
विषय परिचय:
हामीले अपनाउँदै आएका संस्कृति, महिला र पितृसत्ता एक अर्कामा अन्तरसम्बन्धित विषयहरू हुन् । संस्कृतिसँग महिलाहरू प्रत्यक्ष जोडिएका हुन्छन् भने पितृसत्ताबाट महिला नै बढी पीडित भएको पाइन्छ । जीवन जिउने क्रममा अपनाइएका गतिविधिहरू संस्कार र संस्कृतिको रूपमा स्थापित हुँदै जान्छ । संस्कृति निर्माणमा परिवार, समाज, राज्य व्यवस्था र आर्थिक अवस्थाको भूमिका महत्त्वपूर्ण रहन्छ । हरेक जाति, क्षेत्र, वर्ग र समुदायमा आ-आफ्नै पहिचान, क्षमता र मान्यता अनुरुपको संस्कृति स्थापित भएको हुन्छ । एक जातिको संस्कृति अर्को जातिसँग नमिल्न सक्छ त्यस्तै गरेर फरक फरक भूगोलको संस्कृति पनि फरकफरक नै हुन्छ तर समग्रमा नेपालमा स्थापित संस्कृतिलाई पितृसत्तात्मक सोच र संरचनाले प्रभाव पारेको पाइन्छ । पितृसत्तात्मक सोच र व्यवहारबाट विशेषत: महिला नै पीडित हुने भएकाले यस अवधारणापत्रमा नेपाली महिला, पितृसत्ता र संस्कृतिको विषयमा केन्द्रित रहेर केही चर्चा गर्ने जमर्को गरिएको छ ।
क) महिला
जैविक रूपमा पुरुषको तुलनामा केही कमजोर तर मनोवैज्ञानिक रुपमा निकै कमजोर, असाहाय र निरीह जातिको रुपमा पहिचान पाएको वर्गमा नेपाली महिला पर्दछन् । जैविक रूपमा भन्नाले महिलाको शारिरीक विकास पुरुषको भन्दा भिन्न हुन्छ । गर्भधारण गर्ने जिम्मेदारी पनि प्रकृतिले महिलालाई नै सुम्पेको छ । यसर्थ परिवारमा महिला र पुरुषको भूमिका भिन्नाभिन्नै हुनु स्वभाविक नै हो तर यसैलाई आधार बनाएर महिलामाथि गरिने भेदभाव र हेलाँहोचो भने हामीभन्दा अघिल्लो पुस्तासम्म असैह्य नै थियो । महिलामाथि गरिने कहालीलाग्दा अत्याचार र अपराधहरूलाई वर्तमान कानुनले रोक्ने प्रयास गरे तापनि हाम्रा कतिपय संस्कृतिभित्र अदृष्य रूपमा घुसेर रहेका महिला विरोधी मान्यताहरूले अझै पनि डस्न छाडेका छैनन् । जुन कुरा महिलाहरूले पत्तै नपाई सहर्ष स्वीकार गरिररहेको पाइन्छ र महिलालाई कमजोर बनाउने तत्त्वलाई महिलाहरूले नै मल जल गर्ने र संरक्षण गर्ने मुख्य भूमिका पनि निभाइरहेका हुन्छन् । उदाहरणको रूपमा श्रीमानलाई परमेश्वर मान्ने, पुजा गर्ने, उनको नाममा तिर्थब्रत गर्ने, उनीविना आफ्नो अस्तित्व नै नरहने कुरालाई मान्यता दिने जस्ता सोचलाई लिन सकिन्छ । हाम्रो संस्कृतिले छोरीहरूले जन्मदेखि नै तिरस्कार खेप्नु पर्नुको कारण छोरालाई मात्र वंशको आधार बनाउने र पुरुषलाई पुज्ने परम्पराले नै हो । छोराछोरी बराबरी गर्ने संस्कृति भएको भए महिलामाथिको हिंसा पक्कै कम हुँदो हो । तर पुरुष हावी भएर बनाएका सामाजिक नियम र मान्यताहरूमा पुरुषले महिलालाई दासीको