२८औं सांस्कृतिक प्रतिरोध दिवस अनेकोटमा भव्य रुपमा सम्पन्न

image

काभ्रे : अखिल नेपाल जनसांस्कृतिक महासंघ, केन्द्रीय समितिको आयोजनामा काभ्रेको अनेकोटमा बिहीबार साँस्कृतिक प्रतिरोध दिवस भव्य रुपमा सम्पन्न भएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य एवम् प्रवक्ता हेमन्तप्रकाश ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य चक्रपाणी शर्मा, १० नं ब्यूरोका सचिव सोमान तामाङले मन्तव्य राख्नुभएको थियो भने प्रा.डा. जगदीशचन्द्र भण्डारी, धनेश्वर पोखरेल, प्रा.डा. नन्दीश अधिकारी, मित्रलाल पंज्ञानी, आस्था घिमिरे, कमला नेपाली लगायतले क्रान्तिकारी कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा रक्तिम सांस्कृतिक परिवारका अध्यक्ष नारायण शर्माले गीति अभिनय प्रस्तुत गर्नुभएको थियो ।


काभ्रेको अनेकोटका सहिदहरु चाङवा लामा, चिनिमाया लामा, गुम्बासिंह तामाङ, निर्मला देवकोटा, डम्बर श्रेष्ठ, शुभद्रा सापकोटा, मञ्जु कुँवरको शालिकमा माल्यार्पण र श्रद्धाञ्जलीसहित सुरु भएको कार्यक्रमको अध्यक्षता अखिल नेपाल जनसांस्कृतिक महासंघका संयोजक हिरामणि दुःखीले गर्नुभएको थियो भने सञ्चालन गौरी देवकोटाले गर्नुभएको थियो । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा काभ्रे सचिव ढोगप्रसाद अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा सहिद परिवार जीतबहादुर तामाङ, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका १० नं. ब्यूरो इन्चार्ज तथा पार्टी पीवीएम सुरेश श्रेष्ठ लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

जनवादी–वैज्ञानिक समाजवादी क्रान्तिकारी तयारी गरौं, वैदेशिक हस्तक्ष्ोपका विरुद्ध प्रतिरोधी संस्कृतिको निर्माण गरौं भन्ने मूल नाराका साथ गरिएको कार्यक्रममा नेताहरुले सांस्कृतिक सहिदहरुले नेपालको नयाँ जनवादी क्रान्तिमा पुर्याउनु भएको योगदान र बलिदानको उच्चता र आदर्शको विशद चर्चा गर्नुभएको थियो ।

चैत ५ गते तत्कालिन सत्ताले ७ जना कलाकारलाई हत्या गरेको दिन । तत्कालिन नेकपा माओवादीले जनयुद्ध सुरु गरेको तीन वर्षपछि २०५५ साल चैत ५ गते काभ्रेको अनेकोटमा घेरा हालेर निःशस्त्र अवस्थामा रहेका ७ जना कलाकारहरुलाई तत्कालीन राज्यले क्रूरतापूर्वक हत्या गरेको थियो । उक्त हत्याकाण्डमा जनकलाकारहरू च्याङ्बा लामा, निर्मला देवकोटा, गुम्बासिं तामाङ, मञ्जु कुँवर, डम्बर श्रेष्ठ, सुभद्रा देवकोटा र चिनिमाया लामालाई जिउँदै जलाएर हत्या गरिएको थियो ।


काभ्रे अनेकोटको एउटा पहाडी गाउँको फुसले छाएको एउटा घरमा बसेर जनकलाकारहरुले कार्यक्रमको तयारी गरिरहेका थिए । त्यसैबेला तत्कालीन राज्यसत्ताका जल्लादहरुले स्थानीयको सुराकीको आधारमा एक्कासी घर घेरा हाले । आत्मसमर्पण गर्न उर्दी गरे । तर जनकलाकारहरु आत्मसमर्पण गर्न तयार भएनन् । ती क्रूर जल्लादहरुले घरमै आगो लगाइदिए । ती होनहार जनताका प्रतिभाशाली कलाकारहरुलाई जिउँदै जलाएर हत्या गरियो । कतिपय कलाकारहरुलाई गोली हानी बीभत्स र क्रूरतापूर्वक हत्या गरियो ।

त्यस्तो वीभत्स र क्रूर हत्याको विरोध, प्रतिशोध र प्रतिरोध स्वरुप आजकै दिन चैत्र ५ लाई तत्कालीन नेकपा माओवादी पार्टीको केन्द्रीय समितिले सांस्कृतिक प्रतिरोध दिवसको रुपमा मनाउने निर्णय गरेका थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र सम्बद्ध अखिल नेपाल जनसांस्कृतिक महासंघले प्रत्येक वर्ष अनेकोटका ती महान सहिदहरुको सम्झना, सम्मान र सहिदहरुका सपना पूरा गर्ने संकल्पका निम्ति सांस्कृतिक प्रतिरोध दिवस मनाउँदै आएको छ । यसपटक पनि काभ्रेको अनेकोट लगायत देशैभर विभिन्न कार्यक्रम गरी सांस्कृतिक प्रतिरोध दिवस भव्य रुपमा मनाइएको छ ।

By जन बिहानी

Related Posts