सा, रौतहटको र पश्चिममा भिमदत्त पन्तले कैलाली कञ्चनपुरमा गरेको किसान आन्दोलनको स्मरण गर्दै नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न कृषि क्रान्तिले मेरुदण्डको भूमिका खेल्ने र खेल्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।