रूपमा रहनु पर्ने र आफू मालिक जस्तो हुने परम्परा बसाए । त्यसैलाई आजसम्म सकि नसकी घिसार्दै गर्दा कयौं महिलाहरूले अकालमा ज्यान गुमाए त्यसको लेखाजोखा इतिहासमा कहिँ कतै भेटिँदैन । महिलालाई पशु बराबर ठान्ने पितृसत्ताको रजगजमा महिला हिंसाको तथ्यांक भेट्ने कुरा पनि भएन । अझै पनि महिलाको जन्म र मृत्युको प्राधिकार पितृसत्ताले निर्धारण गरिरहेछ । छोरी भए गर्भमै तुहिनु पर्ने र वंश धान्ने छोरा भए जन्मन पाउने सामाजिक प्रावधान कायम नै छ ।
छोरा वा छोरी जन्मनका लागि गर्भाधारणको प्रक्रिया उही, जन्मको प्रक्रिया उही, बिबाहपछि बस्ने बास उहीँ, खाने गाँस उही, दु:ख सुख उही तर श्रीमान् उच्च र श्रीमती तुच्छ हुनै सक्दैन तर हाम्रा संस्कृतिमा महिला र पुरुषमा उँच र नीचको विभेदपूर्ण सोच मुकुटमा हीरा जडे जस्तै जडिएको छ । छोरीहरू सांस्कारिक बनाउन पितृसत्तात्मक सोच जडेको त्यै मुकुट भिराएर “सहु सहु सहु तिमी सहनै नसके पनि” भन्दै हुर्काइन्छन् र सहँदा-सहँदै सिध्याइन्छन् ! सिध्दिने त सिद्धिए अब पनि त्यसरी नै हुर्काउने वा नहुर्काउने महिलाकै हातमा छ । सहँदा सहँदै सिद्दिने कि आत्मसम्मानकासाथ बाँच्ने त्यो पनि महिलाकै विवेकमा भर पर्छ । महिलाले कमजोर प्राणीको दोषबाट मुक्त हुने हो भने पितृसत्तात्मक सोच पहिल्याएर त्यसलाई त्याग्न अपरिहार्य छ ।
अलिक अगाडिसम्म महिलाहरूको आफ्नै आर्थिक आर्जन कम हुन्थ्यो । २४ घण्टामा १८ घण्टासम्म काममा जोतिने महिलाहरू पैसाको लागि श्रीमानको भर पर्नु पर्ने हुन्थ्यो यसैले पनि हेपिएका थिए तर अहिले आर्थिक रूपमा पनि आत्मनिर्भर बन्दै गएको अवस्था छ र आत्मनिर्णयको क्षमता पनि वृद्धि भएको अवस्था छ । राष्ट्रिय जनगणना २०७८ अनुसार महिला साक्षरता दर ६९.४ प्रतिशत । यो अवस्था भनेको राम्रो हो । यो शिक्षित पुस्ताले अन्धविश्वास र महिलामाथि हुने हरेक विभेदको खुलेर प्रतिवाद गर्ने आँट गरेमा आगामी दिनमा महिलाहरूले पनि साँच्चै समान अधिकार र सम्मानजनक जीवन बाँच्न पाउने कुरामा आशा गर्न सकिन्छ तर यो पुस्तामा पनि अधिक महिलाहरू देखासिकिमा हिँडिरहेको दृष्यले आशालाई धमिल्याउने खतरा पनि छ ।
ख) पितृसत्ता
घर, परिवार वा राज्य सञ्चालन प्रक्रियामा पुरुषको अधिपत्य भएको सत्ता पितृसत्ता हो । पितृसत्तामा पुरुष मान्य र महिला अमान्य हुन्छ । पुरुषलाई केन्द्रमा राखेर बनाइएका नीति नियम, रहनसहन, शिक्षा संस्कृति भएको समाज पितृसत्तात्मक समाज हो । जसको आर्थिक आधार पुरुषमा निहित हुन्छ । त्यहाँको धार्मिक, सांस्कृतिक र व्यवहारिक सबै क्रियाकलापमा पुरुष सर्वश्रेष्ठ भनेर बुझाइएको हुन्छ भने महिलालाई पुरुषको अधीनमा राखिनु पर्ने मान्यतालाई आत्मसात गरिएको हुन्छ । पुरुषविनाका महिला असहाय ठानिन्छ र हरेक ठाउँमा पुरुष नै प्राथमिकतामा राखिएको हुन्छ ।
