साम्राज्यवादी युगमा लेनिनवादको महत्व

लेनिनसँग स्टालिन पनि करिब त्यति नै जोडिनुभएको छ, जति माक्र्ससँग एङ्गेल्स । रसियाली क्रान्तिको जीवन–मरणका प्रश्नमा उहाँहरू जोडिनुभएको छ । तर, यहाँ लेनिन–स्टालिनवाद नभएर लेनिनवाद नै किन भयो ? स्वयम् स्टालिनबाट सुनौँ, “लेनिनवादको व्याख्या गर्नुको अर्थ लेनिनका कृतिहरूमा भएका त्यस्ता विशिष्ट तथा नौला कुराहरूको व्याख्या गर्नु हो, जसलाई थपेर लेनिनले माक्र्सवादको भण्डारलाई समृद्ध पार्नुभएको छ र जुन स्वभावतः उहाँको नामसित जोडिएका छन् । यही अर्थमा मात्र म … लेनिनवादका आधारहरूबारे चर्चा गर्नेछु ।

“त्यसो भए, लेनिनवाद भनेको के हो त ?”
“कोही के भन्दछन् भने लेनिनवाद भनेको रुसको विशिष्ट पारिस्थितिमा माक्र्सवादको प्रयोग हो । यस परिभाषामा अलिकति सत्य त छ र त्यो कदापि सम्पूर्ण सत्य होइन । लेनिनले रुसी परिस्थितिमा माक्र्सवादलाई साँच्चीकै र बडो दक्षतापूर्वक लागू गर्नुभयो । तर, यदि लेनिनवाद रुसको विशिष्ट परिस्थितिमा माक्र्सवादको प्रयोग मात्र भएको भए, त्यो एउटा विशिष्ट राष्ट्रिय र मात्र राष्ट्रिय एउटा विशिष्ट रुसी कुरा मात्र रहनेछ । तर, हामीलाई के थाहा छ भने लेनिनवाद खाली रुसी चीज मात्र होइन, बरु सम्पूर्ण अन्तर्राष्ट्रिय विकासमा आधारित एउटा अन्तर्राष्ट्रिय चीज हो । त्यसैले मलाई लाग्दछ उपर्युक्त परिभाषा एकाङ्गी छ ।”

“केही मानिसहरू के भन्दछन् भने लेनिनवाद भनेको उन्नाइसौँ शताब्दीको चौथो दशकको माक्र्सवादका क्रान्तिकारी तत्वहरूको पुनर्जीवन हो, उनीहरू के भन्दछन् भने त्यस बेला माक्र्सवाद क्रान्तिकारी थियो र पछि गएर त्यो नरम, अक्रान्तिकारी र नरम दुई भागमा विभाजन गर्ने त्यस्तो कोसिस मूर्खतापूर्ण र आशिष्ट छ, तर पनि हामीले कुन कुरा सकार्नुपर्दछ भने उपर्युक्त परिभाषा पूर्णतया अपर्याप्त तथा चित्त नबुझ्दो भए तापनि त्यसमा सत्यको अंश रेहको छ । सत्यको त्यो एक अंश के हो भने दोस्रो अन्तर्राष्ट्रियका नेताहरूले माक्र्सवादको जुन क्रान्तिकारी सारतत्वलाई फालिदिएका थिए, त्यसलाई लेनिनले साँच्चीकै पुनस्र्थापित गर्नुभयो । त्यसो भए पनि त्यो सत्यको अंश मात्र हो । लेनिनवादको सम्बन्धमा सम्पूर्ण सत्य के हो भने लेनिनवादले माक्र्सवादलाई पुनस्र्थापित मात्र गरेन, बरु पूँचीवाद र सर्वहारावर्गको वर्गसङ्घर्षको नौलो परिस्थितिमा माक्र्सवादको अरू विकास गरी त्यसलाई एक पाइला अगि बढायो ।

“त्यसो भए अन्तिम विश्लेषणमा लेनिनवाद भनेको के हो ?”
“लेनिनवाद भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा माक्र्सवाद हो । अझ ठ्याक्कै भन्ने हो भने सामान्यतः लेनिनवाद भनेको सर्वहारा क्रान्तिको सिद्धान्त तथा कार्यनीति र विशेषतः सर्वहारा अधिनायकत्वको सिद्धान्त तथा कार्यनीति हो । माक्र्स–एङ्गेल्सले क्रान्तिपूर्वको अवधि (यहाँ सर्वहारा क्रान्तिलाई ध्यानमा राखिएको छ) मा काम गर्नुभएको थियो, त्यस अवधिमा विकसित साम्राज्यवादको उदय भइसकेको थिएन, त्यो अवधि क्रान्तिका लागि सर्वहारावर्गको तयारीको अवधि थियो र त्यस अवधिमा सर्वहारा क्रान्ति तात्कालिक व्यावहारिक अनिवार्यता बनिसकेको थिएन । तर, माक्र्स र एङ्गेल्सका शिष्य लेनिनले विकसित पुँजीवादको अवधिमा फैलिँदो सर्वहारा क्रान्तिको अवधिमा काम गर्नुभएको थियो । यस अवधिमा एउटा मुलुकमा सर्वहारा क्रान्तिको विजय भइसकेको थियो र सो क्रान्तिले पुँजीवादी प्रजातन्त्रलाई ध्वस्त पारिसकेको थियो र सर्वहारा जनवादको युग, सोभियत युगको सूत्रपात गरिसकेको थियो ।

“त्यसो भएकोले लेनिनवाद भनेको माक्र्सवादको अरू विकसित रूप हो ।”
“साधारणतया लेनिनवादको विशेषरूपले लडाकु र विशेषरूपले क्रान्तिकारी स्वरूपलाई औँल्याउने गरिन्छ । यो बिल्कुल सही छ तर लेनिनवादको यो विशेषता हुनुमा दुई कारण छन् । पहिलो कारण कुन तथ्य हो भने सर्वहारा क्रान्तिबाट लेनिनवादको उत्पत्ति भएकोले, यसमा यो क्रान्तिको छाप पर्नु अवश्यम्भावी छ, दोस्रो कुन तथ्य हो भने दोस्रो अन्तर्राष्ट्रियको अवसरवादका विरुद्धको सङ्घर्षमा लेनिनवाद हुर्केर बलियो बन्यो । अवसरवादका विरुद्धको यो सङ्घर्ष पुँजीवादका विरुद्ध सफल सङ्घर्षका लागि एउटा आवश्यक प्राथमिक शर्त थियो र आज पनि रहेको छ । कुन कुरा बिर्सन हुँदैन भने एकातिर माक्र्स तथा एङ्गेल्स र अर्कोतिर लेनिनबिचको सम्पूर्ण अवधि दोस्रो अन्तर्राष्ट्रियको अवसरवादविरुद्ध निर्मम सङ्घर्ष चलाउनु स्वाभाविक रूपले लेनिनवादको एउटा अत्यधिक महत्व पूर्ण अभिभारा बनेको थियो”, (लेनिनवादका आधारहरू, १९२४, विदेशी भाषा प्रकाशन गृह, बेइजिङ १९७६, पृ. २३, अङ्ग्रेजी संस्करण) ।
आज लेनिन जन्मेको १५४ वर्ष पूरा भएर १५५ लाग्दैछ । उहाँले रुसमा क्रान्ति सम्पन्न गरेको १०७ वर्ष पूरा भएको छ । उहाँको मृत्यु भएको पनि १०० वर्ष पूरा भएको छ । उहाँले ‘साम्राज्यवादः पूजीवादको चरम अवस्था’ लेखेको पनि १०८ वर्ष भएको छ । उहाँ साम्राज्यवादका विरुद्ध सामन्ती–सैनिक–साम्राज्यवादी देश ( साम्राज्यवादको साङ्लो कमजोर भएको ) रुसमा रहेर क्रान्ति गर्नुभयो । पार्टीभित्र साम्राज्यवादसँग अभिन्न रुपले जोडिएको संशोधनवादका विरुद्ध लड्नुभयो । आज साम्राज्यवादले आफ्नो आयु लम्ब्याउन भूमण्लीकृत निगम साम्राज्यवादको रुप लिएको छ । नवउदारवादी अर्थतन्त्र तथा राजनीति, उत्तरआधुनिकतावादी दर्शन र छाडा सँस्कृति लिएर आएको छ । साम्राज्वादका विरुद्धको लेनिनवादी दर्शनमा थप विकास गर्नुपर्ने भएको छ ।

क) दर्शनशास्त्रमा लेनिनको योगदान
(अ) माक्र्सवादको विकृतिकरणको रक्षा र जुझारु भौतिकवादमा विकास
एङ्गेल्सको मृत्युपछि माक्र्सवादको रक्षा गर्ने जिम्मा अन्ततः लेनिनकै काँधमा आयो । उहाँ खासगरी दोस्रो अन्तर्राष्ट्रियका दार्शनिक संशोधनवादीहरूसँग लड्नुभयो । त्यो लडाइँको उत्कर्ष ‘भौतिकवाद र अनुभवसिद्ध आलोचनावाद’ मा संश्लेषण गरिएको छ । यसको भूमिकामा भनिएको छ, ‘दार्शनिक साहित्यसँग अलिकति पनि परिचित जो कसैले के कुरा थाहा पाउनैपर्छ भने दर्शनशास्त्र (अथवा धर्मशास्त्र) को बिरलै कोही यस्तो समकालीन प्राध्यापक पाउन सकिएला, जो प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भौतिकवादको खण्डन गर्नमा व्यस्त नरहेको होस् । उनीहरूले भौतिकवादको हजार पटक खण्डन भएको घोषणा गरेका छन्, अझै पनि एक हजार एक पटक यसको खण्डन जारी राखेका छन् । हाम्रा सबै संशोधनवादीहरू भौतिकवादको खण्डन गर्नमा व्यस्त रहेका छन्, तर साथसाथै, उनीहरूलाई के थाहा छ भने उनीहरू त वास्तवमा केवल भौतिकवादी प्लेखानोभको खण्डन गरिरहेका छन्, तर भौतिकवादी एङ्गेल्स, भौतिकवादी फायरबाख र भौतिकवादी जे. डियट्जेनका विचारहरूको होइन, यस अतिरिक्त के कुरा छ भने उनीहरूले भौतिकवादलाई ‘ताजा’ तथा ‘आधुनिक’ प्रत्यक्षवाद, प्रकृतिविज्ञान आदि दृष्टिकोणबाट खण्डन गरिरहेका छन्’, भौतिकवाद र आनुभविक आलोचनावाद, १९०८, लेनिन सङ्कलित रचनाहरू, १९६८ मा प्रगति प्रकाशन मास्कोद्वारा प्रकाशित अङ्ग्रेजी संस्करण, ग्रन्थ १४, पृ. २२) ।

यही तथाकथित ताजा तथा आधुनिक प्रत्यक्षवादलाई लेनिनले १७१० का डेभिड ह्युम र जर्ज वर्कलेको आनुभविक आलोचनावादसँग तुलना गर्दै बाजारोभ, बोग्दानोभ, युस्केविच, भालेन्तिनोभ, चेर्नोभ र अरू माखपन्थीहरूको धज्जी उडाउनुभएको छ । यसको साथै, दार्शनिक संशोधनवादका विरुद्ध लड्नेक्रममा जुझारु भौतिकवादको विकास गर्नुभएको छ । यो जुझारु भौतिकवादको बारेमा लेनिनवादका प्रस्तावक र मूल व्याख्याता स्टालिनले ‘लेनिनवादका आधारहरू’ लगायतका रचनाहरूमा व्याख्या गर्नुभएको छ ।

