‘ठालुहरूप्रति’ कवितामा विद्रोही स्वर

समीक्षा
चतुर्भुज केवरत नेपाली साहित्यमा प्रगतिवादी विचार व्यक्त गर्ने कवि हुन् । प्राध्यापन पेसामा संलग्न केवरतका कवितामा राजनीतिक चेतना, परम्परागत मूल्यमान्यताप्रति विरोध, प्रभुत्वशाली वर्गको वर्चस्वप्रति विरोध, सीमान्त वर्गको मुक्ति, स्वतन्त्रता र समतामूलक समाजको खोजी गरिएको हुन्छ । उनका कवितामा सामन्तवाद र प्रतिगमनकारी शक्तिको विरोधका साथै सबाल्टर्न समूहका इच्छा, आकाङ्क्षाका भावना समेटिएको पाइन्छ । प्रगतिवादी दृष्टिकोणबाट सशक्त रहेको उनको गत भदौ २७ गते शनिबार मूलबाटो डट कम अनलाइन मिडियामा प्रकाशित कविता ‘ठालुहरूप्रति’ एक शक्तिशाली कविता हो ।
प्रस्तुत कवितामा सत्ताले मूलधारबाट किनारमा पारेका सीमान्त वर्गमाथि भएको प्राकृतिक विपत्ति, प्राकृतिक दृष्टिले असुरक्षित स्थानमा बस्दै आएका निम्न र निम्न मध्यम वर्गले भोग्नुपरेका पीडा, शासक वर्गको वर्गीय विचार, राजनीति, अर्थनीति, सामाजिक, आचार एवम् भौतिक व्यवहारका विविध पक्षमाथि विहङ्गम दृष्टि राखिएको छ । यस कवितामा प्रभुत्वशाली वर्गको शासकीय चरित्र र सामन्ती सोचको विरोध गरिएको छ भने प्रतिरोधको स्वरसमेत मुखरित भएको यस वैचारिक कवितामा वातावरणीय सचेतनाले युक्त रहेको छ । यस कवितामा प्राकृतिक विपत्तिले मानव जीवनमाथि परेको प्रतिकुल प्रभावको चर्चा गरिनुका साथै जल, जमिन र वातावरणलाई नै प्रदुषित पारी भौतिक सम्पदालाई आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्ने शासकहरूको अहङ्कारको तीव्र विरोध गरिएको छ । भर्खरै (२०८३ भाद्र १०) भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीका कारण जीवन गुमाउन बाध्य भएका श्रमजीवीहरूको दु:खद अन्त्यले समग्र मानव जीवनप्रतिको हेराइ र बुझाइमा पारेको प्रभावबाट कविता आरम्भ गरिएको छ ।
भोटेकोसीको किनारबाट
शवको सगरमाथामाथि उभिएर
खोज्दैछन् धेरै उत्पीडित आँखाहरू
सामाजिक न्याय उत्पीडकहरूमाझ

डा. गोपालबाबु मरहट्ठा

प्रस्तुत कवितामा बिम्बको उत्कृष्ट प्रयोग गरिएको छ । बाढीले बस्ती उजाड बनाएको छ । मानिसका सपनाहरू क्षणभरमै विलिन भएका छन् । बस्तीका सुन्दर पौरखीहरूका भौतिक शरीर एकमाथि अर्कोगरी खात लागेको छ । केही क्षण अघिको श्रम र पसिनाले सुन्दर सिर्जना गरिएको रङ्गीन मानव बस्ती मान्छेका चेप्टिएका, थोपरिएका सयौँ लाससँगै उजाड र खण्डहरमा परिणत भएको छ । जल, जमिन, जङ्गल र वायुलाई जीवन बनाई नदी किनारमा पुस्तौँदेखि लुटपुटिँदै आएका मान्छेले प्रकृतिसँगै मितेरी गाँस्नु र प्रकृतिलाई पूजा गर्नुमा के दोष थियो भनी कविले निर्दोष र निरपराध असङ्ख्य मान्छेका जीवन समाप्त हुनु ज्यादै दुखद भएको यथार्थलाई प्रस्तुत गरेका छन् । विकासको नाउँमा आफ्नो स्वार्थको संसार निर्माण गर्ने प्रभुत्वशाली वर्गको क्रियाकलाप र व्यवहार वास्तवमा दोषी रहेको तथ्यलाई कविले लयात्मक रूपमा यसरी उद्घाटित गरेका छन् ।
दोष त थियो केवल तिम्रो प्रपञ्चमा
देश देशावरका भूगर्भ उत्खननमा
निमुखाका अमूल्य खजाना लुट्नुमा

