अनु निरौला
आठ मार्च, अन्तर्राष्ट्रिय महिला दिवस, महिलाहरूको सामाजिक, आर्थिक, राजनीतिक, र सांस्कृतिक उपलब्धिहरूको उत्सव मनाउने दिन हो। यो दिन महिलाहरूको अधिकार र समानताको लागि संघर्षको प्रतीक हो। यसले महिला मुक्ति आन्दोलनको इतिहास र यसको महत्वलाई दर्शाउँछ । र, संसारभरका श्रमजीवी शोषित उत्पीडित महिलाहरुलाई आफ्नो मुक्तिका निम्ति निरन्तर संघर्षका लागि प्रेरित गर्दछ । यो दिन विश्वभर र नेपालमा पनि विभिन्न कार्यक्रम गरी उत्सव र उत्प्रेरणाको रुपमा मनाउने गरिन्छ ।
आठ मार्चको ऐतिहासिक पृष्ठभूमि
आठ मार्चको महत्व विश्वभरका महिलाहरूले आफ्नो अधिकार र समानताको लागि गरेका संघर्षहरूसँग जोडिएको छ। आठ मार्च २० औं शताब्दीको सुरुमा अमेरिका र युरोपका महिलाहरूले श्रमिक अधिकार, मतदान अधिकार, र लैङ्गिक समानताको लागि गरेका संघर्षले स्थापित गरेको दिन हो ।
सन् १९०८ मा न्यूयोर्कमा महिला श्रमिकहरूले कामको घण्टा, मजदुरी, र कामको स्थितिमा सुधारको माग गर्दै प्रदर्शन गरे। सन् १९१० मा कोपेनहेगनमा भएको अन्तर्राष्ट्रिय महिला सम्मेलनमा क्लारा जेटकिनले महिलाहरूको अधिकारको लागि एक अन्तर्राष्ट्रिय दिवस मनाउने प्रस्ताव गर्नुभयो । सन् १९१७ मा रुसी महिलाहरूले ‘रोटी र शान्ती’ को माग गर्दै आन्दोलन गरे, जसले रुसी क्रान्तिमा महत्वपूर्ण भूमिका खेल्यो। सन् १९७५ मा संयुक्त राष्ट्रसंघले आठ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मान्यता दियो।

नेपालमा आठ मार्च
नेपालमा पनि आठ मार्चलाई महिला दिवसको रूपमा धुमधामका साथ मनाइन्छ। यस दिन महिला संगठनहरूले विभिन्न कार्यक्रमहरू आयोजना गर्छन् । वर्गीय समाजमा हरेक चिज वर्गीय हुन्छ भनेजस्तो नेपालमा सम्भ्रान्त वर्गका महिलाहरुले र यहाँका श्रमजीवी, शोषित उत्पीडित महिलाहरुले महिला दिवस मनाउने शैली र उद्देश्य फरक छ । श्रमजीवी, शोषित उत्पीडित महिलाहरुले आफ्नो मुक्तिको लागि प्रेरणा वा शिक्षाको रुपमा आठ मार्च मनाउने गर्दछन् भने सम्भ्रान्त वर्गीय महिलाहरुले भद्दा पुँजीवादी उपभोक्तावादी शैलीमा यो दिवस मनाउने गरेका छन् । उच्च वर्गका महिलाहरुले यो दिवसलाई केवल कर्मकाण्डी रुपमा मनाउने गर्दछन् भने श्रमिक महिलाहरुले आफ्नो मुक्तिसंघर्षप्रतिको संकल्पको रुपमा मनाउने गर्दछन् । महिल मुक्ति नै समाजको समग्र विकासको आधार हो। त्यसैले, आठ मार्चलाई केवल एक दिनको उत्सव मात्र नमानी, महिला अधिकारको लागि संघर्षलाई अझ बलियो बनाउने र इतिहासको चालक शक्तिको रुपमा आफूलाई स्थापित गर्ने सपना र संघर्षपूर्ण दिनको रुपमा स्थापित गर्न जरुरी छ ।
गर्विलो इतिहास
नेपाली समाजमा पितृसत्तात्मक व्यवस्था रूढिगत भए पनि, महिला आन्दोलनले यसलाई चुनौती दिँदै आएका छन् । नेपालको राजनीतिक आन्दोलनको अभिन्न अंग बनेर महिला आन्दोलनले इतिहासका विभिन्न कालखण्डमा महत्वपूर्ण भूमिका खेलेका छन् । राणाविरोधी आन्दोलनकी नायक योगमायादेखि त्यसयता भएका हरेक आन्दोलनमा महिलाहरुले सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।
नेपालको इतिहासमा २०५२ सालदेखि २०६२ सालसम्म चलेको माओवादी जनयुद्धमा पनि महिलाहरुले ऐतिहासिक भूमिका खेले । त्याग, तपस्या, वीरता र बलिदानका उच्च कीर्तिमानहरु कायम गरे । महिलाहरु अवला, निरिह, कमजोर तथा निम्छरा हुन्छन् भन्ने भाष्यलाई जनयुद्धमा महिलाहरुले प्रदर्शन गरेको त्याग, तपस्या, वीरता र बलिदानका अद्वितीय कीर्तिमानले मिथ्या साबित गरिदियो । र, महिलाहरुले आफ्नो गर्विलो इतिहास रगतले लेखे । सैन्य मोर्चा, राजनीतिक मोर्चा, युवा, विद्यार्थी, दलित, आदिवासी, जनजाति, मुस्लिम हरेक मोर्चामा महिलाहरुले आफ्नो क्षमता पुरुषसँगसँगै प्रदर्शन गरे । अवसर पाउने हो भने महिलाहरु कुनै पनि क्षेत्रमा कमजोर छैनन् भन्ने कुरा साबित गरिदिए । जनयुद्धमा महिलाहरुले गरेको त्यही बलिदानका कारण राज्यका हरेक निकायमा महिलाहरुको सहभागितामा वृद्धि भएको छ । संविधानमा कतिपय महिलाका अधिकारहरु उल्लेख गरिएको भए पनि यसको कार्यान्वयन हुने सम्भावना भने छैन । किनभने अहिले सत्तामा पृतिसत्तावादी सामन्ती मानसिकताबाट ग्रस्त दलाल तथा नोकरशाही पुँजीपतिवर्ग आसिन छ । यही वर्गलाई सत्ताबाट गलहत्याएर श्रमजीवी शोषित उत्पीडित वर्गको सत्ता स्थापित नगरेसम्म महिलाहरुले पूर्ण अधिकार पाउन सक्दैनन् र महिलाहरु पूर्ण रुपमा मुक्त पनि हुन सक्दैनन् ।
एकाध महिलाहरु अहिलेको शासनसत्तामा वा व्यवस्थाको महत्वपूर्ण ओहदामा पुग्ने बित्तिकै आम श्रमजीवी शोषित उत्पीडित महिलाहरुको मुक्ति सम्भव हुन सक्दैन । तसर्थ, आठ मार्चको ऐतिहासिक सन्दर्भमा अन्तर्राष्ट्रिय र राष्ट्रिय महिला मुक्ति आन्दोलनबाट पाठ सिक्दै, आगामी मुक्ति संघर्षको खाका कोर्दै अगाडि बढ्ने संकल्प गर्न जरुरी छ । आठ मार्च अर्थात् महिला दिवस मनाउनुको सार्थकता यसैमा रहेको छ ।