माक्र्सवादी दर्शनशास्त्रको विकास गर्नेक्रममा लेनिनले दार्शनिक कार्यदिशाको विकास गर्नुभएको छ– “एउटा भौतिकवादी कार्यदिशा र अर्को आदर्शवादी कार्यदिशा, एउटा माक्र्सवादी कार्यदिशा र अर्को माखवादी कार्यदिशा । यस प्रसङ्गमा उहाँ भन्नुहुन्छ, “यहाँ प्रश्न भौतिकवादको यो वा त्यो संश्लेषणको होइन, बरु भौतिकवाद र आदर्शवादबिचको प्रतिपक्षता, दर्शनशास्त्रमा दुई आधारभूत कार्यदिशाबिचको भिन्नताको प्रश्न हो । हामी वस्तुबाट ज्ञानेन्द्रीय तथा विचारतर्फ अगि बढ्दछौँ वा ज्ञानेन्द्रीय तथा विचारबाट वस्तुतर्फ ? पहिलो कार्यदिशा अर्थात् भौतिकवादी कार्यदिशा एङ्गेल्सले अपनाएका छन् । दोस्रो कार्यदिशा अर्थात् आदर्शवादी कार्यदिशा माखले अपनाएको छ”, (उही, पृ.४२) ।

लेनिनले माक्र्सवादी दार्शनिक कार्यदिशाको विकास गर्दै संशोधनवादी दार्शनिक कार्यदिशाको भण्डाफोर गर्नुभएको छ । यो भौतिकवादी दार्शनिक कार्यदिशा लेनिनको मौलिक विकास हो अर्थात् सर्वहारावर्गीय दर्शनको मूर्तीकरण हो । यसबाट दर्शन वर्गीय हुन्छ भन्ने कुरा प्रष्ट भएको छ । लेनिन भन्नुहुन्छ, “आनुभविक आलोचनावादको ज्ञानशास्त्रीय पाण्डित्यवादको पछाडि कुनै पनि व्यक्तिले दर्शनका प्रतिपक्षहरूको सङ्घर्षलाई देख्न भुल्नुहँुदैन, अन्तिम विश्लेषणमा त्यस सङ्घर्षले आधुनिक समाजमा विपरीत वर्गहरूको प्रवृत्ति र विचारधारालाई प्रतिबिम्बन गर्दछ । जति दुई हजार वर्ष पहिलेको दर्शन पक्षधर थियो, त्यति नै नवीन दर्शन पक्षधर छ । भौतिकवाद र आदर्शवाद नै अपरिहार्य रूपमा सङ्घर्षरत प्रतिपक्षहरू हुन्, तथापि यसलाई नक्कली विद्वान्को नयाँ पदावलीको बाहनाद्वारा वा सुस्त–मनस्थितिको अपक्षधरताद्वारा लुकाइन्छ । पछिल्लो चाहिँ आस्थावादको केवल अस्पष्ट, परिस्कृत रूप मात्र हो, जुन पूर्णरूपले सशस्त्र भएर उभिन्छ, विशाल सङ्गठनहरूलाई निर्देशन गर्दछ र स्थिर रूपमा जनसमुदायमाथि प्रभाव जमाइरहन्छ, आफ्नो फाइदाका लागि दार्शनिक विचारलाई अलिकति ढुलमुलाहटमा परिणत गर्दै जान्छ । समग्ररूपले आनुभविक आलोचनावादको उद्देश्य र वर्गभूमिका सामान्यतः भौतिकवाद र विशेषतः ऐतिहासिक भौतिकवादका विरुद्ध सङ्घर्षमा आस्थावादीहरूलाई सेवा प्रदान गर्न समावेश हुन्छ”, (उही, पृ. ३५८) । यो वर्ग पक्षधरता मात्र होइन, बरु दुई कार्यदिशाबिचको लडाइँ पनि हो ।

भौतिकवादको आधार ‘भूत’ हो । नेपालीमा यसलाई पदार्थ भनिन्छ । भौतिकवादको रक्षा गर्न उहाँले पदार्थ सम्बन्धि सिद्धान्तको रक्षा र विकास गर्नुभयो । यसको लागि प्रकृति विज्ञानका आविस्कारहरूको सहारा लिनुभयो । प्रकृति विज्ञानको कोणबाट भौतिकवादको खण्डन गर्ने संशोधनवादी दार्शनिकहरूले पदार्थको लोप भएको जिकिर गरिरहेका थिए । यसै सन्दर्भमा लेनिनले यसरी सश्लेषण गर्नुभएको छ, “पदार्थ लोप भयो भन्नुको अर्थ के हो भने त्यो सीमा जसअन्तर्गत हामी अहिलेसम्म पदार्थलाई जान्दथ्यौँ, त्यो लोप भएको छ र हाम्रो ज्ञान अझ गहिरो हुँदै गइरहेको छ, पदार्थका गुणधर्महरू त्यसरी नै लोप हुँदै गइरहेका छन् जुन अहिलेसम्म निरपेक्ष, अपरिवर्तनीय र प्राथमिक (अभेद्य, जडत्व, पिण्ड आदि) प्रतीत हुन्थे र जुन अहिले सापेक्षतामा उद्घाटित भएका छन् तथा त्यो पदार्थका निश्चित अवस्थाहरूकै लाक्षणिकता हो । पदार्थको एक मात्र गुणधर्म जससँग दार्शनिक भौतिकवादको मान्यता जोडिएको छ, जुन एउटा वस्तुनिष्ठ यथार्थ अस्तित्वको गुणधर्म हो, त्यसको अस्तित्व मस्तिष्कबाहिर रहेको छ”, (उही, पृ. २६०–२६१) ।

लेनिनले दुनियाका सामु के स्पष्ट पार्नुभयो भने पदार्थ अनन्तकालदेखि गतिशील छ, आज हाम्रो अगाडि जे भएको हो त्यो भनेको विद्यमान ज्ञानको सीमा नाघ्नु हो र पदार्थको सूक्ष्म ज्ञान प्राप्त हुनु हो । यो पदार्थको लोप होइन, बरु ज्ञानको सीमा लोप भएको हो । यसले गर्दा पदार्थ झन् प्रकाशमान भएको छ । पदार्थको खास परिभाषा लेनिनले यसरी गर्नुभएको छ, “जगत्मा गतिशील पदार्थबाहेक अरू केही पनि छैन र गतिशील पदार्थ दिक् र कालमा बाहेक अन्यत्र गतिशील हुन सक्तैन”, (उही, पृ. १७५) । वास्तवमा यही नै पदार्थ हो ।

(आ) लेनिनले भौतिकवादी दर्शनशास्त्रको विकास गरिसकेपछि यसलाई हेर्ने विधिशास्त्र द्वन्द्ववादको रक्षा, विकास र प्रयोग गर्नुभयो । उहाँले यसको विकास गर्न सन् १९१४–१९१६ को अवधिमा बढी मिहिनेत गर्नुभयो । द्वन्द्ववादको सारमा विपरीतहरूका बिच सङ्घर्ष र एकताको नियमलाई प्रमुख नियमका रूपमा व्याख्या र विकास गर्ने प्रयत्न गर्नुभयो । परिणामस्वरूप दार्शनिक टिप्पणी पुस्तक तयार भयो । द्वन्द्ववादसम्बन्धी दार्शनिक टिप्पणी पुस्तकमा उहाँले यस्तो व्याख्या गर्नुभएको छ, “विपरीतहरूको समरूपता (सायद तिनको ‘एकता’ भन्नु बढी सही होला, तथापि समरूपता र एकता पदावलीबिचको भिन्नता यहाँ विशेषरूपले महत्वपूर्ण हँुदैन । निश्चित अर्थमा दुवै सही छन्) भनेको प्रकृति (मस्तिष्क र समाजसहित) का सम्पूर्ण परिघटना र प्रक्रियामा अन्तरविरोधी, परस्पर बहिष्कृत, विपरीत प्रवृत्तिहरूको पहिचान (खोजी) हो । आफ्नो ‘स्वगति’ मा, आफ्नो स्वतस्फूर्त विकासमा, आफ्नो वास्तविक जीवनमा जगत््का सबै प्रक्रियाहरूको ज्ञानका लागि शर्त भनेको विपरीतहरूको एकताका रूपमा तिनको ज्ञान हो । विकास भनेको विपरीतहरूको ‘सङ्घर्ष’ हो । विकास (क्रमशः विकास) का दुई आधारभूत (अथवा दुई सम्भव ? अथवा दुई ऐतिहासिक रूपमा अवलोकनीय) अवधारणाहरू घट्नु र बढ्नुका रूपमा, पुनरावृत्तिका रूपमा विकास हो, विपरीतहरूको एकताका रूपमा विकास (पारस्परिक रूपमा बहिष्कृत विपरीतहरूमा एकताको विभाजन र तिनको पारस्परिक सम्बन्ध) हो ।”

“गति, स्वगतिको पहिलो अवधारणामा यसको चालक शक्ति, यसको स्रोत, यसको गतिशीलता छायामा रहेको हुन्छ (यो स्रोत बाह्य– ईश्वर, कर्ता इत्यादिले बनेको हुन्छ) । दोस्रो अवधारणामा प्रमुख आकर्षण साँच्ची नै ‘स्व’–गतिको स्रोतका ज्ञानबाट निर्देशित हुन्छ ।”

“पहिलो अवधारणा जीवनहीन, पहेंलो र शुष्क हुन्छ । दोस्रो चाहिँ जीवन्त हुन्छ । दोस्रोले मात्र अस्तित्वमान हरेक कुराको ‘स्वगति’ लाई चाबी प्रदान गर्दछ; यसले मात्र ‘छलाङ’ का लागि, ‘निरन्तरतामा क्रमभङ्ग’ का लागि, ‘विपरीतहरूमा रूपान्तरण’ का लागि, पुरानोको ध्वंस र नयाँको आगमनका लागि चाबी प्रदान गर्दछ ।”

लेखक : सुदर्शन, केन्द्रीय कार्यालय सदस्य, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल

“विपरीतहरूको एकता (अनुरूपता, समरूपता, समकार्य) शर्तबद्ध, अस्थायी, सङ्क्रमणकारी, सापेक्ष हुन्छ । परस्पर बहिस्कृत विपरीतहरूको सङ्घर्ष निरपेक्ष हुन्छ, विकास र गति जस्तै निरपेक्ष हुन्छ”, (द्वन्द्ववादको प्रश्नबारे, लेनिन सङ्कलित रचनाहरू, प्रगति प्रकाशन मास्कोद्वारा १९८१ मा प्रकाशित अङ्ग्रजी संस्करण, ग्रन्थ ३८, पृ. ३५७–३५८) ।

सङ्घर्ष निरपेक्ष, स्थायी र निःशर्त र एकता सापेक्ष, अस्थायी र शर्तबद्ध हुन्छ भनी लेनिनले यो नियमको विश्लेषण गर्नुभएको छ । यसको व्याख्या र विकासको अपेक्षा गर्दै १६ तत्वको टिप्पणी गर्नुभएको छ । ती १६ तत्व निम्नानुसार रहेका छन्, “कसैले शायद यी तत्वहरूलाई अझ विस्तारपूर्वक निम्नानुसार प्रस्तुत गर्न सक्नेछन् :

(१) सोच–विचारको वस्तुनिष्ठता उदाहरण होइन (विषयान्तर होइन, बरु जस्ताको तस्तै वस्तु) ।
(२) यो वस्तुको अरू वस्तुहरूसँग बहुआयामिक सम्बन्धहरूको समग्रता ।
(३) यो वस्तुको विकास (परिघटना, क्रमशः) यसको आफ्नो गति, यसको आफ्नो जीवन ।
(४) यो वस्तुभित्र आन्तरिक रूपले अन्तरविरोधी प्रवृत्तिहरू (र,  प्रवृत्तिहरू) ।
(५) सार र विपरीतहरूको एकताका रूपमा वस्तु (परिघटना इत्यादि) ।
(६) यो विपरीतहरूको सङ्घर्ष, क्रमशः खुल्दै जाने अन्तरविरोधी सङ्घर्षहरू इत्यादि ।
(७) विश्लेषण र संश्लेषणको एकता– अलग अलग भागहरू र समग्रता टुक्र्याउनु, यी भागहरूको योग ।
(८) हरेक वस्तुका सम्बन्धहरू (परिघटना इत्यादि) बहुआयामिक मात्र हुँदैनन्, बरु आम, सर्वव्यापी हरेक वस्तु (परिघटना, प्रक्रिया इत्यादि) हरेक अर्कोसँग सम्बन्धित हुन्छ ।
(९) विपरीतहरूको एकता मात्र होइन, बरु हरेक निर्णय, गुण, विशेषता, पक्ष, गुण धर्मको हरेक अर्कोमा (यसको विपरीतमा) सङ्क्रमण ?
(१०) नयाँ पक्षहरू, सम्बन्धहरू इत्यादिको खोजीमा अनन्त प्रक्रियाहरू ।
(११) वस्तु, परिघटना, प्रक्रिया इत्यादि सम्बन्धी ज्ञानको गहिराइमा अनन्त प्रक्रिया, रूपबाट सारतिर, कम गहिराइबाट बढी गहिराइतिर ।
(१२) सहअस्तित्वबाट कारणतातिर र सम्बन्ध तथा पारस्परिक निर्भरताको एउटा रूपबाट अर्काेतिर, अझ गहिराइ र अझ आम स्वरूपमा ।
(१३) तल्लो चरणका निश्चित विशेषताहरू, गुण धर्महरू इत्यादिको उच्चोत्तर चरणमा पुनरावृत्ति ।
(१४) पुरानोतिर स्पष्ट पुनरागमन (निषेधको निषेध) ।
(१५) सार र रूपको सङ्घर्ष अनि यसको ठीक उल्टो रूपलाई फ्याँकेर सारको रूपान्तरण ।
(१६) मात्राको गुणमा रूपान्तरण र यसको झुट्टा–विपरीत (१५ र १६ नं. बुँदा ९ का उदाहरणहरू हुन्) ।

