अहिले विश्वकै क्रान्तिकारी आन्दोलनले धक्का खाएको अवस्था छ ।विश्वमा पूँजीवादी साम्रज्यवादी शक्तिहरुको बोलवाला रहेको छ । विश्वव्यापी रुपमा कही पनि क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुको शासन सत्ता आफ्नो हातमा रहेको छैन ।आफूलाई कम्युनिष्ट बताउने पार्टीहरु प्रतिक्रियावादी सत्ताको हिस्सेदार बनेका छन् ।संसदीय व्यवस्थामा रमाइरहेका छन् ।संसदीय निर्वाचनलाई नै आफ्नो रणननीति बनाएका छन् । यही व्यवस्थाबाट नै समाजवाद आउँछ भनिरहेका छन् र उस्तै परे यही व्यवस्था नै समाजवादी व्यवस्था हो भन्दै जनतालाई गुमराहमा राखिरहेका छन् । विश्वको परिवेश जस्तो रहेको छ ।अहिलेको नेपालको परिवेशपनि त्यही प्रकारको रहेको छ ।यहाँका आफूलाई कम्युनिष्ट बताउने पार्टीहरु यस्तै गरिरहेका छन् । संसदीय व्यवस्था नै उत्तम व्यवस्था हो भनिरहेका छन् ।यो व्यवस्थामा नै जनताले सबै अधिकार प्राप्त गर्न सक्दछन् भनेर जनतालाई ढाँटिरहेका छन् । नेपालको क्रान्तिकारी आन्दोलनको विश्राम चौतारी संसद हुन पुगेको छ ।जनताले अथाह सहयोग गरेका पार्टीहरु जनताको मुक्तिको सपना बाँडेका कम्युनिष्ट पार्टीहरु संसदमा नै सेलाउन पुगेका छन् । नेपालको क्रान्तिकारी आन्दोलनलाई धोका दिईरहेका छन् नेताहरुको अवस्था सुध्रियो ।नेताका आफन्तीहरुको अवस्था सुध्रियो तर जनता जो जसले क्रान्तिकारी आन्दोलनमा लागे जो जसले योगदान पु¥याए उनीहरुको अवस्थामा कुनै पनि परिवर्तन आउन सकेको छैन । परिवर्तन होला, होला भन्दा भन्दै कैयौंको दिनहरु त्यतिकै नै बितिरहेको छ ।यस्तो अवस्थामा क्रान्तिकारी आन्दोलन अगाडि बढाउन निकै गाह्रो छ । निश्चितरुपमा क्रान्तिकारी आन्दोलन सजिलो आन्दोलन होईन यो आन्दोलनमा लाग्नेले सबै कुराको त्याग वलिदान गर्न तयार हुनु पर्दछ । क्रान्ति प्रतिक्रान्ति हुँदै समाज अघि बढिरहेको हुन्छ ।क्रान्तिकारीहरुले बढी भन्दा बढी मानव हित तथा सेवामा आफूलाई लगाउन सक्नु पर्दछ । थुप्रैले आफूलाई राजनीति गरेको छु भन्ने गर्दछन् । थुप्रैले आफूले मानव सेवा गरिरहेका छन् पनि भन्दछन् ।
एउटा पूँजीपति जसले सबै साधनस्रोतको दोहन ,संग्रह तथा शोषण गरी रकम जम्मा पारी राजनीतिमा होमिन्छ र समाजसेवा गरिरहेको छु भन्दछ । उसले सबैको भलाईकोलागि नै काम गरिरहेको छु भन्ने प्रचारप्रसार गर्दछ ।एउटा उद्योगपति जसले धेरै सामान उत्पादन गर्दछ त्यसमा महंगो रकम लगाएर बिक्री गर्दछ र अकुत सम्पत्ति आर्जन गर्दछ ।उसले ऐसको जीवन बिताउँछ ।यो जीवन बिताएपछि उसले मानव सेवा गरिरहेको पनि देखाउँछ ।