आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना
काठमाडौँ : हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेश र कर्णाली प्रदेशहरूका पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ। आज राति देशभर मौसम मुख्यतया सफा रहने छ । बुधवार भने सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेश थोरै स्थानहरूमा तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।