नेपाली समाज पनि हालसम्म पितृसत्तात्मक जीवनशैलीलाई अङ्गिकार गरिरहेको समाज हो । अझै पनि वंशमा ‘छोरा त चाहिन्छ’ भनेर छोरालाई काख र छोरीलाई पाखा गरेको देखिरहेका छौँ। श्रीमानलाई सर्वस्व ठान्ने र आफूलाई निकम्मा मान्ने चेतना बोकेर हिँडिरहेका छौँ । यो नै पितृसत्तात्मक चेतना हो । यो चेतना पुरुषमा मात्र हैन महिला पनि हुन्छ र हरेक जाति, वर्ग र समुदायका महिला पुरुषमा हुन्छ । अझ यो चेतनाको संरक्षण महिलाबाट बढी भएको पाइन्छ । हालसालैको एउटा उदाहरण दिन्छु- काम विशेषले छिमेकी टोलमा पुगेको थिएँ । सामाजिक भवनमा चिनेजानेका दिदीबहिनीहरूको जमघट रहेछ । देखेर बोलाएकाले गएँ । टोल तथा मन्दिर सरसफाई लगायत कामका लागि रकम सङ्कलन गरिरहेका रहेछन् । स्वइच्छाले मैले पनि केही रकम दिएँ । (यो कुनै उल्लेख गर्नु पर्ने विषय होइन, पितृसत्तात्मक सोच व्यवहारमा कसरी प्रस्तुत भइरहेको हुन्छ भनेर व्यक्त गर्न खोजेको मात्र हो ।) त्यहाँ पैसा दिने सबै महिला थिए तर पुरुषको नाम लेखिएको रहेछ । थाहा नहुने पुरुषको नाम खोजी गरेरै लेखिएछ । जुन आवश्यक थिएन । जसले पैसा दिएको थियो उसैको नाम लेखेको भए कसैको श्रीमानले पनि किन तेरो नाम लेखिस् भन्न आउने थिएनन् तर त्यहाँ महिलामा भएको पितृसत्तात्मक सोचले काम गरेको थियो । मास्टरडिग्री पढेकी महिलाले नाम टिपिरहेकी थिइन् तर उनको प्राथमिकतामा पुरुष नै थियो । पढेलेखेका महिलाले त पुरुषलाई नै सर्वेसर्वा ठान्छ सानो सामाजिक काममा सहभागी भएकी महिलाको नाम स्वीकार्न सक्दैन र पुरुषकै नाम खोज्छ भने पुरुषको भरमा गुजारा गरिरहेकी अनपढ महिलाले के गर्न सक्लिन् ? यो गम्भीर विषय हो ।
हामीसँग हातखुट्टा छ, मन मस्तिष्क छ, आँखा कान मुख सबै छ तर आफ्नो विवेकले आफ्नो निम्ति चलाउन जान्दैनौ चाहदैनौँ भने हामी सपाङ्ग हौँ कि अपाङ्ग ? प्रश्न आफैलाई गर्नुपर्ने हुन्छ । हामी आफै अपाङ्गता चाहान्छौँ भने अधिकारको कुरा गर्नु पनि बेकार हो । मान्छेले आफू अनुकूलको वातावरण र बाटो आफै बनाउने हो । आफ्ना छोराछोरीलाई के सिकाउने कस्तो बनाउने आफैमा निर्भर हुन्छ । हामी पुरातन सोच बोकेर हिँडिरहेका छौँ , पितृसत्तात्मक सोचलाई मान्यता दिन्छौँ, अन्धविश्वस र विकृतिको पछि लाग्छौँ भने हाम्रा सन्तानले सिक्ने पनि त्यही नै हो । हामी घर मुली (पुरुष)ले गरेको निर्णयलाई ठिक भए पनि बेठिक भए पनि अन्तिम निर्णय हो भनेर मानिरहेछौँ । पुरुष भनेको पुज्ने जात हो भनेर बालबच्चालाई सिकाइरहेछौँ भने उनीहरूले पनि त्यसैलाई अनुशरण गर्नु अनौठो हुँदैन त्यसैले हामीले महिलाहरूको जीवनमा सुधार ल्याउने हो भने हामी आफै सुध्रिन आवश्यक छ । पितृसत्ताले दिएको लम्बेतान दु:खको अन्त्यका लागि प्रथमतः महिलाले नै पितृसत्तात्मक सोच त्याग्नु पर्ने हुन्छ ।