“सङ्क्षिप्तमा द्वन्द्ववादलाई विपरीतहरूको एकताको सिद्धान्तका रूपमा परिभाषित गर्न सकिन्छ । यसले नै द्वन्द्ववादको सारलाई समावेश गर्दछ, तर यसले व्याख्या र विकासको माग गर्दछ”, (लेनिन, दार्शनिक टिप्पणी पुस्तिका– १९१४, प्रगति प्रकाशन मास्कोद्वारा अग्रेजीमा प्रकाशित लेनिन सङ्कलित रचनाहरू, ग्रन्थ ३८, पृ. २२०–२२२) । यो परिभाषाअनुसार लेनिनले सन् १९०८ को ‘भौतिकवाद र अनुभवसिद्ध आलोचनावाद’ जस्तै प्रसिद्ध कृति द्वन्द्ववादबारे पनि लेख्ने विचार गर्नुभएको थियो । तर, लगत्तै सन् १९१७ मा भएको अक्टोबर क्रान्ति र त्यसपछि वैज्ञानिक समाजवादी राज्यसञ्चालनको कार्यव्यस्तताले गर्दा उहाँको यो महान् कार्य अधुरै रह्यो । यसलाई स्टालिन र माओले पूरा गर्नुभयो ।

(इ) भँडुवा विकासवादका विरुद्ध निरन्तरतामा क्रमभङ्ग–छलाङ्–महाविपत्ति–रूपान्तरणको सिद्धान्त लेनिनले विकास गर्नुभएको थियो । दार्शनिक भँडुवा विकासवादले राजनीतिक सुधारवाद सिर्जना गर्दछ । दोस्रो अन्तर्राष्ट्रियका सुधारवादीहरूसँगको सङ्घर्षमा नै यो सिद्धन्तको विकास भएको हो । माथि लेनिनको उद्धरणमा उल्लेख भएजस्तै स्वगति दुई प्रकारका हुन्छन्– पहिलोमा बाह्य चालक शक्ति ‘ईश्वर’ छायामा रहेको हुन्छ भने दोस्रोमा वस्तुभित्रको स्वगति तथा विपरीतहरूको अन्तरविरोधबाट पैदा हुने गति । लेनिन भन्नुहुन्छ, “दोस्रोले मात्र अस्तित्वमान हरेक कुराको ‘स्वगति’ लाई चाबी प्रदान गर्दछ; यसले मात्र ‘छलाङ’ का लागि, ‘निरन्तरतामा क्रमभङ्ग’ का लागि, ‘विपरीतहरूमा रूपान्तरण’ का लागि, पुरानोको ध्वंस र नयाँको आगमनका लागि चाबी प्रदान गर्दछ ।”

(ई) लेनिनले समाजवादी यथार्थवादी सौन्दर्यशास्त्र, सर्वहारा संस्कृति, नैतिकताको विकास र त्यससम्बन्धी मार्गदर्शन पनि गर्नुभयो । साहित्यमा व्यक्तिवाद र स्वच्छन्दतावादको विरोध गर्दै उहाँ भन्नुहुन्छ, “पार्टी साहित्यको सिद्धान्त के हो ? सहज रूपमा कुरा के होइन भने समाजवादी सर्वहारावर्गका लागि साहित्य व्यक्ति वा दलको समृद्धि गर्ने साधन हुनै सक्तैन– वास्तवमा यो सर्वहारावर्गको साझा उद्देश्यबाट स्वतन्त्र, व्यक्तिगत कारोबार हुन सक्तैन । गैरपार्टी लेखकहरू मुर्दावाद ! साहित्यिक महामानव मुर्दावाद ! साहित्य सर्वहारावर्गीय साझा उद्देश्यको एउटा अङ्ग बन्नुपर्दछ, समग्र श्रमिकवर्गको समग्र राजनीतिक रूपमा सचेत अग्रदस्ताद्वारा सञ्चालित अभिन्न, महान् सामाजिक जनवादी यन्त्रको ‘दाँती र पेचकिला’ बन्नुपर्दछ । साहित्य सङ्गठित, योजनाबद्ध र एकीकृत सामाजिक जनवादी पार्टी कार्यको सङ्घटक हुनुपर्दछ”, (पार्टी सङ्गठन र पार्टी साहित्य, १९०५, लेनिन सङ्कलित रचनाहरू, प्रगति प्रकाशन मास्कोद्वारा १९८८ मा प्रकाशित छैटौँ अङ्ग्रेजी संस्करण, ग्रन्थ १०, पृ. ४५) ।

“हुन सक्छ, कुनै बुद्धिजीवी, स्वतन्त्रताको कुनै उत्कट पक्षधर चिच्याउँदै उठ्नेछ– क्यारे ! के तपाईं साहित्य जस्तो कमजोर, व्यक्तिगत कार्यमाथि सामूहिक नियन्त्रण लाद्न चाहनुहुन्छ ! तपाईं मजदुरहरलाई बहुसङ्ख्यक मतद्वारा विज्ञान, दर्शन र सौन्दर्यशास्त्रका प्रश्नहरू निर्णय गराउन चाहनुहुन्छ ! तपाईं निरपेक्षरूपमा व्यक्तिगत विचारधारात्मक कार्यको निरपेक्ष स्वतन्त्रतालाई अस्वीकार गर्न चाहनुहुन्छ !”

“शान्त हुनुहोस् महाशय ! सर्वप्रथम हामी पार्टी साहित्य र त्यसमाथि पार्टीको नियन्त्रणबारे बहस गरिरहेका छौँ । हरेक व्यक्ति बिना–कुनै विघ्नबाधा उसले चाहेअनुसार लेख्न र बोल्न स्वतन्त्र छ । तर, हरेक स्वतन्त्र सङ्घ (जसमा पार्टी पनि सामेल छ) ती सदस्यहरूलाई निष्काशन गर्न पनि स्वतन्त्र छ, जसले पार्टीविरोधी विचारहरूको वकालत गर्न पार्टीको नाम प्रयोग गर्दछन् । भाषण र छापाखानाको स्वतन्त्रता पूर्ण हुनुपर्दछ । तर, सङ्घको स्वतन्त्रता पनि पूरा हुनुपर्दछ । भाषणको स्वतन्त्रताका नाममा म तपाईंलाई चिच्याउने, झुटो बोल्ने र आफ्नो मनपरी लेख्ने पूर्ण अधिकार दिन बाध्य छु । तर, सङ्घको स्वतन्त्रताको नाममा तपाईं मलाई पनि यस्ता मानिसहरू सङ्घमा राख्ने वा निकाल्ने अधिकार दिन बाध्य हुनुहुन्छ, जसले यो वा त्यो विचार वकालत गरिरहेका छन् । पार्टी स्वतन्त्र सङ्घ हो, जसले यदि पार्टी विरोधी विचार वकालत गर्ने मानिसलाई आफैँभित्रबाट निष्काशन गरेन भने यो पहिलो विचारधारात्मक रूपले र त्यसपछि भौतिक रूपले अपरिहार्य रूपमा फुट्नेछ । पार्टी र पार्टीविरोधीबिच सीमारेखा निर्धारित गर्नका लागि पार्टी कार्यक्रम, कार्यनीति र नियमहरूसम्बन्धी पार्टीका सङ्कल्पहरू, अन्ततः अन्तर्राष्ट्रिय सामाजिक जनवादको समग्र अनुभव, सर्वहारावर्गको स्वतन्त्र अन्तर्राष्ट्रिय सङ्घहरूको समग्र अनुभव छ, जसले निरन्तर रूपमा आफ्नो पार्टीभित्र यस्ता पूर्णरूपले असङ्गत, पूर्णरूपले गैरमाक्र्सवादी र सर्वथा बेठीक अलग–अलग तत्वहरू तथा प्रवृत्तिहरूलाई प्रवेश गराएको छ, जसले अर्कोतिर निरन्तर रूपमा आफ्नो श्रेणीमा आवधिक ‘शुद्धीकरणहरू’ सञ्चालन ग¥यो । पुँजीवादी आलोचनाको स्वतन्त्रताका पक्षधर महाशयहरू, हाम्रो पार्टीभित्र पनि यो रहिरहनेछ । हामी पनि एकाएक जनपार्टी बन्दै छौँ, अचानक खुला सङ्गठनमा परिवर्तन हुँदै छौँ र के कुरा अपरिहार्य छ भने हामी कैयौँ मानिसद्वारा घेरिएका हुनेछौँ, जो माक्र्सवादी दृष्टिकोणबाट असङ्गत छन्, सायद हामी कुनै इसाईद्वारा घेरिएका पनि हुन सक्छौँ, कुनै रहस्यवादीद्वारा पनि । हामीसँग स्वस्थ पेट छ र हामी चट्टानसरि माक्र्सवादी हौँ । हामी ती असङ्गत तत्वहरूलाई पचाउन सक्नेछौँ । पार्टीभित्र विचारको स्वतन्त्रता र आलोचनाको स्वतन्त्रताले हामीलाई सङ्गठित जनताको स्वतन्त्रतालाई पार्टीका रूपमा चिनिने ती स्वतन्त्र सङ्घहरूमा लैजान कहिल्यै बिर्साउनेछैन”, (उही, पृ.४७–४८) ।

लेनिन अगाडि भन्नुहुन्छ, “द्वितीय, हामी समाजवादीहरू यो वकवासलाई नाङ्गेझार पार्दछौँ, झुट्टा पट्टीहरूलाई च्यातचुत पार्दछौँ, निर्वर्गीय साहित्य र कलामा आउनका लागि होइन (त्यो त समाजवादी वर्गोत्तर समाजमा मात्र सम्भव हुन्छ), बरु यो पाखण्डी रूपमा स्वतन्त्र साहित्य जुन यथार्थतामा पुँजीवादसँग जोडिएको छ, यसको विपरीत यो यथार्थतः खुलेआम सर्वहारावर्गसँग जोडिएको हुनेछ ।”

“समाजवादी विचार र श्रमजीवी जनतासँगको सहानुभूति भएकाले यो स्वतन्त्र साहित्य हुनेछ, लोभ र पदलोलुपता होइन, यसको पङ्क्तिमा सदा नयाँ शक्ति आउनेछ । यो स्वतन्त्र साहित्य हुनेछ किनभने यसले कुनै परितृप्ता अभिनेतृको होइन, बोसोग्रस्त बेचैन ‘अभिजात दश हजार’ को होइन, बरु लाखौँ–करोडौँ श्रमजीवी जनताको सेवा गर्नेछ– जुन देशको फूल, यसको बल र यसको भविष्य हो । यो स्वतन्त्र साहित्य हुनेछ, जसले समाजवादी सर्वहारावर्गको अनुभव र जीवन्त कार्यसहित मानव जातिको क्रान्तिकारी विचारधारामा अन्तिम कुराको समृद्धि गर्नेछ, जसले विगत अनुभव (वैज्ञानिक समाजवाद, यसको आदिम काल्पनिक स्वरूपबाट समाजवाद विकासको पूरक) र वर्तमान अनुभव (मजदुर कमरेडहरूको वर्तमान सङ्घर्ष) बिच स्थायी अन्तरक्रिया सिर्जना गर्नेछ ।”