उसले केही रकम कसैलाई दिएर वा केही मन्दिरमा चढाएर केही पूजा आजा गराएर केही रकम वा केही जिन्सी सबैलाई बाँडेको देखाएर निकै समाजसेवी भएको देखाउँदछ ।आफू राजनीतिमा आएको देखाउँदछ । उद्योग धन्दा कलकारखाना सञ्चालन गरिरहेका मान्छेहरुले जस्तै ,अरु व्यक्तिगत काम कुरा उत्पादनको काममा लागेकाले जस्तै जागिर, पेशा व्यवसायमा लागेकाले जस्तै उसले पनि बाँच्नु पर्दछ । उसका पनि छोराछोरी इष्टमित्र हुन्छन् र समाजमा बसेपछि ती सबैको दायित्व पूरा गर्नु पर्ने हुन्छ ।यी सबै कामहरु पूरा गरेर आन्दोलनमा सहभागी बन्न निकै गाह्रो कुरा हो त्यसमा पनि क्रान्तिकारी आन्दोलनमा लाग्ने कुरा निकै गाह्रो छ। कुनै धार्मिक मान्छे कुनै धार्मिक कार्यक्रममा गएर धर्मको भजन ,कृतनमा सहभागी भएर ताली लगाए भयो ,नाँचे भयो ,रमाइलो गरे भयो कन्सर्टहरुमा गयो रमाईलो गरेर बसे भयो, गीत संगीतको आनन्द लिए भयो । ध्यान जपमा गएर ध्यान जपमा मग्न भए भयो । यही व्यवस्थाको पक्षपाती भयो, यही व्यवस्थाको गुणगान गायो, ताली बजायो ,यसैमा रमायो, लाभ लियो, सबै सुधा¥यो ठीकै भयो तर क्रान्तिकारी आन्दोलनमा लाग्नु यस्तो होईन र क्रान्तिकारी आन्दोलनमा लाग्नु व्यवस्थाको विरोधमा बोल्नु हो ।व्यवस्थाले वर्षाैंदेखि अपनाउँदै आएको लिखित तथा चलनचल्तीमा रहेका मूल्य मान्यताको विरोधमा लाग्नु हो । स्थापित कानुनहरु नियमहरुको आधारमा जो जसले वर्षौंदेखि शोषण गर्दै आएका छन् तिनीहरुका विरोधमा लाग्नु हो । यसो गर्दा कैंयौं जेल ,नेल, यातना भोग्नु पर्दछ । त्यो मात्र होईन मृत्यु पनि स्वीकार गर्नु पर्दछ । क्रान्तिकारी आन्दोलन अगाडि बढाउन सबभन्दा पहिले जनतालाई प्रशिक्षित पार्नु पर्दछ । जनतालाई प्रशिक्षित नपारीकन क्रान्तिकारी आन्दोलन अगाडि बढ्न सक्दैन । जनतालाई प्रशिक्षित गर्नकोलागि पार्टीको नीति सिद्धान्त सही हुनु पर्दछ ।सही नीति र सिद्धान्तबिना क्रान्तिकारी आन्दोलन अगाडि बढ्न सक्दैन ।त्यसकोलागि पार्टीमा पार्ट टाईमर तथा होलटाईमर कार्यकर्ताहरुको आवश्यक रहेको हुन्छ । पार्टीमा पुरुष ,महिला कार्यकर्ताको उत्पादन गर्नु पर्दछ । कार्यकर्ताहरुलाई सैद्धान्तिक तथा राजनैतिक रुपले स्पष्ट पार्नु पर्दछ । सही प्रकारका जनता र सही प्रकारका कार्यकर्ता लै नै क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउने क्षमता राख्दछन् । कार्यकर्ताहरुमा कुनै पनि कुरामा गहिरिएर विचार विमर्श गर्ने क्षमताको विकास हुनु पर्दछ ।उनीहरुले राजनैतिक तथा सैद्धान्तिक स्तरको विकास गर्नकोलागि निरन्तररुपमा अध्ययन र व्यवहारमा प्रयोगलाई विशेष ध्यान दिनु पर्दछ ।