आफ्नो लागि परिवारको लागि समाजको लागि र राष्ट्रको लागि पनि काम लाग्ने किसिमले हामीसँग भएको विवेकको प्रयोग गर्नुपर्छ । क्षमताको प्रयोग गर्नुपर्छ र पुरुष समान सम्मानित जीवन बाँच्ने प्रयत्न गर्नु पर्छ । महिला पुरुष दुवैमा एकअर्काप्रति उदार भावना, घआदरणीय व्यवहार र सौम्य वातावरण सिर्जना गर्नुपर्छ अन्यथा कि महिला पीडित कि पुरुष पीडित हुनजान्छ । अहिलेको संविधानले महिलाका पक्षमा धेरै राम्रा नीति नियमहरू समेटेको छ तर हामीले पुरातन सोच र व्यवहारलाई अङ्गाली रह्यौं भने कानुनले मात्रै महिलालाई न्याय गर्न सक्दैन ।
ग) संस्कृति
मान्छेले मान्दै आएको भाषा, धर्म, कला, साहित्य, आचारविचार, रहनसहन आदि क्रियाकलाप नै संस्कृति हो । देश काल परिस्थिति अनुरुप लामो समयदेखि कुनै पनि जाति वा समुदायले जीवन यापनका क्रममा परम्परादेखि अपनाउँदै आएका र मान्यता पाएको गतिविधि त्यो जाति वा समुदायको संस्कृति भनेर चिनिन्छ । अध्यताहरूले कुनै पनि जाति, समुदाय वा क्षेत्रको राजनीतिक, सामाजिक, आर्थिक वा शैक्षिक अवस्था कुन कालखण्डमा कस्तो थियो भनेर अध्ययन गर्नु पर्दा त्यहाँको संस्कार संस्कृतिलाई आधार बनाएर अनुसन्धान गर्ने भएकाले मानव सभ्यतामा संस्कृति एक महत्त्वपूर्ण विषय हो । तर अहिले बसाइँसराइ, सञ्चार र यातायातका कारण पहिचानको संस्कृति हराउँदै गएको छ । यौटा जाति समुदाय वा क्षेत्रको संस्कृति अन्य जाति समुदाय वा क्षेत्रकाले पनि मनाउने भएकाले मिश्रित संस्कृतिको निर्माण हुँदै गएको छ । जस्तै: छट तराईवासीको संस्कृति भनेर चिनिन्थ्यो भने अहिले अन्य क्षेत्र र समुदायले पनि मनाउन थालेका छन् । त्यस्तै केक काट्ने, वेवी सावर गर्ने, हल्दी मेहन्दी, राखी बाँध्ने जस्ता विदेशी संस्कृति भित्रिन थालेका छन् । यसले अबका दिनमा संस्कृतिले पहिचानको आधार गुमाउँदै जाने सङ्केत गर्दछ । वर्तमानमा संस्कृति परम्परालाई निरन्तरता दिने भन्दा पनि मनोरञ्जनका लागि र देखासिकीमा जस्तोसुकै संस्कृति मान्न थालेको अवस्था छ । यसले झालेमाले र जोकर संस्कृति तर्फ समाज अघि बढिरहेको देखाउँछ । यो सांस्कृति होइन विसङ्गति हो । यो विसङ्गतिलाई नत्याग्ने हो भने आगामी पुस्ताले पुर्खाको संस्कृति पुस्तकमा मात्र फेला पार्ने छन् । त्यसो हुनु मानव इतिहासको निम्ति दु:खद् पक्ष हो ।