“कमरेडहरू, अब काममा लागौँ ! हामीले नयाँ र कठीन कार्यभारको सामना गरेका छौँ । तर, यो महान् र आभारयोग्य कार्यभार हो– सामाजिक जनवादी श्रमिक आन्दोलनसँग अभिन्न रूपले जोडिएको बृहत्, बहुआयामिक र विविध साहित्य सङ्गठित गर्ने कार्यभार हो यो । सम्पूर्ण सामाजिक जनवादी साहित्य पार्टी साहित्य हुनुपर्दछ । हरेक अखबार, पत्रपत्रिका, प्रकाशन गृह इत्यादिले पुनर्संगठनसम्बन्धी आफ्नो कार्य तुरुन्तै मिलाउनुपर्दछ, यस्तो परिस्थितितिर लैजानुपर्दछ, जसमा यो एक वा अर्कोमा, एउटा पार्टी सङ्गठन वा अर्कोमा एकीकृत हुनेछ । त्यसपछि मात्र वास्तवमा ‘सामाजिक जनवादी’ साहित्यको नाम सार्थक हुनेछ, त्यसपछि मात्र यो आफ्नो कर्तव्य पूरा गर्न योग्य हुनेछ र पुँजीवादी समाजको संरचनाभित्र पनि पुँजीवादी दासताको अन्त्य हुनेछ, यथार्थतः अग्रगामी र पूर्णतः क्रान्तिकारी वर्गको आन्दोलनसँग विलय हुनेछ”, (उही, पृ. २२७–२२८) ।

(ए) इतिहासमा जनसमुदाय–वर्ग–पार्टी–नेताबारे सैद्धान्तिक विकास
लेनिन ‘वामपन्थी’ साम्यवादी केटाकेटी प्रवृत्तिका विरुद्ध पनि त्यत्तिकै लड्नुभयो, जति दक्षिणपन्थी संशोधनवादी प्रवृत्तिका विरुद्ध । कहिलेकाहीँ जर्मनी कम्युनिस्ट पार्टी (स्पार्टाकस लिग) का नेता रोजा लक्जेम्वर्गमा पनि यस प्रकारको वाम केटाकेटीपन देखापर्दथ्यो । एक पटक नेता, पार्टी र जनतामध्ये कसको अधिनायकत्व हुन्छ भन्ने प्रश्नमा बहस चल्यो । सर्वहारा अधिनायकत्वका नाममा पार्टीको र पार्टीको नाममा नेताको अधिनायकत्व भयो भन्ने रोजाको आरोपको खण्डन गर्दै लेनिनले संश्लेषण गर्नुभएको छ, “पार्टीको अधिनायकत्व हो वा वर्गको अधिनायकत्व; पार्टी नेताहरूको अधिनायकत्व हो वा जनसमुदायको अधिनायकत्व ? समस्यालाई यसरी पेश गर्नुले नै सबभन्दा अविश्वसनीय तथा आशाहीन रूपमा खल्बलिएको चिन्तन सावित हुन्छ । यी मानिसहरू कुनै असाधारण कुरा आविस्कार गर्न चाहन्छन् र चलाक हुने आफ्नो पयत्नमा ती स्वयम् हास्यास्पद बन्दछन् । सामान्य ज्ञानको कुरा के हो भने जनसमुदाय वर्गमा बाँडिएको छ; जनसाधारणलाई वर्गका विरुद्ध तब मात्र राख्न सकिन्छ, जब सामान्यतः विशाल बहुसङ्ख्या विपरीत सामाजिक उत्पादन प्रणालीमा हैसियतअनुसार विभाजनलाई वास्ता नगरी सामाजिक उत्पादन प्रणालीमा निश्चित हैसियत राख्ने श्रेणीहरूसहित राखिनेछ; एउटा नियमका रूपमा र अधिकतम मुद्दाहरूमा, कम्तीमा पनि आधुनिक सभ्य देशहरूमा वर्गहरूको नेतृत्व राजनीतिक पार्टीहरूद्वारा गरिएको हुन्छ; सामान्य नियमअनुसार राजनीतिक पार्टीहरू सबभन्दा आधिकारिक, प्रभावशाली र अनुभवी सदस्यहरूबाट बनेको धेरै–थोरै स्थायी समूहद्वारा सञ्चालित हुन्छन्, जो सबभन्दा जिम्मेवार पदहरूमा चुनिएका हुन्छन्, तिनलाई नै नेता भनिन्छ”, (‘वामपन्थी’ साम्यवाद ः एक बाल रोग, १९२०, प्रगति प्रकाशन मास्कोद्वारा १९६६ मा प्रकाशित लेनिन सङ्कलित रचनाहरूको अङ्ग्रेजी संस्करण, ग्रन्थ ३१, पृ. ४१) ।

(ऐ) धार्मिक आदर्शवादको भण्डाफोर र द्वन्द्वात्मक भौतिकवादको स्थापना
लेनिनले धर्मलाई शोषकवर्गीय आत्मिक उत्पीडनको साधनका रूपमा संश्लेषण गर्नुभएको छ । यो अन्धविश्वासको कुहिरो हटाउन उहाँले द्वन्द्वात्मक भौतिकवादको खरो वैचारिक प्रकाश दिनुभएको छ । लेनिन भन्नुहुन्छ, “धर्म आत्मिक उत्पीडनको एउटा रूप हो, जसले जनसमुदायमाथि चौतर्फी भारी बोझ बनाउँछ, जसले अरूको लागि नियमित भारी बोकाएर अभाव र पृथकतामा कुल्चिन्छ । शोषकवर्गका विरुद्ध सङ्घर्षमा शोषितवर्गको दुर्बलताले स्वर्गमा सुखी जीवनका लागि अपरिहार्य रूपले ठीक त्यसरी नै विश्वास पैदा गर्दछ, जसरी प्रकृतिका विरुद्ध सङ्घर्षमा वन्ययुगीन मानिसको दुर्बलताले देवीदेवताहरू, राक्षसहरू, जादुटुना आदिमा विश्वास उत्पन्न गरेको थियो । ती मानिस, जसले आफ्नो जीवनभरी श्रम गर्दछन् र अभावमा बाँच्दछन्, उनीहरूलाई धर्मले यो पृथ्वीमा रहुञ्जेल विनम्र र धैर्यवान रहन सिकाएको छ र ‘स्वर्गीय’ पुरस्कारको आशामा बाँच्न सिकाएको छ । तर, ती मानिसहरू जो अरूको श्रममाथि बाँच्दछन्, उनीहरूलाई धर्मले पृथ्वीमा रहुन्जेल दान दिने शिक्षा दिन्छ, यसकारण उनीहरूलाई शोषकका रूपमा आफ्नो समग्र अस्तित्व प्रमाणित गराउन धेरै सस्तो तरिका उपलब्ध गराउँदछ र स्वर्गमा खुसीयालीका लागि सस्तो मूल्यमा तिनलाई टिकेट बेच्दछ । … धर्म एक प्रकारको आत्मिक मदिरा हो, जसमा पुँजीका दासहरूले आफ्नो मानवीय छवि र धेरै–थोरै मानवयोग्य जीवनको आफ्नो माग पनि डुबाइदिन्छन्”, (समाजवाद र धर्म, १९०५, प्रगति प्रकाशन मास्कोद्वारा १९८८ मा प्रकाशित लेनिन सङ्कलित रचनाहरूको अङ्ग्रेजी संस्करण, ग्रन्थ १०, पृ. ८३–८४) ।

लेखक : सुदर्शन, केन्द्रीय कार्यालय सदस्य, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल

लेनिनले धर्मबारे हामीलाई के सिकाउनुभएको छ भने श्रमिकवर्गले मृत्युपछि पाइने ‘स्वर्गीय’ आनन्दलाई पुँजीपतिका लागि छोडिदिनुपर्छ भने पृथ्वीबाट शोषकवर्गलाई हटाएर यहाँ नै स्वर्ग बनाउनुपर्दछ । सवहारावर्गले अन्धविश्वासको होइन, विज्ञानको सहयोग लिनुपर्दछ । उहाँ भन्नुहुन्छ, “आधुनिक वर्गसचेत मजदुरहरू ठूलो पैमानाका उद्योगद्वारा प्रशिक्षित र सहरिया जीवनद्वारा प्रबुद्ध भएर धार्मिक अन्धविश्वासलाई घृणापूर्वक इन्कार गर्दछन्, स्वर्ग पुजारीहरू र पुँजीपति कट्टरवादीहरूलाई छोडिदिन्छन्, यही धर्तीमा नै सुखमय जीवन जित्ने प्रयत्न गर्दछन् । आजको सर्वहारावर्गले समाजवादको पक्ष लिन्छ, जसले धार्मिक कुहिरोविरुद्धको मुठभेडमा विज्ञानको सहयोग लिन्छ र पृथ्वीमै सुखी जीवनका लागि वर्तमानमा लड्न तिनलाई सँगसँगै लिएर मृत्युपछिको जीवनमा पाइने सुखको विश्वासबाट मुक्ति दिलाउँछ”, (उही, पृ. ८४) ।

लेनिनले के संश्लेषण गर्नुभएको छ भने धर्म भनेको राज्यसत्ताको हकमा निजी मामिला हो भने पार्टीका हकमा यो व्यक्तिगत मामिला होइन । यस सन्दर्भमा उहाँ भन्नुहुन्छ, “धर्म एउटा निजी मामिला घोषित हुनुपर्दछ । यी शब्दहरूमा समाजवादीहरूले प्रायः धर्मप्रति आफ्नो मनोवृत्ति व्यक्त गर्दछन् । तर, यी शब्दहरूको अर्थ कुनै पनि अनर्थबाट बँच्न सही तरिकाले परिभाषित हुनुपर्दछ । हामी के माग गर्दछौँ भने जहाँसम्म राज्यसँग सम्बन्धित छ, त्यहाँ धर्मलाई निजी मामलामा राख्नुपर्छ, तर जहाँसम्म पार्टीसँग सम्बन्धित कुरा छ, त्यहाँ हामी धर्मलाई कुनै पनि हालतमा निजी मामला मान्न सक्तैनौँ । राज्यको धर्मसँग कुनै सरोकार हुनुहुँदैन र धार्मिक संस्थाको पनि सरकारी संस्थासँग कुनै सम्बन्ध हुनुहुँदैन । कुनै धर्म मान्ने कि नमान्ने अर्थात् नास्तिक हुने भन्ने कुरामा हरेक व्यक्ति स्वतन्त्र हुनुपर्दछ, जसलाई हरेक समाजवादीले नियमका रूपमा लिनुपर्दछ । धार्मिक विश्वासका आधारमा नागरिकहरूलाई भेदभाव गर्नु सर्वथा असह्य हुन्छ । सरकारी दस्तावेजहरूमा नागरिकहरूको धर्मबारे हवाला दिने कुरा निःसन्देह बन्द हुनुपर्दछ”, (उही, पृ. ८४) ।

समाजवादी तथा साम्यवादी पार्टीका लागि धर्म के हो भन्ने कुरामा लेनिन यस्तो संश्लेषण गर्नुहुन्छ, “जहाँसम्म समाजवादी सर्वहारा पार्टीको सरोकार छ त्यसमा धर्म निजी मामला होइन । हाम्रो पार्टी मजदुरवर्गको मुक्तिका लागि लड्ने वर्गसचेत र उन्नत सङ्घ हो । यस प्रकारको सङ्घ वर्गचेतनाको अभाव, धार्मिक विश्वासको रूपमा अज्ञानता वा अस्पष्टताबाट विमुख हुन सक्तैन र हुन पनि हुँदैन । हामी पूर्णतः चर्च प्रतिस्थापनको माग गर्दछौँ ता कि विशुद्ध विचारधारात्मक र एक मात्र विचारधारात्मक हतियारद्वारा, आफ्नो छापा र प्रचार माध्यमद्वारा धार्मिक कुहिरोका विरुद्ध लड्न सकियोस् । तर, हामीले साँच्चै भन्ने हो भने मजदुरहरूलाई गरिने हरेक धार्मिक धोकाविरुद्ध यस प्रकारको सङ्घर्ष गर्न हाम्रो सङ्घ रसियाली सामाजिक जनवादी मजदुर पार्टी पाएका छौँ । र, हाम्रा लागि विचारधारात्मक सङ्घर्ष निजी मामला होइन, समग्र सर्वहारावर्गको मामला हो”, (उही, पृ. ८५–८६) ।