जनतासंग सिक्ने र जनताको समस्या समाधान गर्न ध्यान दिने हुनु पर्दछ । जनताको पसिनालाई जोगाउन र जनताले कहीँ कतै अनावश्यकरुपमा पसिना बगाउन नपरोस भन्ने कुरालाई ध्यान दिनु पर्दछ ।शोषणमूलक व्यवस्थाले जनतालाई घण्टौं घण्टा काम गर्न बाध्य पारेको छ । पहिले श्रमिकहरुले सत्र अठार घण्टा काम गर्नु पर्दथ्यो ।त्यसको विरोधमा मजदुरहरु संगठित भए कामको घण्टाको निर्धारण गर्न व्यवस्थालाई बाध्य पारे । र पनि श्रम शोषण गरेर पूँजीपतिहरुले मजदुरलाई बाँच्नै नसक्ने ,चल्नै नसक्ने बनाएका छन्। यो अवस्थाबाट जनतालार्ई मुक्त गर्नु पर्दछ ।
कम्युनिष्ट पार्टीका जनता नै प्रमुख शक्ति हुन् ।जनतासंग नेता कार्यकर्ताको सम्बन्ध भनेको नङ र मासुको जस्तो हुनु पर्दछ ।तर अहिले आन्दोलनमा यो प्रवृतिको विकास हुँदैछ ।खोलो त¥यो लौरो बिर्सियो । सत्तामा पुग्यो जनताको दुःखपीडा बिर्सियो । जनतालाई कहाँ मर्का परेको छ भन्ने कुरामा वेवास्ता ग¥यो । यस्तो प्रवृति विकास भैरहेको छ । क्रान्तिकारी आन्दोलनमा लागेकाहरु आफै भ्रष्ट भएर गैरहेका छन् ।एउटा जनता र विगतमा क्रान्तिकारी आन्दोलनमा लागेको मान्छे जो पद, पैसा र सत्तामा भ्रष्ट हुँदै गैरहेको छ ।उसको तुलना गर्दा उसले सबै कुरा आफ्नो सुख सुविधाकोलागि मात्रै सोच्ने भयो । उपभोक्तावादमा फसेर आफ्नो स्वार्थ पूरा हुने अवस्था भएमा जे पनि गर्न पछि नपर्ने हुन पुगेको छ । सत्ता र शक्तिको आडमा जस्तासुकै गम्भीर प्रकृतिको अपराधसम्म गर्न पुगेका छन् ।यस्तो हुनु क्रान्तिकारी आन्दोलनको दुःखद पक्ष हो ।
क्रान्तिकारी पार्टीका नेता कार्यकर्तामा रहेको यस्तो खालको प्रवृतिले क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन निकै गाह्रो भईरहेको छ ।अहिले जनतामा व्यापक मात्रामा निराशा रहेको छ ।जो जो ले विगतमा क्रान्तिकारी आन्दोलन भन्दै गरे र अहिले भ्रष्टीकरण हुँदैछन् तिनीहरुको व्यवहार हेरेर जनतामा निराशा आएको छ ।क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन यो निराशालाई चिर्न सक्ने हुनु पर्दछ ।कम्युनिष्ट पार्टी बताउनेहरु निकै चिरामा विभाजित हुन पुगेका छन् ।उनीहरु सबैले आफुलाई नै क्रान्तिकारी भनेर दाबी गरिरहेका छन् । कुन कम्युनिष्ट पार्टी सच्चा क्रान्तिकारी हो ? भन्ने चिन्न निकै गाह्रो छ । यो अवस्थामा आफ्नो नीति विचार क्रान्तिकारी हो आफू नै सच्चा क्रान्तिकारी हो भनेर हेर्ने कसी भनेको व्यवहार हो ।