हतारहतारमा यात्रा

कविता

अहिले पनि सम्झना भइरहेछ मलाई
आमाको आशीर्वचन–
‘हतारमा हिँड्दा धेरै कुराको ख्याल गर्नु कान्छा !’
निस्केको थिइनँ म एकाबिहानै
जसरी निस्कन्छन् ब्राह्मण पुत्र
निधारमा साइतको तिलक लगाएर
म त भाग्दै आएको हुँ हतार–हतार
जसरी भागेको थियो सिद्धार्थ गौतम मध्यरातमा।
हजुरआमा हप्काउनुहुन्थ्यो मलाई बेलाबेला–
‘शनिबार घर छाडेर निहिँड्नू
मसान्तमा कहीँ बास बस्न नजानू
र, साइत नगर्नू कान्छा चतुर्दशीमा !’
तर एक दिनको कुरा हो
चतुर्दशीकै दिन परेको थियो शनिबार
र त्यही दिन थियो मसान्त पनि,
सत्ताका कुकुरहरूको आँखा छल्दै
र भर्खर गोली लागेको खुट्टा घिसार्दै
म हतार–हतार भागिरहेको थिएँ खेतैखेत
जसरी भाग्छ सिकारीले लखेटेको हरिण ।
मैले बिर्सेको थिइनँ त्यति बेला पनि
आमाको आशीर्वचन–
‘हतारमा हिँड्दा धेरै कुराको होश गर्नू कान्छा !’
निस्केको थिइनँ म कुनै धार्मिक यात्रामा
जसरी निस्कन्छन् भक्तजनहरू खर्चको जोहो गरेर
निस्केको थिइनँ म हिउँदे पदयात्रामा
जसरी निस्कन्छन् सरकारी जागिरे वा पेसेवर लेखकहरू
झोलामा ल्यापटप, क्यामेरा वा नोटबुक बोकेर
म त भागिरहेको थिएँ हतार–हतार
र मेरी यशोधरा पनि
बारीका कान्लै–कान्ला भागेकी थिइन्
दुधे राहुल खोकिलामा चेपेर
त्यति बेला मैले हातमात्रै हल्लाएको थिएँ उनलाई परैबाट
जति बेला घेरा हालिसकेका थिए हत्याराहरूले हाम्रो झुपडी।
त्यति बेला पनि सम्झेको थिएँ मैले
आमाको आशीर्वचन–
‘हतारमा यात्रा गर्दा धेरै चनाखो हुनू कान्छा !’
हो, म भागेको थिएँ हतारमा
हतार–हतारमा
मन त मलाई पनि थियो
साइतमा अलिकति दही चाख्न
वा प्रेयसीको अनुहारमा सुस्तरी म्वाइँ खान
गोजीमा एटीएम कार्ड र मोबाइल फोन
अनि झोलामा लुगाफाटा र औषधि राख्न
तर म बिदाइको तोप पड्काएर हिँडेको सरकारी फौज थिइनँ
म त अचानक त्यसरी दौडेको थिएँ छापामार शैलीमा
जसरी दौडेको थियो क्रान्तिकारी कलम चे ग्वेभाराको डायरीमा।
घरको छानो जब उडाउँदै थियो आँधीले
र हल्लाइरहेको थियो जग भुइँचालोले
निस्केकै हुँ म हतारमा
हतार–हतारमा
हेरिन मैले त्यति बेला
के भन्छ राष्ट्रिय पञ्चांगको ग्रह, नक्षत्र वा लग्नले ?
मतलब राखिनँ मैले
कुन दशा देखाउँछ यो देशको ज्योतिषशास्त्रले ?
म त समयलाई साक्षी राखेर निस्केँ तुरुन्तै घरबाट
जब हतारमै निस्कन भनिरहेको थियो मलाई मेरै जीवनशास्त्रले।
म आज यहाँ आइपुगेको छु, यो सहरमा
हतार–हतारमा
र, यति बेला पनि झल्झली सम्झिरहेको छु मैले
आमाको आशीर्वचन–
हतारमा यात्रा गर्दा धेरै नहडबडाउनू कान्छा !

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?