त्यसो भए हाम्रो कार्यक्रम कस्तो हुनुपर्दछ त ? लेनिन भन्नुहुन्छ, “हाम्रो कार्यक्रम समग्र रूपले विज्ञानमा आधारित हुनुपर्दछ र यस अतिरिक्त भौतिकवादी विश्वदृष्टिकोणमा आधारित हुनुपर्दछ । त्यसकारण हाम्रो कार्यक्रमको व्याख्याले अपरिहार्य रूपमा धार्मिक अन्धविश्वासका सही ऐतिहासिक तथा आर्थिक जराहरूको व्याख्यालाई समावेश गर्दछ । हाम्रो प्रचारले अपरिहार्य रूपमा नास्तिकतावादको प्रचारलाई समावेश गर्दछ; हाम्रो प्रकाशनले यथोचित वैज्ञानिक साहित्यको प्रकाशन गर्दछ …”, (उही, पृ. ८६) ।

लेनिन अगाडि भन्नुहुन्छ, “पृथ्वीमै स्वर्गको बगैँचा सिर्जना गर्नु उत्पीडितवर्गको यो यथार्थतः क्रान्तिकारी सङ्घर्षमा एकता हाम्रो लागि स्वर्गमा बगैँचा बनाउने सर्वहारा विचारको एकताभन्दा अधिक महत्वपूर्ण हुन्छ”, (उही, पृ. ८७) ।

आखिर धार्मिक अन्धविश्वासको स्रोत के हो ? यो प्रश्नको जवाफ दिँदै लेनिन भन्नुहुन्छ, “मानव ज्ञान एउटा सिधा रेखा (पछ्याउँदैन) होइन, बरु एउटा वक्ररेखा हो, जसले अन्त्यहीन रूपमा वृत्ताकार, एउटा सर्पाकार शृङ्खलाको अनुमान गर्दछ । यो वक्ररेखाको कुनै पनि खण्ड, टुक्रा, शाखा एउटा स्वतन्त्र, पूर्ण, सिधा रेखामा रूपान्तरित (एकपक्षीय रूपमा रूपान्तरित) हुन सक्छ, त्यसपछि जसले (यदि कसैले रुखको लागि काठ देखेन भने) दलदलमा, याजकीय अस्पष्टतामा लैजान्छ (जहाँ यसलाई शासकवर्गको वर्गस्वार्थद्वारा स्थापित गरिएको हुन्छ) । सरलरेखीय र एकलकाँटे, काष्ठपन र पत्थरीकरण, मनोगतवाद र मनोगत अन्धता–आदर्शवादका ज्ञानशास्त्रीय जराहरू हुन् । अनि वास्तवमा याजकीय अस्पस्टता (दार्शनिक आदर्शवाद) का ज्ञानशास्त्रीय जराहरू रहेका छन्, यो आधारहीन छैन; यो निःसन्देह एउटा फलहीन फूल हो, तर एउटा यस्तो फलहीन फूल जुन जीवन्त, उर्बर, वास्तविक, शक्तिशाली, सर्वशक्तिमान, निरपेक्ष मानवज्ञानको जीवन्त वृक्षमाथि हुर्कन्छ”, (द्वन्द्ववादको प्रश्नबारे (दार्शनिक नोटबुक) १९१५, प्रगति प्रकाशन मास्कोद्वारा १९८१ मा प्रकाशित लेनिन सङ्कलित रचनाहरूको अङ्ग्रेजी संस्करण, ग्रन्थ ३८, पृ. ३६१) ।
यही नै लेनिनको धार्मिक आदर्शवादसम्बन्धी दर्शन हो ।

(ओ) राजनीतिक अर्थशास्त्र–साम्राज्यवाद : पुँजीवादको चरम अवस्था
माक्र्सको युग भनेको प्रतिस्पर्धात्मक पुँजीको युग थियो । काउत्स्की र प्लेखानोभहरू यही ज्ञानमा मात्र सीमित थिए भने लेनिनले यसलाई गतिमा हेर्नुभएको थियो र त्यसरी नै अध्ययनको गतिमा पनि हुनुहुन्थ्यो । आफ्नो अध्ययन र अनुसन्धानबाट उहाँले बिसौँ शताब्दीको आगमनसँगै पुँजीवाद साम्राज्यवादमा पतन भएको निष्कर्ष निकाल्नुभयो । साम्राज्यवादको ऐतिहासिक पृष्ठभूमिबारे उहाँले आफ्नो कृति ‘साम्राज्यवाद ः पुँजीवादको चरम अवस्था’ (१९१६) मा भन्नुभएको छ, “एकाधिकारको इतिहासमा प्रमुख चरणहरू निम्नानुसार रहेका छन् ः (१) १८६०–१८७०, स्वतन्त्र प्रतिस्पर्धाको उच्चतम चरण, त्यसको शिखर; एकाधिकार मुस्किलले बुझ्न सकिने, भ्रुणावस्थाको चरणमा थियो । (२) १८७३ को सङ्कटपछि कार्टेलको विकासमा एउटा लामो अवधि; तर त्यो अझै अपवाद नै हुन्छ । त्यो अझै टिकाउ हुँदैन । त्यो अझै सङ्क्रमणकालीन परिघटना हुन्छ । (३) उन्नाइसौँ शताब्दीको अन्तको तीव्रता र १९००–०३ को सङ्कट । कार्टेलहरू समग्र आर्थिक जीवनका आधार बन्दछन् । पुँजीवाद साम्राज्यवादमा रूपान्तरित भइसकेको हुन्छ”, (प्रगति प्रकाशन मास्कोद्वारा १९६४ मा प्रकाशित अङ्ग्रेजी संस्करण, ग्रन्थ २२, पृ. २०२) ।

यो सङ्कटपछि पुँजीवाद साम्राज्यवादमा प्रवेश गर्दछ । यही विश्वको आर्थिक परिस्थिति र रुसको सामन्ती साम्राज्यवादी अवस्थाले गर्दा लेनिन राजनीतिक कार्यदिशाको हिसाबले मजदुर–किसानको अधिनायकत्व हुँदै सर्वहारा अधिनायकत्व भएको वैज्ञानिक समाजवादी क्रान्ति, सामरिक कार्यदिशाको दृष्टिले सशस्त्र जनविद्रोह र राजनीतिक कार्यनीतिका हिसाबले अस्थायी क्रान्तिकारी सरकारको निष्कर्षमा पुग्नुभयो ।
बैङ्क र यसको नयाँ भूमिकाबारे विश्लेषण गर्दै लेनिनले यस्तो निष्कर्ष निकाल्नुभएको छ, “यसर्थ, बिसौँ शताब्दीले पुरानो पुँजीवादबाट नयाँतिर, सामान्यतः पुँजीको प्रभुत्वबाट वित्त पुँजीको प्रभुत्वतिर जाने घुम्तीबिन्दुलाई चिन्हित गर्दछ”, (उही, पृ. २२६) ।
यसको अर्थ पुँजीवादमा वस्तु निर्यात हुन्थ्यो भने साम्राज्यवादमा पुँजी निर्यात हुन थाल्यो, जसले गर्दा एकाधिकार पुँजीवाद अर्थात् साम्राज्यवादको जन्म भयो ।

वित्त पुँजीको उत्थान कसरी भयो ? लेनिन उत्तर दिनुहुन्छ, “उत्पादनको केन्द्रीकरण; त्यसबाट उत्पन्न हुने एकाधिकार; उद्योगसँग बैङ्कको विलयन वा संलयन– यही नै वित्तपुँजी उत्थानको इतिहास हो र यही नै त्यो धारणाको सार हो”, (उही, पृ. २२६) ।

पुँजीवाद र साम्राज्यवादबिचको भिन्नताबारे लेनिन भन्नुहुन्छ, “सामान्यतः पुँजीवादको विशेषता के हुन्छ भने पुँजीको स्वामित्वलाई उत्पादनमा पुँजीको प्रयोगबाट अलग गरिएको हुन्छ, मुद्रा पुँजीलाई औद्योगिक वा उत्पादक पुँजीबाट अलग गरिएको हुन्छ र मुद्रा पुँजीबाट प्राप्त आयमाथि पूर्णतः जीवित रहने सुदखोरलाई उद्यमी तथा पुँजीको व्यवस्थापनमा प्रत्यक्ष रूपले सम्बन्धित सबैबाट अलग गरिएको हुन्छ । साम्राज्यवाद तथा वित्तपुँजीको प्रभुत्व पुँजीवादको त्यो चरम अवस्था हो, जसमा यो पृथकता व्यापक अनुपातमा पुग्दछ । पुँजीका अरू सबै रूपहरूमाथि वित्तपुँजीको सर्वोच्चताको अर्थ सुदखोर तथा वित्तीय अल्पतन्त्रको प्रभुत्वकारी हुन्छन्; यसको अर्थ के हुन्छ भने वित्तीय दृष्टिले ‘शक्तिशाली’ अल्पसङ्ख्यक राज्यहरू बाँकी सबैबाट अलग हुन्छन् । यो प्रक्रिया कुन हदसम्म जान्छ भन्ने कुरा उत्सर्जनसम्बन्धी तथ्याङ्कबाट जाँच्न सकिन्छ, अर्थात् सबै प्रकारका सुरक्षा मुद्दाहरूबाट”, (उही, पृ. २३८–३९) ।

आखिर साम्राज्यवादका विशेषताहरू के के हुन् ? लेनिनको जवाफ यस्तो छ, “हामीले के बुझेका छौँ भने आर्थिक सारमा साम्राज्यवाद भनेको एकाधिकार पुँजीवाद हो । यसले स्वयम् इतिहासमा आफ्नो स्थान निर्धारण गर्दछ, एकाधिकार खुला प्रतिस्पर्धाको धर्तीबाट जन्मिन्छ र साँच्ची नै खुला प्रतिस्पर्धाबाट जन्मन्छ, यो भनेको पुँजीवादी व्यवस्थाबाट उच्चोत्तर सामाजिक–आर्थिक व्यवस्थामा सङ्क्रमण हो । हामीले एकाधिकारका चार प्रमुख रूपहरू वा एकाधिकार पुँजीवादका प्रमुख अभिव्यक्तिहरूलाई विशेष रूपमा हेर्नुपर्दछ, जुन हामीले विचाराधीन राखेको युगका विशेषताहरू हुन् ।

“सर्वप्रथम, एकाधिकार अति उच्च चरणमा उत्पादनको केन्द्रीकरणबाट जन्म्यो । यसले एकाधिकारी पुँजीवादी सङ्घहरू– कार्टेल, सिन्डीकेट र ट्रस्टहरूलाई सङ्केत गर्दछ । वर्तमान आर्थिक जीवनमा यिनीहरूको भूमिका कति महत्वपूर्ण छ भन्ने कुरा हामीले देखिसकेका छौँ । बिसौँ शताब्दीको सुरुमा एकाधिकारले उन्नत देशहरूमा आफ्नो पूर्ण प्रभुत्व कायम गरिसकेको थियो, तथापि कार्टेलहरूको सङ्गठनको दिशामा पहिलो कदम उच्च संरक्षणात्मक महसुल भएका देशहरू (जर्मनी, अमेरिका) मा लिइएको थियो, आफ्नो खुला व्यापार प्रणालीसहित ग्रेट ब्रिटेनमा उही आधारभूत परिघटना उद्घाटित भएको थियो, याने थोरै पछि मात्र उत्पादनमा केन्द्रीकरणबाट एकाधिकार जन्मेको थियो ।”