संस्कृतिमा असमानता हुन्छ विभेद हुन्छ कतिपय अमानवीय अत्याचार पनि हुन्छ । जस्तै: नरवली प्रथा, छुवाछुत प्रथा, सती प्रथा, दास प्रथा, बाल विवाह जस्ता गलत संस्कृतिहरू हाम्रो समाजबाट हटाएको धेरै भएको छैन । यस्ता कुप्रथाहरूलाई कानुनले नै निषेध गरिसकेको छ भने कतिपय संस्कृतिमा अझै पनि महिला विरोधि, निम्न जाति र समुदाय विरोधि मान्यताहरू बाँकी नै छन् । जसलाई परिमार्जन गर्दै उन्नत संस्कृति निर्माणमा जोड दिनु पर्ने आवश्यकता छ । तर अहिलेको पुस्ता देखासिकीको संस्कृतिमा रमाउन थालेकाले संस्कृतिप्रति विशेषतः आमाहरू सचेत हुन जरुरी देखिन्छ । आफ्ना बालबच्चालाई कस्तो संस्कार संस्कृति सिकाउने र कस्तो नागरिक बनाउने भन्ने विषय बाबु आमाको हातमा हुन्छ । समाज अनावश्यक भड्किलो र विसङ्गतिपूर्ण संस्कृति तर्फ उन्मुख हुनुमा महिलाहरूको कमीकमजोरी र अविवेकीपन पनि एक हो ।
पितृसत्ता महिलालाई घरभित्रै सजाएर आफ्नो चाकडीमा कजाउन चाहन्छ । व्यापारीहरू जसरी हुन्छ धेरै बिक्री गरेर धेरै कमाउन चाहन्छन् । पुरोहित वा गुरु महाराजहरू आफू सम्मानकासाथ जिउने सजिलो उपाय खोजिरहन्छन् । यी सबैको चाहाना अनुसार महिलाहरू चलिरहेको देखिन्छ । महिलाहरूलाई आ आफ्ना योजनामा यिनीहरूले सजिलै परिचालन गरिरहेका हुन्छन् । उदाहरणको लागि साउनमा हरियो चुरा मात्रै नेपालमा अरबौंको भित्रिन्छ । त्यै अनुरुपमा शृङ्गारका अन्य सामाग्री र लुगाफाटा भित्रिन्छ । यसले व्यापारी मालामाल, हप्तै पिच्छे महिलाले मन्दिरहरू भरिभराउ हुन्छ अनेक बाबा र गुरुहरू मालामाल र महिलालाई दासी मान्ने पुरुषहरू गदगद बनाएर महिलाहरूले गलत गरिरहेका छन् तर उनीहरू यो मान्न तयार छैनन् किन कि उनीहरूलाई त्यो नै सहि हो भन्ने मीठो भ्रममा विश्वस्त पारिएको छ । प्रथमतः महिलाहरू यो भ्रमबाट मुक्त हुन जरुरी छ र पुरुषले पनि पुजिने संस्कारप्रति गर्व गर्ने होइन नबुझेका श्रीमती छन् भने बुझाउनु पर्छ । म भगवान होइन मान्छे हुँ भनेर सहर्ष स्वीकार गर्नुपर्छ ।
मान्छेलाई गलत खानपान र गलत जीवनशैलीका कारण रोग लाग्छ । रोगको कारण, दुर्घटनाका कारण र बुढ्यौलीका कारण मान्छेको मृत्यु हुन्छ भन्ने सत्यलाई बुझ्न छाडेर पढेलेखेका शिक्षित महिलाहरू पनि श्रीमान निरोगी बनाउन, श्रीमानको आयु बढाउन या छोराको श्रीवृद्धिका लागि भन्दै जपतप पूजापाठ गरिरहेको हामी पाउँछौँ । त्यसो भए ती महिलाहरूको परिवारमा सङ्कट नै परेको छैन त ? प्रश्न उठ्नु स्वभाविक छ । मान्छेको जीवनमा घटना परिघटनाहरू आउछन् । जसलाई भाग्यसँग जोडेर हैन व्यक्तिको व्यवहार,आचरण र विज्ञानसँग जोडेर हेरियो भने महिलाले अभागी बन्नै पर्दैन वा भाग्य सुधार्न चार चौरास गर्नु नै पर्दैन । तर हाम्रो संस्कृतिले त्यसो भन्दैन यो कोणबाट सिकाउँदैन र त पुरुष पुज्य संस्कृतिलाई अङ्कमाल गरिरहेका छौँ ।
