कम्युनिस्ट नेताहरूले दिए एउटै मार्क्सवादी शिक्षामा जोड

काठमाडौँ : पुष्पलाल मार्क्सवादी विश्वविद्यालयले आफ्नो डिजिटल साइट सार्वजनिक गरेको छ ।
नेपालमा क्रियाशील सम्पूर्ण गैरसंसदीय र संसद्वादी कम्युनिस्ट/वामपन्थी पार्टीका नेताहरू सहभागी गराएर सहिद तथा बेपत्ता योद्धाका परिवारजनका हातबाट पुष्पलाल मार्क्सिस्ट युनिभर्सिटी डटकम नामको अनलाइन आरम्भ गरिएको जानकारी विश्वविद्यालयले दिएको छ । विश्वविद्यालयले एउटै मालेमावादी शिक्षा प्रदान गर्ने र मार्क्सवादी दर्शन र विचारको प्रवर्द्धन गर्ने लक्ष्य राखेको बताइएको छ ।
अनलाइन सार्वजनिकीकरण तथा नेपालको वामपन्थी आन्दोलनको अवस्था र यसको दिशा विषयक कार्यक्रममा जनयुद्ध आरम्भकर्तामध्येका एक नेता हरिबोल गजुरेल ‘शीतलकुमार’, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’, नेकपा एमालेका पूर्वउपाध्यक्ष युवराज ज्ञवाली, नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङ, नेकपा मालेका महासचिव तथा प्रर्व उपप्रधानमन्त्री सीपी मैनाली, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, वामपन्थी राजनीतिक विश्लेषक श्याम श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदी, वरिष्ठ अधिवक्ता तथा जनयुद्धका बेपत्ता योद्धा विपीन भण्डारीका बुबा एकराज भण्डारी, प्रगतिवादी समालोचक प्रा. डा. रामप्रसाद ज्ञवाली, एमाले केन्द्रीय सदस्य एवम् बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल, एमाले युवानेत्री तथा माणिक लामा प्रतिष्ठानकी उपाध्यक्ष नवीना लामा, समाजवादी कम्युनिस्ट पार्टी नेपालका सदस्य माधव गौतमलगायत वक्ताले पुष्पलाल मार्क्सवादी विश्वविद्यालयले छरिएर रहेका कम्युनिस्ट पार्टीहरूलाई एकै थलोमा ल्याउने विश्वास व्यक्त गरेका थिए ।
उनीहरूले वामपन्थी आन्दोलन सशक्त रहेको र चुनावी परिणामलाई आधार मानेर हरेस खानु नहुने सुझाव पनि दिएका थिए ।
जनयुद्धका सहिद–बेपत्ता परिवारका सदस्यहरू हेमन्तप्रकाश ओली सुदर्शन, सरला रेग्मी, एकराज भण्डारी, बिन्दु तामाङ र धर्बिन्द्र विकले अनलाइन शुभारम्भ गरेका थिए । विश्वविद्यालयले यसअघि पुष्पलाल मार्क्सवादी विश्वविद्यालय नामको ग्रन्थ प्रकाशन गरिसकेको छ ।
अनलाइनको सम्पादक/प्रकाशकका रूपमा पुष्पलाल मार्क्सवादी विश्वविद्यालयका परिकल्पनाकार अशोक सुवेदी रहेका छन् भने सम्पादन समूहमा ग्राफिक डिजाइनर अग्निराज पौडेल ‘अराप’, वेब डेभलपर चूडामणि श्रेष्ठ ‘मञ्जिल’, आईटीबाट धर्बिन्द्र विक, जनवर्गबाट समाजवादी युवा सङ्गठन नेपालका आकाश कार्की, सञ्चारका तिलक बयक ‘सूर्य’, महिलाकी सीता गौतम र मजदुरकी सुजाता रोका छन् ।
पुष्पलाल मार्क्सवादी विश्वविद्यालय प्रमुख आयोजक र हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठान र माणिक लामा प्रतिष्ठान सहआयोजक रहेको कार्यक्रममा विश्वविद्यलयका प्रमुख सुवेदीले अवधारणा राखेका थिए भने माणिक लामा प्रतिष्ठानकी संरक्षक सोनी लामाले मार्क्सवादी विश्वविद्यालय सर्वहारा वर्गको लक्ष्य रहेको बताएकी थिइन् ।