क्रान्तिकारीहरुले जनतासंग व्यवहारले नै जनताको मन जित्न सक्नु पर्दछ । जो आफूलाई क्रान्तिकारी भनिरहेका छन् तर उनीहरु व्यवहारमा जनविरोधी र राष्ट्रविरोधी गतिविधि गर्न पनि पछि पर्दैनन् । तिनीहरुको गलत क्रियाकलापको जनताको बीचमा भण्डाफोर गर्नु पर्दछ ।जनताको साथमा रहेर जनताको नै काम गर्ने हुनु पर्दछ । क्रान्तिकारी आन्दोलनले अहिले धक्का खाएको छ । क्रान्तिकारी आन्दोलनमा लाग्नलाई उत्प्रेरित गर्ने खालको गतिविधि पनि अगाडि बढ्न सकेको छैन । देशको क्रान्तिकारी आन्दोलन अगाडि बढाउन सक्दो पहल गर्नु पर्दछ । नेपालको कम्युनिष्ट आन्दोलन तथा विश्वको कम्युनिष्ट आन्दोलनमा भएका कमी कमजोरी सबैबाट पाठ सिक्दै क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउनु पर्दछ ।
क्रान्तिकारी हुँ भन्दै जनतालाई ढाँटिरहेकाहरुलाई सैद्धान्तिक तथा वैचारिक रुपमा नङग्याउनु पर्दछ । नेपालको क्रान्तिकारी आन्दोलनको गम्भीर समीक्षा र मूल्याङकन गर्दै भएका कमी कमजोरीहरुलाई सुधार्दै अगाडि बढ्नुपर्दछ । जनताको कहाली लाग्दो अवस्था छ यो अवस्थामा क्रान्तिकारी आन्दोलनको खाँचो झनै बढेर गएको छ । जनतामाथि दिन दहाडै दलाल व्यवस्थाले लुटिरहेको छ। जनताका छोराछोरीलाई विदेशी भूमिमा लखेटिरहेको छ । सत्ता टिकाउन लिईएका विदेशी ऋणको सावाँ व्याज तिर्न नेपालीलाई निकै गाह्रो भैरहेको छ ।नेपालको विकास बजेट बराबर रकम सरकारले ऋणको व्याज तिर्दा ठिक्क हुन पुगेको छ ।जनताको नाममा लिईएका ऋणहरु भ्रष्टहरुको मुठठीमा पुगेको छ ।सत्ता टिकाउन विदेशी ऋणको भर पर्नु पर्ने अवस्था देशको छ । नेपालीको टाउकोमा जन्मिँदा वित्तिकै ऋणको भार थुप्रिएको छ । यस्तो अवस्थामा देशमा क्रान्तिकारी आन्दोलनलाई झनै अगाडि बढाउनु पर्ने छ । जनता र देश आकुल व्याकुलको अवस्थामा रहेका छन् । यो देश साँच्चिकै सुनको देश नेपाल हो ।तर यो देशले सही प्रकारको शासन व्यवस्था नपाउँदा दुःख झेल्नु परिरहेको छ । आफूलाई कम्युनिष्ट बताउनेहरुले केही राम्रो काम गर्न सकेका छैनन् प्रतिक्रियावादीहरुले जे जे गर्दै आएका थिए त्यही नै गर्दै आएका छन् ।अझै त्यो भन्दा तल झरेर सुन काण्ड, भूटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड जस्ता काण्डहरु गरेर देश र जनतालाई धोका दिईरहेका छन् । नेपालको कम्युनिष्ट आन्दोलन ,जनयुद्ध तथा जनआन्दोलनबाट उदाएका कम्युनिष्ट पार्टीका नेतृत्वहरुले हदैसम्मको जनविरोधी काम गरेका छन् ।यो अवस्थामा क्रान्तिकारी आन्दोलन अगाडि बढाउने शक्ति हामी हौं भनेर पनि जनताले विश्वास गर्न गाह्रो छ ।तर क्रान्तिकारी आन्दोलन अगाडि बढाउन अत्यन्त आवश्यक छ र त्यो किसिमको नीति सिद्धान्त अपनाउन निकै खाँचो छ ।