जीवनकालमा मात्र होइन मरेपछि पनि महिलामाथि विभेद गरेको छ हाम्रो पितृसत्तात्मक संस्कृतिले । जस्तै: सोह्र श्राद्धमा मृत पुरुषको मात्रै श्राद्ध गरिन्छ । मरेको पुरुषलाई खानु पर्दा महिलालाई पनि त खानु पर्ला ? यो विषयमा प्रश्नहरू धेरै उठ्न थालेपछि पण्डितहरूले आफ्नो काममा पनि वृद्धि हुने र जजमानको चित्त पनि बुझाउन सजिलो हुने ठानेर अहिले मृत महिलाको पनि श्राद्ध गरे हुन्छ भनेर गराउन थालेको पाइन्छ । आउँदा दिनमा महिला पुरुष दुबैको सोह्र श्राद्ध गर्ने संस्कृति बस्न सक्छ । आखिरी कसले बनाउने रहेछ त संस्कृति ? हामी आफैले रहेछ । यसैले हाम्रो पुस्ता भनेको शिक्षित पुस्ता हो । के सहि र के गलत छुट्याउन सक्ने पुस्ता हो । कागले कान लग्यो भनेर कानै नछामी कागको पछि दगुर्नु ठिक होइन । हामीले संस्कृति र विकृति छुट्याएर सहि संस्कृतिको संरक्षण र गलत संस्कृतिमा परिमार्जन गर्न आवश्यक छ र मनासिब पनि हुन्छ ।
निष्कर्ष :
पितृसत्ताले सत्ता, शक्ति र सम्पत्तिबाट महिलालाई वञ्चित गरेर निरीह बनायो । शिक्षाबाट टाढा राखेर अबुझ बनायो र संस्कार संस्कृति मार्फत पितृसत्तात्मक चेतना घुसाएर पुरुषकै हीतमा प्रयोग गर्यो । उनीहरूले जे जे भट्याए त्यही त्यही पत्यायौँ । खेतीपाती, बस्तुभाउ, बन जङ्गल, घर परिवार सबै धानेर पनि पुरुषको अगाडि निरीह बनिरह्यौँ । आफूमाथि जति नै लाठी मुङ्ग्री बजारे पनि उनैलाई देउता मानिरह्यौँ । यो नै महिला पीडित हुनुको मूल कारण बन्यो ।
समय बदलिएको छ । समय अनुसार चल्न सिकौँ ।व्यवस्था बदलिएको छ । दबिएर नबसौँ, बोल्न सिकौँ । महिलालाई पुज्ने श्रीमान् हैन बुझ्ने जीवनसाथी चाहिन्छ । धेरै कुरा बदलिसकेको छ, बदलिन बाँकी हामी छौँ । हाम्रो सोच छ । अन्धविश्वास र कुसंस्कार त्यागौँ । विकृतिमा नलागौँ । सकारात्मक सोचौँ । सन्तानलाई सत्कमार्गमा लगाऊँ, अभिभावकलाई आदर गरौँ । कसैको हानी नोक्सानी नगरौँ । खराब आचरणमा नलागौँ । मन यसै शान्त हुन्छ । शान्त मन जहिल्यै पवित्र हुन्छ । पवित्र मन र पवित्र तनलाई सुसंस्कृत सभ्य र प्रगतिशील समाज निर्माणमा लगाऊँ । साहास थपिनेछ । जीवन बद्लिनेछ र साथसाथै समाज पनि बद्लिनेछ । (यो अवधारणा पत्र दाहाल छोरी बुहारी चौतारीले २०८२/४/२९ मा गर्ने अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गर्न लागि तयार गरिएको हो) २०८२/४/२६