“द्वितीयतः एकाधिकारले कच्चा पदार्थका अधिक महवपूर्ण स्रोतहरूमाथि, विशेषरूपले पुँजीवादी समाजअन्तर्गत आधारभूत तथा बढीभन्दा बढी कार्टेलीकृत कोइला र फलाम उद्योगका कच्चा पदार्थका स्रोतहरूमाथि कब्जा गर्न प्रोत्साहन ग¥यो । कच्चा पदार्थका अति महत्वपूर्ण स्रोतहरूको एकाधिकारले ठूलो पुँजीको तागतलाई अत्यधिक रूपमा बढाइदिएको छ र कार्टेलीकृत र गैर–कार्टेलीकृत उद्योगहरूबिचको अन्तरविरोधलाई तीव्र बनाइदिएको छ ।”

“तृतीयतः एकाधिकार बैङ्कहरूबाट उत्पन्न भएको हो । बैङ्कहरू मामुली बिचौलिया उद्यमीहरूबाट वित्तपुँजीको एकाधिकारीमा विकास भएका हुन् । प्रमुखतम पुँजीवादी देशहरूका हरेकबाट तीनदेखि पाँच सबभन्दा ठूला बैङ्कहरूले औद्योगिक तथा पुँजी बैङ्कबिच ‘व्यक्तिगत सम्बन्ध’ हासिल गरेका छन् र अर्बौं–अर्ब रकम आफ्नो हातमा सङ्केन्द्रित गरेका छन्, जसले समग्र देशहरूमा पुँजीको ठूलो भाग र आय निर्माण गरेको हुन्छ । वित्तीय अल्पतन्त्र जसले बिना–अपवाद पुँजीवादी समाजका सम्पूर्ण आर्थिक तथा राजनीतिक संस्थाहरूमाथि निर्भर सम्बन्धहरूको घनिष्ट सञ्जाल फ्याँक्दछ– यही नै यो एकाधिकारको सबभन्दा प्रभावकारी अभिव्यक्ति हो ।”

“चतुर्थतः एकाधिकार औपनिवेशिक नीतिबाट जन्मेको हो । औपनिवेशिक नीतिका कैयौँ ‘पुराना’ उद्देश्यहरूसहित वित्तपुँजीले कच्चा मालको स्रोतका लागि, पुँजी निर्यातका लागि, प्रभाव क्षेत्रका लागि अर्थात् नाफाप्रद व्यापार, सहुलियत, एकाधिकारी नाफा र सामान्यतः आर्थिक भू–भागको क्षेत्रका लागि सङ्घर्ष जोडिदिएको छ । उदाहरणका लागि, जसबेला युरोपेली शक्तिको उपनिवेश अफ्रिका (१८७६ को जस्तै) को भू–भागमध्ये दशौँ भाग समाविष्ट थियो, त्यसबेला औपनिवेशिक नीति एकाधिकारको तरिकाले भन्दा अर्को तरिकाले विकास गर्न योग्य थियो– अर्को शब्दमा भन्दा भू–भागलाई ‘बेरोकटोक कब्जा गर्ने’ तरिकाले । तर, जब १९०० मा अफ्रिकाको नब्बे प्रतिशत भू–भाग कब्जा भयो, जब समग्र संसार बाँडियो, तब अनिवार्य रूपले उपनिवेश एकाधिकार स्वामित्वको युगमा प्रवेश गरेको थियो र परिणामस्वरूप, विशेष रूपमा विश्वको विभाजन र पुनर्विभाजनका लागि सघर्ष तीव्र भयो”, (उही, पृ. २९८–३००) ।

(औ) वैज्ञानिक समाजवादमा लेनिनको योगदान
वैज्ञानिक समाजवादको क्षेत्रमा लेनिनले अझ व्यापक योगदान गर्नुभएको छ । वर्ग, वर्गसङ्घर्ष, सशस्त्र सङ्घर्ष (क्रान्ति), राज्यसत्ता, सर्वहारा अधिनायकत्व, पार्टी सङ्गठन, जनवादी केन्द्रीयता, समाज विकासको इतिहास, राष्ट्रियता तथा राष्ट्रिय–आत्मनिर्णयको अधिकार आदि विषयहरू यस क्षेत्रमा पर्दछन् ।

समाज वर्गमा विभाजन भएको छ । शोषक र शोषित वर्गबिच सत्रुतापूर्ण सङ्घर्ष प्रत्यक्ष–अप्रत्यक्ष जारी हुन्छ । यसको विकास एउटा वर्गले अर्को वर्गलाई विस्थापित गर्ने स्तरमा पुग्दछ । यस प्रक्रियामा शान्तिपूर्ण र सशस्त्र मुख्यतः सशस्त्र सङ्घर्ष हुन्छ । यसैलाई क्रान्ति भन्दछन् । क्रान्तिमा सर्वहारावर्गको विजयले सर्वहारावर्गको अधिनायकत्व ऐतिहासिक आवश्यकता बन्न जान्छ किनभने क्रान्ति शोषकवर्गको अधिनायकत्वका विरुद्ध भएको हुन्छ । सर्वहारा अधिनायकत्वका विषयमा माक्र्सले सन् १८४८–१८५१ को फ्रान्सेली क्रान्ति र सन् १८७१ को कम्युन क्रान्तिबाट शिक्षा लिँदै यसको आवश्यकता र महŒवबारे स्पष्ट पार्नुभएको छ । तर, यसको व्याख्या र विकास गर्ने काम लेनिनले गर्नुभएको छ ।

‘राज्य र क्रान्ति’ नामक आफ्नो प्रसिद्ध कृतिमा उहाँले संश्लेषण गर्नुभएको छ, “अक्सर के भन्ने र लेख्ने गरिन्छ भने माक्र्सको सिद्धान्तमा मुख्य कुरा भनेको वर्गसङ्घर्ष हो । तर, यो गलत कुरा हो । अनि यही गलत अवधारणाले प्रायःजसो माक्र्सवादलाई अवसरवादी तोडमरोड र पुँजीवादीहरूलाई स्वीकार्य भावनामा मिथ्याकरणतिर लैजान्छ । वर्गसङ्घर्षको सिद्धान्त माक्र्सले सिर्जना गरेको होइन, बरु माक्र्सपूर्वका पुँजीपतिहरूले सिर्जना गरेका थिए र आम रूपमा यो पुँजीपतिवर्गलाई स्वीकार्य हुन्छ । ती मानिस जसले अहिलेसम्म वर्गसङ्घर्षलाई मात्र मान्दछन्, ती माक्र्सवादी होइनन्; ती अझै पनि पुँजीवादी चिन्तन र पुँजीवादी राजनीतिको दायराभित्र रहेका छन् । माक्र्सवादलाई वर्गसङ्घर्षको सिद्धान्तमा सीमित गर्नुको अर्थ माक्र्सवादमा काटछाँट गर्नु, यसलाई तोडमरोड गर्नु, यसलाई पुँजीपतिवर्गको लागि स्वीकार्य बनाउनु हो । माक्र्सवादी त्यही मात्र हो, जसले वर्गसङ्घर्षको मान्यतालाई सर्वहारावर्गीय अधिनायकत्वको मान्यतासम्म विस्तार गर्दछ । माक्र्सवाद र साधारण निम्न (त्यसरी नै ठूला ) पुँजीपतिबिचको सबभन्दा गम्भीर भिन्नता यही हो । यही नै त्यो कसौटी हो, जसमाथि माक्र्सवादको वास्तविक बुझाइ र मान्यता परीक्षित हुन्छ”, (राज्य र क्रान्ति १९१७, प्रगति प्रकाशन मास्कोद्वारा १९६४ मा प्रकाशित अङ्ग्रेजी संस्करण, भी.आई. लेनिन सङ्कलित रचनाहरू, ग्रन्थ २५, पृ. ४११–४१२) ।

पहिलो कुरा, वर्गसङ्घर्षलाई सर्वहारा अधिनायकत्वसँग नजोड्नु माक्र्सवादलाई तोडमरोड र मिथ्याकरण गरी पुँजीपतिवर्गलाई स्वीकार्य बनाउनु हो । दोस्रो, सर्वहारावर्गको अधिनायकत्व माक्र्सवाद र अवसरवादबिचको भिन्नता छुट्याउने कसी हो । तेस्रो, यसबिना सर्वहारावर्गको राज्यसत्ता टिक्न सक्तैन भन्ने कुरा पेरिस कम्युनको असफलताले देखाइसकेको छ । चौथो, यसले अन्ततः वर्गविहीन, राज्यविहीन र पार्टीविहीन सुन्दर साम्यवादी समाजको शिखरमा लैजान्छ । पाँचौँ, सर्वहारा अधिनायकत्वलाई माक्र्सले वैज्ञानिक समाजवाद र साम्यवादबिचको सङ्क्रमणकाल भन्नुभएको थियो तर यो छोटो हुन्छ होला भन्ने ठान्नुभएको थियो । लेनिनले यसलाई लामो हुन सक्ने ठहर गर्नुभएको छ । यो उहाँको महत्वपूर्ण देन हो ।

अर्को कुरा, एउटै देशमा पनि वैज्ञानिक समाजवादी क्रान्ति हुन सक्छ र त्यो क्रान्ति जहाँ साम्राज्यवादको साङ्लो कमजोर छ त्यहाँबाट हुन्छ । त्यस्तो देश त्यति बेला युरोसियालाई जोड्ने सामन्ती–साम्राज्यवादी रसिया थियो । यो कुरा वरिष्ठ क्रान्तिकारी जर्ज प्लेखानोभ र मार्तोभले होइन, भ्लादिमिर इल्यिच लेनिनले पत्ता लगाउनुभयो । त्यसकारण उहाँले मजदुर र किसानलाई एकताबद्ध गर्दै वैज्ञानिक समाजवादी राजनीतिक कार्यदिशा र सशस्त्र विद्रोहको सैन्य कार्यदिशा तय गर्नुभयो । वैज्ञानिक समाजवाद पदावलीको पहिलो प्रयोगकर्ता एङ्गेल्स र दोस्रो लेनिन हो । समाजवादलाई काल्पनिक र आदर्शवादबाट बचाउन माक्र्सवादको व्याख्या गर्नेक्रममा उहाँहरूले यो पदावलीको प्रयोग गर्नुभएको हो । उहाँहरूले यसलाई वर्गसङ्घर्ष, सशस्त्र सङ्घर्ष र सर्वहारावर्गको अधिनायकत्वमाथि आधारित बनाउनुभयो, जसले गर्दा यो वैज्ञानिक समाजवाद बन्यो । पुँजीवाद र साम्यवादबिचको सङ्क्रमणकालीन व्यवस्था नै वैज्ञानिक समाजवाद हो ।

तेस्रो, यो वैज्ञानिक समाजवाद हासिल गर्न लेनिनले सशस्त्र विद्रोहको सामरिक कार्यदिशा तय गर्नुभयो । यसबारे उहाँले भन्नभएको छ, “सफल हुनका लागि विद्रोह षड्यन्त्र र पार्टीमाथि भर पर्नुहुँदैन, बरु अग्रगामी वर्गमाथि भर पर्नुपर्दछ । यही नै पहिलो शर्त हो । विद्रोह जनताको क्रान्तिकारी उभारमाथि निर्भर हुनुपर्दछ । यो दोस्रो शर्त हो । विद्रोह बढ्दो क्रान्तिको इतिहासको त्यो घुम्ती–विन्दुमा निर्भर हुनुपर्दछ, जसबेला जनताको अग्रगामी पङ्क्तिको क्रियाशीलता उचाइमा हुन्छ र दुश्मन पङ्क्ति तथा क्रान्तिका कमजोर, अर्धमन, सङ्कल्पहीन मित्रहरूको पङ्क्तिमा ढुलमुलपन सबभन्दा बलियो हुन्छ । यो तेस्रो शर्त हो । विद्रोहको प्रश्न उठाउन यी तीन शर्तहरूले माक्र्सवादलाई ब्लाङ्कीवादबाट अलग गर्दछन्”, (माक्र्सवाद र विद्रोह ः १९१७, प्रगति प्रकाशन मास्कोद्वारा १९६४ मा प्रकाशित भ्ला.ई. लेनिन सङ्कलित रचनाहरूको अङ्ग्रेजी संस्करण, ग्रन्थ २६, पृ. २२–२३) ।