यसरी कविले शक्तिशाली राष्ट्रहरूले आफ्ना शक्तिको आडमा नेपालजस्ता विकासोन्मुख राष्ट्रका प्राकृतिक स्रोतसाधनको अनधिकृत दोहन र शोषण गरेका सन्दर्भको खुलेर विरोध गरेका छन् । यसमा शक्तिशाली, उपभोक्तावादी, साम्राज्यवादी र पुँजीवादी राष्ट्रका स्वेच्छाचारी, लुटाहा तथा हेपाहा प्रवृत्तिप्रति कडा प्रतिक्रिया जनाइएको छ । सामरिक दृष्टिकोणबाट शक्तिशाली राष्ट्रहरू आफ्ना वर्चस्व कायम राख्नका लागि कमजोर र विकासोन्मुख राष्ट्रप्रति गरेका उत्पीडनकारी व्यवहारको कडा रूपमा विरोध गरिएको छ । शक्तिशाली राष्ट्रहरू आपूmलाई वर्चस्वशाली बनाउने होडमा मानव अस्तित्वमाथि नै आँच पुर्‍याएकाप्रति कवि सचेत बनेर सीमान्तकृत वर्गका पक्षमा डटेर उभिएका छन् । मानव अस्तित्वमाथि धावा बोल्ने मालिक वर्ग वास्तवमा नदी किनारमा पानीको प्रवाहमा रमाउँदै माटोमा पसिना पोख्दै र प्रकृतिको गोडमेल गर्दै सिर्जनामा रमाउने श्रमजीवी वर्गका वास्तविक सत्रु रहेको वर्णन गरिएको छ ।

विवेच्य कवितामा सत्ताशक्ति र सामथ्र्य हत्याएर मानवताको पाठ घोकाउने निम्न वर्ग विरोधी सत्तासीनहरूमाथि कठोर व्यङ्ग्य गरिएको छ । बारुदको भट्टीमाथि बसेर अट्टहास हाँसो हाँस्ने नृशंसकहरूका न्यायविरोधी क्रियाकलापको निन्दा गरिएको छ । श्रमप्रति आस्था, कर्मप्रति विश्वास गर्ने आस्थाका धरोहरहरू स्वाभिमान र पहिचानका प्रतीकहरूको अस्तित्व समाप्त पार्ने अरू कोही नभएर यिनै मानवताविरोधी पाखण्ड, भ्रष्ट शासकहरू हुन् । यस्ता शासक वर्गको दम्भको कारण श्रमजीवी वर्ग एकातिर शोषण र उत्पीडनको मारमा परेका छन् भने अर्कातिर प्राकृतिक विपत्तिको भुमरीमा पर्दै आएका छन् । आज बस्ती उजाड बनाइएका स्थानहरू भोलि पुन: हराभरा हुनेछन् । श्रमजीवीहरूले पुन: आफ्ना पसिनाका बलले जमिनलाई उर्बर बनाउनेछन् र मानवताविरोधी ठालुहरूका सपना आज भोटेकोसीले भत्काएका बस्तीहरूजस्तै भत्काउनेछन् । त्यहाँ सिर्जनाका गीतहरू गाइनेछ फेरि पीडित परिवारका मानिसहरू बगरबाट उठेर प्रियजनका साथमा एक एक गर्दै ठालुहरूका विगतका अमानवीय र क्रुर व्यवहारका हिसाबकिताब माग्नेछन् भन्ने आशावादी स्वर कवितामा सुसेलिएको छ । प्रस्तुत कवितामा मुक्तिकामी चेतनाको सम्प्रेषण गरिएको छ । ‘ठालुहरूप्रति’ शीर्षकले साम्राज्यवादी वैश्विक दादागिरीका विरुद्ध मुक्ति, सङ्घर्ष र स्वतन्त्रताको आन्दोलन भोलि हुने यथार्थलाई सङ्केत गरेको छ । प्राकृतिक विनाशको सन्दर्भमा भोटेकोसी विशाल भूगोलको एक सानो हिस्सा भए तापनि आमरूपमा विश्वभरि भएका र हुनेगरेका यस्ता प्राकृतिक प्रकोपका जिम्मेवारी शक्तिसम्पन्न भनिएका मुलुकका प्रमुखहरू, नीतिनिर्माताहरू अनि तिनैका स्वार्थमा रमाउने अस्तित्वहीन हिमायतीहरूप्रति तीव्र व्यङ्ग्य गरिएको उक्त कवितामा प्रगतिवादी चेत उद्घाटित भएको शक्तिशाली कविता हो ।

By जन बिहानी

Related Posts