तीन फरक कविता

कविता

 जगदीश चन्द्र

image

हजुर सांसद

हजुर सांसद
निस्किहाल्नुस्
घरबाट
र कतै लुक्न जानुस्

तपाईंका सचिव
समातिए
तपाईंका पिए
र तपाईंका सुपुत्र
समातिन सक्छन्
हजुर सांसद
तपाईंका प्रधानमन्त्री
गृहमन्त्री
तपाईंकै लहरमा छन्

हजुर सांसद
अब भनिदिनुस्
यस सत्तामा
म जस्तै छन्
सबै भ्रष्ट दलाल ।

बाँकी त
जनता छन्
र तिनीहरू मात्र
जनता हुन्छन्
तिम्रो सत्ता विरुद्ध
हतियारको औंला
तिखारी रहन्छन्् ।

संसद

केही थान भेडा
जो हिजो अस्तिको
घाँस
भुसा र दानाको
स्वप्न देखिरहेछन् ।

दरबारमा पालिएका
बचेखुचेका
केही थान गधाहरू
संसदमा
दरबारी राग
कर्कश लय मार्फत्
मानिसहरूका कानमा
जबर्जस्ती पसाइ रहेछन्

समयको आगोमा
जलिसकेका
काठका ठुन्काठुन्की
बेकारमा
खरानी भइसकेपछि पनि
सास फेरिरहेछन् ।

दुनियाँको
शरीरलाई चाटेर
मस्तिष्कलाई भुटेर खाने
ओ जनाबर !
तिमीहरू संसदमा
कतिवटा खुट्टामा
उभिएका छौ ?

घाँस भेडा र संसद
आपसमा
वार्तालापमा छन्
केही मूर्ख
अतीतजीवी भने
तमस्वप्नमा
उछलकुद गरिरहेछन्् ।

भेंभें !

हामीकहाँ पनि
माथिदेखि तलसम्म
तल बडादेखि केन्द्रसम्म
थरिथरिका रङ्गका
भेंडाका नस्ल छन्

केही दौरासुरुवाल
लगाउँछन्
केही धोतीकुर्तामा
सजिन्छन्
केही अन्य पोसाकमा

अनौठा अनौठा
आवाजमा कराउँछन्
अमेरिकी भारतेली
यस्तै यस्तै अरू पनि

केही ठेकेदार
केही तस्कर
केही बिचौलिया
मानवीय व्यवसायमा
उन्मत्त छन् ।

समाजवाद लोकतन्त्र
राष्ट्रियता स्वाधीनता जस्ता
शब्द पनि भेंडाउँछन्
सुन्दर नस्लका भेंडाहरू ।

भेंडाहरूकै छन्
ठुला कर्पोरेटहरू
बिग हाउसहरू
सपिङ मलहरू
अस्पताल स्कुलहरू
महँगा स्वदेशी विदेशी
आबद्ध कलेजहरू

मानिस कि भेंडा
भेंडा कि जनप्रतिनिधि
विधायक कि राष्ट्रघाती
देशी कि विदेशी
व्यापारी कि नेता

गाह्रो पारेको छ
तिनका बिचको
फरक ठम्याउन
भेंडाको भेंभेंले ।

By जन बिहानी

Related Posts