दु:खीका दुई कविता ‘तीन असोज’ र ‘द्रव्यको दु:ख’

कविता


तीन असोज
जब तुफानझैं
आउँछ तीन असोज
र बढ्छन् एकथरी हातहरू
केक, कक्टेलमा झुम्न
भव्य उत्सवमा रम्न
अँध्यारोका पक्षपाति दस्यु जस्तै
उन्मत्त हुँदै मस्तीमा
संसदमा नयाँ बादशाह
ढोलक बजाउँदै
शान्ति र अमनचयनको
रङ्गिन्छन् रतिरागमा

बखान छाँट्दै तीन असोजको
सिंहदरबार झुमिरहँदा
पासपोर्टमा सपना रोपेका
लाखौँ कर्मठ पाखुराहरू
हुन्छन् लामबद्ध
भविष्य खोज्दै चिलगारीको प्रतीक्षामा
रोक्न सक्तैन त्यो असोजले
देश छोड्दै गरेका नौजवानहरू
नवयौवनाहरूको
दिनहुँको आर्तनाद
न त भत्काउन सक्छ
उत्पीडनका छाउगोठहरू

सुन ओसार्छ सत्ता
देश लिलामीमा राख्छ संसद
लालमोहर ठोक्छ राष्ट्रप्रमुख
मान्छेको तस्करी गर्छ मन्त्री
सपना बेच्छ पार्टीप्रमुख
र तिनीहरूको सलामीमा
तैनाथ हुन्छन् बर्दीधारी बुट
यी कुरुप दृश्य
जब कुँदिन्छन् अक्षरमा
सहन गर्दैन सत्ता
कलमको आवाज
कच्याककुचुक भाँचिन्छन् कलमहरू
र च्यातिन्छन् कविताका पानाहरू

किन टुलुटुलु हेरिरहेका छन्
यो सबै नाङ्गो दृश्य
सत्ताको ताण्डव नृत्य
ज्यामी, किसान
र किनारीकृत मानिस
३ असोज २०८१

द्रव्यको दु:ख
भाग्यको थाप्लो
र बजारको गोजीमा
हलिदिएका हुन्
माल्थस र आदम स्मिथहरूले
मान्छेको जोवन

जगमा टेकेर
तथ्य एवम् सच्चाइको
भने
माक्र्स–एङ्गेल्सले
द्रव्य पिचासहरूले
दोहन गर्छन् सृष्टिको
दोहनकै जगमा
निर्मित छ महाविपत्ति
प्रकृतिको

नाफाको माल बन्छ
मजदूरको पसिना
हिसाबको तुलोमा राखेर
बेच्छ सपना
लिलाममा पुँजीवाद

जङ्गल काटेर ठडिन्छ
नदी किनारमा
गगनचुम्बी सहर
माटो निचोरेर बन्छ
ओगो ओकल्ने कारखाना
र कारखानामा निर्माण भैरहेछ
सभ्यताको चिहान

बाढी आउँदा
दोष बादललाई किन
खडेरी पर्दा
दोष घामलाई किन
निचोरेर
खनिज जङ्गल
नदी पहरो
बनाउँछ
आग्न्यास्त्र पुँजीवाद
विनास गर्छ प्रकृति
प्रकृतिको दोहनले
पकाएको हो आगो
आगोमा पाकेर उम्लियो
भोटेकोशीको विपत्ति

पर्दा मात्र रहेछ भाग्य
पर्दा पछाडि बसेको छ बजार
बजार पछाडि बसेको छ नाफा
नाफा पछाडि बसेको छ
महाविपत्तिको तयारीमा प्रकृति
आफ्नै छानो डढाएर
खरानीमा रमाउँछ पुँजीवाद
आएको छ समय
पुँजीवादको अन्त्यष्टी गर्ने
१८ भदौ, २०८३
कोटेश्वर, काठमाडौं

By जन बिहानी

Related Posts