
काठमाडौँ : संयुक्त संघर्ष समितिले एक वक्तव्य जारी गरी निर्वाचन बहिस्कार आन्दोलनमा सहयोग गर्ने जनसमुदाय र सहभागीप्रति धन्यवाद ज्ञापन गरेको छ । समितिका संयोजक सीपी गजुरेलले जारी गरेको प्रेस वक्तव्यमा सरकारसँग चारवटा माग अगाडि सारिएको छ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी (बहुमत), नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल सम्मिलित ‘केन्द्रीय संयुक्त संघर्ष समिति’को बैठक २०८२ फागुन २७ गते संयोजक कमरेड सीपी गजुरेलको अध्यक्षतामा बसेको थियो । सो बैठकले गरेका निर्णयहरु प्रेस वक्तव्यमार्फत् सार्वजनिक गरिएको हो ।
बैठकले ‘केन्द्रीय संयुक्त संघर्ष समितिुले सञ्चालन गरेको बहिष्कार आन्दोलनको समीक्षा गर्दै बहिष्कार आन्दोलनमा सहयोग गर्ने र सहभागी हुने जनसमुदायप्रति हार्दिक धन्यवाद ज्ञापन गर्यो। त्यसैगरी संयुक्त मोर्चालाई अझै सुदृढ र व्यापक बनाउँदै लैजान छलफल अघि बढाउने निर्णय गर्यो।
त्यसैगरी, बैठकले, एक, पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक वस्तुहरूको अभाव हुन नदिन र मूल्य वृद्धि रोक्न, दुई, खाडी क्षेत्रमा रहेका नेपालीको सुरक्षाको तुरुन्त पहल गर्न, तीन, बलात्कारपछि हत्या गरिएकी सुर्खेतकी इनिशा विकका हत्याराहरुलाई तुरुन्त कारबाहीको दायरामा कडाईका साथ ल्याउन, चार, गत भाद्र २२ र २३ गतेको प्रकरणको जाँचबुझ आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न राज्यसँग जोडदार माग गरेको छ ।
