प्रचण्ड लक्षित प्रवक्ता सुदर्शनले भने-‘गुलामी गरेर बचिन्न, मर्न तयार भएर मात्रै बाँच्न सकिन्छ’

काठमाडौँ : बिहीबार काभ्रेको अनेकोटमा आयोजित २८ औं साँस्कृतिक प्रतिरोध दिवसलाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हेमन्तप्रकाश ओली सुदर्शनले प्रचण्डले हालै रास्वपाको अभिभावक बन्ने भनेर दिएको अभिव्यक्तिमाथि टिप्पणी गर्दै उहाँले प्रचण्डको त्यस्तो भाष्यलाई रास्वपाको गुलामी अर्थात् प्रकारान्तरले साम्राज्यवादी शक्तिहरुको अझ बढी गुलामी हुन जाने बताउनु भयो ।

दशवर्षको जनयुद्धमार्फत् पुरानो राज्यसत्ता बदलेर नयाँ जनवादी राज्यसत्ता स्थापना गर्ने घोषित लक्ष्य उद्देश्य छाडेर पुरानै सत्तामा जानु प्रचण्डको सबैभन्दा ठूलो कमजोरी भएको चर्चा गर्दै प्रवक्ता सुदर्शनले जेनजी विद्रोहको बेला सेनाको हिरासतमा बस्दा जनमुक्ति सेना र हतियारको झल्झली सम्झना आएको हुन सक्ने पनि टिप्पणी गर्नुभयो ।

सेना नभएको जनतासँग आफ्नो भन्नु केही पनि हुन्न भन्ने कुरा घटनाक्रमले पटक पटक साबित गरेको भन्दै उहाँले सत्ता बदल्नका निम्ति गरिएका आन्दोलन, युद्ध र संघर्षहरु सरकार बदल्न वा व्यक्ति बदल्नमा सीमित हुने गरेका दृष्टान्त प्रस्तुत गर्नुभयो र भन्नुभयो, “सत्ता र सरकार फरक कुरा हुन् । सत्ता भनेको सेना, पुलिस, कर्मचारी तन्त्र, अदालत, कारागार लगायतका अवयवहरु हुन् । ती सबैलाई यथावत राखेर केवल सरकार मात्रै परिवर्तन गरेर सत्ता परिवर्तन हुँदैन । पुरानै सत्ता कायम राखेर पुरानै व्यवस्थामा जानु प्रचण्डको सबैभन्दा ठूलो कमजोरी भयो । अझै पनि सच्चिने र सच्याउने ठाउँ छ । प्रचण्डजी, रास्वपाको गुलामीतिर नलाग्नुस्, क्रान्तिकारी कित्तामा उभिनुस् ।”

उहाँले अगाडि भन्नुभयो, “सत्ता बाहेक सबैचिज भ्रम हो भनेर पढाउने प्रचण्ड पुरानै सत्तामा विलिन हुन पुग्नुभयो । प्रकरान्तरले अहिले त्यो सत्ता पनि अमेरिकी साम्राज्यवादलाई जिम्मा लगाउन पुग्नुभयो । जनयुद्धबाट प्राप्त सीमित उपलब्धि पनि साम्राज्यवादको पोल्टामा पुग्यो ।”

उहाँले अहिले राष्ट्रिय स्वाधीनताको प्रश्न प्रमुख भएको चर्चा गर्दै सम्पूर्ण देशभक्त, वामपन्थी, जनवादी शक्ति, क्रान्तिकारी शक्तिलाई संयुक्त मोर्चा निर्माण गरी सर्वपक्षीय सम्मेलनमार्फत् निकासका लागि स्वाधीन संयुक्त सरकार गठन गरेर अगाडि जानुपर्ने धारणा पनि राख्नुभयो । उहाँको प्रष्ट भनाइ थियो– यो निर्वाचनपछि बन्दै गरेको रास्वपाको सरकारले देशमा विद्यमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुको समाधान गर्न सक्दैन, देशमा अझ ठूलो भयावह स्थिति पैदा हुन सक्छ । त्यसका निम्ति सम्पूर्ण देशभक्त, कम्युनिस्ट क्रान्तिकारी तथा वामपन्थी शक्तिहरु वृहत संयुक्त मोर्चा निर्माण गरेर अगाडि बढ्न जरुरी छ ।

उहाँले सांस्कृतिक सहिदहरुले नै जनयुद्धको जग बसालेको चर्चा गर्दै साँस्कृतिक क्षेत्रका सहिदहरुका साथै जनयुद्ध, जनआन्दोलनमा जीवन बलिदान गर्ने सहिदहरुको सपना पुरा नभएकोले सहिदहरुका सपना पूरा गर्न क्रान्तिको कार्यभारलाई नयाँ ढंगले अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?