लेनिनले १९१६ मा ‘सर्वहारा क्रान्तिको सैन्य कार्यक्रम’ शीर्षकको दस्तावेज पेश गर्नुभएको थियो । त्यस बेला पहिलो विश्वयुद्ध चलिरहेको थियो । तर, त्यहीबेला डच, स्क्यान्डिनाभियन र स्वीस क्रान्तिकारी सामाजिक जनवादीहरूले सामाजिक अन्धराष्ट्रवादका विरुद्ध लड्दै साम्राज्यवादी युद्धको विरोधका नाममा ‘निःशस्त्रीकरण’ को नारा दिइरहेका थिए । त्यसकै जवाफमा उहाँले यो कार्यक्रम बनाउनुभएको थियो । निःशस्त्रीकरणको विरोध गर्दै भन्नुभएको छ, “समाजवादीहरू समाजवादी हुन छोडेर सबै युद्धको विरोध गर्दैनन् ।”

“प्रथमतः समाजवादीहरूले कहिल्यै पनि र कहीँ पनि क्रान्तिकारी युद्धको विरोध गरेका छैनन्”, (प्रगति प्रकाशन मास्कोद्वारा १९६४ मा प्रकाशित भ्ला.ई. लेनिन सङ्कलित रचनाहरू, अङ्ग्रेजी संस्करण, ग्रन्थ २३, पृ. ७७) ।

अझै अगाडि लेनिन भन्नुहुन्छ, “द्वितीयतः गृहयुद्ध अरू युद्ध जस्तै एउटा युद्ध हो, जसले वर्गसङ्घर्ष स्वीकार गर्दछ, उसले गृहयुद्ध भुल्न सक्तैन, जुन हरेक वर्गसमाजमा स्वाभाविक हुन्छ र खास परिस्थितिअन्तर्गत वर्गसङ्घर्षको अपरिहार्य, निरन्तर, विकास र तिव्रीकरण हो । त्यो महान् क्रान्तिद्वारा सुनिश्चित भएको हुन्छ । गृहयुद्धलाई अस्वीकार गर्नु वा यसलाई भुल्नु भनेको चरम अवसरवादमा फस्नु हो र समाजवादी क्रान्तिलाई परित्याग गर्नु हो”, (उही, पृ. ७८–७९) ।

“तृतीयतः एउटा देशमा समाजवादको विजयले सामान्यतः एउटै प्रहारमा सम्पूर्ण युद्ध उन्मूलन गर्दैन । यसको झुट्टा–विपरीत, यसले युद्धको पूर्वानुमान गर्दछ । पुँजीवादको विकास विभिन्न देशहरूमा चरम रूपमा असमान ढङ्गले अगि बढ्दछ । माल उत्पादनअन्तर्गत यो हुन सक्तैन । यसबाट यसले अकाट्य रूपमा के अनुशरण गर्दछ भने समाजवादले सबै देशहरूमा समान रूपमा विजय हासिल गर्न सक्दैन । सर्वप्रथम यसले एउटै वा अनेक देशहरूमा विजय हासिल गर्नेछ भने अरू केही समयका लागि पुँजीपति र प्राक्पुँजीपतिकै हातमा बाँकी रहनेछन् । यसले घर्षण मात्र सिर्जना गर्दैन, बरु समाजवादी राज्यको विजयी सर्वहारावर्गलाई ध्वस्त पार्न अरू देशहरूका पुँजीपतिको तर्फबाट प्रत्यक्ष प्रयत्न हुन्छ । यस प्रकारका मुद्दाहरूमा हाम्रोतर्फबाट वैधानिक र न्यायिक युद्ध हुनेछ । यो समाजवादका लागि, पुँजीपतिबाट अरू राष्ट्रहरूको मुक्तिका लागि युद्ध हुनेछ । १२ सेप्टेम्बर १८८२ मा काउत्स्कीलाई लेखेको चिठीमा एङ्गेल्स पूर्णरूपले सही हुनुहुन्थ्यो, उहाँले स्पष्ट रूपमा के भन्नुभएको छ भने विजयी भइसकेको समाजवादका लागि ‘रक्षात्मक युद्ध’ लड्न सम्भव हुन्थ्यो । उहाँको दिमागमा जे थियो, त्यो अरू देशहरूका पुँजीपतिका विरुद्ध विजयी सर्वहारावर्गको रक्षा थियो ।”

“हामीले एउटै देशको मात्र होइन, समग्र विश्वका पुँजीपतिलाई पल्टाइसकेपछि, अन्तिम रूपले परास्त गरिसकेपछि र कब्जा गरिसकेपछि युद्ध असम्भव हुनेछ । अनि वैज्ञानिक दृष्टिकोणबाट हेर्दा हाम्रा लागि अति महŒवपूर्ण चीजबाट बच्नु वा छल्नु पूर्णरूपले गल्ती हुनेछ र पूर्णरूपले गैरक्रान्तिकारी हुनेछ– पुँजीपतिको प्रतिरोधलाई चकनाचुर पार्नु अधिक कठीन कार्य र समाजवादमा सङ्क्रमण गर्नु व्यापकतम पैमानाको लडाइँ माग गर्नु हो । ‘सामाजिक’ व्यक्तित्वहरू र अवसरवादीहरू सधैँभरि भावी शान्तिपूर्ण समाजवादको सपना बुन्न तयार छन् । तर, क्रान्तिकारी सामाजिक जनवादीबाट के कुरामा भिन्न छन् भने उनीहरू यसबारे सोच्न र प्रचण्ड वर्गसङ्घर्ष तथा वर्गयुद्ध सुन्दर भविष्य प्राप्त गर्न आवश्यक रहेको कुरा प्रतिबिम्बन गर्न अस्वीकार गर्दछन्”, (उही, पृ. ७९) ।

लेनिनको भनाइअनुसार एउटै देशमा समाजवादी क्रान्ति भएर विश्वयुद्ध रोकिँदैन । यसको लागि विश्वक्रान्ति नै आवश्यक पर्दछ । व्यक्तिगत सम्पत्तिमा आधारित समाज रहेसम्म युद्धको अन्त्य नहुने भएकोले सर्वहारावर्ग निःशस्त्र होइन, सशस्त्र भइरहनुपर्दछ । यसको सन्देश यही हो ।

सशस्त्र सङ्घर्षको महत्वबारे थप व्याख्या गर्दै लेनिन भन्नुहुन्छ, “सैद्धान्तिक रूपमा के कुरा बिर्सनु निरपेक्ष रूपले गलत हुनेछ भने हरेक युद्ध अर्को तरिकाले राजनीतिकै जारी रूपबाहेक अरू केही होइन । वर्तमान साम्राज्यवादी युद्ध दुई महाशक्तिका समूहहरूको साम्राज्यवादी नीतिहरूको जारी रूप हो र यी नीतिहरू साम्राज्यवादी युगका सम्बन्धहरूको कूलयोगद्वारा उत्पन्न र पालित–पोषित छन् । तर, यो चालु युगले अपरिहार्य रूपमा राष्ट्रिय उत्पीडनका विरुद्ध, पुँजीपतिका विरुद्ध सर्वहारा सङ्घर्षका नीतिहरू पनि उत्पन्न र पालन–पोषण गर्नुपर्छ, परिणामस्वरूप, सर्वप्रथमः क्रान्तिकारी राष्ट्रिय विद्रोहहरू र युद्धहरूको पनि सम्भाव्यता तथा अपरिहार्यता छ । दोस्रो, पुँजीपतिका विरुद्ध सर्वहारा युद्ध र विद्रोहहरूको सम्भाव्यता र अपरिहार्यता छ । तेस्रो, दुवै प्रकारका क्रान्तिकारी युद्धको समायोजनको सम्भाव्यता र अपरिहार्यता छ ।”

“यसमा निम्न आम विचार जोडिनुपर्दछ । एउटा उत्पीडितवर्ग जसले हतियार चलाउन र हतियार प्राप्त गर्न जान्दैन भने ऊ दासको व्यवहार लायक छ । हामीसँग पुँजीवादी शान्तिवादी र अवसरवादी रहेका छन् भने पनि हामीले बिर्सन हुँदैन कि हामी वर्गसमाजमा बाँचिरहेका छौँ, जसबाट कुनै निकास हुँदैन, न त वर्गसङ्घर्षबाट बँच्न नै सकिन्छ । हरेक वर्गसमाजमा, चाहे त्यो दासत्व र दासतामा आधारित होस् वा वर्तमानमा जस्तै ज्यालादारी श्रममा आधारित होस्, उत्पीडकवर्ग सदा सशस्त्र हुन्छ । आधुनिक स्थायी सेना मात्र होइन, बरु आधुनिक जनप्रहरी पनि, उदाहरणका लागि, सबभन्दा प्रजातान्त्रिक पुँजीवादी गणतन्त्र स्वीट्जरल्यान्डमा पनि सर्वहारावर्गविरुद्ध पुँजीवादी सशस्त्र सेना उपस्थित हुन्छ । प्राथमिक सत्य यस्तो छ कि यसलाई कठिनाइपूर्वक स्थानान्तरण गर्न आवश्यक हुन्छ । सबै पुँजीवादी देशहरूमा हड्तालीहरूका विरुद्ध सेनाको प्रयोग देखाउनु नै पर्याप्त हुन्छ । सर्वहाराविरुद्ध एउटा पुँजीपतिको सशस्त्रीकरण आधुनिक पुँजीवादी समाजको सबभन्दा ठूलो, मौलिक र महत्वपूर्ण तथ्यहरूमध्ये एक हो । यो तथ्यको अगाडि क्रान्तिकारी सामाजिक जनवादीहरू ‘निःशस्त्रीकरण’ को ‘माग’ गर्न आग्रह गर्दछन् ! त्यो भनेको पूर्णरूपले वर्गसङ्घर्षको दृष्टिकोण परित्याग गर्नु, क्रान्तिको सम्पूर्ण विचार परित्याग गर्नु समान हो । हाम्रो नारा हुनुपर्दछ– पुँजीपतिवर्गलाई पराजित गर्न, कब्जा गर्न र निःशस्त्र गर्न सर्वहारावर्गको सशस्त्रीकरण । एउटा क्रान्तिकारीवर्गका लागि यी सम्भव कार्यनीतिहरू हुन्, कार्यनीतिहरू जसले पुँजीवादी सैन्यवादको समग्र वस्तुगत विकासलाई तार्किक रूपमा निर्देशन गर्दछन् । आफ्नो विश्व ऐतिहासक ध्येयमा घात नगरीकन सर्वहारावर्गले पुँजीपतिवर्गलाई निःशस्त्र गरिसकेपछि मात्र सम्पूर्ण हतियारहरू रद्दीको टोकरीमा फ्याँकिनेछन् । तब मात्र सर्वहारावर्गले निःसन्देह रूपमा यो काम गर्नेछ, तर त्यस बेला मात्र जसबेला यो अवस्था पूरा भएको हुनेछ, निश्चय नै पहिले होइन”, (उही, पृ. ८०–८१) ।

सर्वहारावर्गको सामरिक कार्यदिशासम्बन्धी यति स्पष्ट दृष्टिकोण लेनिनले विकास गर्नुभएको छ । हामीले यही सैन्यदर्शनमाथि आधारित भएर आजको सामरिक कार्यदिशा निर्माण गर्नुपर्दछ ।

