कविता

ऊ… त्यो बलात्कारी
त्यो बलात्कारीको घर
ऊ… त्यहाँ व्यभिचारी बस्छन्
त्यो व्यभिचारीको गाउँ
तिनीहरू भ्रष्टाचारी
यो भ्रष्टाचारीको देश
खै मेरो देश ?
यो फटाहाको देश
लुटेराको देश
उनीहरू कै वर्चश्व छ !
यो देशको कानुन बलात्कारी
सत्ता बलात्कारी, प्रशासन बलात्कारी
यो देशको
कानुन भ्रष्टाचारी
सत्ता भ्रष्टाचारी
यी दूर्नामहरू मेटाउन
फेर्नु छ, देशको परिचय
यी बद्नामीहरूबाट बच्न
कलिला कोपिलाहरूमा बज्रिने
घन र त्रिशूलहरू उठाएर
बजार्न ढिला भैसकेको छ
बलात्कारीहरूको अङ्ग अङ्गमा
भ्रष्टाचारीहरूको टाउका टाउकामा
ए, लौन ! के चुपचाप बस्छौ ?
आफै बलात्कारी झैँ
आँफै भ्रष्टाचारी झैँ
के ले बन्द छ बोली ?
के को बुजो छ, सबका सबमा ?
नातापाताको ? सत्ताको ? परम्पराको ?
वा सुखसयलको ?
यी सबै भन्दा माथि हो सृष्टि !
सृष्टिको छातिमा चलिरहेछ
मनोमानी एक्स्काभेटर
क्षतविक्षत बनाइरहेछन्
फक्रिन नपाउँदैका गुलाब खातुनहरू
पल पलमा मारिइरहेछन्
सम्झना र निर्मलाहरू
कोही त बोल !
अनेक कोपिलाहरूको आर्तनाद बिच
वेथिती र भ्रष्टाचारलाई सिरानी बनाएर
घुरिरहने राज्यको कानमा घोच्न
सम्झनामा रोपिएको त्रिशूल उजाएर
कोही त बोल !
अंगिरामा कसिएको पासो फुकाएर
सत्ताको गलामा कस्न
कोही त उठ !
चाहिँदैन बलात्कारीका रक्षकहरू
चाहिँदैन व्यभिचारी नातापाता
चाहिँदैन यस्ता परम्परा र सत्ता !
के तिमीलाई यै प्यारो छ ?
छैन, मलाई छैन बिल्कुल छैन
फेर्नु छ, मलाई यो बिद्रूप परम्परा
यो बलात्कारी सत्ता
र बदल्नु छ देशको परिचय ।
२०७७/८/८