बाढीले बेँसीसहर–चामे सडकखण्ड अन्तर्गत पर्ने विभिन्न ठाउँमा सडक अवरुद्ध ।

मनाङ, साउन ६ गते   असार १८ गते आएको बाढीले बेँसीसहर–चामे सडकखण्ड अन्तर्गत पर्ने विभिन्न ठाउँमा सडक अवरुद्ध भयो ।अवरुद्ध बेँसीसहर–चामे सडक अझै खुल्न सकेको छैन ।  बाढीले चामे गाउँपालिका–१, तिमाङ खोलाको काठेपुल र तिमाङ ठुलो छहराको पक्की मोटरेबल पुल बगाएपछि निकै कठिन रूपमा यात्रा गर्नुपर्ने बाध्यता छ । 

२०७८ साल असार महिनामा आएको बाढीले बेलिब्रिज बगाएपछि तिमाङखोलामा काठेपुल राखेर सवारी सञ्चालन हुँदै आएको थियो । त्यस्तै दुई वर्षअघि मात्र सो स्थानमा पक्की मोटरेबल पुल निर्माण गरेर सञ्चालनमा आएको थियो ।

अहिले मनाङीलाई बेँसीसहर हुँदै काठमाडौँ, पोखरा, चितवन जानलाई र सो स्थानबाट आउनलाई समस्या भएको छ । सडक खुलाउन सडक विभागले प्रयास गरेको भए पनि पानीका कारण असफल हुँदै आइरहेको छ । सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री अभाव हुँदै गएको र महँगीसमेत बढ्न थालेको स्थानीयले बताएका छन् ।

यस सडकखण्डमा बर्सेनि बर्खाको समयमा पटक पटक सडक अवरुद्ध हुँदै आएको छ । २०७८ साल असार १ गते आएको बाढीपहिरोले चार महिनासम्म सडक अवरुद्ध बनाएको थियो ।

बर्सेनि बर्खायाममा बाढीपहिरोले सडक अवरुद्ध बनाउँदा यात्रु तथा विशेष गरी मनाङी समस्यामा पर्दै आएका छन् । सडक अवरुद्ध हुँदा खाद्यान्न तथा लत्ताकपडासमेत लैजान समस्या हुँदा व्यवसायी मर्कामा पर्ने गरेका छन् । 

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?