चौथो, लेनिनले उल्लिखित कार्यदिशा सञ्चालन गर्ने नयाँ ढङ्गको पार्टी निर्माणको प्रस्तावना अगि सार्नुभयो । सन् १९०२ मा लेनिनले ‘के गर्ने ?’ शीर्षकको प्रसिद्ध कृति लेख्नुभयो र भन्नुभयो, “हाम्रो मतभेदको स्रोत के थियो ? तथ्य के थियो भने सङ्गठन र राजनीति दुवै प्रश्नमा अर्थवादीहरू सामाजिक जनवादबाट सदा ट्रेड युनियनवादतिर झुक्दछन् । सामाजिक जनवादी राजनीतिक सङ्घर्ष मालिक र सरकारका विरुद्ध मजदुरको आर्थिक सङ्घर्षभन्दा धेरै व्यापक र जटिल हुन्छ । त्यसरी नै (वास्तवमा त्यही कारणले) क्रान्तिकारी सामाजिक जनवादी पार्टी यस सङ्घर्षका लागि बनाइएको मजदुर सङ्गठनभन्दा अपरिहार्य रूपमा भिन्न हुनैपर्छ । मजदुर सङ्गठन प्रथमतः व्यावसायिक सङ्गठन हुनैपर्छ । द्वितीयत, यो सम्भव भएसम्म फराकिलो हुनुपर्छ । तृतीयत, यो परिस्थितिले अनुमति दिएसम्म खुला हुनुपर्छ (अवश्य नै यहाँ र यसपछि पनि म निरङ्कुश रसियालाई ध्यान दिएर अगि बढ्नेछु) । अर्कोतिर, क्रान्तिकारीहरूको सङ्गठन सर्वप्रथम र मूलतः क्रान्तिकारी गतिविधिलाई आफ्नो व्यवसाय बनाउने मानिसहरूबाट बन्नुपर्दछ (यही कारणले गर्दा म क्रान्तिकारीहरूको सङ्गठनबारे कुरा गर्दछु, यसको अर्थ क्रान्तिकारी सामाजिक जनवादी पार्टी हो) । यो विशेषता यस प्रकारको सङ्गठनका सबै सदस्यहरूमा हुनुपर्दछ, यो किन आवश्यक छ भने मजदुर र बुद्धिजीवीबिचको भेद मात्र होइन, बरु अलग–अलग व्यवसाय र पेशाबिचको भेद पनि खत्तम गरिदिनुपर्दछ । यस प्रकारको सङ्गठन सम्भव भएसम्म बढी व्यापक हुनुहँुदैन र गोप्य हुनुपर्दछ”, (प्रगति प्रकाशन मास्कोद्वारा प्रकाशित लेनिन सङ्कलित रचनाहरूको अङ्ग्रजी संस्करण, ग्रन्थ ५, पृ. ४५२–४५३) ।

क्रान्तिकारी गतिविधिलाई आफ्नो व्यवसाय बनाएका मानिसहरूद्वारा बनेको सङ्गठनमा अनुभवी र प्रतिभाशाली नेताहरूको आवश्यकता छ भन्दै लेनिन भन्नुहुन्छ, “जर्मनेलीहरूमाझ राजनीतिक चिन्तन पर्याप्त रूपमा विकास भएको छ र उनीहरूले के कुरा बुझ्ने पर्याप्त राजनीतिक अनुभव सञ्चय गरेका छन् भने ‘एक दर्जन’ खारिएका र प्रतिभाशाली नेताहरूबिना (प्रतिभाशाली मानिसहरू सयौँको सङ्ख्यामा जन्मिँदैनन्), व्यावसायिक ढङ्गले तालिमप्राप्त, दीर्घ अनुभवद्वारा प्रशिक्षित र पूर्ण तालमेलको कार्य गर्ने नेताबिना आधुनिक समाजमा कुनै पनि वर्गले निर्णायक सङ्घर्ष गर्न सक्तैन”, (उही, पृ. ४६१) ।

लेनिनले सङ्गठनबारे थप संश्लेषण गर्दै भन्नुभएको छ, “म जोड दिएर भन्दछु– (१) निरन्तरता कायम गर्ने नेताहरूको एउटा स्थायी सङ्गठनबिना कुनै पनि क्रान्तिकारी आन्दोलन टिकाउ हुन सक्तैन । (२) जति व्यापक जनसमुदाय सङ्घर्षमा स्वतस्फूर्त रूपले तानिन्छ, त्यति त्यसले आन्दोलनको आधार निर्माण गर्दछ र यसमा सहभागी हुन्छ, यस प्रकारको सङ्गठन बनाउन अझ बढी जरुरी हुन्छ र यस सङ्गठनलाई अझ बढी बलियो बनाउनुपर्छ (किनभने सबै प्रकारका लफ्फाजीको लागि जनताको अति पिछडिएको हिस्सालाई झुक्याउन बढी सजिलो हुन्छ) । (३) यस प्रकारको सङ्गठन मुख्यतः व्यावसायिक रूपमा क्रान्तिकारी क्रियाकलापमा भाग लिएका मानिसहरूले बनेको हुनुपर्दछ । (४) निरङ्कुश राज्यमा यस्तो सङ्गठनको सदस्यतालाई हामीले अझ बढी ती मानिसहरूमा सीमित गर्दछौँ, जसले व्यावसायिक रूपमा क्रान्तिकारी क्रियाकलापमा भाग लिएका हुन्छन् र जो व्यावसायिक रूपमा राजनीतिक प्रहरीलाई छक्याउने कलामा पारङ्गत भएका हुन्छन्, यस्तो सङ्गठनलाई उखाड्न धेरै कठीन हुनेछ । र, (५) श्रमिकवर्ग र अन्य सामाजिक वर्गबाट आएका मानिसहरूको ठूलो सङ्ख्या हुनेछ, जो आन्दोलनमा सामेल हुन सक्षम हुनेछन् र यसमा सक्रिय हुनेछन्”, (उही, पृ. ४६४) ।

लेनिनले नयाँ ढङ्गको कम्युनिस्ट पार्टी निर्माण गर्नुका साथै, त्यो पार्टी सञ्चालन गर्ने विधि पनि विकास गर्नुभयो, जसलाई जनवादी केन्द्रीयता भनिन्छ । यस पद्धतिअनुसार व्यक्ति सङ्गठनको मातहतमा हुन्छ; अल्पमत बहुमतको मातहतमा हुन्छ; तल्नो सङ्गठन माथिल्लो सङ्गठनको मातहतमा हुन्छ; सम्पूर्ण सङ्गठन केन्द्रीय समितिको मातहतमा हुन्छन् र केन्द्रीय समिति महाधिवेशन वा सम्मेलनद्वारा पारित प्रतिवेदन वा विधानको मातहतमा हुन्छ । अभिव्यक्तिमा स्वतन्त्रता र काम–कारबाहीमा एकरूपता यसको नियम हो । पार्टीमा आलोचना र आत्मालोचनाको विकास गर्नमा लेनिनको महत्वपूर्ण योगदान रहेको छ । गोपनीयता र फलामे अनुशासनको विकास गर्नमा पनि उहाँको देन रहेकै छ । खासगरी तेस्रो अन्तर्राष्ट्रियको सन् १९२१ मा भएको महाधिवेशनले जनवादी केन्द्रीयताको पद्धतिलाई अन्तर्राष्ट्रियकरण गरेको थियो ।

लेनिनले जातीय (राष्ट्रियता), राष्ट्रिय मुक्ति र आत्मनिर्णयको अधिकारबारे विशेष अनुसन्धान र व्याख्या गर्नुभएको छ । यसबारे उहाँले भन्नुभएको छ, “राष्ट्रियताहरूको हरेक उत्पीडनका विरुद्ध नलडीकन समाजवादीहरूले आफ्नो महान् लक्ष्य हासिल गर्न सक्तैनन् । यसकारण उनीहरूले नभुलीकन के माग गर्नुपर्छ भने उत्पीडक देशहरू (विशेषरूपले तथाकथित महाशक्तिहरू) का सामाजिक जनवादी पार्टीहरूले उत्पीडित राष्ट्रियताहरूको आत्मनिर्णयको अधिकारलाई ठीक त्यसको राजनीतिक अर्थमा अर्थात् राजनीतिक पृथकीकरणको अधिकारलाई मान्नुपर्दछ र त्यसको पक्षपोषण गर्नुपर्दछ । कुनै महान् देश वा उपनिवेश मालिक राष्ट्रको समाजवादीले यो अधिकारको पक्षपोषण गर्न भुल्दछ भने त्यो अन्धराष्ट्रवादी हो ।”

“यो अधिकारको पक्षपोषणले साना राज्य निर्माणका लागि प्रोत्साहन गर्दैन, यति मात्र होइन, उल्टै यसको परिणामस्वरूप धेरै ठूला राज्यहरू तथा राज्यसङ्घहरूको अधिक स्वतन्त्र, निर्भिकतापूर्ण र यसकारण अधिक विस्तृत तथा सार्वत्रिक निर्माण हुन्छ जुन जनसमुदायको लागि अधिक लाभदायक तथा आर्थिक विकासका लागि बढी अनुकूल हुन्छ ।”

“उत्पीडित राष्ट्रियताका समाजवादीहरूले आफ्नो पालोमा उतपीडित तथा उत्पीडक राष्ट्रियताहरूका मजदुरहरूको पूर्ण एकता (सङ्गठनात्मक एकतासहित) को लागि नभुलीकन लड्नुपर्नेछ । एउटा राष्ट्रियताबाट अर्को राष्ट्रियताको कानुनी पृथकताको विचार ( बावेर तथा रेनरद्वारा प्रतिपादित ‘सांस्कृतिक राष्ट्रिय स्वायत्तता’) प्रतिक्रियावादी हुन्छ ।”

“साम्राज्यवादी युग मुट्ठीभर ‘महाशक्ति’ द्वारा सारा संसारका राष्ट्रियताहरूको निरन्तर बढ्दो उत्पीडनको युग हो र यसकारण जबसम्म राष्ट्रियताहरूको आत्मनिर्णयको अधिकार स्वीकार गरिन्न, तबसम्म साम्रान्यवादका विरुद्ध अन्तर्राष्ट्रिय समाजवादी क्रान्तिका लागि लड्न असम्भव हुन्छ । … जुन सर्वहारावर्गले ‘आफ्नो’ राष्ट्रियताद्वारा अर्को राष्ट्रियताको विरुद्ध अलिकति पनि उत्पीडन सहन्छ, त्यो सर्वहारावर्ग समाजवादी हुन सक्तैन”, (लेनिन सङ्कलित रचनाहरू, समाजवाद र युद्ध, १९१५, प्रगति प्रकाशन मास्कोद्वारा १९८२ मा प्रकाशित हिन्दी संस्करण, ग्रन्थ ५, पृ. १७५–१७६) ।

जातिहरूको आत्मनिर्णयको अधिकारसम्बन्धी लेनिन र स्टालिनका थुप्रै प्रसिद्ध रचनाहरू रहेका छन् । ती रचनाहरूको सार के रहेको छ भने हरेक देशका साम्यवादीहरूले उत्पीडितवर्गको मुक्तिको समस्या उठाउँदा उत्पीडित राष्ट्रियता एवम् जातिहरूको समस्या पनि उठाउन आवश्यक हुन्छ किनभने ठूलो राष्ट्रियताले सानो राष्ट्रियतालाई उत्पीडन गर्नु भनेको अर्को रूपमा अन्ततः वर्गीय उत्पीडन नै हो । यसको समग्र समाधान अन्ततः वर्गयुद्धले नै गर्दछ ।
मोटामोटी रुपमा यही नै लेनिनवाद र लेनिनवादी दर्शन हो । लेनिनले पूरा गर्न नपाएको जुन कार्यभार थियो त्यो कार्यभार भनेको द्वन्द्ववादको विकास र व्याख्या गर्नु हो । माओले यसलाई आफ्ना प्रसिद्ध कृतिहरु ‘व्यवहारबारे’, ‘अन्तरविरोधबारे’, ‘जनताहरु बीचका अन्तरविरोधहरुको सही सञ्चालनबारे’ र ‘द्वन्द्वात्मक भौतिकवाद’, ‘द्वन्द्ववादका उदाहरणहरु’ र ‘सही विचार कहाँबाट आउछ ?’ मा लेनिनका १६ तत्वहरुको व्याख्या र विकास गर्नुभयो । समग्रमा उहाँले वर्गसंघर्षबाट नै भौतिकवादी द्वन्द्ववादको विकास गर्नुभयो । आजको साम्राज्यवादको सामना गर्न आजसम्म विकास भएको मालेमावादी दर्शन नै काफी छ कि छैन ? यदि छ भने भएको क्रान्तिमा किन प्रतिक्रान्ति भयो र विजयको सन्निकट पुगेका क्रान्तिहरु किन असफल भए ? के प्रयोगमा गल्ती भएको हो ? आज हामीलाई यी प्रश्नहरुको जवाफ दिने दर्शन चाहिएका छ । हाम्रो अन्तरक्रिया र हाम्रो बहस यी समस्याहरुको समाधान गर्नेतिर केन्द्रित हुनुपर्दछ ।

१० बैशाख २०८१                
जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?